नागरिक सचेत भएको कुरा नेताले बुझ्न सकेनन् « Khabarhub

नागरिक सचेत भएको कुरा नेताले बुझ्न सकेनन्



नेपालको राष्ट्रिय राजनीति पछिल्लो समय उठिराखेको द्वन्द्वहिनताको प्रश्नले राजनीतिक वृत्तमा राम्रै चर्चा पाएको छ। कैद मिनाहको नाममा राज्य गैर जिम्मेवार बनेको मानवअधिकारकर्मीको आरोप छ। कानुनी राज्य, दलहरुका गतिविधि र एमसीसी कार्यान्वयनका सन्दर्भमा भइराखेको बहस र आशंकाको विषयमा जोडिएर मानव अधिकारकर्मी तथा राजनीतिक विश्लेषक प्रा. कपिल श्रेष्ठसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

२०७५ सालमा नेपालगञ्जगमा भएको घटनामा योग ढकाललाई जन्मकैदको फैसला सुनाइयो। उनी पाँच वर्षपछि बाहिर आएका छन्। उनलाई हार्दिकता पूर्वक स्वागत गरिएको छ। उनी रिहा भएपछि काठमाडौंमा भारती मानन्धरको अनशन सुरु भएको छ। उनको अनशन गंगामाया अधिकारीको पथमा जान्छ कि भन्ने आशंका सुरु भएका छन्। अधिकारकर्मीको हिसाबबाट यसलाई कसरी हेर्नुभएको छ ?
गणतन्त्र दिवसको उपलक्ष्यमा दिनदहाडै खुँडा हानेर हत्या गरेको सजाय भोगिरहेका व्यक्तिलाई माफी दिइयो। यसले सम्पूर्ण देश नै तरङ्गित भएको छ। अदालतबाट सजाय भएको एक जना हत्यारालाई माफी दिने भनेको सायद कुनै दल वा व्यक्तिसँग नजिकको नातेदार हुनसक्छन्। नत्र नेपालमा सामान्य मान्छेलाई यसरी छुट हुँदैन। त्यस्तो मान्छेलाई कानुन त कागजको खोस्टो हुनेरहेछ। कानुन र न्यायको मूल्य मान्यतालाई फोहोरको टोकरीमा फ्याँकेर सरकार र नेताले गलत काम गरेका छन्।

अरु राष्ट्रपति भन्दा फरक व्यक्ति हो रामचन्द्र पौडेल। उहाँले प्रजातन्त्रका लागि धेरै दुःख गर्नुभएको छ। तर रामचन्द्र पौडेल जस्तो मान्छेले पनि यो बुढेसकालको उमेर यस्तो गर्दा त्यसले मुलुकलाई पार्ने असर कस्तो हो ? यसरी दण्डहिनतालाई प्रश्रय दिँदा कस्तो असर हुन्छ ? त्यसमा पहिलाका राष्ट्रपति जस्तै पौडेलले पनि आँखा चिम्लिएको देखियो।

नेपालमा राजनीतिक रुपले ठुलाबडा र उनीहरूका सन्तानलाई कानुन लाग्दैन। यो न्यायको कानुनी शासनकाले गणतन्त्र होइन। यसको चिन्ता भनेको बुढी मरिन् भन्दा पनि काल पल्कियो भन्ने हो।

अहिले पनि ठुला दलका पछाडि अपराध संलग्न छ। ठुला हत्यारा र ज्यानमारा कोही तरुन् समूहका नेता भएका छन्। कुनै नेताको पछाडि छाती पाखुरा फुलाएर हिँडेको देखिन्छ। कोही सांसद बनेका छन्। त्यस्ता मान्छे ठुलाठुला पदमा पुगेका छन्। यसले युवामा दल र नेताको पछि लागेपछि जे गरे पनि हुनेरहेछ भन्ने संस्कार प्रवृत्तिलाई प्रश्रय दिएको छ।यसरी गलत तरिकाले जेलबाट छुटेपछि उसका जमातले पुरा लावा लस्कर अभिनन्दन गरेर घुमाउँदो रहेछ।

यो नजिर बन्दै गयो। सावित्री श्रेष्ठको मुद्दाको सन्दर्भमा बालकृष्ण ढुङ्गेलको सन्दर्भ थियो। त्यसपछि रेसम चौधरीको पनि त्यही दृश्य देख्यौँ ?
एउटा माओवादीको मुकुट लगाउँदैमा सबै थोक हुने जस्तो भएको छ। यो प्रक्रिया सुरु भएको नै माओवादीको जनयुद्धबाट नै हो। बालकृष्ण ढुङ्गेलले कपिल श्रेष्ठले मेरो विरोध गरेका थिए भनेर मेरो नाम पनि लिए रे ! उनले कपिल श्रेष्ठ को हो र मानसिक रूपले कति दह्रो छ भनेर चिनेका रहेनछन्।

रेसम चौधरीदेखि लिएर पछिल्लो समय आएका रिगलका घटनाहरू हेर्दा पनि हामीले लोकतन्त्रमा स्थापित गरेको गज्जबको मानक त यही भयो नि ?
मान्छेकोअहिले लोकतन्त्रप्रति मोह घट्दै गएको छ। यही लोकतन्त्रको लागि हजारौँ मान्छेले हाँसीहाँसी गोली थापेका थिए। कति जेल गए तर आज यो लोकतन्त्रप्रति मोह भंग भएको छ। चित्त दुखेको छ। विस्तारै आक्रोशको भावना बढ्दै गएको छ। यो बढ्दै जाँदा यो लोकतन्त्रका विरोधीहरू यसलाई मास्न धेरै एजेन्डा बोकेर आएका छन्। उनीहरूको मनोबल बढ्छ र मानव अधिकार लोकतन्त्र, न्यायको आवाज उठाउनेहरूको आवाज कमजोर हुन्छ र मलिनो हुन्छ। त्यसकारण अहिलेका दल नेता मानव अधिकार, लोकतन्त्र र न्यायप्रति इमान्दार देखिएनन्।

सत्य निरूपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित कानुन तर्जुमा हुँदै गर्दा उठेका प्रश्नहरू धेरै छन्। यो कानुन आइसकेपछि के भयो ?
सङ्क्रमणकालीन न्यायमा त यी जुन आयोगहरू छन् जसलाई म कसिंगरे र धसिंगरे आयोग भन्छु। यिनलाई अझैसम्म पीडितलाई र संसारलाई बेवकुफ बनाउन पुगेन ? यो मामलामा यो मुलुकमा उनीहरू भन्दा बुझ्ने मानिसहरू छन्। ठुला दलले झोले र हनुमानहरूलाई यी मानव अधिकार आयोग र अरु आयोगमा छिराउन पाएका छन्। यो कारणले नेपालको राष्ट्रिय मानव अधिकार आयोग दक्षिण एसियामा नै उत्कृष्ट आयोग थियो। अब ‘बी’ श्रेणीमा घटुवा हुँदैछ। मानव अधिकार आयोग ‘बी’ श्रेणीमा घटुवा पर्नु भनेको त यो मुलुक नै ‘बी’ श्रेणीमा पर्दैछ भन्ने हो। त्यसै त मानव अधिकारका दृष्टिकोणमा अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि राम्रो छैन।

४६ सालपछि हाम्रा नेताहरू फन्टुस छन्। म पनि यिनीहरू भन्दा पहिलादेखि लोकतन्त्र प्रजातन्त्रको लागि लडेको मान्छे हुँ। प्रधानमन्त्री प्रचण्ड विदेश गएर यहाँ आफूले धमिलो बनाएको खोलाको पानी संग्ल्याइदिनुपरो भन्नुभयो। अब आफ्नो देशमा आफै इमानदारितापूर्वक र प्रतिबद्धताका साथ काम गर्नु त कहाँ हो अन्तर्राष्ट्रिय समुदायसँग हारगुहार गर्नु भन्दा बढी लाजको र निकम्मापनको कुरा छैन।

भारतमा गयो त्यहाँका नेतालाई खुसी बनाउन पहेंलो लुगा लगाउँछन्। चीनमा गयो मानसरोवर जान्छन्। जहाँ चीनका कुनै नेताहरू गएको मलाई थाहा छैन। भन्ने बेला कम्युननिष्ट हुँ भन्छन्। पहिला यिनीहरु मन्दिर भत्काउँदै पुजारीका टुप्पी काट्दै खोलामा फाल्दै हिँडेका मान्छे हुन्। त्यही भएर उसलाई इन्डिया र चीनले चिनेर यिनहरू पाल्तु जनावर जस्तै रहेछन् भन्ने भइसक्यो। पहिला राजाहरू जाँदा कति धाक हुन्थ्यो। कहिले अन्तर्राष्ट्रिय सभाहरू बनाइदिने। अहिले त हातमा लाग्यो शून्य भएको छ। मिठो मिठो कुरा गर्ने मात्र भयो।

नेपालको पुँजी वा सफ्ट पावर भनेको हाम्रो प्रजातन्त्र हो। मानव अधिकार हो। जनताको लोकतन्त्र र मानव अधिकारप्रतिको प्रतिबद्धता र समर्थन हो। यसले गर्दा सारा विश्वमा हाम्रो इज्जत प्रतिष्ठा भएको हो। पुँजी हुन्छ। कसैको सुन खानीको पावर, कसैको हिरा खानीको पावर, कसैको तेल खानीको पावर हुन्छ तर हामीसँग त्यस्तो छैन। हाम्रो त हिमाल पहाड संस्कार संकृतिका कुराहरू हुन्। यो सबै भत्काइँदै छ। यही कुराको चिन्ता र दुःख लागेको छ।

भारती मानन्धरको अनशन सुरु भएको छ। यसको सन्दर्भमा तपाईंहरूको बुझाइ र भूमिका के रहन्छ अब ?
यो मुलुकमा न्यायको लागि लड्नेहरू सकिएका छैनन्। गंगामायाको नाम लिँदा प्रचण्डको निन्द्रा हराउँछ होला। डा. गोविन्द केसी छन्। जसलाई देखेर मेडिकल माफियाहरू अस्पताल खोलेर सारा पैसा कमाउन पल्केकाहरु तर्सेका होलान्। भारती मानन्धर पनि न्यायको लागि कुनै पनि हदमा जान सक्छन्। त्यसैले नैतिक रूपमा त हामीले जसरी गंगा मायालाई समर्थन जनायौँ। डा.गोविन्दलाई पनि समर्थन गर्यौं। भारती मानन्धरलाई पनि गर्छौँ।

एमसिसीका सिइओ एलिस अलब्राइटले नेपाल भ्रमणको क्रममा व्याख्यात्मक घोषणा हामीले स्वीकार गरेको भनेर स्पष्ट पारिसकेको अवस्था छ। तर फेरि पनि एउटा तत्त्व नेपालको राजनीतिमा छ। जो एमसिसीको विरोध र विवाद गर्छ। यो खालको राजनीतिक पद्धति र प्रणालीले हामीले समग्र दातृ निकायलाई कस्तो सन्देश पठाइराखेका छौँ ?
यो नेपाली नेताहरूको सोच हो। उनीहरु बुझेर पनि बुझ पचाइरहेका छन्। उनीहरुसँग बुझ्न सक्ने क्षमता नै छैन। मैले पढाउने बेलामा कुनै समयमा साह्रै अबुझ विद्यार्थी आउँछ। उनीहरूको जिन्दगी बरबाद नहोस् भनेर सबै सजिलो भाषामा बनाइदिन्छौँ। यो १२ बुँदा पनि यी ग्याँजेहरुलाई चलाख वकिलले बुझ्ने भाषामा बनाइदिएको परिभाषा हो। त्यो एमसिसीको सम्झौतामा यो सबै कुरा नभएको होइन। अब यी पढेका छैनन्। अंग्रेजी केही बुझेका छैनन्। सबै यिनीहरू मान्छे मारेर मान्छेलाई डराएर घुस ख्वाएर नेता भए। पढेर आएका पनि सत्ताले गर्दा अबुझ भए।

एमसिसीमा उठेका बखेडा बिआरआइमा उठेका बखेडा नेपाल जस्तो सानो देशमा ठुला मुलुकले कुनै पनि सहयोग गर्छ भने उसले आफ्नो त्यसमा स्वार्थ राख्छ। ठुला मुलुकको ठुलो स्वार्थ हुन्छ। निःस्वार्थ सहयोग कुनै मुलुकले कुनै मुलुकलाई गरेको छैन। एमसिसीको राम्रो पक्ष भनेको नेपालमा २००७ सालदेखि अहिलेसम्मका धेरै सहयोग सम्झौता भए तर यति धेरै पारदर्शी सबैले देख्न सुन्न पढ्न पाएको अरु कुनै योजना छैन। यो खुला बहस भएको छ।

नेपालले चीनको बिआरआई पनि नकार्न क्षमता राख्दैन। नकार्नु पर्ने कारण पनि छैन। यसमा त हामी सतर्क भएर आफ्नो हितमा प्रयोग गर्ने हो। तर नेपालका वामपन्थीको राजनीतिमा एजेन्डा सकियो। राजनीति गर्ने केही पनि छैन। जनताले यिनलाई पत्याउन छोडे। जनधार नै सकियो। हिजोको पुरानो कम्युनिजम भयो भने त माक्र्स नै जन्मेर आए पनि मलाई क्षमा गर्नुहोस्। मैले गलत सिकाए छु भन्ने अवस्था छ। माक्र्सको सिद्धान्त ३२ नै लक्षणले युक्त होइन। एउटा वेदको रिचा पढेर मुलुक चलाउनु र माक्र्सवाद अनुसार मुलुक चलाउनु उस्तै हो। एउटा विचार बोकेर उनीहरू आफू पनि म्युजियममा गइसके। त्यही म्युजियमबाट आएको आवाज ज्ञानको बुद्धिको प्रयोग गर्न यिनले राम्रोसँग पढेका पनि छैनन्। व्यवहारिक रूपमा रूपान्तरण हुन सकेनन्। माक्र्सवाद राम्रोसँग पढ्ने त प्रदीप गिरि र राहुल साङ्कृत्यायन हुन्।

सोझा नेपाली जनतालाई छलेर ढाँटेर फन्टुस कुरा गरेर सङ्गठन गरेर नेपालको शासकहरू त्यस्तै त्यस्तै भए। भएको कुरा प्रष्टसँग भन्नुपर्छ। सत्ता पक्षका नेताहरू कोही चीनसँग निजी स्वार्थले जोडिएका कोही भारतसँग जोडिएका छन्। तिनीहरूको कुरालाई म कुनै महत्त्व दिन्न।

जाबो ५५ अर्बको कुरा हो। हामी आफै बाटो बनाउँछौँ। प्रसारण लाइन बनाउँछौँ भन्छन् नि ?
कहाँबाट ल्याउने हो। ५५ अर्ब भनेको जाबो होइन। एमसिसी अमेरिकाले नदिए पनि नेपालीले नै गर्नुपर्ने थियो। यिनीहरूसँग ऋण मागेर गर्दा हुन्थ्यो। यो अमेरिकाले आँखा चिम्लेर बनाएको योजना पनि होइन। नेपालसँग सहमति गरेर नै बनाएको हो। ५५ अर्ब भनेको त अमेरिकाले दिएको ठुलो सहयोग हो। कुनै पनि विदेशी मुलुकको सहयोग हो।यसरी हामीलाई बिना स्वार्थ आएको योजनालाई अनावश्यक व्याख्या गरेर जसको कुनै उत्तर नै नभएको कुरा बनाएर यसले गर्दा नेपालको विश्वसनीयता घट्दै जानेछ।

सरकार किन बिचौलिया जस्तो भएको हो ?
सरकारमा हुँदा एउटा बोली सरकार बाहिर अर्को बोली भनेको बिचौलिया प्रवृत्ति भयो। उनीहरूकै पार्टीको गठबन्धनको पनि यो गठबन्धनलाई त म गठेमङ्गलको जात्रा भन्दा पनि काम नलाग्ने गठेमङ्गल भन्छु। एउटा नेताले एउटा भन्छ अर्को नेताले अर्को भन्छ। यसरी नेपाली जनतालाई बेकुफ बनाउने उनीहरूको मात्र बुद्धि छ। उनीहरूले मात्र राजनीति गरेका छन्। त्यसैले यो किसिमको खेल र जनतालाई भ्रम छर्ने काम अब धेरै दिन रहँदैन। जनता धेरै सचेत भइसकेका छन्। अहिले धेरै नेपालका सञ्चार माध्यमले जनतालाई सचेत गराएका छन्। यो हाम्रो नेताहरूले समयमा नै बुझ्न सकेनन्।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ९ : ५४ बजे

छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

दमौली– जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क)

वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई नगद उपलब्ध गराउने

त्रिशूली– नुवाकोटको बेलकोटगढी नगरपालिकाले हालैको अविरल वर्षाका कारण धानबालीमा क्षति

अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गरिँदै

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि

महाकाली पारिका मेयरलाई प्रश्न- सीमावर्ती नेपाली कस्तो जीवन बाँचेका छन् ?

राष्ट्रिय गानले समेत मेची-महाकालीलाई देशको सीमा ठान्छ । आम नागरिकले

साकेला गाउँपालिकामा नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत

खोटाङ– साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत प्रदान गर्न