अराजकता हटाउन एमालेको जागरण अभियान | Khabarhub Khabarhub

अराजकता हटाउन एमालेको जागरण अभियान

‘अहिलेको असफलता व्यवस्था र संविधानको होइन, प्रचण्डको हो’



नेकपा (एमाले)ले यतिबेला सिङ्गो मुलुकलाई सामाजिक सद्भावका साथ राष्ट्रिय एकतामा जोड्ने राजनीतिक अभियानमा अगाडि बढेको छ। उसकै भाषामा मंसिर १४ गतेदेखि चलिराखेको तीन हप्ते मध्य पहाडी लोकमार्गमा केन्द्रित अभियानले राष्ट्रिय एकताको सन्देश दिने छ। एमालेको मध्य पहाडी अभियानले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउला ? किन एमाले यो अभियान सुरु गरेको हो ? यसै विषयमा आधारित भएर नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभाका सांसद योगेश भट्टराईसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

पश्चिमदेखि पूर्वसम्मको अभियानमा हुनुहुन्छ। तपाईंहरूको यो अभियानको विषयमा मध्य पहाडी लोकमार्गका जनता के भन्छन् ?
हाम्रो अभियान मंसिरको १४ गतेबाट सुरु भएर बैतडी, डडेलधुरा, डोटी,अछाम हुँदै पूर्वतर्फ अगाडि बढेको छ। अहिलेसम्म सबै ठाउँमा स्थानीय जनसमुदायको सहभागिता छ। सबै राजनीतिक दलका मित्रहरू पनि यो अभियानलाई साथ दिन आउनुभएको छ। ग्रामीण भेगका समस्या राजनीतिक दलहरूलाई सुनाउनु भएको छ। रोजगारीका समस्या, शिक्षा, स्वास्थ्य, पूर्वाधार, बाटोघाटो, महंगी बढेको छ। बजारमा माल सामान सस्तो बनाइदिए हुन्थ्यो भन्ने नागरिकको अपेक्षा छ।

अहिले मध्य पहाडी क्षेत्रमा एमालेले चलाएको अभियानले एमालेको मात्र होइन सिङ्गो मुलुकमा एउटा जागरण पैदा गरेको छ।

हामीले एकदमै आधारभूत तहको जनसमुदायसँग उहाँहरूको राय सुझाव लिने प्रयास गरिराखेका छौँ। सुदूरपश्चिमबाट रोजगारीका लागि भारत जानेको लर्को छ। त्यसको बाबजुद पनि गाउँमा भएका ९० प्रतिशत जनसमुदायको सहभागिता हाम्रो कार्यक्रममा देखिन्छ। अहिले मध्य पहाडी क्षेत्रमा एमालेले चलाएको अभियानले एमालेको मात्र होइन सिङ्गो मुलुकमा एउटा जागरण पैदा गरेको छ। अहिले देशमा भएको अनुशासनहीनता र अराजकताको अवस्थामा सरकारले केही गर्न नसक्दा एमाले एक किसिमको जागरण अभियान चलाएको हो।

पहाडमा विकासका चुनौती के रहेछन् ?
पहाडका जिल्लामा पर्याप्त मात्रामा काम गर्न बाँकी नै छ। हामीले विगतमा गरेका कामलाई जनताको जीवनस्तर र दिगो विकाससँग जोड्नु पर्याे। बाटो पुगेको छ। मध्य पहाडी लोकमार्गले पूर्वदेखि पश्चिमसम्म नै छोएको छ। त्यो बिचका मान्छेहरूले के पाए ? यो बाटोले मानिसको जीवनस्तरमा के परिवर्तन आयो ? त्यसैले यो पूर्वाधार जीवनस्तरमा जोडिनुपर्छ। सडक पुग्छ भने शिक्षा र स्वास्थ्य सुविधा सबै पुग्नुपर्यो। नेताहरू धेरै भएको ठाउँमा विकास भएको छ। तर समग्रमा नेपालको पूर्वदेखि पश्चिमका पहाडी भेगमा अझै पनि हामीले जति ध्यान दिनुपर्ने हो त्यो दिन सकेका छैनौँ। पहाडी भेगमा विकासका चुनौती धेरै छन् किनभने हाम्रो भौगोलिक अवस्थिति नै त्यस्तो छ। वर्षा याममा बाटो बगाइदिन्छ। त्यसैले हामीले विकासलाई दिगो बनाउनु आवश्यक छ।

अहिले देशमा भएको अनुशासनहीनता र अराजकताको अवस्थामा सरकारले केही गर्न नसक्दा एमाले एक किसिमको जागरण अभियान चलाएको हो।

तपाईंहरूले राष्ट्रिय एकता सामाजिक सद्भावको सन्देश पुर्याउने भन्नु भएको छ। यसमा खलल पुर्याउने काम कहाँबाट भइराखेको देख्नु भयो ?
ठाउँ ठाउँमा जात जातिको नाममा, धर्मका नाममा एकले अर्कोलाई निषेध गर्न खोज्ने बल पूर्वक धर्म परिवर्तनका घटना पनि बढ्दै गएका छन्। नेपाल सामाजिक सद्भाव र एकतामा बस्दै आएको मुलुक हो। यस्ता गतिविधिले समाजमा गम्भीर असर पार्ने सम्भावना हुन्छ। हामीले ठाउँ ठाउँमा देख्छौँ कि धार्मिक हिसाबले शिक्षण, प्रशिक्षण गर्नुपर्ने मानिस पहेँलो कपडा लगाएर सडकमा आएका छन्। हामी हिन्दु धर्म मान्ने मान्छेले बनाएका मान्दिरमा पनि जान्छौँ, नियमलाई पनि पालना गर्छौ, क्रिष्चियनका चर्चमा पनि जान्छौँ, बुद्धिष्टकोमा पनि जान्छौँ। मुस्लिमका मस्जितमा पनि हामी जान्छौँ। सबै ठाउँमा हामी जान्छौँ। सैद्धान्तिक हिसाबले नेकपा (एमाले) आफ्नो ठाउँमा छ र आम जनताका कार्यक्रममा हामी जान्छौँ।

जनतामा के कुरामा निराशा रहेछ ?
मान्छेको व्यक्तिगत जीवनमा जे परिवर्तन हुनुपर्ने त्यो भएन भन्ने छ। मान्छेलाई कसरी बाँच्ने भन्ने छ। रोजगारीको अभाव छ। यो सबैले गर्दा जनतामा निराशा देखिन्छ। नागरिकमा निराशा देखिनु स्वभाविक हो। स्थानीय तहलाई बलियो बनाउनुपर्छ। हरेक कार्यमा राज्य उपस्थित हुँदा यस्ता समस्या कम हुँदै जान्छन्। अहिलेको सरकारले जुन ढङ्गले प्रभावकारी काम गर्नु पर्नेथियो। त्यो गर्न नसक्दा र सरकारको उपस्थिति राम्रोसँग देखाउन नसक्दा जनतामा आक्रोश र निराशा देखिएको छ। त्यसो हुँदा अब हामीले राजनीतिक हिसाबले पनि नेतृत्वको विकल्प खोज्नु पर्ने देखिन्छ। यस्तै सरकारलाई अर्को दुई तीन वर्ष राखियो भने जनतामा धेरै ठुलो विद्रोहको स्थिति आउनसक्छ। त्यसलाई पनि सम्बोधन गर्नलाई नेकपा (एमाले) नै अहिलेको भरपर्दो विकल्प हो। एमालेको नेतृत्व मुलुकको निम्ति आवश्यक छ भन्ने सन्देश दिने हाम्रो उद्देश्य हो।

हाम्रो प्रणालीमा काम गर्ने व्यक्तिमा कतिपय समस्या हुन सक्छन्। काम गर्ने व्यक्तिमा समस्या हुनसक्छन्। त्यसो हुँदा व्यक्ति फेर्नुपर्छ। तर यो व्यवस्थाको विकल्प अर्को व्यवस्था होइन।

देशलाई कम्युनिस्टले के दियो भन्ने प्रश्नसमेत जनताले गर्लान नि ?
गएको ७५ वर्षमा मुलत मुलुकमा शासकीय स्थायित्व नै भएन। हामी त्यसको खोजीमा नै धेरै लड्यौँ। २००७ सालमा आएको प्रजातन्त्र २०१७ सालमा राजा महेन्द्रले कू गरेपछि राजनीतिक अस्थिरता सुरु भयो। २०१५ सालको संविधानले पनि सम्बोधन गर्न सकेन। त्यसपछि ३० वर्ष पञ्चायत व्यवस्थाविरुद्ध लड्यौँ। २०४६ सालपछि मुलुकले सही दिशा ग्रहण गर्दै थियो। तर राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूको षड्यन्त्र र देश भित्रकै कारणले ५२ सालबाट माओवादीले हतियार उठाएर १० वर्ष हामीले हिंसात्मक अवस्था भोग्नुपर्यो। त्यो हिंसात्मक स्थिति बढ्दै गएको भए मुलुकमा ठुलो नरसंहार हुन्थ्यो। १७ हजार दाजुभाइ दिदी बहिनीले त अनाहकमै ज्यान गुमाउनु पर्याे। त्यो माओवादीको हिंसात्मक अवस्थालाई शान्ति पूर्ण अवतरण गर्ने त्यो बुद्धिमत्ता पूर्ण काम त हामीले गरेका हौँ। अर्को १० वर्ष हामीले संविधान निर्माणको काममा लगायौँ। संविधान बनेपछि मुलुकमा एउटा शासकीय राजनीतिक स्थायित्व हुनु पर्ने थियो तर त्यो भएको छैन। यसमा हाम्रा कतिपय राजनीतिक प्रणालीको बारेमा विचार गर्नुपर्छ। निर्वाचन प्रणाली कसैको बहुमत नआउने र दलको आन्तरिक झमेलाको कारणले जनताका माग पुरा हुन सकेनन्। यो कुराबाट अनुभव लिँदै अगाडि जानुपर्छ। आउने २०८४ मा कुनै न कुनै दलले बहुमत ल्याउनु पर्छ। त्यो ल्याउन सक्ने तागत नेकपा (एमाले) हो भन्ने पक्षमा हामी छौँ। यो व्यवस्थालाई उत्कृष्ट बनाउँदै लैजानु पर्छ।

आजका दिनमा जनताले यो व्यवस्था प्रणाली मात्र हेरेर हामी कति समय बस्ने भनिरहेका छन्। सिङ्गो समस्या दलहरू माथि भन्दा पनि प्रणाली माथि हो कि भन्ने भयो नि ?
सरकारले केही गरेको छैन। जति अराजकता हुन्छ त्यति अस्तित्व रहन्छ भन्ने प्रचण्डको सिद्धान्त रहेको छ। हाम्रो व्यवस्थामा प्रणालीमा काम गर्ने व्यक्तिहरूमा कतिपय समस्या हुन सक्छन्। काम गर्ने व्यक्तिमा समस्या हुनसक्छन्। त्यसो हुँदा व्यक्तिहरू फेर्नुपर्छ। तर यो व्यवस्थाको विकल्प अर्को व्यवस्था होइन। त्यो आएर विकास निर्माण एकदम फलिफाप हुन्छ जस्तो लाग्दैन। दुनियाँमा लोकतान्त्रिक व्यवस्था बाहेक अरूको कुनै व्यवस्थाले जनताको आकाङ्का पुरा हुँदैन।

हामी भर्खरै लोकतन्त्रको अभ्यास गरेको मुलुकमा यस्ता शक्तिहरू हुन्छन्। यसले ठुलो उलटपुलट गर्ने होइन। अहिलेको असफलता भनेको प्रचण्ड सरकारको हो। व्यवस्था र संविधानको होइन।

२०६४ सालमा कोही उम्मेदवारी दर्ता गर्न जान नसक्ने अवस्था थियो। आज त्यो शक्ति सडकमा आएको छ। यो मैदान कसले बनायो ?
यसमा आफ्नो शासन सत्ता श्रीपेच किन गुम्यो भनेर एक पटक श्रीपेचवादीले विचार गर्नुपर्छ। ४६/४७ मा संविधान किन र कसको कारणले बर्खास्तीमा पर्यो भनेर पनि श्रीपेचवादीले विचार गरे हुन्छ। ६२/६३ राजनीतिक दलसँग सहमति पूर्वक अगाडि बढेको भए। नेपालको राजनीतिक कोर्स अर्कै ढङ्गबाट जान्थ्यो होला। जति बेला त्यो श्रीपेच बुझाएर हिँड्नु पर्ने अवस्था भयो त्यो संस्था जनताले चाहेको थियो त ? कति बदनाम थियो ? मुलुक कसरी यहाँसम्म आयो ? यो आज जन्मेको बच्चाले पनि इतिहास पढ्छ। त्यसैले अब हिजोको विकल्पको लागि विचार गर्ने कुरा सम्बन्धित व्यक्ति र संस्थाको लागि दुर्भाग्य हो।

अहिले राजाको पक्षमा जनमत किन बढ्दै गइराखेको छ ?
अलिअलि हुन्छन्। धर्म र जातिका आधारमा कतिपय कुराहरू हुन्छन्। हामी भर्खरै लोकतन्त्रको अभ्यास गरेको मुलुकमा यस्ता शक्तिहरू हुन्छन्। यसले ठुलो उलटपुलट गर्ने होइन। अहिलेको असफलता भनेको प्रचण्ड सरकारको हो। व्यवस्था र संविधानको होइन।

सांसद योगेश भट्टराईसँगको कुराकानी :

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : ०५ बजे

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस

काठमाडौं-गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही आइतबार प्रदेशसभाबाट पाएको विश्वासको

भूकम्पपीडितलाई चाँडो राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले जाजरकोट केन्द्रबिन्दु

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् ।

एलओडी फेरि विश्वका उत्कृष्ट ५० क्लबभित्र

काठमाडौं- ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) फेरि विश्वकै उत्कृष्ट क्लबमध्ये

संसदीय दलमा रविको ब्रिफिङ : मलाई घेरेर कांग्रेसले सत्ता गठबन्धन फुटाउन खोज्यो

काठमाडौं- सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय