जाजरकोट र रुकुम पश्चिम शोकमा, राहतको पर्खाइमा भूकम्पपीडित | Khabarhub Khabarhub

जाजरकोट र रुकुम पश्चिम शोकमा, राहतको पर्खाइमा भूकम्पपीडित


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर  ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षति हुँदा ती दुई जिल्ला शोकमा डुबेको हो । 

एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ ।

प्रहरीको अद्यावधिक विवरणअनुसार भूकम्पमा परी अहिलेसम्म १५७ जनाको ज्यान गइसकेको छ भने करिब २०० जना घाइते अवस्थामा छन् । 

जाजरकोट जिल्ला सदरमुकामबाट नजिकै रहेको छेडा बजारमा न्यानो घाममा सुतिरहेका भूकम्प पीडितले भने, ‘भूकम्पले घरमा त खासै क्षति भएन तर रातिको भूकम्पको कम्पनले अहिले पनि मुटु काँपिरहेको छ । रातभर निदाउन सकेनौँ । त्यही भएर अहिले सुतिरहेका छौँ । पुराना केही घरमा भने आंशिकरूपमा क्षति भएको छ ।’

भूकम्पले जाजरकोट सदरमुकाम खलङ्गामा धेरै भौतिक क्षति पुर्‍याएको छ । बस्ती उदाङ्गो देखिएका छन् । क्षतिको किन तथ्याङ्क नभए पनि पूर्णरूपमा क्षति भएका घर पनि धेरै छन् । नभत्किएका घर पनि आशिंक रूपमा क्षति भएकै छन् ।

परम्परागत घरमा क्षति धेरै 
जाजरकोटमा गएको भूकम्पले आधुनिक र पक्की घरभन्दा परम्परागत घरमा क्षति धेरै पुगेको छ । प्रहरीले अहिले तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ ।

तर भूकम्प प्रभावित क्षेत्रमा रहेका भत्किएका घरको अवस्था हेर्दा परम्परागत र पुराना घर नै पूर्णरूपमा क्षति भएको देखिएको हो ।

जाजरकोटमा व्यवसाय गर्दै आएका दाङका अमन चौधरी जाजरकोटमा भूकम्पका कारण भत्किएका घर अधिकांश पुराना रहेको जानकारी दिए ।

विशेषगरी पछिल्लो समय बनाइएका पक्की घरमा त्यति क्षति नपुगेको स्थानीयले बताएका छन् । जिल्लाका अन्य पालिकामा समेत भूकम्पले क्षति पुर्‍याएको छ, त्यहाँ पनि परम्परागत र पुराना घरमा क्षति पुगेको बताइएको छ । 

ढुङ्गा र माटाले बनाइएका घरमा धेरै क्षति पुगेको भेरी नगरपालिका–२ का गोपाल बिकले बताए । उनी भन्छन्, ‘यो भूकम्पले धेरैजसो ढुङ्गा र माटाले बनाइएका घरमा क्षति पुगेको छ, काठले बनाइएका घर र बजारमा बनाइएका नयाँ पक्की घरमा त्यति क्षति पुगेको छैन ।’ 

तत्कालीन जाजरकोट दरबारसमेत भूकम्पका कारण चिरा परेको छ । भूकम्पका कारण जाजरकोटका अधिकांश घरमा क्षति पुगेको छ भने घर भत्किँदा मानवीय र भौतिक क्षतिसमेत भएको छ ।

भिरालो जमिनमा रहेको खलङ्गा बजारमा खचाखच घर बनाइएको छ । साँघुरो बाटो, बजारभन्दा तलतिर पहिराको जोखिम देखिन्छ । बजारमा घरमा घर जुधाएर दुवैतिरबाट सडकलाई च्यापिएको छ । यसले गर्दा भूकम्प आउँदा न त खुला ठाउँ छ न भाग्ने ठाउँ नै ।

खुला आकाशमा रात बिताउँदै 
भूकम्प पीडितले  खुला आकाश पालमुनि बसेर रात बिताएका छन् ।  घरहरू भत्किएका छन् भने कतिपय चिरा परेर बस्न नसक्ने अवस्थामा घर भएपछि बाहिर बस्नुपरेको उनीहरूको दुःखेसो छ । 

बाहिर बस्नुपरेपछि चिसोको समस्या बढेको उनीहरूको भनाइ छ । जाजरकोट भेरी नगरपालिका–२ का मानबहादुर विकले आफ्नो घर भूकम्पले भत्काएपछि अहिले केटाकेटीसहित खुला आकाशमुनि बसिरहेको बताए । 

उनले भने, ‘एउटा सानो घर थियो, त्यही पनि भूकम्पले भत्काइदियो । साना केटाकेटीका साथमा बाहिर खुला आकाशमा बस्नुपर्ने बाध्यतामा छु । सरकारले पालको व्यवस्था त गरिदिएको छ, यो चिसोको समयमा पालमुनि बस्न पनि धेरै समस्या छ ।’  

उद्धारको काम अन्तिम चरणमा
सरकारले जाजरकोटका भूकम्पबाट प्रभावित भएकाहरूका उद्धारको काम अन्तिम चरणमा पुगेको बताएको छ । ती दुई जिल्लाका भूकम्प प्रभावितको उद्धार गर्न तीनै तहका सरकारको समन्वयात्मक काम गरेको देखियो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का आफैँ प्रभावितस्थल जाजरकोट आएर उद्धार र राहतको कमी हुन नदिने बताएका थिए । यसअन्तर्गत भूकम्प प्रभावितको उद्धार करिब अन्तिम चरणमा पुगेको हो ।

यस्तै, प्रभावितलाई स्थानीय, प्रदेश र केन्द्र सरकारले राहत सामग्रीको पनि कमी हुन दिएका छैनन् । कर्णालीका गाउँपालिका र नगरपालिकासँगै कर्णाली प्रदेश सरकार र अन्य प्रदेश सरकारले समेत राहत सामग्री ल्याएर वितरण गरेका छन् भने अन्य विभिन्न सङ्घसंस्थाले समेत राहत सामग्री वितरण गरेको जनाइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : ४२ बजे

गण्डकीको बजेट ३१ अर्ब ९८ करोड 

पोखरा– गण्डकी प्रदेश सरकारले आगामी आवका लागि ३१ अर्ब ९७

विपद् जोखिमलाई दृष्टिगत गर्दै तयारीमा जुट्न मुख्यमन्त्री पाण्डेको आग्रह

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्भावित विपद् जोखिमलाई दृष्टिगत

उखु उत्पादक किसानलाई १ अर्ब ६० करोड रुपैयाँ अनुदान उपलब्ध गराउन माग

काठमाडौं– नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घले उखु

भिजिट भिसा प्रकरणमा हामीले ल्याएको प्रस्तावबाट रास्वपा पछि हट्यो : सचेतक घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा

भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ९७ पुग्यो 

काठमाडौं– भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ