अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

By खबरहब

October 05, 2023

आज आश्विन १८ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर ५ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

अष्ट्रेलियामा सात दिनभित्र चार सय जङ्गलमा आगलागी अष्ट्रेलियाको न्यु साउथ वेल्समा गत शुक्रबारदेखि लागेको आगो बिहीबारसम्म चार सय जङ्गलमा फैलिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

बेगा उपत्यका, मध्य पश्चिम, हन्टर र उत्तरी कोष्टसहित राज्यका थुप्रै क्षेत्रमा आगो निभाउन अग्निनियन्त्रकहरूलाई व्यस्त समय भएको न्यु साउथ वेल्स रुरल फायर सर्भिस ९आरएफएस० ले बताएको छ । कुलागोलाइटमा ठूलो आगलागीका कारण बेगा उपत्यका क्षेत्रमा तीन वटा सम्पत्ति नष्ट भएको पुष्टि भएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बुधबार दिउँसो प्रभावित क्षेत्रको भ्रमण गरी सर्वसाधारणलाई ‘डरलाग्दो गर्मी’ को तयारी गर्न आह्वान गरेका छन् ।

‘हामी अक्टोबरको पहिलो सातामा छौँ र हामीले धेरै दिनदेखिको ३० डिग्री तापक्रम र उच्च हावासहितको मध्य गर्मी महसुस गरिरहेका छौँ, जङ्गलमा लागेको आगोले यस्तो खालको वातावरण मन पराउँछ र यो विशेषगरी क्षेत्रीय समुदायका लागि विनाशकारी हो’, प्रिमियर मिन्सले भने।

कुलागोलाइटको आगलागीको स्तरलाई पछि ‘आपतकालीन’ बाट घटाएर ‘सुझाव’ मा झारिएको थियो । बिहीबारको पछिल्लो अपडेटमा चिसो तापक्रम र २० मिलिमिटरको वर्षाका कारण रातभरमा आगो नफैलिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

‘आठ महिनामा एघार हजार अफगानी शरणार्थी स्वदेश फर्किए’ सन् २०२३ को सेप्टेम्बर १ सम्म १० हजार ९७१ जना अफगानी शरणार्थी स्वदेश फर्केका संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोग (यूएनएचसीआर) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

तीमध्ये ९६ प्रतिशत पाकिस्तानबाट, तीन प्रतिशत इरानबाट र एक प्रतिशत अन्य मुलुकबाट अफगानिस्तानका विभिन्न राज्यमा फिर्ता आएका र उनीहको गृहनगर वा गाउमा जाने तयारी गरिरहेका युएनएचसीआरले जनाएको छ ।

प्रतिवेदनमा सन् २०२३ मा आन्तरिक रुपमा विस्थापित भएका करिब पाँच हजार १५० व्यक्ति अफगानिस्तानमा रहेको आफ्नो मूल थलोमा फर्केको उल्लेख छ ।

सङ्गठनका अनुसार डिसेम्बर ३१, २०२२ सम्ममा अफगानिस्तानमा द्वन्द्वका कारण अनुमानित ३२ लाख ५० हजार मानिस आन्तरिक रूपमा विस्थापित भएका थिए भने करिब ५२ लाख व्यक्ति छिमेकी मुलुकहरूमा शरणार्थीका रूपमा पुगेका थिए ।

श्रीलंकाको केन्द्रीय बैंकले अक्टोबरमा घटायो नीतिगत ब्याजदर श्रीलंकाको केन्द्रीय बैंकको मौद्रिक बोर्डले स्थायी सुविधाअन्तर्गतको निक्षेप र कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ । केन्द्रीय बैंकले बिहीबार एक विज्ञप्ति जारी गर्दै स्थायी निक्षेप सुविधाको ब्याजदर र स्थायी कर्जा सुविधाको ब्याजदर एक सय आधार विन्दुमा क्रमशः १० र ११ प्रतिशतले घटाएको जनाएको छ ।

सेन्ट्रल बैंक अफ श्रीलंकाले बुधबार बसेको मौद्रिक बोर्डको बैठकमा उक्त निर्णय लिइएको उल्लेख गरेको छ । मुद्रास्फीतिलाई मध्यकालीन अवधिमा परिकल्पना गरिएको पाँच प्रतिशतको स्तरमा स्थिर बनाउने लक्ष्यसँगै घरेलु अर्थतन्त्रमा कम मुद्रास्फीति बनाउने अपेक्षासहित मौद्रिक बोर्डले वर्तमान र अपेक्षित घटनाक्रमको विश्लेषण गरी यस्तो निर्णय लिएको केन्द्रीय बैंकले जनाएको छ ।

यो निर्णयले अर्थतन्त्रको सम्भावित वृद्धिलाई सक्षम बनाउने अपेक्षा गरिएको छ । यसअघिको मौद्रिक नीतिलाई उल्लेखनीयरूपमा खुकुलो बनाएसँगै नीतिगत ब्याजदरमा गरिएको यो कटौतीले आगामी दिनमा बजार ब्याजदर विशेषगरी कर्जा दरहरूलाई कम गर्न गति प्रदान गर्ने अपेक्षा गरिएको छ ।

मौद्रिक अवस्थाको निरन्तर सहजताको लाभ व्यक्ति र व्यवसायहरूलाई पर्याप्त र द्रुतरूपमा हस्तान्तरण गर्न केन्द्रीय बैंकले वित्तीय क्षेत्रलाई आग्रह गरेको छ ।

खाद्य तथा गैरखाद्य दुवै मुद्रास्फीतिमा भएको गिरावटका कारण मुद्रास्फीतिको वार्षिक आधारमा कोलम्बो उपभोक्ता मूल्य सूचकाङ्क सेप्टेम्बर महिनामा लक्ष्यभन्दा कम एक दशमलव तीन प्रतिशतले झरेको केन्द्रीय बैंकले जनाएको छ ।

श्रीलंकाले बढ्दो मुद्रास्फीतिको सामना गर्न सन् २०२२ मा उसको ब्याजदरलाई उल्लखनीयरूपमा बढाएको थियो । सन् २०२३ मा उक्त ब्याजदरलाई दुई पटक घटाइएको थियो ।

ताइवानमा कोइनु आँधीबाट १९० घाइते बिहीबार दक्षिणी ताइवानमा कोइनु आँधी आउँदा एक सय ९० जना घाइते भएका छन् । यद्यपि कोइनुका कारण आएको हावाहुरीसहितको वर्षाले कसैको ज्यान नगएको अधिकारीहरूले बताएका छन् । कोइनुका कारण स्कुल र कार्यालयहरू बन्द भएका छन् ।

जापानी भाषामा ‘कुकुर’ अर्थ रहेको कोइनु बिहीबार बिहानै दक्षिणी ताइवानको केप इलुआन्बीमा प्रवेश गरेको थियो र यो पश्चिमतिर दक्षिणी चीनको गुआङडोङ र फुजियान प्रान्ततर्फ जाँदा कमजोर हुने अपेक्षा गरिएको छ ।

बुधबार साँझ आएको आँधीले ताइवानमा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिको हावा ल्याएको थियो । ताइवानको दक्षिणपश्चिम टापु अर्किडमा रहेको मौसम अनुगमन स्टेसनले स्थानीय समयअनुसार राति ९ः५३ मा हावाको वेग प्रतिघण्टा तीन सय ४२ दशमलव सात किलोमिटर मापन गरेको थियो । साथै राति ९ः४० मा एक सय ९८ दशमलव सात किलोमिटर प्रतिघण्टाको दरले हावा चलेको थियो ।

केन्द्रीय मौसम प्रशासनको टाइटुङ मौसम स्टेसनका प्रमुख हुआङ चिया–मेइका अनुसार ताइवानले सन् १८९७ देखि हावाको गति मापन गर्न थालेयता यी दुवै मापनले अहिलेसम्मकै उच्चता कायम गरेको हो । उनले हावाको गति मापन गर्ने यन्त्र आँधी आएको केही समयपछि बिग्रिएको बताए।

युक्रेनी रकेटले ओलेनिभ्का जेलमा हमला गरेको होइन : राष्ट्रसङ्घ

गत वर्ष पूर्वी युक्रेनको एक जेलमा भएको घातक बम विष्फोट युक्रेनको एचआईएमएआरएस रकेटबाट नभएको संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले बताएका छन् । उक्त आक्रमणप्रति किएभ र मस्कोले एकअर्कालाई दोषारोपण गर्दै आएका थिए ।

सन् २०२२ जुलाई २९ मा मस्को नियन्त्रित उत्तरपूर्वी डोनेत्स्क क्षेत्रको ओलेनिभ्का जेलमा भएको बमबारीमा कम्तीमा ५१ युक्रेनी युद्धबन्दीको मृत्यु भएको थियो ।

बुधबार प्रकाशित प्रतिवेदनमा युक्रेनमा रहेको राष्ट्रसङ्घीय मानवअधिकार अनुगमन मिसनका अनुसन्धानकर्ताहरूले सटिक परिस्थितिहरू स्थापित गर्न हमलामा को जिम्मेबार थियो भन्नेबारे सूचनाहरूको आवश्यकता थियो भनेर जोड दिँदै विष्फोटको अनुसन्धान जारी राखेको बताएका थिए । यद्यपि उनीहरूले युक्रेनी सशस्त्र फौजको एचआईएमएआरएस रकेटबाट उक्त विष्फोट नभएको स्पष्ट भएको बताएका छन् ।

‘ब्यारेकका पर्खाल, सिलिङ, छत र झ्यालको क्षतिको अवस्था, भित्रका ओछ्यानहरूको अवस्था, बमले बनाएको खाडलको आकार हेर्दा यो आक्रमणमा एचआईएमएआरएस हतियारको विशेषता देखिँदैन’, उनीहरूले भनेका छन् ।

सन् २०१४ देखि युक्रेनमा रहँदै आएको राष्ट्रसङ्घीय उक्त मिसनलाई सो जेलसम्म पुग्ने अधिकार थिएन तर उसले ५० जनाभन्दा बढी प्रत्यक्षदर्शी र जीवितहरूसँगको अन्तरवार्ताका साथै भिडियो र फोटोग्राफीक फुटेजहरूको विश्लेषणका आधारमा उक्त निष्कर्ष निकालेको हो ।

‘सम्भवतः एउटा एचआईएमएआरएस रकेट ब्यारेक र वरपरका क्षेत्रमा अत्यन्त ठूलो र गम्भीर स्तरको क्षति र विनाशको कारण बन्नसक्छ’, प्रत्यक्षदर्शीहरूको ‘धेरै विष्फोटको आवाज सुनेको’ भनाइ उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ ।

यसका साथै अनुसन्धानकर्ताहरूले क्षतिग्रस्त ब्यारेकका भिडियो र फोटोग्राफिक फुटेजले पश्चिमतिरको पर्खालको भित्री भागमा एउटा विन्दु र छतबाट प्रवेश गर्ने दुई सम्भावित विन्दुमा असर परेको देखाएको बताएका छन् ।

“हतियारको सटिक प्रकार र उसको उत्पत्तिस्थल निर्धारण हुन नसकेको समयमा संरचनात्मक क्षति हेर्दा पूर्व–पश्चिम दिशाबाट आक्रमण भएको देखिन्छ”, प्रतिवेदनमा भनिएको छ ।

अनुसन्धानकर्ताहरूले उक्त जेलमा स्वतन्त्र अनुगमनकर्ताहरूको पहुँच प्रदान गर्न आग्रह गरेका छन् ।