गोठमै रमाएका नन्दप्रसाद « Khabarhub

गोठमै रमाएका नन्दप्रसाद


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको सिमानामा पर्ने तिनपोखरी चारैतिर घना गुराँसको जङ्गलले घेरिएको छ । समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित बस्तीदेखि टाढाको जङ्गलको बीचमा खाली जग्गा खर्क छ । यही खर्कमा गोठालो बसेर अन्नपूर्ण–८ राम्चेका नन्दप्रसाद पुनले आधा जीवन बिताएका छन् ।

“यहाँ भैँसी पालेर बस्न थालेको ३६ वर्ष भयो”, ७६ वर्षीय पुनले भने, “बुढ्यौलीले छोएर शरीरमा पहिलेको जस्तो तागत र जाँगर नभए पनि यो ठाउँ छोडेर जान मन लागेको छैन”, बाबुबाजेले गर्दै आएको भैँसीपालनलाई निरन्तरता दिन जङ्गल पस्नुअघि पुनले काम र दामको खोजीमा भारतको उत्तरप्रदेशमा १६ महिना बिताएका थिए ।

पुनले पञ्चायतकालमा करिब पाँच वर्ष राम्चे गाउँमा जनप्रतिनिधिको रुपमा समेत काम गरेका थिए । तीन छोरी र दुई छोराका अभिभावक पुनले घरखर्च चलाउने, छोराछोरी र नाति नातिनालाई पढाउने खर्च भैँसीपालन र तरकारी खेतीबाट जुटाएका छन् । “राँगो, भैँसी, घ्यू, साग, बन्दा, काउली र आलु बेचेर परिवार धानेको छु”, पुनले भने, “विसं २०४५ तिर गलेश्वरमा कृषि मेला प्रर्दशनीमा उत्कृष्ट भएर पुरस्कृत भएपछि भैँसीपालन र तरकारी खेतीलाई निरन्तरता दिन प्रोत्साहन मिल्यो ।”

पुनले वर्षमा चार÷पाँच वटा राँगा भैँसी र मासिक रुपमा २० देखि ३० लिटरसम्म घ्यू बेच्ने गर्छन् । घोडेपानी, हिस्तान, राम्चे र पोखरामा उनले उत्पादन गरेको घ्यू बिक्री हुन्छ । दूध, दही गोठमै बिक्री हुन्छ । दुई वर्ष पालेको राँगोलाई रु ५० हजार, दुहुना भैँसीलाई रु एक लाखसम्म मूल्य पर्छ । तीन वर्षअघि श्रीमती भक्तिमायाको निधन भएपछि नन्दप्रसादलाई छोरा रेमुले भैँसीपालनमा साथ दिएका छन् ।

अविवाहित एक छोरीले घर धानेर बसेकी छिन् । बिवाह भइसकेका दुई छोरी पोखरामा बस्छन् । एक जना छोरा बेनीमा छन् । दुई जना छोरा छोरीलाई दश जोड दुई तह पढाउने खर्च भैँसीपालनबाटै खर्च जुटेको छ ।

“दिदीहरुको पोखरामा आफ्नै घर छ । बुबालाई उतै बस्ने भनेर लगेर जानुभएको थियो”, रेमुले भने, “बजारको कोलाहाल, धुलो मन परेन, गोठमै ताजा तरकारी, दूध, घ्यू खाएर बस्छु भनेर आउनुभयो । बृद्ध बुबालाई एक्लै छोड्न भएन भनेर म पनि गोठमा आएको छु । दिदीले घरबाट खर्च पानी ल्याइदिनुहुन्छ ।”

नन्दप्रसादको जङ्गलको बसाई फरक किसिमको छ । उनले भैँसी बाँध्ने गोठ र आफू बस्ने घर काठैकाठको बनाएका छन् । छानो र चारैतिर काठले बारेको घरको भुइँमा बस्ने ठाउँमा पनि काठनै छन् । काठको घर न्यानो हुने र धेरै खप्ने पुनको अनुभव छ ।

तिनपोखरी पुनहिल र मोहरेडाँडा जोड्ने गुराँस पदमार्गमा पर्छ । हालै सञ्चालन भएको यो पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि पनि नन्दप्रसादको भैँसी गोठ र काठका घर आकर्षक बनेको छ । पर्यटक, पर्यटक मजदुरहरुले दूध, दही किनेर खाने र नन्दप्रसादसँग भलाकुसारी गर्छन् ।

एक जना फ्रान्सका पर्यटकले नन्दप्रसादका लागि काठकै व्यवस्थित किसिमको दुई कोठे घर पनि बनाइदिएका छन् । भैँसी चरनका लागि जङ्गलमा छाडिदिने गर्छन् । गोठमा बाँधिएका पाडापाडीका लागि जङ्गलमा गएर घाँस ल्याउने, भकारो सफा गर्ने, भैँसी दुहुने, मोही पार्ने, घ्यू बनाएर बेच्न लैजाने नन्दप्रसादका दैनिकी हुन् ।

भैँसी गोठ नजिकै करिब पाँच रोपनी जमिनमा माघ–फागुनमा आलु र आलु खनेपछि साग, बन्दा र काउली खेती गर्छन् । चिसो हावापानीमा उत्पादन भएको तिनपोखरीको आलु र साग मोहरेडाँडा, फूलबारी र घोडेपानीको होटलमा खपत हुन्छ ।

चम्किलो र हसिलो अनुसार, पुष्ट शरीर भएका नन्दप्रसादले जङ्गल जाँदा होस् या गोठमा बस्दा रेडियोको साथ छुटाउँदैनन् । गीत सङ्गीत सुन्दै काम गर्ने उनी अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय घटनाक्रमको बारेमा उत्तिकै जानकारी राख्न रुचाउँछन् ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ९ : ३५ बजे

पोखरामा ७६ वटा शव जमिनमुनि व्यवस्थापन (तस्बिरहरू)

पोखरा– बाढी प्रभावितसहित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका ७६ वटा शव जमिनमुनि

रसुवा बाढीमा कोशी प्रदेशका १५९ जना बेपत्ता

विराटनगर– रसुवा बाढीबाट कोशी प्रदेशका १३ जिल्लाका १५९ जना व्यक्ति

युक्रेनमा रुसी ड्रोन आक्रमण : १२ जनाको मृत्यु, २१ घाइते

किएभ- रूसले युक्रेनको राजधानी किएभ तथा आसपासका क्षेत्रमा गरेको ड्रोन र

बाढीपीडितका लागि एमएडब्ल्यू ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाडौं– रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन लगायत देशका

भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक सञ्चालनको तयारी

हेटौँडा– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ जोड्ने