आर्थिक

३७औँ क्यासी सम्मेलन काठमाडौँमा सुरु

By खबरहब

November 06, 2023

काठमाडौँ- एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ क्यासी र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा ३७औँ क्यासी सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई दिनसम्म चल्ने उक्त सम्मेलनको शुभारम्भ गरे । राष्ट्रपति पौडेलले आर्थिक विकासको तीव्र चाहना बोकेको देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्न लगानी र व्यापारका क्षेत्रमा धेरै अवसर रहेको धारणा व्यक्त गरे ।

“नेपालमा लगानीका क्षेत्र बढ्दै गएका छन् र लगानी सहज बनाउनका लागि कानुन निर्माण भइरहेका छन्, म कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भने । सो अवसरमा पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सम्मेलन आयोजना गर्न पाउनु नेपालका लागि गर्वको कुरा भएको बताए ।

विश्वका मुलुक पहिलेभन्दा धेरै अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै उनले प्रविधि, व्यापार र सञ्चारमा भएको द्रुतगतिको विकासले भावी जीवनलाई आकार दिनाका साथै विश्वव्यापीकरणले राष्ट्रहरूलाई नजिकसमेत  ल्याएको बताए । विश्वव्यापी परिदृश्यको जाँच गर्दा विकासका विभिन्न पक्षहरू जस्तै औद्योगिकीकरण, उद्यमशीलता, दिगोपन, असमानता, हाम्रो भविष्य र राज्यको भूमिकालाई विचार गर्नुपर्ने उनको धारणा थियो । आजको बजारमा प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्नका लागि साना र मझौला उद्यमीले आफ्नो ब्राण्ड बढाउन र पुँजीमा पहुँच बढाउन र व्यावसायिक जोखिम व्यवस्थापन गर्नका लागि सक्षम हुन दिगोपना महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सम्मेलन दिगोपन, उद्यमशीलता र व्यापारमा केन्द्रित रहेको बताए । उनले भने, “हाम्रो मुलुकको आर्थिक विकासका प्रमुख स्तम्भ यिनै हुन् । हामी एशिया–प्रशान्त क्षेत्रका लागि अझ समृद्ध भविष्य सिर्जना गर्ने आकाङ्क्षा राख्छौँ । दुई आर्थिक शक्तिराष्ट्रहरु भारत र चीनको बीचमा अवस्थित नेपालले एशिया प्रशान्त क्षेत्रमा रणनीतिक स्थान ओगटेको छ । यो सम्मेलनले व्यापार सञ्जाल, लगानीका अवसरको खोजी र बहुमूल्य विचार आदानप्रदानका लागि महत्वपूर्ण प्लेटफर्मका रूपमा काम गर्नेछ भन्ने हाम्रो विश्वास छ ।”

अध्यक्ष ढकालले नेपालबाट आयातित जलविद्युत्लाई आफ्नो नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णयले भारतको बजारलाई थप वृद्धि गर्ने अपेक्षा गरे । नेपालमा जलविद्युत् प्रचुर मात्रामा रहेकाले यहाँको दिगो आर्थिक विकासका लागि स्वच्छ र नवीकरणीय ऊर्जाको उपयोग गर्नसक्ने स्थितिमा रहेको उनको भनाइ थियो ।

नेपालको ऊर्जा क्षेत्रमा लगानी र सहकार्यको सम्भावना खोजी गर्न एशिया प्यासिफिकको निजी क्षेत्रलाई अध्यक्ष ढकालले आग्रह पनि गरे । अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपाल सधैँ लोकप्रिय गन्तव्य रहेको उल्लेख गर्दै उनले सगरमाथालगायत विश्वका अग्ला हिमालको भूमि भएकाले यहाँ एशिया–प्रशान्त क्षेत्रबाट धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिनेसमेत बताए ।

विश्वसँग राम्रो ‘कनेक्टिभिटी’ स्थापना गर्न  विश्वस्तरीय होटल र विमानस्थललगायत महत्वपूर्ण चार वटा पर्यटन पूर्वाधारमा लगानी भइसकेको र  केबलकार, लक्जरी होटल तथा रिसोर्ट, थिम पार्क, हिलस्टेसनलगायत  अन्य धेरै क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको अध्यक्ष ढकालको भनाइ थियो । क्यासी अष्ट्रेलियाका अध्यक्ष पिटर एमसीमुल्लिन एएमले उद्यमशीलता र विशेष गरी समावेशी उद्यमशीलताले हाम्रा केही अत्यावश्यक चुनौती समाधान गर्न नयाँ विचार भएका मानिसलाई समर्थन गर्ने बताए ।

उनले उद्यमीहरूलाई समर्थन गरेर नयाँ प्रविधिहरू समावेश गरी तिनका विविध समूहलाई समर्थन गरेर र नवप्रवर्तनलाई फस्टाउनका लागि अनुमति दिए न्यायपूर्ण अर्थतन्त्रतर्फ लैजान नयाँ व्यापारको मोडेल देखाउन सकिने बताए । सम्मेलनमा अष्ट्रेलिया, हङकङ, पाकिस्तान, इरान, साउथ कोरिया, टर्की, सिङ्गापुर, ताइवान, रसिया, फिलिपिन्स, भारतलगायत मुलुकका प्रतिनिधि सहभागी छन् ।