सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै « Khabarhub

सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । यस वर्ष तिथि परिवर्तनका कारण दुई पटक गौरा मनाइँदै छ ।

यही भदौ ७ गते गौरा पर्व नमनाउनेहरुले आज धुमधामका साथ गौरा मनाउँदै छन् । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको पहिलो दिन घरघरमा बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) राखेर सुरु हुन्छ । पहिलो दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ ।

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । 

बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौ महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत्रुपमा सुरु हुने मानसखण्ड पञ्चाङका सम्पादक आचार्य धनश्याम लेखकले बताए ।

‘यो मानसी नारीको उपाक्रम हो एक महिना अगाडिदेखि नै शुद्ध शाकाहार र बह्मचार्यको पालना गरिन्छ’, उनले भने, ‘पुरुषले जनै धारण गरेजस्तै महिलाले दुवधागो लगाइसकेपछि मात्रै उनीहरुलाई वेद पढ्ने अधिकार मिल्ने गर्दछ त्यसैले यो महिलाको महत्वपूर्ण पर्व हो ।’ गौरामा महिलाले स्थानीय भाषामा रहेको सगुन तथा फाग गाउने उनको भनाइ छ ।

फागमा सबै नारी गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजीदिन महादेव (स्थानीय भाषामा मयासर भनिने) लाई नगरमा गएर मागी ल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने पण्डित कविराज भट्टले बताए । 

‘मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष सुरु गर्नुभन्दा गौराले जिद्धी गरेपछि गौराको आग्रहबमोजिम नगरमा कलौँ बिरुडी खोज्न गएको प्रसङ्ग यस फागमा आउँछ’, भट्टले भने, ‘यो पर्व पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुवधागो लाउने पर्व पनि हो ।’ यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने प्रचलन रहेको उनले बताए ।

सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनको रुपमा लिइन्छ । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाई ‘गौराघर’मा भित्र्याइन्छ ।

अष्टमीअर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ ।

प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिीनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीको रुपमा पूजाअर्चना गरिँदै आइरहेको पाइन्छ । तिनै शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा पर्व हो । 

यो पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्ने गर्दछ । शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ११ : ४२ बजे

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन