आज असार २१, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई ६, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
अमेरिकी अर्थमन्त्री बेइजिङमा
अमेरिकी अर्थमन्त्री जेनेट येलेन विश्वका दुई ठूला अर्थतन्त्रबीचको तनावपूर्ण सम्बन्ध र सञ्चार सुधार गर्ने उद्देश्यले बिहीबार बेइजिङ आइपुगेकी छिन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको दुर्लभ भ्रमण गरेको केही हप्तापछि येलेनको आइतबारको भ्रमण उनको पहिलो चीन भ्रमण हो ।
स्थानीय समयअनुसार साँझ ५ बजेपछि बेइजिङ आइपुगेकी उनलाई चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न र चिनियाँ अर्थ मन्त्रालयका अधिकारी याङ यिङमिङले स्वागत गरेका थिए।
ट्रेजरीका एक अधिकारीका अनुसार यो भ्रमणले येलेनले पत्राचारका लाइनहरू विस्तार गर्ने, गलत सञ्चारबाट बच्ने र विश्वव्यापी अर्थव्यवस्था, जलवायु परिवर्तन, ऋण सङ्कट र अन्य मुद्दाहरूमा सहयोग विस्तार गर्ने प्रयास गर्नेछ ।
चीनको आर्थिक पुनरुत्थान र अमेरिकी ब्याज दर वृद्धिको चिन्ताको सामना गर्दै उनको भ्रमणले दुवै पक्षका अधिकारीहरूलाई उनीहरूको देशको विकासको दृष्टिकोणको बारेमा बोल्ने मौका पनि दिन सक्छ ।
६७ हजारभन्दा धेरै भक्तले गरे अमरनाथमा पूजा
बितेका पाँच दिनमा अमरनाथ यात्रा सुरु भएदेखि कूल ६७ हजार पाँच सय ६६ भक्तले पूजा अर्चना गरेका छन् । राज्य सरकारले जारी गरेको विज्ञप्तिअनुसार बुधबार साँझसम्ममा ती तीर्थयात्रीले अमरनाथ गुफाको दर्शन तथा पूजाअर्चना गरेका हुन् ।
राज्यका सबै सुरक्षा निकायले यात्रीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिहेको छन् । यात्राका विभिन्न स्थानमा सुरक्षा फौजले शिविर स्थापना गरेर आवश्यक सहयोग गरिरहेको छ ।
बुधबार बालटाल आधार शिविर र नुनवान आधार शिविरबाट १८ हजार तीन सय ५४ तीर्थयात्री अमरनाथ गुफाको दर्शन गर्न प्रस्थान गरेका जनाउँदै विज्ञप्तिमा यात्रालाई सहज तुल्याउन राज्यका सबै निकाय विभागले भक्तलाई सबै सुविधा उपलब्ध गराएर सहयोग गरिरहेका उल्लेख गरिएको छ । बैसट्ठी दिन लामो अमरनाथ यात्रा आगमी भदौ १४ गते समाप्त हुनेछ ।
रुसी आक्रमणमा तीन युक्रेनीको मृत्यु
पश्चिमी युक्रेनी शहर ल्भिभमा रहेको एउटा अपार्टमेन्टमा रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको नगरका प्रमखले बताएका छन् । नगरप्रमुख एन्ड्री सडोवीका अनुसार रुसी आक्रमणमा परी आठ जना घाइते भएका छन् ।
यद्यपि उनले कुन–कुन पूर्वाधारमा क्षति भयो भन्नेबारेमा विस्तृत विवरण दिएका छैनन् । उक्त आक्रमणबारे रुसी सेनाले कुनै प्रतिक्रिया दिएको छैन ।
मेटाले सार्वजनिक गर्यो थेड्स एप
मेटा कम्पनीले ट्वीटर जस्तै विशेषता भएको ‘थ्रेड्स’ नामको नयाँ एप सार्वजनिक गरेको छ । इन्स्टाग्रामको एक एपका रूपमा थ्रेड्स एप सार्वजनिक भएको हो ।
‘थ्रेड्स’ एप बेलायतलगायत एक सयभन्दा बढी देशमा डाउनलोड गर्न सकिने तर युरोपेली संघका देशमा भने केही नियामक विषयका कारण अझै उपलब्ध नभएको जनाइएको छ ।
मेटाका फेसबुक, हृवाट्सएप र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल यसअघि नै विश्वभर प्रसिद्ध छन् ।
यो थ्रेड्स एपलाई ट्विटरको प्रतिद्वन्द्वीका रूपमा हेरिएको छ । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने यो दुई अर्बपति एलन मस्क र मार्क जुकरबर्गबीचको युद्ध भएको टिप्पणी समेत गरेका छन् ।
कम्पनीले यसलाई अरू मास्टडन, ब्लुस्कीलगायत सोसल मिडियाको प्रतिद्वन्द्वी समेत भनेको छ ।
अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु
संयुक्त राज्य अमेरिकाको लुजियानामा गोली चल्दा ४ जनाको मृत्यु भएको छ । लुजियानास्थित एक ब्लक पार्टीमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने २ बालबालिकासहित ६ जना घाइते भएका छन् ।
लुलियानको श्रेभेपोर्ट क्षेत्रमा स्वतन्त्रता दिवस मनाउन भेला भएका मानिसहरु उक्त घटनामा परेका हुन् ।
प्रहरीले मृतकको नाम भने खुलाएको छैन र घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन ।
घटनास्थलमा सवारीसाधनको भीड भएकाले घटनास्थलसम्म पुग्न समस्या भएको प्रहरीले जनाएको छ । यस्तो अवस्थामा प्रहरीले घटनास्थलबाट धेरै टाढा गाडी पार्किङ गर्नुपरेको थियो ।
त्यसपछि प्रहरी र आपतकालीन स्वास्थ्य सेवाका कर्मचारी घटनास्थलमा पुगेका थिए ।
मेक्सिकोमा बस दुर्घटना हुँदा २९ जना मारिए
मेक्सिकोमा भएको बस दुर्घटनामा कम्तिमा २९ जनाको मृत्यु भएको छ ।
मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार राति बस सडकबाट ८० फिटको खोँचमा खसेर भएको दुर्घटनामा एक वर्षीय बालकसहित २९ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । बस मेक्सिको सिटीबाट ओक्साकाको योसुन्दुआ जाँदै थियो।
दुर्घटनाको अनुसन्धान सुरु भइसकेको जिसस रोमेरोले बताए । प्राविधिक गडबडीका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
अल जजिराका अनुसार चालकले बसको नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको थियो। यो दुर्घटना भएको सहर पहाडी क्षेत्रमा अवस्थित छ । यहाँ घुमाउरो सडक र गहिरो खाल्डाहरू छन् ।
सिभिल प्रोटेक्सनको उद्धार टोलीले घाइतेलाई नजिकैको गाउँमा लग्यो। यहाँबाट घाइतेलाई सरकारी अस्पताल लगिएको छ । नागरिक सुरक्षा निकायका अनुसार ६ जना गम्भिर घाईते भएका र घाइतेहरूलाई अस्पताल लैजाँदा बेहोस अवस्थामा थिए । बस हटाउन क्रेनको सहायता लिइएको थियो ।
दक्षिण अफ्रिकामा ग्यास चुहावट हुँदा १६ जनाको मृत्यु
दक्षिण अफ्रिकामा संदिग्ध विषाक्त ग्यास चुहावट हुँदा १६ जनाको मृत्यु भएको छ ।
जोहानेसवर्ग शहरको पूर्वी क्षेत्र बोक्सबर्गमा एउटा अवैध सुन खानीमा प्रयोग गरिएको नाइट्रेट अक्साइड ग्यास चुहावटका कारण १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
मृतकहरू घटनास्थलको सय मिटरको दायरामा भित्र फेला परेका थिए । रातको समयमा खोजी र उद्धार टोलीले आफ्नो काम जारी राखेकाले मृतकको संख्या बढ्नसक्ने समाचारमा उल्लेख गरिएको छ ।
दक्षिण अफ्रिकामा हजारौं मानिस अवैध खानीमा काम गर्छन्। जोहानेसबर्ग दक्षिण अफ्रिकाको एक व्यावसायिक क्षेत्र हो, जहाँ सन् १८८० को दशकमा सुनको खोजी गर्दा उत्खनन सुरु भएको थियो।
गत वर्ष डिसेम्बर २५ मा जोहानेसबर्गको एउटा सहरमा ट्याङ्की विस्फोट भएको थियो । वास्तवमा, एलपीजी बोकेको ट्रक पुलमुनि फसेको थियो, जुन पहिले चुहावट भयो र त्यसपछि विस्फोट भयो। उक्त दुर्घटनामा ४१ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया