विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

आज जेठ २४, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून ७, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

बङ्गलादेशमा आधा शताब्दीयताकै उखरमाउलो गर्मी, हजारौँ विद्यालय बन्द

बङ्गलादेशले आधा शताब्दीयताकै सबैभन्दा लामो गर्मीका कारण हजारौँ विद्यालय बन्द गरेको छ ।

राजधानी ढाकाको तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) को हाराहारीमा पुगेको छ ।

“सन् १९७१ मा बङ्गलादेश स्वतन्त्र भएयता हामीले यति लामो समयसम्म गर्मी कहिल्यै देखेका थिएनौं,” बङ्गलादेशको मौसम विभागका वरिष्ठ अधिकारी बज्लुर रसिदले भने ।

सरकारले दशौं हजार प्राथमिक विद्यालयहरू बन्द गरिदिएको छ र एयर कन्डिसनर र पङ्खाहरूको माग बढेपनि बिजुली उत्पादनमा भारी कटौती गरिएको छ ।

सोमबार, त्यहाँको सरकारले सबैभन्दा ठूलो पावर प्लान्ट सञ्चालन स्थगित गर्न बाध्य भएको जानकारी गराएको थियो ।

गत वर्ष अमेरिकी डलरको तुलनामा बङ्गलादेशी टाकाको मूल्य करिब २५ प्रतिशतले अवमूल्यन भएको थियो, जसले गर्दा इन्धन आयात र विद्युत उपयोगिताको लागत बढेको छ ।

अन्य प्लान्टहरूले माग पूरा गर्न सकेका छैनन्, जसका कारण घण्टौंसम्म लोडसेडिङ भएको छ ।

राहुल गान्धीले विदेशी भूमिमा भारतको छवि धमिलो पार्न खोजे : भाजपा नेता सुभाष

भारतको सत्तारुढ भारतीय जनता पार्टी भाजपाका एक जना नेताले भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टीका नेता राहुल गान्धीले विदेशी भूमिमा भारतको छवि धमिलो पार्न खोजेको अरोप लगाएका छन् ।

अमेरिकाको सन फ्रान्सिस्कोमा आयोजित एक सभामा काङ्ग्रेस नेता गान्धीले राजदण्डका बारेमा गरेको टिप्पणीबाट भारतको प्रतिष्ठामा आँच आएको तेलाङ्गाना राज्यका भाजपा प्रवक्ता एनभी सुभाषले बताएका छन् ।

नयाँ संसद् भवनमा स्थापित पवित्र राजदण्डप्रति प्रधानमन्त्री मोदीले दर्शाएको सम्मानबारे कटाक्ष गर्दै गान्धीले संसदमा उनको मूल्यवृद्धि, बेरोजगारी, शिक्षा प्रणालीलगायत जनचासोका विषयलाई वेवास्ता गरेको टिप्पणी गरेका थिए ।

भाजपा प्रवक्ताले भारतीय परम्परा र संस्कृतिलाई विकृत तुल्याउन गान्धी र उनको पार्टी लागेको आरोप लगाए । देशको संस्कृतिलाई गान्धी र उनको दलले अस्वीकार गरेको उनको आरोप छ ।

विदेशमा भारतको छविलाई बदनाम गराउने नेता गान्धीको पुरानो बानी भएकाले त्यसबाट खासै फरक नपर्ने तथा भारतीयले पनि उनलाई विश्वास नगने भन्दै भाजपाका प्रवक्ताले प्रधानमन्त्री नरेन्द्र मोदी जन्मजात हिन्दू भएको, उनमा भारतीय संस्कृति र परम्पराको गहिरो ज्ञान भएकाले राजदण्डप्रति सम्मान प्रदर्शन गरेको बताए ।

नवनिर्मित संसद् भवन उद्घाटनका बेला त्यहाँ स्थापित धार्मिक मान्यताका निधि तथा राजदण्डलाई प्रधानमन्त्री मोदीले साष्टाङ्ग दण्डवत गरेका थिए ।

कलेज प्रवेशको कठिन परीक्षामा एक करोड चिनियाँ विद्यार्थी

विद्यालय शिक्षा पूरा गरेका एक करोड ३० लाख चिनियाँ विद्यार्थी कलेज प्रवेशको अति कठिन परीक्षामा सहभागी भएका छन् । चार वर्षपछि भएको उक्त परीक्षा चीनमा गाओकाओका नामले परिचित छ ।

उच्च शिक्षा हासिल गर्न चाहनेहरूका लागि अति जटिल प्रश्न सोधिने यो परीक्षा उत्तीर्ण गर्नुलाई चीनमा ठूलो उपलब्धि मानिन्छ । कोरोनाका कारण नराम्ररी प्रभावित भएको चीनमा त्यस विरुद्धका सबै नियन्त्रणात्मक उपाय हटाएपछि मात्र प्रवेश परीक्षाको तयारीका अनलाइन कक्षा सञ्चालन भएका थिए ।

‘म विगत चार वर्षदेखि प्रवेश परीक्षाको तयारीमा जुटेकी छु, आइतबार बाहेक हरेक दिन बिहान ४ बजे उठे। पढेकी छु, मैले गर्न सक्ने सबै काम गरेको छु, तर म अझै अलि नर्भस नै छु’ शेन्जेनमा उच्च विद्यालयका १७ वर्षीय जेसी रावले परीक्षा उत्तीर्ण गर्ने आफ्नो एक मात्र लक्ष्य रहेको उल्लेख गर्दै एएफपीलाई भनिन्।

बेइजिङमा आफ्नो सन्तानको शैक्षिक भविष्यलाई लिएर चिन्तित आमाबाबुहरू परीक्षा केन्द्र वरिपरि भेला भएका थिए । भगवान्को प्रार्थना गर्न तत्पर भएझैँ उनीहरूका छोराछोरीले घुँडा टेकेका थिए परीक्षा कक्षमा प्रवेश गर्नुअघि अनि आफ्नो भाग्य खुल्ने विश्वासमा टाउकोमा रातो वस्त्र चिह्न लगाएका थिए ।

एक विद्यार्थीकी चालीस वर्षकी आमा झाङ जिङले आफूलाई चिनियाँ लोककथाको पात्र बाई सुजेनसँग तुलना गरिन् । उनले आफ्नो छोराले यो परीक्षा पास नगरेसम्म उसकै अघिपछि आफू बस्नुपर्ने बाध्यता रहेको सुनाइन् । ‘मेरो छोरो एकदम मनमौजी छ, ऊ भन्दा म आज धेरै नर्भस छु,’ छोरोको परीक्षाबाट पिरोलिएकी उनले भनिन् । उनले आफ्नो छोरालाई प्राथमिक विद्यालयदेखि हाईस्कूलको पहिलो वर्षसम्मको अध्ययन आफ्नै रेखदेख र निर्देशनमा भएको बताउँदै आजको परीक्षापछि पूर्ण रूपमा आराम गर्ने योजनाबारे जानकारी दिइन् ।

सात वर्षपछि फेरि खुल्यो रियादमा इरानी दूतावास

करिब आठ वर्षदेखि बिग्रिएको साउदी अरब र इरानबीचको कूटनीतिक सम्बन्धमा सुधार आएको छ । चीनको मध्यस्थतामा तेहरान र रियादबीच विभिन्न समयमा भएका सहमतिले द्विदेशीय सम्बन्ध पुनः सुमधुर बन्न लागेको हो ।

चिनियाँ मध्यस्थतामा तेहरान र रियादबीच भएको पछिल्लो सम्झौताअन्तर्गत वर्षौँदेखिको द्वन्द्व अन्त्य गर्न सहमत भएको केही महिनापछि मङ्गलबार साउदी अरबको राजधानी रियादमा इरानको दूतावास पुनः सञ्चालन भएको छ । सात वर्षको इरानी दूतावास रियादमा खुलेको हो ।

राजदूतावास उद्घाटन समारोहलाई रियादमा सम्बोधन गर्दै इरानका उपविदेशमन्त्री अलिरेजा बिग्देलीले साउदी अरब र इरानबीचको सम्बन्धका विविध आयामको चर्चा गरे । उनले साउदी अरबमा इरानको झण्डा पुनः फहराएपछि दुई देशबीचको सहकार्य नयाँ युगमा प्रवेश गरेको बताए ।

आपसी समझदारी, स्थायित्व र शान्तिका निम्ति राष्ट्र–राष्ट्रबीचको सञ्चार र संवादका लागि कूटनीति नै उत्तम माध्यम भएको उपविदेशमन्त्री बिग्देलीले बताए । उनले असल छिमेकीको सिद्धान्तका आधारमा छिमेकीसँगको सम्बन्धलाई सुदृढ गर्न इरान सधैँ इच्छुक रहेको बताए । आर्थिक सम्बन्ध र आपसी लगानी प्रवर्द्धनले क्षेत्रीय शान्ति र स्थायित्व हासिल गर्न मद्दत पुग्ने तर्क उनले गरे ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीका अनुसार जेद्दास्थित इरानको महावाणिज्य दूतावास र इस्लामिक सहयोग सङ्गठनको सम्पर्क कार्यालय पनि एक दिन पछि फेरि सञ्चालनमा आउनेछ । खाडी राष्ट्रका क्षेत्रीय प्रतिद्वन्द्वी इरान र साउदी अरब बीच गत मार्चमा आपसी सम्बन्ध पुनः स्थापना गर्न सहमत भएपछि मध्यपूर्वको स्थायित्व र सुरक्षामा देखिएको अनिश्चय हट्नाका साथै त्यसबाट यमनदेखि सिरियासम्म क्षेत्रीय द्वन्द्वलाई कम गर्न मद्दत मिलेको थियो ।

चीनको बेइजिङमा दुई देशबीच कूटनीतिक सम्बन्ध पुनः नवीकरण गर्न र आफ्ना दूतावास एवम् कूटनीतिक नियोग पुनः खोल्ने सम्झौता भएको थियो । चीन, साउदी अरब र इरानद्वारा संयुक्त रूपमा जारी गरिएको त्रिपक्षीय विज्ञप्तिअनुसार साउदी र इरानले संयुक्त राष्ट्र सङ्घको वडापत्रका सिद्धान्त र उद्देश्यहरूको पालना गर्दै वार्ता र कूटनीतिको माध्यमबाट आफ्ना असहमतिहरूलाई समाधान गर्न सहमति जनाएका थिए ।

बीबीसीद्वारा कर छलेको स्वीकार, भारतलाई बुझायो ६४ करोड

ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले भारतलाई ६४ करोड रुपैयाँ आयकर तिरेको छ। मिडिया रिपोर्टका अनुसार केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सीबीडीटी) लाई पठाएको पत्र अनुसार बीबीसीले कर नतिरेको स्वीकार गर्दै कर तिरेको हो ।

आयकर रिटर्नमा तिर्नु पर्ने जति कर हो, त्यो भन्दा कम तिरेको जनाइएको छ । अब बीबीसी हिन्दीले औपचारिक रूपमा संशोधित रिटर्न फाइल गर्नुपर्नेछ, जसमा यो रकममा सबै बक्यौता, ब्याज र जरिवाना लगाइनेसमेत छ ।

स्रोतका अनुसार बोर्डका दुई अधिकारीले बीबीसीको यो आयकर छलीको पुष्टि गरेका छन् । उनले देशको कानुन सबैका लागि बराबर भएकाले बीबीसी लगायत कुनै पनि कम्पनीलाई चाहे त्यो कम्पनी भारतीय होस् वा विदेशीलाई कुनै छुट नदिने बताए । उनले भने, ‘बीबीसीले भारतको कानुन पालना गर्नुपर्छ।’

चालु वर्षको फेब्रुअरीमा आयकर विभागले बीबीसीको नयाँ दिल्ली र मुम्बई कार्यालयमा कर छलीको मामिलामा सर्वेक्षण गरेको थियो। त्यतिबेला पनि अधिकारीहरूले बीबीसीको आम्दानी र नाफामा भिन्नता रहेको बताएका थिए ।

भारतमा यसका एकाइहरू जुन मात्रामा सञ्चालन भइरहेका छन्, त्यो बीबीसीले दिएको राजस्वको तथ्याङ्कसँग मेल खाँदैन।

त्यसबेला बीबीसीका महानिर्देशक टिम डेभीले आफ्नो संस्था एजेन्डा नभई उद्देश्यका साथ काम गर्ने बयान दिएका थिए। बेलायती सरकारले बीबीसीको पक्षमा सम्पादकीय स्वतन्त्रताको कुरा पनि गरेको थियो।

भारत सरकारले कर दाखिला गर्न लगाएर यसको उचित जवाफ दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बीबीसीले आयकर विभागले बदला लिइरहेको जस्तो चित्रण गरिरहेको छ । विभागीय स्रोतका अनुसार सूचना प्रविधि अधिकारीहरूको सर्वेक्षणका बेला बीबीसीले आफूबाट केही बदला लिइएको देखाउन खोजेको थियो तर अहिले कर छलीको कुरा स्वीकार गरेको छ ।

रुसी नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्कियो, हजारौं विस्थापित

रुसको नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्किएको छ । बीबीसीका अनुसार बाँध भत्किए पछि हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नोभा काखोभकामा बाँध भत्किएपछि ८० सहर र गाउँहरू बाढीले डुबानमा पर्न सक्ने बताएका छन् । उनले बाँध भत्किनुमा रुस दोषी रहेको आरोप लगाएका छन् ।

डिनिप्रो नदीमा अवस्थित बाँध भत्किए पछि मुख्यतः खेरसन सहरमा विनाशकारी बाढीको जोखिम निम्त्याउन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

मस्को र किभले एकअर्कालाई काखोभका बाँध भत्काएको आरोप लगाएका छन्। रुसले गत वर्ष युक्रेनमा आक्रमण गरेलगत्तै दक्षिणी युक्रेनको बाँध कब्जा गरेको थियो ।

बाँध भत्किएपछि एउटा सानो सहर र दुई दर्जन गाउँहरू डुबानमा परेका थिए । यस्तै १७ हजार मानिस विस्थापित भएका छन् ।

उता, ह्वाइट हाउसले मंगलबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा विष्फोटपछि ठूलो बाँध भत्किँदा धेरैको मृत्यु हुने सम्भावना रहेको बताएको छ । यो घटनाको पछाडि कसको हात छ भन्ने विषयमा कुनै ठोस प्रमाण नभएको उसको भनाई छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले भने, ‘अमेरिका अन्तिम निष्कर्षमा पुगेको छैन। हामी अझै जानकारी सङ्कलन गर्ने र युक्रेनीहरूसँग कुरा गर्ने प्रयास गरिरहेका छौं ।’

सय वर्षमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा

बेलायतको शाही इतिहासको १०० वर्षमा पहिलो पटक राजकुमार ह्यारी उच्च अदालतमा बयान दिन उपस्थित भएका छन्।

बेलायती अखबार डेली मिररविरुद्धको आरोपको सम्बन्धमा बयान दिन राजकुमार लन्डन उच्च अदालतमा हाजिर भएका हुन्।

डेली मिररका पत्रकारहरू माथि फोन ह्याकिङलगायतका गैर कानुनी गतिविधिमा संलग्न रहेको आरोपको मुद्दा अदालतमा चलिरहेको छ।

एमजीएनको जासुसी र धोखाका कारण उनको व्यक्तिगत जीवनमा धेरै असर गरेको डेली मिररका पत्रकारहरू माथि आरोप छ।

राजकुमार ह्यारी अब शाही परिवारमा छैनन् र आफ्नी पत्नी मेगन मार्कल र दुई बच्चाहरूसँग अमेरिकामा बस्छन्।

डेली मिरर, सन्डे मिरर र सन्डे अपीलले फोन ह्याकिङ र धोखाधडी सञ्चालन गरेको एमजीएन माथि आरोप छ। एमजीएन सन २०१० देखि २०१९ सम्म निजी गुप्तचरहरूबाट निजी जीवनको बारेमा जानकारी सङ्कलन गर्ने कार्य गर्दथ्यो। एमजीएनले यो बिबादका बारेमा भनेको छ कि अदालतमा मुद्दा ल्याउन ढिला भयो।

अभियुक्त पक्षका वकिलले राजकुमारलाई मुद्दामा प्रश्न सोध्न सक्छन्। राजकुमारका वकिलले पत्रकारहरुलाई भने कि सुनुवाइ सुरु हुने अघि ह्यारीलाई दिवंगत आमा राजकुमारी डायनाको आवाज सुनाइएको थियो।

ह्यारी भन्छन् कि १४० वा रिर्पोटहरु जो प्रकाशित भएका थिए, त्यो फोन ह्याकिङ वा अन्य गैर कानुनी कार्यहरूको परिणामवाट छापिन पुगेका थिए। उनका वकिलहरूले भनेकी जसका कारण लामो समयदेखि प्रेमिका चेल्सी डेभीसँगको राजकुमार ह्यारीको सम्बन्ध तोडिन पुग्यो।

ह्यारीले बेलायती अखबारहरू विरुद्ध उच्च अदालतमा चारवटा मुद्दा दायर गरेका छन्, ती मध्ये यो केस पनि एक हो। उनले मर्डोकको एनजीएनमा पनि मुद्दा हाल्दैछन्। उनले एनजीएनको सन ट्याब्लोइडलाई पनि फोन ह्याकिङ र अन्य गैर कानुनी कार्यको आरोप लगाएका छन्।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ७ : ५९ बजे

प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह

काठमाडौं – गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा हराएका हातहतियार र

ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

लुटपाटमा संलग्नताको आरोपमा १० जना पक्राउ

काभ्रेपलाञ्चोक – ‘जेनजी’ प्रदर्शनका क्रममा लुटपाटमा संलग्न भएको आरोपमा १०