प्रत्येक जिल्लामा एउटा नाटक घर चाहिन्छ « Khabarhub

प्रत्येक जिल्लामा एउटा नाटक घर चाहिन्छ

यो क्षेत्रमा बजेट भन्दा पनि सोचकै अभाव छ


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नेपाली साहित्यमा नाटकको छुट्टै स्थान छ। साहित्यलाई समाजसम्म पुर्याउने पुरानो तर सशक्त माध्यम हो नाटक। रंगमञ्ज नै आजको नेपालमा एउटा ठूलो क्षेत्र बनेको छ। यसका पछाडि विभिन्न पात्रको महत्त्वपूर्ण भूमिका रहेको छ। आजको दृश्यले मात्र नाटक र रङ्गकर्मीबारे समीक्षा गर्नु न्यायोचित हुँदैन। आजको नाट्यक्षेत्रको विकासका लागि विभिन्न ढंगले विभिन्न विद्वानले विविध कोणबाट महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। नेपाली साहित्यको रंगमञ्चमा नाट्यकर्मी अशेष मल्लको योगदान विराट देखिन्छ। उनै नाट्यकर्मी अशेष मल्लासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

अशेष मल्लको नाटकमा वा साहित्यमा आगमनको समयलाई कसरी समेट्न सक्छौँ ?
मेरो जन्म घर धनकुटामा भयो। मेरो बाल्यकालका सबै साथी दसैँ र तिहारको प्रतिक्षामा हुन्थे। तर मलाई भदौ कहिले आउला जस्तो लाग्थो। किनभने भदौमा जात्रा हुन्थ्यो। त्यो जात्रामा हरेक दिन नाटक नाचगान हुन्थ्यो। हाम्रा पुर्खा भक्तपुरबाट हिँडेर धनकुटा गए र सँगै भक्तपुरको संस्कार बोकेर गएका रहेछन्। यो पृथ्वीमा जो जो आउँछन् उसलाई केही जिम्मा दिएको हुन्छ। मेरो जिम्मा रंगमञ्चको लागि होला जस्तो लाग्छ। त्यसैले म रंगमञ्चमा छु।

पहिला कसरी जात्रा हुन्थ्यो त ?
पहिला जात्रामा दियो बालिन्थ्यो। सबै जम्मा भएपछि नाटकको म्युजिक बज्थ्यो। मेरो घर अगाडि हरेक वर्ष जात्रा हुन्थ्यो। बाँसको स्टेज बनाइन्थ्यो। त्यो नबाउन तीनदेखि चार महिना लाग्थ्यो। पर्दाहरू लगाइन्थ्यो माइक नभएको कारणले ठूलो ठूलो स्वरमा बोल्नु पथ्र्यो । मलाई मैले यो नै गर्छु भन्ने लाग्थ्यो।

नाटकबाट के पाउँछु भनेर कहिल्यै सोच्नु भयो ?
आजसम्म मैले के दिन्छ भनेर सोचेको छैन। त्यो सोचेको भए आज यो अवस्थामा नै हुने थिइन। केही पाउने आशमा गरेको कामले विकास हुँदैन।

धनकुटाबाट काठमाडौँ नाटक देखाउन नै आउनु भएको हो ?
धनकुटाको स्कुलको सानो हलमा हामीले नाटक गर्थ्र्यौ। त्यो बेला टिकटको सिस्टम बसाल्यौँ। विजय मल्ल, मनबहादुर मुखियाको नाटक हुन्थ्यो। मैले साहित्य पनि लेख्ने हुँदा साथीहरूले नाटक लेख भने। मैले २०३२ सालमा (तुवाँलोले ढाकेका बस्ती) शीर्षककको नाटक लेखेँ। गाउँ भन्दा पर हातिखर्क भन्ने गाउँ थियो र त्यहाँ धान रोप्ने क्रममा लिम्बु दाइहरू हाम्रो घरमा बस्दा भयानक झगडा भयो। त्यो कुरा मैले लेखेँ। त्यो नाटक धेरै चल्यो। र यो लिएर काठमाडौँ जाऔँ भन्ने भयो।

‘तुवाँलोले ढाकेका बस्ती’ शीर्षक कसरी लेख्नुभयो ?
हाम्रो घरको झ्याल खोल्ने बित्तिकै क्षितिज देखिन्थ्यो। जाडो महिनामा डम्म तुवाँलो लाग्थ्यो। त्यो गाउँमा के भएको छ त्यो देखिँदैन थियो। हो त्यसलाई मैले देखाउँछु भनेर यो शीर्षक नाटक लेखेँ।

नाटक लेख्न सजिलो कि नाटक गर्न ?
यसमा सजिलो अप्ठ्यारो भन्दा पनि यो कसरी लेखिन्छ थाहा हुँदैन। लेख्छु भनेर लेख्न सकिँदैन। कति बेला लेखिन्छ थाहा नै हुँदैन। कविता लेखिसकेपछि मात्र थाहा हुन्छ।। नाटक चाहिँ केही योजना गरे लेखिन्छ।

धनकुटा किन छोड्नु भयो ?
हरेक कुराहरू लिन काठमाडौँ आउनु पर्ने थियो। यो भनेको सबैको केन्द्र हो। धनकुटाबाट नाटक लिएर आएपछि सबै साथीहरू धनकुटा फर्के तर म फर्किनँ किनभने म नाटकमा सबै सामु चिनिनु थियो। जो व्यक्ति केन्द्रमा आउँदैन यो पर्दामा आउँदैन। म आफै अभिनय पनि गरेँ र नाटक पनि लेख्न थाले। पछि लेखन बढी भयो, अभिनय छोड्दै गएँ।

एउटा नाटक बलवान कसरी हुन्छ ?
नाटक गर्दा दर्शकसम्म पुर्याउने आधार खोजी गर्ने काम हुन्छ। निर्देशक भनेका लेखक र कालाकारबीचका पुल हुन्। एउटा व्यक्तिबाट चरित्रमा जाने क्रममा चरित्र कसरी अगाडि आउँछ खोज्ने नै त्यही हो। भरत मुनि, पतञ्जली, गौतम बुद्धलाई अध्ययन गरेर मैले एउटा (ध्यानाविनय) भनेको छु। एउटा पात्रमा समावेश हुन एउटा परिचय बनाएर बसेको ब्यक्तिले आफूलाई साधना र ध्यानलाई नाटकमा लगाउनुपर्छ।

नाटकको क्रममा हामी कुन स्थानमा छौं ?
नेपालको नाटकको सुरुवात मल्ल कालदेखि नै आजसम्म छ। अहिले नाटक मुर्जाएको छैन। पहिला नाटक एक्लो थियो। पछि सिनेमा आयो र अहिले डिजिटल युग आयो। जुनसुकै समय आए पनि नाटकको महत्त्व उत्तिकै छ। यो क्षेत्र आर्थिक कारणले अल्झिएको छ। अन्य देशमा नाटकका स्कुल हरेक खोलिएका छन्। नेपालमा केही छैन। अहिले नाटक रुचिको विषय भएको छ।

सरकारको आँखा यो क्षेत्रमा किन पुग्दैन ?
कुर्सी कहिले र कसले खोस्ला भनेर जो बस्छ उसले विकास गर्दैन। नेपालमा सङ्गीतका स्कुल खोलिएका छन्। तर त्यहाँ पनि राजनीतिक मान्छे छिरेका छन्। त्यसमा बजेट अभाव भन्दा पनि सोचकै अभाव देखिन्छ। मुख्य कुरा नाटक गर्न नाटक घर चाहियो। प्रत्येक जिल्लामा एउटा नाटक घर होस्। नाटकको रस र सिनेमाको रस छुट्टै छ। यो क्षेत्रमा सरकार र मिडियाको ध्यान खासै गएको छैन। नाटकका लागि मञ्च हामी आफैले बनाउनु पर्छ। एउटा व्यक्ति भएर मात्र हुँदैन अरू कति सक्षम जनशक्ति उत्पादन गर्नु ठूलो कुरा हो।

नाटक हेर्ने मान्छेको दृष्टिकोण कस्तो पाउनु भएको छ ?
नेपालमा धेरै मानिसले नाटक हेर्न रुचाएका छन्। बाहिर नाटकलाई हेर्न सांस्कृतिक पोषाक लगाएर डलर खर्च गरेर जान्छन्। तर हाम्रामा थ्रिएटर हुनु पर्यो। अहिले नाटक हेर्न टिनेज केटाकेटी आउँछन्। त्यसैले हरेक जिल्लामा एउटा नाटक मञ्च हुनुपर्दछ।

पहिलाको नाटकमा हुने सजावट र अहिलेका नाटकमा हुने सजावटमा के फरक छ ?
टेक्नोलोजीले पनि फरक पर्दछ। अहिलेको स्टेज भनेको पहिलाको जस्तो होइन। पर्दा पनि पहिला एउटा हटाएर अर्को ल्याउनु पर्दथ्यो तर अहिले लाइटको सहयताले पनि गर्न सकिन्छ। त्यसैले धेरै परिवर्तन भएको छ। दर्शकले भ्रममा नै परेर अर्को संसारमा पुग्छ। जो अर्को संसारमा पुग्छ त्यो सफल निर्देशक हुन्छ।

यो क्षेत्रमा जस वा अपजस भोग्नु भएको छ ?
जस र अपजस त जुनसुकै क्षेत्रमा हुन्छ। नाटक नगर्दासम्म मात्र मेरो हो नाटक। नाटक गरिसकेपछि त्यो दर्शको हो भनेर बुझ्नु पर्दछ। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)
-प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ११ : ५३ बजे

सोलुखुम्बु : काठ निकासीमा गिरावट

सोलुखुम्बु : सोलुखुम्बुमा काठ निकासीमा गिरावट आएको छ । गत

‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान थाल्छौँ’

काठमाडौँ :कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, प्रहरी नायब

दुई सातामा ६५ प्रतिशत खाल्डाखुल्डी मर्मत

काठमाडाैँ -पछिल्लो दुई सातामा काठमाडौँका सडकमा रहेको खाल्डाखुल्डी ६५ प्रतिशत

दुई विधेयकसहित एक दर्जन प्रस्ताव स्वीकृत

काठमाडौँ – बाँकेको कोहलपुर नगरपालिकाको १२औँ नगरसभाले दुई वटा विधेयकसहित

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

स्याङ्जा – स्याङ्जाको पुतलीबजार ११ करेण्डाँडामा बसको ठक्करबाट आज साँझ