सन्तान नहुने महिलामा स्तन क्यान्सरको जोखिम | Khabarhub Khabarhub

सन्तान नहुने महिलामा स्तन क्यान्सरको जोखिम

ढिलो बिहे गर्दा स्तन क्यान्सर बढेको छ


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

धेरै महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो हो भने स्तन क्यान्सर दोस्रो हो। स्तन क्यान्सर जुनसुकै उमेर समूहका महिलामा हुनसक्छ। तर यो पुरुषमा पनि कतिपय अवस्थामा हुने गरेको छ। स्तन क्यान्सर भएको समयमा थाहा नपाउने वा यो समस्या सामान्य हो भनेर बस्दा पनि यो क्यान्सरबाट धेरै महिलाको मृत्यु भएको चिकित्सकले बताएका छन्। आखिर स्तन क्यान्सर भनेको के हो ? के कारणले हुन्छ ? महिलाको मृत्यु स्तन क्यान्सरले कसरी भएको छ। यसै विषयमा आधारित रहेर खबरहबका लागि क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीसँगको कुराकानीको सम्पादित अंश :

स्तन क्यान्सर भनेको के हो ?
हाम्रो शरीरमा हजारौँ लाखौँ कोशिका हुन्छन्। कुनै कारणवश ती कोशिका अनियन्त्रित भएर विभाजन भए भने त्यसलाई हामीले क्यान्सर भन्छौँ। यही विभाजनको क्रम स्तनका कोशिकाबाट भयो र यी कोशिका एक ठाउँबाट अर्को ठाउँमा गए भने त्यसलाई स्तन क्यान्सर भनिन्छ।

स्तन क्यान्सर कुन उमेर समूहका महिलालाई हुन्छ ?
स्तन क्यान्सर धेरै जसो ९० देखि ९५ प्रतिशत ५० वर्ष भन्दा माथिका महिलामा हुन्छ। पाँच देखि १० प्रतिशत ५० वर्ष भन्दा कम उमेर समूहका महिलामा हुने गरेको छ।

स्तन क्यान्सर के कारणले र किन हुन्छ ?
स्तन क्यान्सर के कारणले हुन्छ भन्ने विषयमा धेरै अनुसन्धान भएका छन् तर अहिलेसम्म यही कारणले नै हुन्छ भनेर कुनै अध्ययनले पत्ता लगाएको छैन। तर केही जोखिमका कारण भने पत्ता लागेको छ। जसमा महिला हुनु नै स्तन क्यान्सरको जोखिमको कारण हो। जो महिलाको सन्तान हुँदैन, उनीहरूमा स्तन क्यान्सरको जोखिम बढी हुन्छ। ढिलो विवाह गर्दा वा पहिलो सन्तान ३० वर्षपछि जन्माउने र स्तनपान नगराउने महिलामा स्तन क्यान्सर भएको छ। धेरै मोटा महिलामा, धूम्रपान सेवन गर्ने महिलामा स्तन क्यान्सर धेरै भएको पाइएको छ।

पुरुषमा पनि स्तन क्यान्सर हुनसक्छ ?
तथ्यांकको आधारमा ९९ प्रतिशत महिलालाई स्तन क्यान्सर हुन्छ। करिब एक प्रतिशत वा सो भन्दा कम पुरुषलाई हुन्छ। हामीले स्तन क्यान्सरका १०० जना बिरामी भेट्यौं भने ९९ जना महिला र एक जना पुरुष हुन्छन्।

के के हुन् त स्तन क्यान्सरका लक्षण ?
स्तनको आकार र प्रकारमा परिवर्तन आउनु, स्तनको कुनै भागमा गिर्खा आउने, स्तनको मुन्टा भित्र छिर्ने, स्तनको मुन्टा वरिपरी खाल्डो पर्ने, केही नगर्दा वा स्तन नचलाउला स्तनबाट रगत आउने, सेतो पानी बग्ने, स्तनको बाहिर छाला परिवर्तन भएर सुन्तलाको बोक्रा जस्तो हुने, स्तनबाट गन्धसहितको पानी बग्ने र सानो घाउ चोटपटक लागेमा लामो समयसम्म निको नहुने लगायतका लक्षण देखा पर्छन्। यस्तो कुनै पनि लक्षण देखिएमा हामीले स्तन क्यान्सर हो कि भनेर समयमा नै अस्पताल गए जँचाउनु आवश्यक छ।

समयमा उपचार गर्दा यसको निको हुने सम्भावना कत्तिको रहन्छ ?
जुनसुकै समस्याको उपचारमा पनि लापरवाही गर्नु हुँदैन। समयमा नै अस्पताल गएर परामर्श लिएर उपचार विधि अपनाउने हो भने यो १०० प्रतिशत नै निको हुन्छ। रोग छिप्पिएर अस्पताल पुग्दा पैसा धेरै लाग्ने, बिरामीलाई गाह्रो हुने र बचाउनसमेत नसक्ने अवस्था हुन्छ।

अहिलेसम्मको तपाईंको अनुभवमा कस्ता महिलामा स्तन क्यान्सर बढी भएको छ ?
स्तन क्यान्सर धेरै जसो धनी वर्गका महिलामा हुने गरेका छ। जसको कारण भनेको पहिलो त जीवनशैली, धूम्रपान सेवन गर्ने, काम कम गर्ने, व्यायाम कम गर्ने, मोटोपना भएका, धेरै फस्टफुड धेरै खाने नै हुन्। त्यसैले हाम्रो देशको परिवेशमा सहरीया महिलामा धेरै देखिएको छ। सहरमा पैसा धेरै कमाउने, ढिलो विवाह गर्ने, काममा दौडिने, स्तनपान नगराउने कारणले यो समस्या धेरै भएको छ। गाउँ घरका महिलाको समयमा विवाह हुन्छ, बच्चालाई धेरै बाहिरका खाना खुवाइँदैन। जसको कारण स्तनपान पर्याप्त मात्रामा गराउँछन्। शरीरलाई पुग्ने व्यायाम गर्ने खालका काम गर्छन्। जसकारण गाउँका महिलामा स्तन क्यान्सर कम देखिएको छ।

स्तन क्यान्सर भएमा कति समय बाच्न सकिन्छ ?
स्तन क्यान्सरलाई सुरुकै अवस्थामा पहिचान गरेर उपचार गरेमा बाच्ने सम्भावना बढेर जान्छ। यदि स्टेज जिरो, स्टेज १, २ र ३ सम्मका बिरामीलाई समयमा नै पहिचान गरेर उपचार गर्यो भने यस्ता बिरामी ५ देखि १० वर्ष बाँच्ने सम्भावना शतप्रतिशत नै हुन्छ। तर स्टेज ३ मा पुग्दा ५ देखि १० वर्ष बाँच्ने सम्भावना अहिलेको समयमा ६० देखि ८० प्रतिशत हुन्छ। यदि स्टेज ४ वा सबैतिर फैलिएका बिरामी ५ देखि १० वर्ष बाँच्ने सम्भावना घटेर दुईदेखि तीन प्रतिशत मात्र रहन्छ।

क्यान्सर रोगमा स्टेज कसरी विभाजन गरिन्छ ?
क्यान्सर रोगमा स्टेज विभाजन गर्ने भनेको उपचारलाई सजिलो बनाउने र कति वर्ष बाच्छ भनेर अवस्था हेर्ने हुन्छ।

स्तन क्यान्सरको उपचारमा स्तन काटेर फाल्नु पर्ने हो ?
अहिले नेपालमा स्तन क्यान्सरको सर्जरी गर्ने डाक्टरको राम्रो विकास भएको छ। त्यस कारण स्तनलाई बचाएर नै गर्न सकिन्छ। त्यसको लागि बिरामीको परिस्थिति र अवस्थामा भरपर्छ।

स्तन क्यान्सरबाट कसरी बच्ने त ?
समयमा विवाह गर्ने, समयमा बच्चा जन्माउने, बच्चालाई पर्याप्त मात्रामा स्तनपान गराउने, बाहिरका फास्ट फुड धेरै नखाने, व्यायाम गर्ने, धूम्रपान सेवन नगर्ने, हाइट अनुसारको तौल राख्ने र कुनै पनि स्तन क्यान्सरको लक्षण देखिएमा तुरुन्त अस्पताल जाने गर्नुपर्छ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ७ : ०२ बजे

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख ६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार