विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

आज भदौ २१ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ७ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

चीनमा सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध
चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई एप्पलको आईफोन र अन्य विदेशी ब्रान्डका मोबाइल फोनहरू प्रयोग नगर्न आदेश दिएको छ।

सरकारी कर्मचारीलाई पनि कार्यालयमा ल्याउन निषेध गरिएको छ । पछिल्ला हप्ताहरूमा विभिन्न सरकारी निकायका वरिष्ठ अधिकारीहरूले आफ्ना कनिष्ठ कर्मचारीहरूलाई च्याट समूह र बैठकहरूमा सरकारको यो आदेशको बारेमा जानकारी गराउँदै आएका छन्।

वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचार अनुसार चीनले विदेशी प्रविधिमा निर्भरता घटाउन र साइबर सुरक्षा बढाउनमा जोड दिँदै गर्दा यो कदम चालेको हो ।

चीनले कुनै पनि प्रकारको संवेदनशील जानकारी विदेशी ब्रान्डका उपकरणहरू मार्फत देशको सीमा बाहिर लैजान चाहँदैन। उसले सूचनालाई सीमित गर्न काम गरिरहेको छ। चीनले विदेशी ब्रान्डका फोनमार्फत जासुसी गर्न सकिने ठानेको छ ।

चिनियाँ सरकारले चालेको कदमका कारण चीनमा रहेका एप्पललगायत विदेशी ब्राण्डलाई ठूलो नोक्सान हुनसक्छ । एप्पल चीनमा सबैभन्दा लोकप्रिय मोबाइल फोन ब्रान्ड हो।

चीन एप्पलको सबैभन्दा ठूलो बजार पनि हो। कम्पनीको नाफाको १९ प्रतिशत चीनबाट मात्रै प्राप्त हुन्छ । चिनियाँ सरकारको आदेशलाई कत्तिको कडाइका साथ कार्यान्वयन भइरहेको छ भन्ने स्पष्ट छैन। यस विषयमा एप्पलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

चिनियाँ सरकारको नयाँ आदेशले चीन र अमेरिकाबीच जारी तनावलाई देखाउँछ। अमेरिका र चीनले एक अर्कामाथि प्राविधिक उत्पादनका विषयमा लगातार प्रतिबन्ध लगाउदै आएका छन् ।

वास्तवमा अमेरिकाले हालै हुवावेमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी अधिकारीहरूलाई चिनियाँ सोशल मिडिया प्लेटफर्म टिकटक प्रयोग गर्न निषेध गरिएको छ।

अमेरिकी प्रतिबन्धको जवाफमा चीनले नयाँ आदेश जारी गरेको विश्वास गरिन्छ। डाटा चुहावटको डरले दुवै देशलाई सताइरहेको छ। अमेरिकाले लामो समयदेखि चीनलाई जासुसी गरेको आरोप लगाउँदै आएको छ । तर, चीनले आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गर्दै आएको छ

सुडानी सेना प्रमुख कतारी अमिरसँग वार्ता गर्न दोहामा
सुडानी सेना प्रमुख अब्देल फताह अल बुर्हान कतारका अमिरसँग वार्ता गर्न बिहीबार दोहा आइपुगेका छन् । गत अप्रिल १५मा अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)सँग युद्ध सुरु भएपछि सेना प्रमुख बुर्हानको यो तेस्रो विदेश भ्रमण हो ।

कतारी समाचार समितिले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको फोटोमा जनरल बुर्हानलाई कतारको विदेश मन्त्रालयका राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजिज बिन सालेह अल खुलाईफीले स्वागत गरे ।

जनरल बुर्हान र कतारका शेख तमिम बिन हमाद अल–थानीबीच द्विपक्षीय सम्बन्ध, आपसी चासो र साझा हितका मुद्दाका साथै सुडानको अवस्थाका बारेमा छलफल हुने सुडानको सत्तारुढ सार्वभौम परिषद्ले एक विज्ञप्ति निकालेर बताएको छ । बुधवार अबेर सेना प्रमुख बुर्हानले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सलाई विघटन गर्ने आदेश जारी गर्दै राज्य विरुद्धको विद्रोह,उसले सुडानी नागरिकविरुद्ध गरेका गम्भीर अपराध र देशका भौतिक पूर्वाधारमा नियतवश गरेका तोडफोडलाई दण्डित गर्न त्यसो गरिएको उल्लेख छ ।

खार्तुमको सैन्य मुख्यालय भित्र महिनौँको घेराबन्दीमा बिताएपछि जनरल बुर्हान गत महिना बाहिर निस्केर क्षेत्रीय सहयोगीहरूका साथ र समर्थन जुटाउन विदेश भ्रमणमा छन् । गत महिनाको अन्त्यमा, उनले आफ्नो पहिलो विदेश यात्रा सबैभन्दा पहिले इजिप्टको भ्रमण गरेर सबैभन्दा नजिकको सहयोगी एवं छिमेकी दक्षिण सुडान पुगेका उनले युद्धका प्रारम्भिक दिनमा मध्यस्थताका प्रयास बारम्बार असफल भएपछि कायरो र जुबा हुँदै अहिले दोहाको सहयोग खोजेका छन् । यद्यपि संयुक्त राज्य अमेरिका र साउदी अरबद्वारा मध्यस्थता गरिएको धेरै युद्धविराम उल्लङ्घन भएका थिए ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घले सुडानी शरणार्थीहरूको सङ्ख्या यो वर्षको अन्त्यसम्ममा दोब्बर हुनसक्ने चेतावनी दिएको छ । सेना प्रमुख बुर्हानका पूर्वसहायक मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको र्‍यापिड सपोर्ट फोर्स र सुडानी सेनाबीचको युद्ध राजधानी खार्तुम, पश्चिमी क्षेत्र डाफुरदेखि कोर्डोफान र जाजिरा राज्यसम्म फैलिएको छ । युद्धमा परी हजारौँको मृत्यु भएको छ भने लाखौँ पलायन भएका छन् ।

सशस्त्र द्वन्द्वका सम्बन्धमा अनुसन्धान गरिरहेको एक संस्थाका अनुसार हालसम्म पाँच हजारभन्दा बढी सुडानीको मृत्यु भएको छ । यद्यपि मारिनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायहरूले युद्ध चर्केपछि सुडानबाट चार करोड ६० लाख सर्वसाधारण विस्थापित भएका जनाएका छन् ।

युद्धबाहेक अत्यधिक गर्मी, अनियमित विद्युत् आपूर्ति, खाद्यान्न, औषधि र अन्य दैनिक उपभोग्य वस्तुको चरम अभावले सुडानका जनताको जीवन अति कष्टकर भएको छ । केही समयअघि सुडानका लागि संयुक्त राष्ट्रसङ्घका मानव अधिकारविज्ञ राधुआने नुइसरले युद्धको भयावह अवस्थाको चित्रण गर्दै पूरै देशलाई बन्धक बनाइएको बताएका थिए ।

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि सेना प्रमुख बुर्हान र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो ।

मानव केन्द्रित विश्वविकासमा प्रधानमन्त्री मोदीको जोड

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मानव केन्द्रित विश्वविकासमा जोड दिएका छन् । युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी संगठन जी २० शिखर सम्मेलन आयोजक राष्ट्रका प्रधानमन्त्रीले शनिबारदेखि नयाँदिल्लीमा आयोजना हुने दुईदिने शिखर सम्मेलनका सन्दर्भमा आज प्रकाशन गरेको आलेखमा समावेशी विश्वविकासमा जोड दिएका हुन् ।

संस्कृत सुक्ति ‘वसुधैव कुटुम्बकम्’ अर्थात् पृथ्वीका सबै मानिस एकै परिवारका सदस्य हुन्भन्ने आशययुक्त शिखर सम्मेलनको नाराबाट प्रारम्भ गरेको आलेखमा वसुधैव कुटुम्बकम्को समावेशी दृष्टिकोणले मानव समाजलाई सिमाना, भाषा र दर्शनभन्दा माथि उठेर एक विश्वव्यापी परिवारका रुपमा अघि बढ्न प्रेरित गरेको बताए ।

भारतका प्रधानमन्त्रीले साझा भविष्यका निम्ति विश्वका सबै मानवबीच एकता हुनुपर्ने, विश्ववासी एक परिवारका रुपमा हातेमालो गर्दै साझा प्रगति र समृद्धि प्राप्तिका लागिअ अघिबढ्नुपर्नेमा जोड दिएका छन् । कोभिड–१९पछिको विश्वव्यवस्थामा परिवर्तन आएको, कुनै पनि देशको आर्थिक उन्नयनको मापक कुल गार्हस्थ्य उत्पादनलाई त्यागेर अब मानव केन्द्रित दृष्टिकोण विकास गर्नुपर्ने, विश्वव्यापी आपूर्ति शृङ्खलामा अवरोध हुननदिनेतर्फ सचेत हुनुपर्ने तथा विश्वसंस्थाहरूलाई बहुपक्षीयताका पक्षमा अभिप्रेरित गर्न आवश्यक भएको आलेखमा उल्लेख गरेका छन् ।

आर्थिक एवं औद्योगिक रुपमा कम विकसित देशहरूलाई एकैस्थानमा उभ्याउने ‘ग्लोबल साउथ’ को अवधारणा तथा अफ्रिकाका विकासशील मुलुकका सीमान्तकृत आकाङ्क्षालाई मूल प्रवाहमा समाहित गर्न अपरिहार्य भएको विचार व्यक्त भारतका प्रधानमन्त्रीले दिगो विकासका लक्ष्य प्राप्तिमा भएका प्रगतिबारे जी २० शिखर सम्मेलनमा समीक्षा हुने र लक्ष्यहरूको अक्षरसः कार्यान्वयनका लागि कार्यदिशा निर्धारण गर्ने बताए ।

जलवायु अनुकूलन कार्य, जलवायु वित्त तथा प्रविधि हस्तान्तरण, हरित हाइड्रोजनका लागि पारिस्थितिकीय प्रणालीको निर्माण, जलवायु परिवर्तनका प्रभावका कारण खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता, राष्ट्र–राष्ट्रबीचको राजनीतिक विभाजन र अवरोध हटाउने र सहकार्य र साझेदारी प्रवर्द्धन गर्न जी-२० को अध्यक्षका नाताले भारत प्रतिबद्ध रहेको प्रधानमन्त्री मोदीले उल्लेख गरे ।

शनिबार प्रारम्भ भइ आइतबार सम्पन्न हुने जी २० बैठकमा विश्वका अधिकांश राष्ट्रका एक लाख प्रतिनिधिले भाग लिने बताइएको छ । अध्यक्षका रुपमा भारतले वर्षभरिमा जी २० सँग सम्बन्धित दुई सय वटा बैठक देशका विभिन्न ६० शहरमा आयोजना गर्ने घोषणा गरेको छ ।

चिनियाँ उपप्रधानमन्त्री नेतृत्वको टोली प्योङयाङ जाँदै
चीनका उपप्रधानमन्त्री लिउ गुओझोङले प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको ७५ औँ स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन प्योङयाङ भ्रमणमा जाने भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहनु भएका उपप्रधानमन्त्री लिउ कोरियाको श्रमिक पार्टी र उत्तर कोरिया सरकारको निमन्त्रणामा सिपिसी र सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्योङयाङको भ्रमणमा जाने परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बिहीबार घोषणा गरेका हुन् ।

उत्तर कोरियाली अधिकारीहरूले पनि चिनियाँ उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल यसै साता प्योङयाङको भ्रमणमा जाने बताएका छन् । उत्तर कोरियाले पर्सी शनिबार प्योङयाङमा ७५ औँ स्थापना दिवस विशेष समारोह आयोजना गर्दैछ । त्यस अवसरमा आणविक शक्तिराष्ट्रले विशाल सैन्य कवाजसमेत आयोजना गर्ने सम्भावना रहेको फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ । चिनियाँ प्रतिनिधिमण्डल शुक्रबार बेइजिङबाट प्योङयाङ प्रस्थान गर्नेछ ।

बेइजिङ उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण सहयोगी एवं आर्थिक साझेदार हो । सन् १९५० को दशकदेखि नै दुवै देशबीचको मैत्री सघन भएको हो । उत्तर कोरियाले कोभिड–१९ महामारीका बेला आफ्नो अन्तर्राष्ट्रिय सिमाना बन्द गरेपछि बाह्य विश्वसँगको सम्बन्ध र भ्रमण आदानप्रदान शून्यप्रायः भएको थियो ।

दुई महिनाअघि रुसका रक्षामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल राजधानी प्योङयाङमा भएको सैन्य कवाजमा भाग लिन गएको थियो भने तीन वर्षपछि पहिलोपटक उत्तर कोरियाली अन्तर्राष्ट्रिय व्यावसायिक उडान गत महिना बेइजिङमा अवतरण भएको थियो । उत्तर कोरियाली खेलाडीको एउटा टोली पनि हालै कजाकिस्तान प्रस्थान गरेको थियो ।

विरलै विदेश भ्रमण गर्ने उत्तर कोरियाली नेता किम जङ उन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार वार्ता गर्न यसै महिना रुसको भ्रमण गर्ने योजनामा रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बुधबार वासिङ्टनमा भएको नियमित ब्रिफिङमा दुवै नेताबीच हतियार आपूर्तिबारे वार्ता हुने सूचना आफूसँग रहेको दाबी गर्दै युक्रेन युद्धमा प्योङयाङले हतियार उपलब्ध गराएमा त्यसको मूल्य उसले चुकाउनुपर्ने चेतावनी पनि उनले दिएका थिए ।

युक्रेनमा रुसी हमला, १७ जनाको मृत्यु
पूर्वी युक्रेनस्थित एक सहरको बजारमा रुसी गोलाबारी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले रुसी आक्रमणमा १७ जनाको मृत्यु भएको र ३२ जना घाइते भएको बताए । अधिकारीहरूका अनुसार रुसी आक्रमणमा २० पसल, बिजुली लाइन, प्रशासनिक भवन आदिमा क्षति पुगेको छ ।

रुसको यो हमला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन किभको भ्रमण गरिरहेको बेला भएको थियो । अमेरिकाले युक्रेनका लागि एक अर्ब डलरभन्दा बढीको आर्थिक सहायताको घोषणा गर्न सक्ने अपेक्षा गरिएको छ ।

एसोसिएटेड प्रेस संवाददाताहरूले कोस्टियान्टिएनिभकामा आक्रमण भएको ठाउँमा शवहरू देखिएको बताएका छन् । त्यहाँ आकस्मिक कर्मचारीले बजारमा लागेको आगो निभाएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसले निर्दोष मानिसहरूलाई निशाना बनाएर बजारमा आक्रमण गरेको बताएका छन्। उनले भने, यो ठाउँ चिन्नेहरूलाई यो नागरिक क्षेत्र हो भन्ने थाहा छ। नजिकै कुनै सैन्य इकाई छैन। यो आक्रमण जानाजानी गरिएको हो ।’

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ७ : ५९ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले