गर्भवती, सुत्केरी र प्रसूति अवस्था महिलाको लागि विशेष अवस्था हो। बच्चा जन्मिएपछि पहिलो तीन महिना संवेदनशील हुन्छ। त्यसैले नवजात शिशुको विशेष ख्याल राख्नुपर्छ। तर यही अवस्थामा उचित हेरचाह हुन सकेन भने धेरै समस्याले सताउनसक्छ। भर्खरै जन्मिएको शिशुलाई र आमालाई हेरचाहको निकै आवश्यकता पर्दछ। भर्खरै जन्मिएको शिशुमा कस्ता समस्या देखा पर्छन् र नवजात शिशु र साना बालबालिकाको स्याहार कसरी गर्ने ? यिनै विषयमा आधारित रहेर खबरहबका लागि वरिष्ठ बाल रोग विशेषज्ञ डा. रिता सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश :
भर्खरै जन्मेको शिशुमा कस्ताकस्ता समस्या देखापर्न सक्छन् ?
साना बच्चा हरेक किसिमबाट नाजुक हुन्छन्। ग्यास्ट्रोफंगल, वान्ता हुने, ज्वरो आउने हुन्छ। यसबाहेक नवजात शिशुमा धेरै जन्डिसको पनि सम्भावना हुन्छ। आन्द्रामा अम्ल बन्दा वा केही खानेकुरा अड्किएर पेट दुख्नसक्छ। यदि कुनै बच्चा लगातार रोइरहेको छ र असामान्य महसुस गरिरहेको छ भने उसको पेटमा समस्या भएको छ भन्ने बुझ्नुपर्छ। बच्चाको शरीरको छाला सुख्खा हुन्छ। तेल दल्ने र मसाज गर्नाले छाला सुख्खा हुनबाट बचाउँछ। त्यसले नरम बनाउँछ। हामी नेपालीमा पहिलादेखि नै एकदमै तेल लगाउने र राति सेकाउनै पर्ने चलन छ। विशेष गरेर गर्मी मौसममा शिशुमा देखिने मुख्य समस्या भनेका घमौरा र पसिना खटिरा हुन्छन्। शिशुलाई सफा सुग्घर नगर्नाले उनीहरूको इम्युनिटी पावर कम हुन्छ। छिटो इन्फेक्सन हुन्छ। हाम्रोमा परम्परादेखि नै ११ दिनसम्म सुत्केरीलाई छुनु हुँदैन भनेर अलग्गै राख्ने प्रचलन पनि छ। यसको अर्थ भनेको सुत्केरीलाई सफा राख्ने अलग्गै राख्ने र अरूले नछुने भनिएको हो। यो समयमा एकदमै महत्त्वपूर्ण भनेको आमाको दूध शिशुलाई खुवाउनुपर्छ।
नवजात शिशु तथा साना बालबालिकाको स्याहार कसरी गर्ने ?
जन्मेदेखि २८ दिनसम्मका शिशुलाई नवजात शिशु भनिन्छ। शिशु जन्मेको पहिलो मिनेटलाई उसको जीवनको सुनौलो मिनेट मानिन्छ। यस्तै पहिलो घण्टा पनि शिशु र सुत्केरी आमाको लागि महत्त्वपूर्ण हुन्छ। नवजात शिशु तथा साना बालबालिकामा लाग्ने रोग भनेको रुघाखोकी, ज्वरो, झाडापखाला, वान्ता यो सबैमा सफाइ गर्नु पर्दछ। नवजात शिशुलाई जन्मनसाथ नरम, सफा र सुख्खा कपडाले बेरी न्यानो पारेर राख्नुपर्छ। शिशुको नाभी काटिसकेपछि सङ्क्रमणबाट बचाउन नाभी मलम लगाएर नाभीलाई सफा र सुख्खा राख्नुपर्छ। हामीले कोभिडबाट पनि धेरै कुरा सिकेका छौँ। कसरी मास्क लगाउने, साबुन पानीले कसरी हात राम्ररी धुने भनेर हामीले सिकेका छौं । त्यसैले यो समस्याबाट बच्ने उपाय पनि त्यही नै हो। बच्चाको हेरचाहमा ख्याल गर्ने हो भने सफा पानी तताएर मात्र पिउनुपर्छ। सकेसम्म बाहिरका खाना, चना चटपटेले असर गर्ने भएकाले यस्ता कुराहरु खानु हुँदैन। ठेउला दादुराको खोप लगाउने गर्नुपर्दछ। पहिला बच्चालाई के कारणले समस्या भएको छ, त्यो जाँच गरेर उपचार गर्न सकिन्छ। घरको खाना खाने त्यसबाट बच्चामा किटाणुको सङ्क्रमण हुनबाट बचाउने शक्ति तिनीहरूले नै दिन्छ। बाहिरको खाना भनेको जिब्रोको स्वाद मात्र हो। स्वास्थ्यका लागि राम्रो हुँदैन।
नवजात शिशुमा कस्तो समस्या देखा पर्याे भने यो खतरा हो भनेर बुझ्ने ?
नवजात शिशुमा देखिने सामान्य समस्या भनेको जन्डिस र झाडापखाला हुन्। त्यसको लागि त्यति आत्तिनु हुँदैन। सामान्य जन्डिसको लागि लुगा खोलेर नाङ्गै बिहानको घाममा १५ देखि २० मिनेट राख्नुपर्छ। बच्चालाई १५ दिनसम्म जन्डिस बढ्दै जान्छ। कतिपय बच्चाले छिटोछिटो थोरैथोरै दिसा गरेमा त्यसलाई समान्य मान्नुपर्छ। कतिपय बच्चाको आन्द्राको पचाउने क्षमता कम हुन्छ र त्यसले अपच भएर फाल्छन्। त्यो पनि विस्तारै निको हुन्छ। तर धेरै नै पिचिपिचि दिसा गर्यो भने डराउनु पर्दछ। इन्फेक्सन वा अन्य समस्या पनि हुनसक्छ। त्यसको लागि अस्पताल गएर दिसा जाँच गर्नु पर्दछ। अरू समस्यामा बच्चा एक्टिभ नहुने, नरुने, दूध नखाने भयो भने सेफ्टिकको डर हुन्छ। सेप्टिक भनेको नवजात शिशुको लागि खतरनाक चिज हो। बेलैमा यान्टिबायोटिक दिनुपर्ने हुन्छ। आइसियुमै राख्नु पर्ने अवस्था पनि आउनसक्छ। किनभने सेप्टिक भयो भने मेनिन्जाइटिसहरु भएमा बन्दै गरेको शरीर र ब्रेनको लागि त्यो खतरानक हुन्छ। कुनै बच्चाले दूध खाँदैन जन्डिस छ भने र छिटोछिटो सास फेर्ने, नाभिको सङ्क्रमण हुने, दूध चुस्न नसक्ने र नवजात शिशुमा कोखा हान्ने समस्या पनि आउनसक्छ। यसलाई पनि खतराको सङ्केतको रूपमा लिइन्छ। त्यसैले त्यस्तो समस्या देखा परेमा तुरुन्तै परामर्श लिनु पर्दछ।
नवजात शिशुको मृत्युको कारण के के हुन सक्छन् ?
सङ्क्रमण हुनु, अवधि नपुगी जन्म हुनु, जन्मँदा कम तौलको हुनु, जन्मदा श्वास नफेर्नु वा नरुनु, जन्मजात विकृति वा अन्य कारणले नवजात शिशुको मृत्यु भइरहेको हुन्छ। नवजात शिशुलाई सङ्क्रमणबाट बचाउन दक्ष प्रसूतिकर्मीको सहयोगमा स्वास्थ्य संस्थामा नै सुत्केरी गराउनु पर्छ। जन्मिने बित्तिकै शिशुको विशेष स्याहार गर्न सकेमा उनीहरूलाई मृत्युको जोखिमबाट जोगाउन सकिन्छ।
घरमा नै कस्तो कस्तो खानेकुरा दिँदा पोषणयुक्त हुन्छ ?
सुरुमा शिशुलाई जन्मेको छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ। त्यसपछि विस्तारै घरमा बनाएको दाल भात तरकारी जसमा स्वाद बढाउने अजिना मोटोको प्रयोग नगरी फ्रेस तरकारीहरू बनाएर खुवाउनु पर्छ। फलफूल पनि लोकल खाए धेरै राम्रो, मकै भटमास सबै पोसिलो चिज हो। बजारको जुस भन्दा फलफूल नै खाँदा राम्रो हुन्छ।
प्रतिक्रिया