तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प, मृतकको सङ्ख्या १४ सय नाघ्यो

By खबरहब

February 06, 2023

काठमाडौँ- टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १४ सय नाघेको छ । भूकम्पका कारण टर्कीमा ९ सय जनाभन्दा धेरै र सिरियामा ५५० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । भूकम्पका कारण सयौँ घाइते भएको र अरु धेरै जना बेपत्ता भएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पले आफ्नो मुलुकमा ५ हजार ३ सय ८३ जना घाइते भएको र २ हजार ८ सय १८ भवन भत्केको जानकारी दिएका छन् ।

सो क्षेत्रमा सोमबार बिहान झिसमिसेमै ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसपछि सोमबार अपराह्न ७ दशमलब ७ रेक्टरको अर्को भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो ।

भूकम्पको दोस्रो धक्काले पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको जनाइएको छ ।

भूकम्पको धक्का टर्की र सिरियासहित साइप्रस र लेबनानसम्म महसुस गरिएको रोयटर्सले जनाएको छ । भूकम्पले मध्य टर्की र उत्तर पश्चिम सिरियालाई नराम्ररी प्रभावित बनाएको जनाइएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्वीर र भिडियोमा भूकम्पका कारण आवासीय भवन र अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको देख्न सकिन्छ । भूकम्पपछि उद्धार तथा राहतका लागि उद्धारकर्मी परिचालन गरिएको छ ।

भूकम्पले ११ वर्ष लामो गृहयुद्ध भोगिरहेको सिरियामा ठूलो क्षति निम्त्याएको बताइएको छ । सिरियाली स्वास्थ्य मन्त्रालयले भूकम्पका कारण १ हजार ४२ जना घाइते भएको जानकारी दिएको छ ।