परेन पानी, भएन रोपाइँ | Khabarhub Khabarhub

परेन पानी, भएन रोपाइँ


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका अधिकांश किसानले रोपाइँ गर्न पाएका छैनन् । पानी नपरेका कारण धान रोपाइँ सुरु नभएको जानकी गाउँपालिका–१ जोगागाउँकी किसान सरिता जोशीले बताइन् । सिँचाइको व्यवस्था नभएकोले धान रोपाइँ गर्न नसकिएको उनको भनाइ छ ।

जानकी गाउँपालिकाको साइगाउँ, बेलभार क्षेत्रमा पर्याप्त वर्षा नभएका कारण किसानले अहिलेसम्म धान रोप्न नसकेको गाउँपालिका–१ का अध्यक्ष मोहम्मद रजा राईले बताए । आकाशे पानीको भर पर्नुपर्ने किसानलाई यो वर्ष धानको बीउ राख्नेदेखि रापाइँ गर्नसम्म समस्या भएको खजुराका किसान गेहेन्द्र धितालले जानकारी दिए । सिँचाइको व्यवस्था नभएकोले किसानले धान रोप्न आकाश हेरेर बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । “प्रकृतिले पनि ठगिरहेको छ, धान खेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल नपाउँदा बर्सेनि गरिखाने किसानले दुःखमाथि दुःख झेल्नुपर्ने बाध्यता छ ।”, उनले भने ।

बाँकेमा सिँचाइ सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि रोपाइँ गरिएको छ । हालसम्म बाँकेमा जम्मा २५ प्रतिशत मात्रै रोपाईँ भएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख शकिल अहमदले जानकारी दिए ।

उनका अनुसार, यसपटक हालसम्म पनि आवश्यकपर्ने वर्षा नभएकोले सबैतिर रोपाइँ हुनसकेको छैन । हालसम्म भएको २५ प्रतिशत रोपाइँ पनि अधिकांश सिक्टा सिँचाइको नहर भएको ठाउँ वरिपरी र कृषि ज्ञान केन्द्रको अनुदानबाट सिँचाइ भएको क्षेत्रमा नै गरिएको छ ।

बाँकेमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट राप्ती सोनारी र पश्चिमी नहरबाट कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही वडामा सिँचाइको व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन् । धानको बीउ राख्ने समयलाई मध्यनजर गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छोडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी विशाल यादवले जानकारी दिए ।

बाँकेका आठ स्थानीय तहमध्ये अहिलेसम्म सबैभन्दा बढी बैजनाथ, डुडुवा, खजुरा र राप्तीसोनारी गाउँपालिकामा र सबैभन्दा कम नरैनापुर गाउँपालिकामा रोपाइँ भएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख अहमदको भनाइ छ । बाँकेमा ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदैआएको छ । यो वर्ष वर्षा नभएका कारण बाँके जिल्लामा धान रोपाइँमै किसानलाई कठिनाइ भएको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  २ : ०४ बजे

पर्सामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

वीरगञ्ज– पर्सामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको अनुदानका

संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबीच सकारात्मक छलफल भयो : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध

हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास

काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाहले जुम्लामा बर्थिङ सेन्टर शिलान्यास गरेकी छन्

फिल्म ‘रातो पासपोर्ट’ निर्माण घोषणा, पोर्चुगलको थिममा टाइटल पोस्टर

काठमाडौं – सिबर्डस् पिक्चर्स र होप्स बजले ट्राइडेन्ट कन्सेप्टसँग सहकार्य