विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

आज साउन २१, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट ६, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

ब्रिक्समा सदस्य राष्ट्रको सङ्ख्या थप्ने चीनको प्रयास

चीन उदीयमान अर्थतन्त्रहरुको समूह ब्रिक्समा सदस्य राष्ट्रको सङ्ख्या थप्ने प्रयासमा छ । हाल ब्रिक्सका सदस्य राष्ट्रहरुमा चीनसहित भारत, रुस, ब्राजिल र दक्षिण अफ्रिका रहेका छन् ।

अमेरिकासँग बढ्दो प्रतिस्पर्धालाई मध्यनजर गर्दै चीनले ब्रिक्समा सदस्य राष्ट्रको सङ्ख्या थप गर्ने प्रयास गरेको हो । चीनको यस प्रयासलाई ब्रिक्सका अन्य सदस्यहरु ब्राजिल र भारतले सकारात्मक रुपमा लिएका छैनन् । भारतले ब्रिक्समा नयाँ सदस्य थप्नका लागि विशेष नियम बनाउनुपर्नेमा जोड दिएको छ ।

दक्षिण अफ्रिकाको जोहान्नेसबर्गमा आगामी अगस्ट २२ देखि २४ सम्म ब्रिक्स शिखर सम्मेलनको आयोजना हुँदैछ । ब्रिक्स शिखर सम्मेलनअघि भारत र ब्राजिलले समूहमा नयाँ सदस्य थप्ने चिनियाँ प्रयासको विरोध गरेका हुन् । उक्त शिखर सम्मेलनमा चीनले साउदी अरब र इन्डोनेशियालाई ब्रिक्सको सदस्यता दिन प्रस्ताव ल्याउने अपेक्षा गरिएको छ । त्यसबाहेक बेलारुसले पनि ब्रिक्समा सदस्यताका लागि आवेदन दिएको छ ।

पछिल्लो समय धेरै मुलुकले यस समूहको सदस्यता प्राप्त गर्नका लागि प्रयास गरिरहेको अवस्थामा चीनले सदस्य सङ्ख्या बढाउने प्रस्ताव ल्याउन लागेको हो । अमेरिका र पश्चिमा मुलुकसँग जारी शक्ति संघर्षमा सन्तुलन मिलाउनका लागि चीनले ब्रिक्समा नयाँ सदस्य थप गर्ने प्रयास गरेको विश्लेषण गरिएको छ । चीनको प्रयासलाई लिएर ब्राजिल र भारतले विरोध जनाएपनि दक्षिण अफ्रिकाले भने यसबारे सिर्जनात्मक बहसका लागि तयार रहेको जनाएको छ ।

यसबारे प्रतिक्रिया दिँदै चिनियाँ विदेशमन्त्री वाङ यीले गत वर्ष ब्रिक्सका नेताहरुको बैठकले सदस्यता विस्तारलाई स्वीकृत गरेको उल्लेख गरेका छन् । आगामी केही वर्षमा ब्रिक्सलाई विश्वको महत्वपूर्ण राजनीतिक एवम् आर्थिक शक्तिका रुपमा प्रस्तुत गर्ने लक्ष्यसहित जोहान्नेसबर्गमा सम्मेलनको आयोजना हुन लागेको हो ।

चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला आयोजना हुन लागेको ब्रिक्स शिखर सम्मेलनलाई निकै चासोपूर्वक हेरिएको छ । विश्व अर्थतन्त्रमा कायम अमेरिकी डलरको दबदबालाई चुनौति दिनका लागि चीनले यस शिखर सम्मेलनमा ब्रिक्सका सदस्य मुलुकहरुले एउटै मुद्रा प्रचलनमा ल्याउने विषय पनि उठान गर्ने बताइएको छ । यस सम्मेलनम रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भर्चुअल रुपमा सहभागी हुने अपेक्षा गरिएको छ । राष्ट्रपति पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फैजदारी अदालत आईसीसीले पक्राउ पुर्जी जारी गरेको छ ।

आगामी शिखर सम्मेलनको साइडलाइन कार्यक्रममा पाकिस्तानको सहभागितालाई लिएर यही वर्षको जुन महिनामा आयोजित ब्रिक्सको एक बैठकमा पनि भारतले विरोध जनाएको थियो । जुन महिनामा पत्रकारसँग कुराकानी गर्दै ब्रिक्समा नयाँ सदस्यता वितरण गर्न निश्चित मापदण्ड बनाउनुपर्ने उल्लेख गरेका थिए । ब्रिक्समा सदस्य थप गर्नका लागि सदस्य बन्न चाहने मुलुकको अर्थतन्त्र, आकार, साँस्कृतिक प्रभाव र क्षेत्रीय प्रतिनिधित्वलाई ध्यान दिइनुपर्ने भारतको तर्क छ ।

विश्वमा सहकार्य, शान्ति, सुरक्षा र विकास स्थापित गर्न ब्रिक्सको स्थापना भएको विश्वास गरिन्छ । ब्रिक्सका सदस्य राष्ट्रहरुले विश्वको ४३ प्रतिशत जनसङ्ख्या, २६ प्रतिशत क्षेत्रफल र करिब ३० प्रतिशत पैसाको शक्तिको प्रतिनिधित्व गर्छन् । पाकिस्तानजस्ता मुलुकलाई पनि ब्रिक्सको सदस्यता दिन चीनले पहल गरिरहेको छ । विश्व अर्थव्यवस्थामा अमेरिकी डलरलाई चुनौति दिनका लागि चीनले सदस्य राष्ट्रहरुमा वैकल्पिक मुद्रा प्रचलनमा ल्याउने प्रयासलाई पनि जोड दिइरहेको छ ।

ब्रिक्स मुद्रालाई समर्थन गर्नेबारे भारतले कुनै टिप्पणी गरेको छैन । चीनको प्रयासलाई ब्रिक्सको आडमा आफ्नो युआन मुद्रालाई विश्वव्यापी बनाउने प्रयास गरिरहेको हिसाबमा पनि विश्लेषण गरिएको छ । आगामी ब्रिक्स शिखर सम्मेलनमा के होला भन्ने चासो बढिरहँदा ब्रिक्सका लागि दक्षिण अफ्रिकी राजदूत अनिल सुकलालले वैकल्पिक मुद्राबारे सम्मेलनमा चर्चा नहुने स्पष्ट पारेका छन् ।

पाकिस्तानमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, ४५ घाइते

दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।

कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह शहरको सहारा रेलवे स्टेशन नजिकै पटरीबाट खस्दा उक्त हताहति भएको रेलमन्त्री ख्वाजा साद रफिकले पत्रकारलाई बताएका छन् । उद्धार टोलीहरू घटनास्थलमा पुगेका तथा थप टोलीलाई पनि घटनास्थलमा परिचालन गरिएको उनले जानकारी दिए ।

दुर्घटनाग्रस्त रेलका आठ डिब्बा पटरीबाट खसेका रेलवेका अधिकारी मोहसिन सियालले बताएका छन् । प्रान्तीय रेलवे अधिकारी इजाज शाहले यात्रीलाई गन्तव्यसम्म पुर्‍याउन अर्को रेल पठाइएको छ ।

सन् २०२१ को जुनमा सिन्धको डहरकी नजिक दुईवटा रेल एक आपसमा ठोक्किँदा ६५ जनाले ज्यान गुमाएका थिए भने एक सय ५० जना घाइते भएका थिए । सन् २०१९ को अक्टोबरमा तेजगाम एक्सप्रेसमा आगलागी हुँदा ७५ यात्रुको ज्यान गएको थियो ।

बङ्गलादेशमा चौसट्ठी हजार डेङ्गुका बिरामी

लामखुट्टेको टोकाइबाट हुने घातक रोग डेङ्गु लागेर बङ्गलादेशमा तीन सय तीन जनाले ज्यान गुमाएका छन् । यस रोगबाट अरु ६४ हजार बिरामी भएका छन् । शनिबार थप १० जनाको मृत्यु भएको र दुई हजार चार सय ९५ जना बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यस वर्ष हालसम्म देशमा पुष्टि भएका बिरामीको सङ्ख्या ६४ हजार पुगेको छ ।

डेङ्गु लागेर तीन सय तीन जनाले ज्यान गुमाएका छन् । दक्षिण एसियाली देश बङ्गलादेशमा गत महिना डेङ्गुबाट पीडित हुने र ज्यान गुमाउनेको सङ्ख्या अत्यधिक रहको महानिर्देशनालयले जनाएको छ ।

चीनमा ५.५ रेक्टरस्केलको भूकम्प, २० जना घाइते
चीनको शानडोङ प्रान्तमा भूकम्प गएको छ । शनिबार राति देझाउ सहरको पिङयुवान काउन्टीमा ५।५ रेक्टरस्केलको भूकम्प गएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भुकम्पमा परी २० जना घाइते भएका छन् । चीनको राजधानी बेइजिङबाट तीन सय किलोमिटर टाढाको शानतोंग प्रान्तको तचौ शहरमा भुकम्पले क्षति पुर्‍याएको हो ।

भूकम्पको केन्द्रबिन्दु डेझोउ शहरबाट २६ किलोमिटर दक्षिणमा १० किलोमिटर गहिराइमा थियो।

यसअघि शनिबार अफगानिस्तानमा पनि ५.८ रिक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको केन्द्रबिन्दु हिन्दुकुश क्षेत्र थियो । अफगानिस्तानमा गएको भूकम्पबाट कुनै क्षति भएको छैन ।

इटालीमा डुंगा दुर्घटना हुँदा कम्तीमा ३० आप्रवासी बेपत्ता

रोम– इटालीको लाम्पेडुसा टापुमा दुई वटा डुंगा एक आपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा ३० जना आप्रवासी बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायले आइतबार जनाएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार एउटा डुंगामा सवार करिब २८ जना समुन्द्रमा हराइरहेका छन् भने अर्को डुङ्गामा सवार तीन जना बेपत्ता भएका छन् । ट्युनिसियाको स्फ्याक्सबाट बिहीबार छ्टेका दुवै डुंगा फलामका थिए ।

आइओएमका सांस्कृतिक मध्यस्थताकर्ताहरूले जीवित व्यक्तिहरूसँग कुरा गरेपछि ‘कम्तीमा ३० जना हराइरहेको’ विश्वास गरेको प्रेस अधिकारी फ्लाभियो डि जियाकोमोले एएफपीलाई बताए । 

इटालीको सिसिली टापुको एग्रीजेन्टोमा जहाज दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको छ । एग्रिजेन्टोका प्रहरी प्रमुख इमानुएल रिसिफारीले मानव तस्करलाई समुद्र खराब मौसमको पूर्वानुमानबारे जारी सूचना थाहा भएपनि उनीहरूले सुरक्षा अधिकारीलाई झुक्याउन समुद्रको यात्रा गर्न लगाएको बताए । आगामी केही दिन मौसमको प्रतिकूलताका कारण अशान्त समुद्रको पूर्वानुमान गरिएको छ ।

‘ब्ल्याक सी’मा अमेरिकी ड्रोन खसालेको रूसको दाबी

ब्ल्याक सी’मा अमेरिकी ‘रिपर एमक्यू–९’ सैन्य ड्रोनले ‘रूसी राज्यको सीमा प्रवेश गर्न नदिन’ सुखोई–३० लडाकू विमानको प्रयोग गरिएको र अमेरिकी ड्रोनलाई खसालेको रूसले शनिबार जनाएको छ ।

रूसी रक्षा मन्त्रालयले भनेको छ, ‘रूसी लडाकू विमान नजिक आइपुग्दा ‘विदेशी जासुसी ड्रोन’ले सीमाबाट यु–टर्न लिएको थियो ।’ उक्त ड्रोन अमेरिकी वायु सेनाको भएको मन्त्रालयले जनाएको छ ।

रूसी विमान सकुशल आफ्नो एयरबेसमा फर्किएको छ, सीमाको कुनै उल्लङ्घन भएको छैन,’ विज्ञप्तिमा भनिएको छ । मस्कोले युक्रेनमा आफ्नो आक्रमणलाई अघि बढाइरहँदा हालैका महिनाहरूमा ‘ब्ल्याक सी’मा र बाल्टिक सागरमा रूसी र पश्चिमी विमानहरूसँग सम्बन्धित घटनाहरू बढेका छन् ।

मार्चको मध्यमा ‘ब्ल्याक सी’मा रूसी लडाकू विमानसँग ठोक्किएर अर्को अमेरिकी रिपर ड्रोन दुर्घटनाग्रस्त भएपछि मस्को र वासिङ्टनबीच तनाव बढेको थियो ।

मस्कोले गत मे महिनामा बाल्टिक सागरमाथि चार वटा अमेरिकी रणनीतिक बमवर्षक विमानलाई एक हप्ताको अन्तरालमा दुई छुट्टाछुट्टै घटनामा रोकेको बताएको थियो । रूसले फ्रान्सेली, जर्मन, पोलिश र बेलायती विमानलाई पनि रोकेको जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ८ : ०० बजे

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर

कक्षा १२ की परीक्षार्थीमाथि झापाको दमकमा गोली प्रहार

झापा- झापाको दमकमा एकजना विद्यार्थीलाई गोली हानिएको छ। शुक्रबार स्थानीय

डरत्राश देखाइ नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आराेपमा दुई जना पक्राउ

काठमाडौं– नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ

भारतको उत्तराखण्डमा डढेलो, बझाङका दुईजनाको मृत्यु

महेन्द्रनगर- भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली जनाको मृत्यु

विपद् व्यवस्थापनमा बजेट छैन भन्ने प्रवृत्ति अन्त्य गरौँ : गृहमन्त्री

काठमाडौं–  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमासमेत बजेट छैन