बजारीकरण नहुँदा गाउँमै कुहियो प्याज | Khabarhub Khabarhub

बजारीकरण नहुँदा गाउँमै कुहियो प्याज


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बझाङ– खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका शेरबहादुर कार्कीले प्याज खेती गर्न थालेको डेढ दशक भइसक्यो । प्याजखेतीमा अब्बल कृषकको पहिचान बनाएका कार्कीलाई गत वर्षयता भने पछुतो लाग्न थालेको छ । मेहनतको फलले भान्छा नपाएपछि शेरबहादुरको घरमा निराशा छाएको छ ।

घरको भान्छा हुँदै पालिकाबासीलाई समेत तरकारी खुवाउने सपना देखेका शेरबहादुरले छिमेकीको अधियाँ जमिन थपेर पनि उत्पादन बढाएको थियो । हरेक वर्ष जमिनसँगै प्याजखेती थप्ने शेरबहादुरलाई उत्पादनमा भने कमी कहिल्यै भएको थिएन । पर्याप्त उत्पादन हुने तर बजारीकरणको समयमा बिर्को लाग्ने समस्याले भने कार्की कहिल्यै सन्तोषजनक हुन पाएनन् ।

यो सिजनमा पनि शेरबहादुरले २० क्विन्टलको हाराहारीमा प्याज फलाए। मनसुनको सुरूआतसँगै बारीको सबै प्याज भित्र्याएका कार्कीलाई अहिले सोही प्याजको गन्धले सताएको छ । ‘रातदिन मेहनत गरेर धेरै प्याज फलाइयो’, उनले भने , ‘अहिले कुहिएर घर नै गनापट्ट  छ ।’

शेरबहादुरका अनुसारका उनको प्याज अढाई क्विन्टल जति गाउँमै किनबेच भयो । ‘पल्लो गाउँबाट आएकाले खाद्यान्नसँग प्याज साटेर पनि लिए । किन्नेले पनि २०-२५ रुपैयाँ प्रतिकेजीमा लिए । अब नौ क्विन्टलको हाराहारीमा छ । बाँकी सबै कुहिएर फालिसक्यौँ’,  कुरा गर्दै उनको अनुहार मलिन हुन्छ ।

राजुदेवी बिष्टको बारीमा यस वर्ष झण्डै पौने केजी बराबरको एकै दाना प्याज फल्यो । हिउँदभरको गोठेमल हाल्नुको परिणाम भन्दै धेरैले प्रशंसा पनि गरे । खेतभरि गहुँ लगाउने योजना रद्द गरी दशौँ क्विन्टल प्याज फलाउँदासमेत अहिले भोकमरीको जोखिम भएको छ ।

‘खेतमा गहुँ छर्ने भन्दै आफन्तबाट बीउ ल्याएका थियौँ’, उनले भने, ‘छिमेकीको सल्लाहमा एक्कासि गहुँ छर्ने योजना रद्द गरेर प्याज लगायौँ । त्यसको उत्पादन पनि सोचेभन्दा राम्रो भयो । तर, किन्ने मान्छे कोही आएनन् । सात-आठ कट्टा कुहिइसक्यो । अब बजार खोज्न कहाँ जाऊँ !’

यसपटक विष्टको परिवारले करिब १७ क्विन्टल बराबर प्याज उत्पादन गर्‍यो । डेढ क्विन्टल बिक्री भएको र दुई क्विन्टल जति वल्लोपल्लो गाउँमा आफन्तलाई दिएकोबाहेक सबै प्याज थन्किएको छ । ‘त्यसमध्ये पनि दैनिक तीन-चार किलो बराबर कुहिन थालेको छ । प्याजका लागि गहुँ पन्छ्याउँदा अहिले खाद्य सङ्कट हुनेजस्तो छ’, उनले भने। 

सुतारीगाउँमा कार्की र विष्टको जस्तै समस्या सबै गाउँलेको छ । पछिल्लो केही वर्षयता सबै किसान गहुँ छोडेर प्याज खेतीतर्फ आकर्षित भएपछि उत्पादन ह्वात्तै बढेको थियो । स्थानीय राजेश कार्कीले भने, ‘सुतारीगाउँको माटो प्याजकै लागि मात्रै उपयुक्त रहेछ । अन्य खेती गर्दा यस्तो उत्पादन हुँदैन । गाउँलेले धेरै प्रकारको खेती गरे तर, प्याज मात्रै अत्यधिक फल्न थाल्यो ।’

राजेशका अनुसार सुतारीगाउँमा ३४-३५ परिवारले प्याजखेती गर्छन् । ‘एउटै परिवारले पनि कम्तिमा १८-२० क्विन्टल प्याज फलाउँछन्’, उनले भने, ‘फलेकोमध्ये धेरै परिवारको आधा भागजति कुहिसक्यो ।’ बजारका लागि गाउँ गाउँमा जाँदा पनि बिक्री नहुने गरेको उनले बताए ।

‘राज्यले संकलन केन्द्र बनाएर बजारीकरण गरिदिए कृषकलाई धेरै हौसला मिल्ने थियो । उत्पादन अझै बढ्थ्यो’, राजेशले भने, ‘सुतारीगाउँमै जिल्लाभरिलाई पुग्ने प्याज फल्छ । तर, बाहिरको आयातलाई प्राथमिकता दिएको सरकारले हाम्रो उत्पादनलाई ख्यालै गरेन । यदि सरकारले बजारका लागि उचित व्यवस्था गरिदिने हो भने बेहिसाबले प्याज फलाई दिन्थ्यौँ ।’

सुतारीगाउँमा प्याजको जसरी अरू तरकारी फल्दैन । ‘प्याज भने बाटोको तलमाथि खसेको भए पनि राम्रो गानु लागेको हुन्छ’, उनले भने। कार्कीका अनुसार गाउँभर करिब साढे तीन सय क्विन्टल प्याज अहिले नै कुहिसक्यो । ‘अहिले बचेको प्याजलाई पनि जोगाउन सकिएन भने असोजदेखि नै आफैँले किनेर खानुपर्ने देखिन्छ’, उनले भने।

यता खप्तडछान्ना गाउँपालिकाका कृषि शाखा प्रमुख गौरीशङ्कर रोकाया भने सुतारीगाउँको प्याजले बजार नपाएको बारे आफूलाई जानकारी नभएको बताउँछन् । ‘सुतारीगाउँमा प्याज उत्पादन धेरै हुन्छ भन्ने त थाहा थियो । तर, यसपटक कति उत्पादन भयो भन्ने कृषकले हामीलाई खबर नै गर्नुभएन’, उनले भने, ‘उहाँहरूले जानकारी गराउनुभएको भए सबै प्याज ढुवानी गरिदिन्थ्यौँ ।’ अहिले पनि प्याज बचेको भए कृषकको मागअनुसार बजारका लागि ढुवानी गर्न सक्ने उनले बताए।

रोकायाका अनुसार कृषि शाखाले गाउँपालिकास्तरीय कृषक सञ्जाल गठन गरेको छ । कृषक र पालिकाको समन्वय बढाउन गठन गरिएको सञ्जालमा सबै गाउँबाट सदस्य छन् । ‘सञ्जालका सदस्यले गाउँका कृषकका गतिबिधिबारे जानकारी दिन्छन्। सुतारीगाउँमा पनि दुई जना सदस्य छन् । उनीहरूले जानकारी नै दिनुभएन । समयमै जानकारी आएको भए प्याज कुहिने थिएन’, रोकायाले भने ।

अहिले पनि कृषकले प्याज बेच्नका लागि पालिकासँग समन्वय गरेमा तुरून्तै बजारसम्म पुर्‍याउने उनले बताए। उनले भने, ‘उहाँहरूले बेच्न चाहनुभयो भने कृषि शाखासँग समन्वय गर्नुपर्छ । तुरून्तै बजारसम्म पुर्‍याउँछौँ ।’

यता कृषि ज्ञानकेन्द्रका बझाङका प्रमुख टेकबहादुर विष्टले भने खप्तडछान्नाको प्याज ढुवानी गर्न सडकले साथ नदिएको बताउँछन्। उनले भने, ‘खप्तडछान्नामा प्याज धेरै नै उत्पादन हुन्छ । तर, मनसुन सुरू, प्याज कोर्ने सिजन र सडक बिग्रने समय एउटै भएको हुँदा बजारसम्म ल्याउन सकिएन ।’

विष्टका अनुसार प्याज जेठ अन्तिम सातासम्म कृषकले भित्र्याइसक्छन् । मनसुन पनि त्यसै समयदेखि सुरू हुन्छ । सडक बन्द हुने पनि त्यही समय हो । ‘प्याजको आयु लामो पनि हुँदैन’, विष्टले भने, ‘एक-दुई महिनामै बन्द कोठामा थन्क्याएको प्याज कुहिन थाल्छ । भण्डारण गर्न कोल्डस्टोर नभए जोगाउनसमेत कठिन हुन्छ ।’

परम्परागत तरिकाले कृषकले आलु राख्दा पनि बढी कुहिएको उनले बताए । ‘बन्द कोठामा राखेर पनि बढी कुहिन्छ’, प्याज राखेको कोठामा चारैतिरका झ्याल खुला गरेर राख्न सुझाव दिँदै उनले भने।

खप्तडछान्नामा अधिकांशले आफूलाई पुग्ने गरी प्याज फलाउने गरेको विष्टको बुझाइ छ । ‘खप्तडछान्नामा धेरैले आफूलाई पर्याप्त हुने गरी प्याज लगाउनुहुन्छ । उनीहरूले खासै किन्नुहुन्न । बढी उत्पादन गर्ने कृषकका लागि सडकले धोका दिन्छ । पालिकाभन्दा बाहिर जान पाउँदैन ।’

जिल्लाभरको अवस्था हेर्दा भने खोलानाला नजिक मात्रै कृषकले प्याज रोप्ने गरेको विष्टले बताए। उनले भने, ‘खोलानाला, कुलो नजिक भएका कृषकले आफूलाई पुग्ने गरी प्याज रोप्छन् । बाँकी सुक्खा ठाउँमा भने यसको उत्पादन नै छैन । जिल्लाभरको तथ्यांक हेर्दा भने ६० हेक्टर जति जमिनमा प्याज उत्पादन भइरहेको छ ।’

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ६ : २९ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले