उपरदाङगढी आएका पर्यटक काँडेभ्याकुर हेर्न पाउँदा उत्साहित « Khabarhub

उपरदाङगढी आएका पर्यटक काँडेभ्याकुर हेर्न पाउँदा उत्साहित


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

भरतपुर– नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन् । तीमध्ये नेपालमा मात्र पाइने चरा हो, काँडेभ्याकुर । यही चरा हेर्न चितवनको पर्यटकीय क्षेत्र तथा पुरानो सदरमुकाम उपरदाङगढी र अग्लो डाँडा सिराइचुलीमा विदेशी पर्यटकहरू पुग्ने गरेका छन् । 

काँडेभ्याकुर चरा सबैभन्दा धेरै पाइने क्षेत्र यही हो । अङ्ग्रेजीमा स्पाइनी ब्याब्लर भनिने यस चरा हेर्न विश्वका विभिन्न देशबाट पंक्षीप्रेमी पर्यटक नेपालमा आउने गर्छन् । 

बेलायतबाट चरा हेर्न उपरदाङगढी आएका माइक होइटले काँडेभ्याकुर हेर्न पाएर आफू उत्साहित भएको बताएका छन् । वातावरणका क्षेत्रमा काम गर्दै आएका होइटले भने , ‘नेपालमा मात्रै पाइने चरा यस क्षेत्रमा प्रशस्तै देख्न पाइयो, अन्य चराको अवस्था पनि राम्रो छ ।’ उनले आफू चरा हेर्नकै लागि नेपाल आएको बताएका छन् । 

उनले चरा संरक्षणमा समुदायको प्रमुख दायित्व हुने बताए । वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टीकाराम गिरीले चितवनको उपरदाङगडी काँडेभ्याकुरको बासस्थानको ‘हटस्पट’ भएको बताए । ‘उपरपरदाङगढी  प्रकृति प्रेमीका लागि उत्तमस्थल मानिन्छ’, उनले भने, ‘यहाँ आउँदा काँडेभ्याकुर नदेखी फर्कनुपर्दैन ।’ 

गिरीले आफू २० वर्षदेखि काँडेभ्याकुर हेर्न र पर्यटकलाई देखाउन यहाँ आउने गरेको बताएका छन् । यहाँ पहाडी क्षेत्रमा पाइने जनावरको पनि अवलोकन गर्न पाइने उनको भनाइ छ । उनले उपरदाङगढी क्षेत्रलाई ‘बर्ड सेन्चुरी’को रुपमा घोषणा गर्नुपर्ने बताए । उनले पछिल्लो समय जैविक विविधतामा समस्या आउन थालेको भन्दैसंरक्षणमा सरोकारवाला लाग्नुपर्ने बताए । उनले चराको बासस्थान मासिँदै गएकाले चरा संरक्षणका विषयमा नयाँ पुस्तालाई जानकारी गराउनुपर्ने आवश्यक औँल्याए । 

खैरो जिउ, सादा रङका आँखा र धर्का भएको छाति हुने यो चरा निकै सुन्दर र आकर्षक हुन्छ । मध्यपहाडी इलाकामा बस्न रुचाउने काँडेभ्याकुर गर्मीयाममा एक हजारदेखि एक हजार पाँच सयसम्म दुई हजार एक सय मिटरको उचाइमा बिताउँछ । हिउँदमा भने पाँच सयदेखि एक हजार एक सय मिटरको उचाइसम्म बसाइँ सर्नेगर्छ  । चितवनमा भने चार सय मिटरको उचाइमा पनि बच्चा र अण्डासहित काँडेभ्याकुर देखिएको नेपाल पंक्षीविद् सङ्घ बागमती प्रदेश संयोजक बासु विडारीले जानकारी दिए। उनले नेपालमा काँडेभ्याकुरको सङ्ख्या यतिनै छ भन्ने उल्लेख नभएको बताए ।

‘नेपालबाट लोप हुनलागेका एक सय ६८ प्रकारका चरा छन्’, उनले भने, ‘त्यसमध्ये काँडेभ्याकुरको संरक्षण पहिलो प्राथमिकतामा पर्नुपर्छ ।’ विडारीका अनुसार काँडेभ्याकुरलाई दुर्लभ तथा लोप हुने जोखिमयुक्त चराको सूचीमा राखिएको छ । 

जमिन नजिक वा बाक्लो झाडीको तल्लो भागमा बस्न रुचाउने यस चराको प्रमुख आहारा किरा तथा फट्याङ्ग्रा हुन् । मार्चदेखि अप्रिल यस चराको प्रजनन समय हो । एक सिजनमा तीनदेखि पाँच वटासम्म अण्डा पारी कोरल्ने गर्छ । सामान्य बेला लजालु हुने र झाडीभित्र लुकेर बस्ने यसले प्रजननका बेला भने झाडीको बाहिरी हाँगामा बसेर आवाज निकाल्छ । एउटाले आवाज निकाल्यो भने अरुले पनि आवाज निकाल्न थाल्छन् । 

प्रजननको समयमा यो चराले धेरै आवाज निकाल्छ । यही समयमा यसले बढी चहलपहल गर्छ । झाडी तथा घाँसे मैदानमा बस्न रुचाउने यो चराले आफ्नो गुण गहिरो बनाएको हुन्छ । सन् १८३६ मा हग्डसनमा वैज्ञानिकले काँडेभ्याकुरको सम्बन्धमा अध्ययन अनुसन्धान सुरु गरेका थिए । अहिले पनि विभिन्न ठाउँमा यसको अध्ययन-अध्यापन र अनुसन्धान भइरहेका छन् ।

सन् १९५० तिर ठूलो सङ्ख्यामा देखिएको यो चराको सङ्ख्यामा हाल सङ्ख्या कम भएको छ । बढ्दो सहरीकरण, वनजङ्गल फँडानी र जथाभावी बनेका बाटाघाटाले यस चरालाई नकारात्मक असर पारेको विडारीको भनाइ छ । वनजङ्गलमा हुने आगलागी र चरा शिकार नियन्त्रण हुनुपर्ने उनको भनाइ छ । पर्यावरण र पर्यटन दुवैलाई उत्तिकै सहयोग पुर्‍याउने काँडेभ्याकुरबारे राम्रो अध्ययन गरेर स्थानीय बासिन्दालाई सचेत गराउनुपर्ने बिडारीले बताएका छन् । 

इच्छाकामना गाउँपालिकाका वनमा चहारेर काँडेभ्याकुर हेर्न विदेशी पर्यटक आउनेक्रम बढेपछि गाउँपालिकाले यसको संरक्षणका लागि चासो देखाएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले ‘इको टुरिजम’को विकास र संरक्षण आवश्यक रहेको बताए । 

उनले गाउँपालिकाले पनि सक्रियाताका साथ काँडेभ्याकुरको संरक्षणका लागि स्कुल र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम गर्ने बताए। ‘बालबालिकालाई चरा मार्न नहुने, गुँडको संरक्षण गर्नुपर्नेलगायतका कुरा जानकारी गराउनेछौँ’, अध्यक्ष गुरुङले भने, ‘काँडेभ्याकुरको संरक्षण गर्न सक्यौँ भने भावी पुस्ताको लागि यो अध्ययनको क्षेत्र पनि बन्नसक्छ ।’

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ३ : ५१ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी