दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दिनभर आज शीर्ष नेताहरुबीच सहमति नजुटेपछि भोलि पुनः बैठक बस्ने, दलहरुबीच सहमतिको विकल्प नभएको सभामुख घिमिरेको भनाइ, एमालेको अवरोधका कारण संसद बैठक स्थगित, ललिता निवास जग्गा प्रकरणमा गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी, क्विन्टल सुन तस्करी प्रकरणमा सीआईबीले थाल्यो अनुसन्धान, जुम्लामा चामल अभावलगायतका समाचारले प्रमुख स्थान पाए ।

शीर्ष नेताहरुबीच जुटेन सहमति, भोलि पुनः बैठक बस्ने

एक क्विन्टल सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनमा दलहरुबीच सहमति जुट्न सकेन । सोमबार सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरुको दुईपटक बसेको बैठकमा सहमति जुट्न नसकेपछि मंगलबार पुनः बैठक बस्ने भएको छ ।

यसअघि नै दलहरुबीच सहमति कायम भएर संसदको गतिरोध अन्त्य हुने अपेक्षा सभामुख घिमिरेले गरेका छन् ।

दलहरुबीच सहमतिको विकल्प छैन : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रतिपक्षबीच सहमतिको विकल्प नभएको बताएका छन् । सदन सञ्चालन र संसदीय समितिका सभापतिहरुको चयन लगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेतासँगको आजको दोस्रो बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले आफूले अधिकतम रुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको उल्लेख गरे ।

“आज संसद् बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले गम्भीरतापूर्वक छलफल गर्नुभयो तर, सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरु पूर्ण निष्कर्षमा पुग्न सक्नुभएन । भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बैठक बोलाइएको छ,” सभामुख घिमिरेले भने, “आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ । सहमतिको विकल्प छैन । संसद् अवरोध हुँदा जनताका आवाज रोकिएका छन् ।”

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले अवरोध गरेपछि बैठक सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २४ साउन बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको जानकारी दिए ।

सूचना टाँसेर संसद बैठक स्थगित

सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेका लागि सारिएको थियो । तर, ४ बजे पनि बस्न नसकेपछि मंगलबार अपरान्ह ३ बजे बस्नेगरी सूचना टाँसेर स्थगित गरिएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

प्रतिनिधिसभा बैठक अवरोधप्रति रास्वपाको असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरुले पटकपटक संसद् अवरोध भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पछिल्लो समय प्रतिनिधिसभाको बैठक अवरोध हुँदा जनताका मुद्दाप्रति शीर्षनेताहरु जिम्मेवार नदेखिएको उनीहरुको आरोप छ । आज पनि बैठक बस्न नसकेपछि रास्वपाका सांसदहरुले संसद् दलीय भागबन्डाको बन्धक भएको आरोपसमेत लगाए ।

पार्टी सभापति एवं रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले सदन गतिरोधप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका छन् । “कैयौँ कानुन बनाउनुपर्नेछ, कैयौँ कानुनमा संशोधन गर्नुपर्नेछ । जनसरोकारका कैयौँ मुद्दामा छलफल र निर्णय गर्नुछ । तर संसद् चल्दैन, बार्गेनिङ चल्छ”, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

ललिता निवास जग्गा प्रकरणमा गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार काठमाडौँ जिल्ला अदालतले गच्छदारसहित पूर्वमन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

क्विन्टल सुन तस्करी प्रकरण : सीआईबीले थाल्यो अनुसन्धान

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान थालेको छ । सीआईबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको टोलीले क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान थालेको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन साउन २ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा सहयोग गर्न तयार छु : डा. भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा छानविनका लागि आफूले पूर्ण रुपमा सहयोग गर्ने बताएका छन् ।

सो जग्गा प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएसँगै आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्व प्रधानमन्त्री भट्टराईले निर्देशनअनुरूप छानबिन भएमा सहयोग गर्न तयार रहेको बताएका हुन् ।

गृहले जाजरकोट र अछाममा पठायो नयाँ प्रजिअ

गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको छ । जाजरकोटको रिक्त प्रजिअमा हाल मन्त्रालयमा कार्यरत उपसचिव सुरेश सुनारले जिम्मेवारी पाएका छन् भने अछाममा मोरङ जिल्ला प्रशासन कार्यालयमा सहायक प्रजिअको रुपमा कार्यरत उपसचिव शरदकुमार पोखरेललाई पठाइएको छ ।

अछामका प्रजिअ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवा मागेकाले उनको स्थानमा पोखरेललाई पठाइएको हो । सुनारले पनि यसअघि मोरङ र बाँकेमा सहायक प्रजिअका रूपमा काम गरेको अनुभव छ । उनी डोल्पा र बझङमा प्रजिअ भइसकेका छन् ।

राष्ट्रपति पौडेलद्वारा संयुक्त राष्ट्रसङ्घका लागि राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले आज लोकबहादुर थापालाई संयुक्त राष्ट्रसङ्घ, नेपाली स्थायी नियोग न्यूयोर्कका लागि नेपाली राजदूत पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले दक्षिण अफ्रिकाका लागि नेपालको राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मौरिसस र गणतन्त्र जाम्बियाका लागि तथा जनवादी गणतन्त्र चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठलाई प्रजातन्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् ।

साउनको चौथो सोमबार : डेढ लाख भक्तजनले गरे पशुपतिको दर्शन

साउनको चौथो सोमबार आज पशुपति क्षेत्रमा एक लाखभन्दा बढी भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् ।

साउनको सोमबार पशुपति क्षेत्रमा देश, विदेशबाट लाखौँ भक्तजन आउने गरेका छन् । भक्तजनलाई सुविधा दिने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । पशुपति क्षेत्रमा विशेषगरी सोमबारको व्रत बसी हरियो र रातो पहिरनमा सजिएका महिला भक्तजनको भीड लागेको थियो ।

जुम्लामा चामल अभाव

जुम्ला सदरमुकाम खलङ्गास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामलको अभाव हुन थालेको छ । डिपो कार्यालयमा चामलको आयात कम भएसँगै अभाव भएको हो । चामल कम भएसँगै सर्वसधारणका लागि केही समयसम्म वितरण स्थगित गरिएको कार्यालय प्रमुख निर्मल विष्टले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/८० मा डिपो कार्यालयका लागि प्राप्त आठ हजार एक सय ४७ क्विन्टल चामलको कोटा रहेको थियो । अहिले डिपोमा नौ सय ५९ क्विन्टल मात्रै मौज्दात रहेको छ ।

७ हजार ७३३ जना डेंगु संक्रमित, सात जनाको मृत्यु

देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो । यस अवधिमा सात जना डेंगु संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ ।

छिचोलियो नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग रेस्क्यु टनेल

नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको आकस्मिक सुरुङ (रेस्क्यु टनेल) छिचोलिएको छ । निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन सुरुङको आज ‘ब्रेक थ्रू’ गरिएको हो । नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युताकासहित उच्च अधिकारीको उपस्थितिमा ब्रेक थ्रू गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई, सडक विभागका महानिर्देशक सुशीलकुमार ढकाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा, प्रतिनिधिसभाका सदस्यहरू पनि सुरुङभित्रै सहभागी थिए । मुख्य सुरुङ छिचोल्न बाँकी नै भए पनि आकस्मिक सुरुङबाट भने अबदेखि धादिङ काठमाडौँ वारपार गर्न सकिने कन्सल्टेन्सी इन्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी दिए ।

सुनको मूल्यमा १०० रुपैयाँले गिरावट

आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको जनाएको छ ।

महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ९ : ०० बजे

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु