गोरखापत्र जनताको आवाज बोल्ने थलो : मन्त्री शर्मा  | Khabarhub Khabarhub

गोरखापत्र जनताको आवाज बोल्ने थलो : मन्त्री शर्मा 


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजा र महाराजाको गुणगान गाउने सञ्चारमाध्यमको रुपमा रहेको गोरखापत्र आम जनताको आवाज बोल्ने थलोको रुपमा स्थापित हुँदै गएकामा प्रसन्नता व्यक्त गरेकी छन् ।

गोरखापत्र प्रकाशन भएको १२३ औँ र संस्थानको ६१ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सरकारले गरिरहेका सकारात्मक कामलाई व्यवस्थित ढंगले जनता समक्ष पुर्‍याउन आग्रह गरिन् । उनले पछिल्ला दिनमा स्थापित हुँदै गएको नकारात्मक प्रवृत्तिलाई सकारात्मक बनाउन पनि यस्ता संस्थाको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

 सरकार यस क्षेत्रसँग जोडिएका नयाँ ऐन कानुन बनाउने क्रममा रहेको उल्लेख गर्दै मन्त्री शर्माले आम सञ्चार प्रतिष्ठान ऐन तथा अन्य ऐनलाई अन्तिम चरणमा पुर्‍याइएको जानकारी दिइन् । आम समुदायमा आशाको भाव पैदा गर्ने काममा सञ्चारमाध्यमले विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै उनले सकारात्मक प्रवृत्तिलाई विशेष स्थान दिनुपर्ने बताइन् । 

आर्थिक र जनशक्ति व्यवस्थापन दुवै हिसाबले आन्तरिक व्यवस्थापन सबल बनाउन सके गोरखापत्र संस्थानको भविष्य उज्यालो रहेको बताएकी छन् । संस्थानको पुनःसंरचना जरुरी भइसकेको उल्लेख गर्दै मन्त्री शर्माले गोरखापत्र संस्थानको संरचनागत अवस्था र यसको व्यवस्थापकीय पक्षको गहिरो अध्ययन गरी भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, बजारको अवस्था र प्रतिफलको लेखाजोखा गर्नुपर्ने समय आइसकेको स्पष्ट पारिन्। 

“सामान्यतः गोरखापत्र राज्यको अखबार हो । यसले पत्रकारितामार्फत सरकार र आमजनताका बिचमा सम्बन्धको जोड्ने काम गर्नुपर्दछ । पत्रकारिताका आधारभूत मूल्य मान्यतालाई आत्मसात गर्दै समग्रमा राज्यलाई नीति नियमलाई जनताबीच लैजाने र जनताका आवश्यकता राज्यसम्म पुर्‍याउने काममा यसले आफ्ना उत्पादन केन्द्रित गर्नु आवश्यक छ”, उनले भनिन् ।

गोरखापत्र र संस्थानका अन्य प्रकाशन भावी पुस्ताका बौद्धिक सम्पत्ति भएको तथ्य पेस गर्दै मन्त्री शर्माले त्यसको संरक्षणका लागि संस्थानले पुराना प्रकाशनको विद्युतीय अभिलेखीकरण गर्न सुरु गरेकोमा प्रसन्नता व्यक्त गरिन् । उनले संस्थानको आम्दानी वृद्धिको स्रोत बनाउनतिर ध्यान दिन आग्रह गरिन् । मन्त्री शर्माले भनिन्, ‘अहिलेको प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ खरो रुपमा उतार्न यो संस्थाले अझ जिम्मेवार, व्यवसायिक तथा विश्वसनीय भएर आफूलाई प्रस्तुत गर्नुपर्छ ।’ 

उनले आन्तरिक व्यवस्थापन बलियो बनाउनका लागि यहाँ कार्यरत जनशक्तिलाई संस्थानप्रति अपनत्व कायम गराएर एकताबद्धता बनाउँदै परिचालन गर्न सक्नुपर्ने बताइन् । मन्त्री शर्माले भूकम्पबाट क्षतिग्रस्त पुरानो मूल भवनको पुनःनिर्माण तथा लामो समयदेखि अल्झिएको विनियावलीलाई चाँडो टुंगो लगाएर कर्मचारीको वृत्तिविकासलाई सुनिश्चित गर्न मन्त्रालयबाट पहल भइरहेको उल्लेख गरिन् । 

संस्थानमा कार्यरत कर्मचारीलाई विश्वासमा लिएर आन्तरिक समस्या समाधानका लागि प्रभावकारी पहल गर्न उनले व्यवस्थानलाई निर्देशन दिइन्। मन्त्री शर्माले भनिन्, ‘नेपालमा अखबारी पत्रकारिता आरम्भ गरेको यस पत्रिकाको इतिहास जति गौरवशाली छ, वर्तमान र भविष्यमा त्यो प्रतिष्ठा कायम राख्नु चुनौतीको विषय हो । 

बजारमा प्रतिस्पर्धी मात्र होइन, अगुवा पत्रिकाको रुपमा स्थापित गर्न आन्तरिक व्यवस्थापन सबल बनाउन जरुरी छ । यो सन्दर्भमा दुःखका साथ हामीले भन्नैपर्छ पत्रिकाको आन्तरिक व्यवस्थापन पक्ष अपेक्षाकृत सबल छैन ।’

विसं १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको दिनलाई नेपाली पत्रकारिताको आरम्भिक दिन मानेर नेपाल सरकारले २०७३ देखि वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउन थालेको छ । हरेक वर्षको वैशाख २४ को दिन नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका लागि महत्वपूर्ण दिन हो । आजभन्दा १२२ वर्षअघि आजकै दिन गोरखापत्र साप्ताहिकको प्रकाशन सुरु भएर अखबारी पत्रकारिताको जग हालिएको थियो । 

गोरखापत्र दक्षिण एसिया क्षेत्रमा नै पुराना अखबारको हाराहारीको पत्रिका हुनु हाम्रा लागि गौरवको विषय भएको मन्त्री शर्माको भनाइ छ । सञ्चारमन्त्री मन्त्री शर्माले भनिन्, ‘विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा पनि गोरखापत्रका समाचार सामग्री अध्ययनका विषय बनाइएका छन । यो सबै नेपाली भाषा र साहित्य तथा पत्रकारिताको विकासमा गोरखापत्रको योगदानको परिणाम हो ।’

सूचना तथा सञ्चार प्रविधिको विकासले यसलाई विधागत र प्रविधिगत आधारमा अझ फराकिलो दायरामा विस्तार गरेको उल्लेख गर्दै उनले गोरखापत्र अनलाइन प्रकाशनमार्फत विश्वमा नै यसको विस्तार भएकोमा खुसी व्यक्त गरिन्। 

गोरखापत्र र गोरखापत्र संस्थानका अन्य प्रकाशनलाई पनि विधागत, माध्यमगत र प्रविधिगत रूपमा प्रतिस्पर्धी बनाउँदै चुनौती र अवसर दुवै दिएको स्पष्ट पार्दै मन्त्री शर्माले आममानिसमा विस्तार हुँदै गएको सूचनाको पहुँच र प्रविधिको सहज प्रयोगबाट गोरखापत्रले पाठक वृद्धि गर्न सक्नुपर्ने बताइन् । 

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले मुलुकको हरेक राजनीतिक र सामाजिक रूपान्तरणमा आफूहरू जोडिँदै आएको बताए। उनले पछिल्ला दिनमा आफूहरूले गरेको प्राविधिक एवम् समाचार सामग्रीमा गरेको परिवर्तनले सकारात्मक प्रभाव पारेको जानकारी दिए। 

अध्यक्ष सुवेदीले गत आर्थिक वर्षको तुलनामा चालु आवको हालसम्म आम्दानीमा पनि २० प्रतिशतले वृद्धि भएको बताए। सुरुवाती प्रकाशनदेखि कै सबै प्रकाशनलाई विद्युतीय रुपमा सङ्ग्रह गर्ने काम चालु आवभित्रै सम्पन्न गर्ने उल्लेख गरे । राष्ट्रिय एकताको सम्वद्र्धनमा ‘नयाँ नेपाल’मार्फत गोरखापत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ । 

महाप्रबन्धक लालबहादुर ऐरीले गौरवपूर्ण इतिहासलाई जीवन्त राख्नका लागि बदलिएको परिवेशअनुसार अगाडि बढ्न जरुरी रहेको बताए। उनले युग सुहाउँदो गोरखापत्र बनाउनका लागि आफूहरू प्रयासरतमा स्पष्ट पारे । आफूहरू नागरिकको आवाज भएको र रहेको उनले दाबी गरे । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले बेथिति, भ्रष्टाचारका समाचारसमेत अटाउने सञ्चार माध्यमकारुपमा गोरखापत्र स्थापित हुँदै गएकामा प्रसन्नता व्यक्त गरे ।  उनले प्रविधिको प्रयोग गर्ने मोडल संस्थाको रुपमा गोरखापत्रले अझै काम गरोस् भन्ने अपेक्षा व्यक्त गरे । 

गोरखापत्रका निमित्त प्रधानसम्पादक शिवप्रसाद भट्टराईले नेपाली भाषा र संस्कृतिको उन्नयनका लागि गोरखापत्रले खेलेको भूमिका प्रभावकारी रहेको उल्लेख गरे । आधिकारिकता र विश्वसनियताका लागि आम नागरिकले गोरखापत्र नै खोज्ने गरेको बताउँदै उनले प्रविधिको प्रयोगमा भएको बढोत्तरीले थपेको चुनौतीलाई आत्मसात् गर्दै अगाडि बढिरहेको बताए । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले नेपालको पत्रकारिताको इतिहासमा यस संस्थाले खेलेको भूमिका प्रशंसनीय रहेको बताइन्। 

उनले श्रमजीवी पत्रकारको समस्या समाधानमा संस्थानले प्रतिबद्धता गरे अनुसारको कर्तव्य पूरा नगरेको भन्ने गुनासो आइरहेकाले त्यसलाई सम्बोधन गर्न ध्यानाकर्षण गराइन् । सो अवसरमा प्रधानमन्त्री र सञ्चारमन्त्रीले ‘गोरखापत्र शैली पुस्तिका’ अनावरण गरिन् । कार्यक्रममा संस्थानमा कार्यरत कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १२ : ५७ बजे

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका

विद्युत प्राधिकरणले खाल्डो पुर्न बिर्सँदा…(तस्बिरहरू)

काठमाडौँ – नेतृत्व फेरिएसँगै तारन्तार बिजुली काटेर लोडसेडिङजस्तै स्थिति निम्त्याएको

सुदूरपश्चिम सरकारले केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबुलकार

बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता

बाजुरा– गौमूल गाउँपालिकामा खोलाले बगाएर आज एक जना बेपत्ता भएका

बजेट विनियोजनमा सांसदको असन्तुष्टि

काठमाडौं– सांसदहरूले बजेट विनियोजनका सन्दर्भमा असन्तुष्टि प्रकट गरेका छन् ।