नेपाल रेडक्रस सोसाइटीद्वारा ३० एम्बुलेन्स हस्तान्तरण « Khabarhub

नेपाल रेडक्रस सोसाइटीद्वारा ३० एम्बुलेन्स हस्तान्तरण


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पुर्‍याउने उद्देश्यले ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसीको सहयोगमा खरिद गरिएका ती एम्बुलेन्स विभिन्न २२ जिल्ला शाखा र आठ उपशाखालाई हस्तान्तरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय कालीमाटीमा आज आयोजित कार्यक्रममा आइएफआरसीका महासचिव जगन्नाथ चापागाईंले ती एम्बुलेन्सको साँचो हस्तान्तरण गरे । खरिद गरिएका ३० वटै एम्बुलेन्स ‘ख’ वर्गका छन् । ‘ख’ वर्गका एम्बुलेन्समा अक्सिजन सिलिन्डर, मोनिटरलगायत न्यूनतम स्वास्थ्य पूर्वाधार रहेका हुन्छन् ।

एम्बुलेन्स प्राप्त गर्नेमा इलाम, झापा, तेह्रथुम, सङ्खुवासभा, सप्तरी, उदयपुर, भक्तपुर, नुवाकोट, तनहुँ, गुल्मी, प्यूठान, सल्यान, सुर्खेत, दाङ, जाजरकोट, डोटी, मुगु, बझाङ, बैतडी, दार्चुला, कैलाली र कञ्चनपुर जिल्ला शाखा छन् । यस्तै बाँकेको सोनारी, बर्दियाको बारबर्दिया, भोजपुरको अन्नपूर्ण, गोरखाको मनकामना, कालीकोटको नरहरिनाथ, रोल्पाको घर्तीगाउँ, सिन्धुलीको ग्वालटार र सिरहाको मिर्चैया उपशाखाले पनि एम्बुलेन्स प्राप्त गरेका छन् ।

विसं २०२० भदौ १९ गते स्थापना भएको नेपाल रेडक्रसले दुर्घटनाका घाइते तथा बिरामीको स्वास्थ्य अवस्था बिग्रन नदिन २०२१ सालमा पहिलो पटक नेपालमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको थियो । त्यतिबेला जर्मन रेडक्रसको सहयोगमा एम्बुलेन्स सञ्चालन गरिएको थियो । सो लगत्तै २०२२ सालमा जापान सरकारको सहयोगमा रेडक्रसले दोस्रो एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । रेडक्रसले हाल ६८ जिल्लामा दुई सय ७५ वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

सरकारको राष्ट्रिय एम्बुलेन्स नीतिअनुरुप पुराना एम्बुलेन्सको स्तरवृद्धि गर्ने र नयाँ खरिद गर्दा ‘ख’ वर्गको एम्बुलेन्स खरिद गर्ने नीति लिइएको रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले जानकारी दिए । सरकारको राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ र नेपाल रेडक्रसले अवलम्बन गरेको स्तरवृद्धिको नीतिअनुसार कोभिड १९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमबाट आइएफआरसीको सहयोगमा ती एम्बुलेन्स खरिद गरिएका हुन् ।

यी एम्बुलेन्स विभिन्न जिल्ला शाखालाई हस्तान्तरण गरिएसँगै रेडसक्रसको एम्बुलेन्स सेवा अझ स्तरीय हुँदै जाने र बिरामी तथा घाइतेलाई अस्पतालसम्म पुर्‍याई जीवन रक्षा गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको रेडक्रस सोसाइटीले जनाएको छ । हस्तान्तरण गरिएका एम्बुलेन्सलाई प्रादेशिकस्तरमा स्थापना गरिएका प्रेषण केन्द्रमा आबद्ध गरी १०२ नम्बर मार्फत सञ्चालन हुनेछन् ।

एम्बुलेन्स हन्तान्तरण कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव चापागाईंले अर्काको जीवन रक्षाका लागि सहयोग गर्ने रेडक्रसको मूल भावलाई जोगाएर राख्न सक्नुपर्ने बताए । “रेडक्रसमा हुञ्जेल मानवीय सेवाबाहेक अन्य कुनै एजेन्डा हुनुहुँदैन”, उनले भने, “मानवीय सेवामा समर्पित हुने योजना छैन भने अन्य क्षेत्रमा लाग्नुपर्छ ।” उनले अन्य जिल्लालाई पनि एम्बुलेन्स उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डलका प्रमुख अजमत उल्लाले एम्बुलेन्स सेवा नेपालीका लागि जीवनदायी हुने विश्वास व्यक्त गरे । स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीर अधिकारीले अस्पताल नपुगेसम्म एम्बुलेन्स सेवालाई सुदृढीकरण गर्न सरकारले महत्वपूर्ण योजना बनाएको बताए । उनले सरकारले ल्याएको कार्ययोजनाअनुसार एम्बुलेन्स सञ्चालन गर्न आग्रह गरे ।

नेपाल रेडक्रसका कार्यकारी निर्देशक ढकालले विपद् जोखिम न्यूनीकरण, प्राथमिक स्वास्थ्य सेवा, एम्बुलेन्स सेवालगायत क्षेत्रमा काम गरिरहेको बताए । नेपाल रेडक्रसले वार्षिक ३० लाखलाई सेवा पु¥याएको उनको भनाइ छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ४ : २४ बजे

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

बाँके– जिल्ला निर्वाचन कार्यालय बाँकेले अस्थायी मतदाताका लागि तीन मतदान

शरीर बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ

सिरहा– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई

नेपालमा क्यान्सरको भयावह रूप: वार्षिक २६ हजार नयाँ बिरामी, मृत्युदर घटाउन चुनौती

काठमाडौं – आज विश्व क्यान्सरविरुद्धको दिवस हो। क्यान्सरबाट हुने मृत्यु

सुनको मूल्य १४ हजार चार सयले बढ्यो : कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

एमाले पार्टी कार्यालयमा दिउँसो १ बजे पत्रकार सम्मेलन

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका सम्बन्धमा