घरभित्रै नासिँदैछ एउटा दुर्लभ कला | Khabarhub Khabarhub

घरभित्रै नासिँदैछ एउटा दुर्लभ कला



डिल्लीबजार र घट्टेकुलोबीचको घनाबस्ती । यही बस्तीको माझमा एउटा सामान्य घरभित्र अद्भूत कलाको संग्रहालय छ भन्दा धेरैलाई आश्चर्य लाग्नसक्छ । सिंहदरबारदेखि चिया पसलसम्म सरकारले यसो गरेन, उसो गरेन भनेर असन्तुष्टिका स्वरहरु उठिरहँदा एउटा परिवार चुपचाप कलाको साधनामा जुटिरहेको छ । न कसैको आस, न कसैको त्रास । बरु यी अमूल्य कला कतै लोप होला कि भन्ने भयले रातदिन चिमोटिरहन्छ । उही गोविन्दबहादुर गुरुङ यो अद्भूत कलाका सर्जक हुन् । उनका बाजे दरबारका जर्नेल थिए ।

राणाजीका दरबारमा सजाइएका मृत जनावरका अंगबाट बनेका जीवन्त कलाले उनलाई तान्यो । जतिबेला ती कलाकृति विदेशबाट झिकाइन्थे । आजभन्दा ६ दशकअघि उही गोविन्दबहादुरलाई लाग्यो– नेपालीकरण गरेर यो कलालाई नेपाली मौलिक सीप, ज्ञानमा किन नढाल्ने ? यही इच्छाशक्तिले जन्मायो यो अलौकिक कलायात्रा । उनीभित्र कतिसम्म भूत सवार थियो भने आफ्नै खर्चले यो कलासम्बन्धी ज्ञानका लागि उनी जर्मनी पुगे । स्याङ्जाबाट पोखरा हुँदै काठमाडौं छिरेका उही गोविन्दबहादुरका पिताको राणासँगको उठबसले छोरालाई कालिगढ बनाउन मद्दत गर्‍यो । बाबुको यही पेसालाई निरन्तरता दिइरहेका ६३ वर्षीय मदन गुरुङ सुरुवातका ती दिनलाई यसरी स्मरण गर्छन ।

गोविन्दबहादुर यो संसारमा छैनन् । उनले देखेको सपना र सीप यति जीवन्त छन कि मानौं प्रत्येक कलाभित्र बाँचेका छन् । अनि भनिरहेका छन– ‘म मरेपनि मेरो कृति नमार । आउँदो पुस्तालाई नासोका रुपमा यसको संरक्षण गर ।’ मरेका जनावरको शरीरभित्र यस्ता जीवन्त कलाका यी शिल्पीको साधना सतिसालभन्दा कम थिएन । यही कलाको मर्मभित्र उनको तप, जप बित्यो । एक्लो साधनाबाट गोविन्दबहादुर पाँचसय जाति प्रजातिका जनावर, चराचुरुङगीका कला छोडेर गएका छन् । जहाँ झण्डै सात दशकअघि देखिका कला बाँचेका छन् ।

हुनेखाने बाउका छोरा मदन शोखको कुनै पेसामा जान चाहन्थे तर बाबुको मेहनत, पसिना र अन्तिम इच्छा बुझेपछि उनलाई लाग्यो– मैले यी कलाको संरक्षण गर्न सकिन भने महापाप हुन्छ । त्यसैले उनी पनि होमिए ट्याक्सीडर्मी कलायात्रामा । उही गोविन्दबहादुरले कलायात्रा शोखबाट शुरु गरेका थिए । कालान्तरमा यसले बृहद कला संग्रहालयको रुप लियो । संग्रहालयमा के को कलाकृति छ भन्दा पनि के छैन भन्ने हो । मदन आठापाँचा आउने कामबाहेक संरक्षणको पिरलोमै दिनरात हुटहुटिरहन्छन् ।

ट्याक्सीडर्मी भन्ने यो कला कतिपयका लागि नौलो पनि हुनसक्छ । ट्याक्सीडर्मी भनेको पशुपंक्षीको शरीर प्रदर्शन तथा अध्ययनका लागि केही वस्तुहरु मृत शरीरमा भरेर राख्ने वा सुरक्षित राख्ने काम वा कला हो । ट्याक्सीडर्मी भन्ने शब्द ग्रीकभाषाको ‘ट्याक्सी डर्मा’ बाट आएको हो । जसमा ट्याक्सको अर्थ चल्नु र डर्माको अर्थ हुन्छ छाला । अर्थात् पशुपंक्षीको छाला झिकेर त्यसभित्र अरुवस्तु हाल्ने र पशुपंक्षीलाई जीवन्त जस्तै बनाउने कला ट्याक्सीडर्मी हो ।

यो कलाको संग्रहालयमा जीवविज्ञानका विद्यार्थीहरु शैक्षिक भ्रमणमा कहिलेकाहीँ आएर अनुगमन गर्नेबाहेक अरु उपलब्धी हासिल हुन सकेको छैन । त्यसै पनि महँगो र दुर्लभ कला बनाउन जति कठिन छ, संरक्षणमा पनि त्यति नै टाउको दुखाइ छ । बस्नका लागि बनाइएको घर, घरायसी चाँजो नमिल्दा अहिले एउटै कोठामा थुपारिएको छ । संग्रहालयमा के छैन ? विदेशी च्यानलमा देखेका नयाँ पुस्ताले यहाँभित्र अजिंगर, बाघ, भालुदेखि सानोमा चराजत्रो खरायो पनि हेर्न पाउँछन् । दिनप्रतिदिन यी कला संकटको अवस्थामा छन् । हातमा सीप छ । मदन भन्छन– कमिलादेखि हात्तीसम्म संरक्षण गर्न सकिन्थ्यो तर न काम गर्ने ठाउँ, न कसैको प्रोत्साहन ।

मदनलाई अर्को एउटा दुःखले पिरोलिरहन्छ– आआफूले त येनकेन यो कलायात्रालाई यहाँसम्म धकेलियो । आफ्नो एकमात्र सन्तान विदेशमा छन् । उनलाई बाउबाजेले पसिना बगाएको कलाप्रति कुनै मोह छैन । बाबुको नाममा सरकारले कुनै ठाउँ दिएर म्युजियम बनाइदिए हुन्थ्यो भन्ने लाग्छ । यसका लागि उनले कुन सरकारी निकाय धाएनन् ? तर सुन्नेहरु सुन्छन् काम गर्दैनन् । एक वर्ष, दुई वर्ष हुँदै दशकौं बित्यो प्रयास थालेको, तर अहिलेसम्म सिन्को सार्ने काम भएको छैन । संस्कृति मन्त्रालय, पुरातत्व विभागमा गरिएका प्रयास असफल भएका छन् । तर उनले मन मारेका छैनन् ।

मानिस स्वभावतः प्रयोगवादी जात हो । नयाँनयाँ प्रयोग चाहन्छ । अझ एउटा सिद्धहस्त कलाकारले कलाभित्र अनौठो प्रयोग खोज्नु अनौठो होइन । विश्वका होचा नेपाली नागरिक ७२ वर्षीय चन्द्रबहादुर डाँगीको शव ट्याक्सीडर्मी गरेर दुर्लभ कला बचाउने प्रस्ताव आएको थियो । यस्तो प्रस्तावले उनी कम उत्साही भएका थिएनन् । तर नेपालमा कानूनको अभाव र राख्ने ठाउँको समस्याले गर्दा त्यो अवसर गुमेकोमा उनलाई चुकचुक भइरहेको छ ।

व्यक्तिको घरमा राखिएको देखिए पनि यो अमूल्य कला देशको निधि हो । यदि नष्ट भयो भने यसको क्षतिपूर्ति कतैबाट हुन सक्दैन । एउटा व्यक्तिको इच्छाशक्तिबाट देशको कला ढुकुटी भर्न लगाइएको यो गुनको जति प्रशंसा गरेपनि अधुरो हुन्छ । कलालाई बुझ्न मनभित्र अर्को कला हुन जरुरी छ । त्यसैले यो अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई दिएको नासो संरक्षणका लागि सबैले आफ्नो ठाउँमा सहयोग गर्न जरुरी छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  २ : ११ बजे

सहकारी ठगी मुद्दामा रविसहितका प्रतिवादीको बयान जारी

पोखरा– कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगीका प्रतिवादीहरुको बयान आज पनि

पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव हुने

सुनसरी– आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६

नेपाल स्वास्थ्य सम्मेलन सुरु

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन आजदेखि

‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने

ललितपुर– ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने

मङ्कीपक्स सङ्क्रमित युवकको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा उपचाररत मङ्कीपक्स