विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 7 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

आज भदौ १९ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ५ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

चिनियाँ राष्ट्रपति जी-२० शिखर सम्मेलनमा सहभागी नहुने

चीनका राष्ट्रपति सी चिनफिङ विश्वका विशाल अर्थतन्त्र भएका १९ देश र युरोपेली सङ्घ मिलेर बनेको अन्तरसरकारी मञ्च जी २० को यही भदौ २३ र २४ गते भारतको राजधानी नयाँदिल्लीमा आयोजना हुने १८ औँ शिखर सम्मेलनमा सहभागी नहुने बेइजिङले घोषणा गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयमा आज भएको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपतिको सट्टा प्रधानमन्त्री ली छ्याङले शिखर बैठकमा भागलिने बताएका हुन् । उनले ‘जी २० शिखर सम्मेलनमा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री लीले गर्ने’ स्पष्ट गर्दै त्यसलाई प्रवक्ता माओ निङले आर्थिक सहयोगको लागि महत्वपूर्ण मञ्चको रूपमा वर्णन गरेका छन् ।

बैठकमा प्रधानमन्त्री लीले जी २०मा चीनका विचार र अडान व्यक्त गर्ने तथा त्यसलाई एकता र सहयोगका माध्यमबाट बलियो बनाउन र विश्वव्यापी आर्थिक विकासका चुनौती आपसी सहकार्य र साझेदारीबाट सामना गर्ने विषयलाई प्राथमिकता दिने काम गर्न जोड दिने प्रवक्ताले बताएका छन् ।

चिनियाँ विदेश मन्त्रालयको ‘राष्ट्रपति सहभागी नहुने’ घोषणाअघिसम्म अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ‘सी दिल्ली जाने र नजाने’ अनुमान र अड्कलबाजी व्यापक थिए तर चीन यो विषयमा मौन बसेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति नयाँ दिल्लीमा हुने विश्व नेताहरूको सहभागी नहुने खबरले आफू ‘निराश’ भएको बताएका छन् । यद्यपि उनले आफ्ना चिनियाँ समकक्षीलाई भेट्न भारत जान लागेको पत्रकारहरूलाई बताएका छन् ।

राष्ट्रपति सी सन् २०२१ मा रोम शिखर सम्मेलन बाहेक सत्तामा आएदेखि हरेक जी २० शिखर सम्मेलनमा सहभागी भएका छन् ।

कोभिड–१९ महामारीबाट सुस्तप्रायः बनेको विश्वअर्थतन्त्रलाई गति दिने तथा धेरै देशहरू उच्च मुद्रास्फीति र आर्थिक अशान्तिसँग लडिरहेका बेला दक्षिण एशियामा पहिलो पटक हुन लागेको यो शिखर सम्मेलनले विशेष महत्व रहेको आर्थिक क्षेत्रका जानकारहरूले बताएका छन् ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले करिब पाँच प्रतिशतको वार्षिक वृद्धि लक्ष्य राखेको छ तर कमजोर उपभोक्ता माग, बढ्दो युवा बेरोजगारीलगायत सङ्कटबाट चीन पनि अछुतो छैन ।

जी २० ले अन्तरराष्ट्रिय वित्तीय स्थायित्व, जलवायु परिवर्तनका दुष्प्रभाव न्यूनीकरण र दिगो विकासजस्ता विश्वव्यापी अर्थतन्त्रसँग सम्बन्धित प्रमुख विषयलाई केन्द्रमा राखेको छ । जी २० मा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, (युरोपेली सङ्घका सदस्य फ्रान्स, जर्मनी र इटाली) भारत, इण्डोनेशिया, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्कीए, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य छन् ।

पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना

पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको छ ।

बलुचिस्तान प्रान्तको बन्दरगाह सहर ग्वादरमा प्रशिक्षण उडानमा रहेको नौसेनाको हेलिकप्टर यान्त्रिक गडबडीका कारण दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको सेनाले जनाएको छ । सी किङ विमान उड्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो । इन्जिनमा आगो लागेर पुच्छर खसेको थियो ।

देशको सबैभन्दा ठूलो उक्त प्रान्तमा पाकिस्तानी सुरक्षाफौज दशकौंदेखि पृथकतावादी विद्रोहसँग लडिरहेको छ । बलुचिस्तानमा ठूलो मात्रामा चिनियाँ लगानी आयोजना सञ्चालित छन् । ती आयोजनालाई पृथकतावादी लडाकुहरूले नियमित रूपमा आक्रमण गर्न थालेपछि सुरक्षार्थ सरकारी सेना परिचालन भएका छन् ।

गत वर्ष सेप्टेम्बरमा खोस्टमा हेलिकप्टर दुर्घटना हुँदा छ जना सैनिकको मृत्यु भएको थियो भने एक महिना अघि पनि बलुचिस्तानमा बाढीपीडितको उद्धार तथा राहतमा परिचालित सेनाको हेलिकप्टर दुर्घटना हुँदा एक जना वरिष्ठ सैनिकका साथै अन्य छ जनाले ज्यान गुमाएका थिए ।

भारतको अरुणाचलमा ‘स्टिल स्ल्याग’ बाट सडक बनाइँदै

द्रुतमार्गदेखि राजमार्गसम्म सबै प्रकारका सडक निर्माणमा सामान्यतया कंक्रिटको प्रयोग हुन्छ, तर भारत सरकारले अरुणाचल प्रदेशमा विशेष सडक निर्माण गरिरहेको छ, जुन सडक फलामको फोहोरबाट निर्माण भइरहेको छ । स्टिल उत्पादन गर्दा निस्कने फोहोरबाट बनेका यी सडकहरू सामान्य सडकभन्दा बलियो मात्र नभएर सस्तो पनि छन् ।

केन्द्रीय विज्ञान र प्रविधिमन्त्री जितेन्द्र सिंहले भारतले विश्वको सबैभन्दा नयाँ स्टिल रोड टेक्नोलोजी विकास गरेको बताएका छन् । अरुणाचल प्रदेशमा भारत–चीन सीमा नजिकै बलियो र अधिक टिकाउ सडक निर्माण गर्न स्टिल स्ल्याग प्रयोग भइरहेको छ ।

सडक निर्माणको लागि स्टिल स्ल्याग प्रयोग गर्ने प्रविधि सीएसआईआर–केन्द्रीय सडक अनुसन्धान संस्थानद्वारा विकसित गरिएको हो । यस्तो प्रविधिबाट सडक निर्माण गर्दा दुईवटा ठूला फाइदा रहेको भारतीय समचार संस्था न्यूज १८ ले जनाएको छ ।

यस्तो प्रविधिबाट सडक निर्माण गरेको खण्डमा सडक मजबुत हुनुका साथै स्टिल प्लान्टबाट उत्पन्न हुने स्ल्यागको समस्या पनि समाधान हुनेछ । स्टिल स्ल्याग प्रयोग गर्ने सडकहरू परम्परागत सडकहरू भन्दा लगभग ४० प्रतिशत सस्तो र अझ टिकाउ पनि छन् ।

यस प्रविधिमा सडक निर्माण गर्दा रणनीतिक रुपमा संवेदनशील सीमा क्षेत्रमा भारी सवारीको आवागमनमा पनि सहजता हुने अपेक्षा गरिएको छ ।

अरुणाचल प्रदेशमा भारतको सीमा सडक संगठन बीआरओले अरुणाचलमा निर्माण गरिरहेको सडकमा प्रयोग हुने स्टिल स्ल्याग टाटा स्टिल उद्योगले निःशुल्क उपलब्ध गराएको बताइएको छ । भारतीय रेलवेले जमशेदपुरबाट अरुणाचल प्रदेशसम्म उक्त पदार्थ लगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी प्रथम महिला पुनः कोरोना सङ्क्रमित

अमेरिकी प्रथम महिला जिल बाइडेन पुनःकोविड–१९ बाट सङ्क्रमित भएकी छन् । नियमित स्वास्थ्य परीक्षणका क्रममा सोमबार उनी कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएको हो । राष्ट्रपति जो बाइडेनको प्रयोगशाला परीक्षण प्रतिवेदन भने नकारात्मक आएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

बहत्तर वर्षीया प्रथम महिलालाई कोरोनाका सामान्य लक्षणमात्र देखिएको जनाउँदै राष्ट्रपतिको कार्यालयले उनी डेलावेयरको रेहोबोथ समुद्री किनारको घरमा बस्नेछिन्। एक वर्ष अघि पनि प्रथम महिला बाइडेनलाई कोभिड सङ्क्रमण भएको थियो । कोभिड परीक्षणलाई नियमितरूपमा जारी राख्ने र लक्षणहरूको निगरानी गरिने राष्ट्रपतिको कार्यालयले बताएको छ ।

पछिल्ला केही साता यता संयुक्त राज्य अमेरिकामा कोरोना सङ्क्रमण बढेको छ भने बिरामीको अस्पताल भर्नादरमा पनि वृद्धि भएको छ । यसैबीच एनबिसी न्युजले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै देशमा फेरि कोभिडको अर्को लहर आएको सङ्केत गरेको छ ।

बितेका दुई सातामा औसत दैनिक १० हजार पाँच जना सङ्क्रमित अस्पताल आएका तथा एक हजार तीन सय ९७ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपरेको छ ।

कोभिड–१९ बाट दैनिकरुपमा पाँच सय सात जना बालबालिका पनि पीडित भइरहेका छन् । अमेरिकी अधिकारीहरूले कोरोनाविरुद्धको खोप लगाउन सर्वसाधारणमा आग्रह पनि गरेका छन् ।

इन्डोनेशियाको राजधानी जकार्तामा आसियानको शिखर सम्मेलन सुरु

दक्षिणपूर्वी एसियाली क्षेत्रलाई आर्थिक वृद्धिको केन्द्रविन्दुका रूपमा स्थापित गर्ने उद्देश्यका साथ दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन आसियानको ४३औँ शिखर सम्मेलन इन्डोनेशियाको राजधानी जकार्तामा सुरु भएको छ ।

क्षेत्रीय आर्थिक वृद्धिमा केन्द्रित शिखर सम्मेलनको उद्घाटन गर्दै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आसियानलाई एकताबद्ध रहन र कुनै पनि शक्तिका पछाडि नलाग्न आग्रह गरे ।

आसियानका अध्यक्ष उनले सदस्य मुलकमा एकअर्काको अहित हुने तथा आफ्नो भूमिलाई प्रतिद्वन्द्वीको अखाडा नबनाउन आग्रह गर्दै स्थिर, समृद्ध एवं शान्त आसियान निर्माणमा योगदान गर्न अह्वान गरे ।

आगामी तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा सदस्य राष्ट्रका नेताहरूले समुदाय र संस्थाको रूपमा आसियानको भविष्यको खाका तयार गर्ने, सङ्गठनलाई अझ गतिशील तुल्याउने तथा क्षेत्रीय आर्थिक वृद्धिका विषयलाई केन्द्रमा राखेर छलफल गर्ने अपेक्षा गरिएको छ ।

ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम सदस्य रहेको आसियान शिखर बैठकमा म्यान्मारमा जारी सङ्कटलाई लिएर चिन्ता व्यक्त भएको फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ ।

आसियान नेताहरूले सन् २०२१ मा प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको सरकारलाई सैन्य विद्रोहबाट अपदस्थ गरेपछि म्यान्मारमा दैनिक रुपमा भइरहेका घातक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन आह्वान गरेका छन् ।

साथै उनीहरूले दक्षिण चीन सागरमा चीनको बलमिच्च्याइँ नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । चीनले हालै प्रकाशन गरेको राजनीतिक नक्साबारे पनि बैठकमा छलफल भएको थियो । उक्त नक्साले विवाद बढाउने नेताहरूले निष्कर्ष शीर्ष निकालेका छन् ।

म्यान्मारको सैनिक सरकारले अन्तर्राष्ट्रिय आलोचनालाई बेवास्ता गरेको र आफ्ना विपक्षीहरूसँग संलग्न हुन अस्वीकार गरेकोले आसियान नेताहरूले एकताबद्ध भएर अघि बढ्ने अडान राख्ने प्रयास गर्ने तथा तत्काल हिंसा अन्त्य गर्न पुनः वार्ता थाल्न सुझाएका छन् ।

शिखर सम्मेलनमा अनुपस्थित रहेको म्यान्मार आसियानको आगामी अध्यक्ष नहुने प्रायः पक्का भएको एएफपीले प्राप्त गरेको एक दस्तावेजमा जनाइएको छ । फिलिपिन्सले सन् २०२६ मा म्यान्मारबाट आसियानको अध्यक्षता लिने घोषणा हुने अपेक्षा गरिएको छ ।

तीन दिनसम्म आयोजना हुने शिखर बैठकका सिलसिलामा विश्व शक्ति राष्ट्रका सरकार प्रमुख एवं तिनका प्रतिनिधिसँग पनि आसियान नेताहरूले भेटवार्ता गर्ने परम्परा छ । अमेरिका र चीनबीच स्वतन्त्र व्यापार, जलवायु परिवर्तन र विश्वव्यापी सुरक्षालाई लिएर छलफल हुनेछ । चिनियाँ प्रधानमन्त्री, अमेरिकी उपराष्ट्रपति तथा रुसी विदेशमन्त्री आ–आफ्नो देशका सरकार प्रमुखको प्रतिनिधित्व गर्दै जाकार्तामा भेला हुने कार्यक्रम छ ।

आसियान राष्ट्र/सरकार प्रमुखको शिखर सम्मेलनको पूर्वसन्ध्यामा सोमबार आसियान विदेशमन्त्रीहरूको बैठक भएको थियो । इन्डोनेसियाका राजनीतिक, कानुनी र सुरक्षा मामिलाको प्रभारी संयोजक मन्त्री मोहम्मद महफुदले म्यान्मार सङ्कट समाधानका प्रयासमा उल्लेख्य प्रगति नहुँदा आसियान समुदायको शक्तिलाई एकपछि अर्को चुनौती थपिएको बताउँदै त्यसले सङ्गठनमा नकारात्मक प्रभाव पारेको बताए । उनले भूराजनीतिक तनाव र प्रतिद्वन्द्वीताले थप द्वन्द्व निम्त्याउने चेतावनी दिए ।

चिनियाँ नक्साले छिमेकी असन्तुष्ट

चीनले हालै सार्वजनिक गरेको नक्साबाट उसका छिमेकीहरू असन्तुष्ट भएका छन् । चीनको प्राकृतिक संसाधन मन्त्रालयले प्रकाशन गरेको मानक नक्साको नयाँ संस्करणले उनीहरू असन्तुष्ट भएका हुन् ।

नयाँ नक्साबाट दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का पाँच सदस्य राष्ट्र मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम र ब्रुनाईले असन्तुष्टि जनाएका छन् । यी पाँच दक्षिणपूर्वी एसियाली देश दक्षिण चीन सागरमा चीनको अत्यधिक क्षेत्रीय दाबीलाई लिएर विवादमा छन् ।

नक्सासम्बन्धी समस्या हुन नदिन नयाँ नक्सा जारी गरिएको बेइजिङले स्पष्ट पारेको छ तर पाँचवटै देशले सार्वजनिक वक्तव्य जारी गरेर चीनको आलोचना गरेका छन् । इण्डोनेशियाको राजधानी जकार्तामा जारी आसियान शिखर बैठकमा पनि चीनको आलोचना भएको छ ।

गत साता दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङले ‘आधिपत्यवाद चीनको डीएनएमा छैन’ भने पनि नयाँ नक्साबाट उक्त भनाइको खण्डन भएको आसियान नेताहरूले बताएका छन् ।

“फिलिपिन्सले चीनको मानक नक्साको २०२३ संस्करणलाई अस्वीकार गर्दछ… फिलिपिन्सका विशेषताहरू र सामुद्रिक क्षेत्रहरूमा चीनको कथित सार्वभौमसत्ता र क्षेत्राधिकारलाई वैधानिक बनाउने यो पछिल्लो प्रयासको अन्तर्राष्ट्रिय कानून, विशेष गरी सन् १९८२ को संयुक्त राष्ट्रसङ्घीय महासन्धिअन्तर्गत कुनै आधार छैन,” मनिलाले एक वक्तव्यमा भनेको छ ।

लामो बाटो छोट्याउन ग्रेटवाल भत्काउने दुई जना पक्राउ

चीनको विशाल पर्खाल अर्थात् ग्रेट वाल भत्काएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । उत्तरी शान्क्सी प्रान्तमा उत्खनन् यन्त्र प्रयोग गरी ग्रेटवालको एक भागमा क्षति पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केबल न्युज नेटवर्क सीएनएनले जनाएको छ ।

राज्य सञ्चालित प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजन सिसिटिभीलाई उद्धृत गर्दै सिएनएनले जनाएअनुसार याङकियानहे टाउनशिपमा पर्खालमा ठूलो खाडल खनिएकोबारे युयु काउन्टीका अधिकारीहरूले अगस्ट २४ मा जानकारी प्राप्त गरेको बताएका छन् । सुरक्षा अधिकारीहरूले अनुसन्धान जारी राखेका छन् ।

ग्रेटवालको बत्तीसौँ खण्ड रहेका कारण पर्खाल पारी जान लामो बाटो हिँड्नुपर्ने भएपछि एक जना ३८ वर्षीय पुरुष र ५५ वर्षीया महिलाले उत्खनन यन्त्र प्रयोग गरी पर्खाल भत्काएर छोटो बाटो (सर्टकट) बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीहरूले बताएका छन् । यो घटनाबाट राष्ट्रिय अखण्डता र सुरक्षामा खलल पुगेको उनीहरूले बताएका छन् ।

बत्तीसौँ ग्रेट वाल खण्ड मिङकाल (१३६८–१६४४) बाट बाँकी रहेका केही पूर्ण पर्खाल र वाच टावरहरू मध्ये एक हो । यसलाई प्रान्तीय सांस्कृतिक अवशेष स्मारकका रूपमा सूचीकृत गरिएको छ । सन् १९८७ मा चीनको यो विशाल पर्खाललाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक तथा वैज्ञानिक सङ्गठन युनेस्कोले विश्व सम्पदास्थलका रुपमा घोषणा गरेको हो ।

रुसी सेनामा भर्ती गर्न क्युबाबाट मानव तस्करी

मानव तस्करहरूको सञ्जालले क्यारेबियन मुलुक क्युबालाई पनि गाँजेको पाइएको छ । रुसी सेनामा भर्ती गर्ने भन्दै त्यहाँका युवालाई मस्को पु¥याउने प्रपञ्च भइरहेको खुलासा शुक्रबार एक अखबारमा समाचार छापिएपछि भएको हो ।

युक्रेनको युद्धमा क्युबा संलग्न नभएकाले क्युबाली नागरिकलाई कुनै पनि देशविरुद्ध हतियार प्रयोग गर्न भर्ती वा काममा लगाउने जुनसुकै किसिमको मानव बेचबिखनमा संलग्न जो कोहीलाई कडा कारबाही गरिने विदेश मन्त्रालयले एक वक्तव्य निकालेर चेतावनी दिएको छ ।

गत शुक्रबार मियामीको अमेरिका टेभि अखबारमा दुई जना क्युबाली किशोरले आफूहरू ठगिएको तथा युक्रेनमा निर्माणस्थलमा रूसी सेनाको साथमा काम गर्न बाध्य पारिएको बताउँदै आफूहरूको यथाशीघ्र उद्धार गर्न आग्रह गरेको समाचार छापिएपछि मानव तस्करीबारे खुलेको हो । यससँगै क्युबा सरकारले पनि आफ्नो भनाइ आज सार्वजनिक गरेको छ ।

एक जना पीडितले आफू सुत्न नसकेको तथा आफूमाथि कुटपिट भएको दाबी गरेका छन् । पीडितहरूलाई रुसमा वैधानिक रुपमा बस्न रुसी सेनामा संलग्न गराइएको दस्तावेजमा हस्ताक्षर गराइएको समाचारमा बताइएको छ । यद्यपि यससम्बन्धमा मस्कोबाट तत्काल कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ७ : ५६ बजे

भारतमा सूचना प्रविधि सेवाको क्षेत्र ६.६ प्रतिशतले वृद्धि

काठमाडौं– भारतमा सूचना प्रविधि सेवाको क्षेत्र सन् २०२३ मा ६

श्रीलंकामा खाद्यान्नको मूल्य वृद्धि

काठमाडौं– संकटग्रस्त श्रीलंकाको वार्षिक मुद्रास्फीति मे को ०.९ प्रतिशतको तुलनामा

बुद्ध एयरले भित्र्यायो एटीआर जहाज

काठमाडौं– निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ

कोपा अमेरिका : ब्राजिलको फराकिलो जित

काठमाडौं– कोपा अमेरिका फुटबलमा ब्राजिलले फराकिलो जित निकालेको छ ।

जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानको उत्पादन वृद्धि गरिन्छ : प्रधानमन्त्री

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधि प्रयोग