बागलुङमा बुकीबाट बेसी झर्न थाले भेडीगोठ « Khabarhub

बागलुङमा बुकीबाट बेसी झर्न थाले भेडीगोठ


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

बागलुङ– गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन् ।

लेकमा जाडो सुरु हुन थालेको र चाडबाड नजिकिएसँगै भेडीगोठ बेसी तिर सारिएको हो । जेठ पहिलो सातादेखिनै लेक उक्लिएका भेडीगोठ असोज पहिलो सातादेखि बेसी झर्न सुरु गरेका हुन् । बर्खामा बेसीमा घाँस अभाव हुने र लेकमा प्रशस्त पाइने हुँदा भेडी गोठाले हरेक वर्ष लेक–बेसी गर्ने गर्छन् ।

पश्चिम बागलुङको माथिल्लो क्षेत्रका अधिकांश किसानका लागि लेकबेसी गर्नु परम्परानै हो । एकै परिवारले दुई सयदेखि एक हजार वटासम्म भेडा पाल्दै आएका छन् । गोठालाहरु हप्तौँको यात्रा गरी बुकी चढ्ने र बेसी झर्ने गर्छन् । बेसीमा भन्दा बुकीमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइन्छ ।

यतिबेला तिलाचन, रिग, पातीहाल्ने, सोलेडाँडा, भर्कोबाङलगायतका क्षेत्रमा भेडाका बथान भेटिन्छन् । यो समय भेडाबाख्रा बिक्री गर्ने सिजन भएको हुँदा गोठालाहरु बेसी झरेर बजार तिर लाग्ने गर्छन् । 

बेसी झरेका गोठालेहरु अब केही दिनमै मुख्यमुख्य सहरसम्म हप्तौँ दिन हिँडेर भेडाबाख्रा बेच्न जान्छन् । यहाँबाट भेडा बिक्रीका लागि केही बुर्तिबाङ, खर्बाङ, गुल्मीको वामी, रिडी, पाल्पा हुँदै बुटवलसम्म र कोही गलकोट, बागलुङ, पर्वतको कुश्मा हुँदै पोखरासम्म जाने तयारीमा छन् ।

गत बैशाखमा परेको बेमौसमी हिमपातले भेडा मर्दा यसवर्ष ठूलो नोक्सानी बेहोर्नु परेको निसीखोलाका प्रेमबहादुर बुढा मगरले बताए । चैतको अन्तिम साता लेकमा भेडा लिएर गएको भन्दै लेकमा पुगेको केही दिनमै लगातार एक सातासम्म परेको वर्षा र हिमपातले आफ्ना १७ वटा भेडा मरेको बताए ।

चिसोले भेडाहरु मर्दा एक सातामै साढे तीन लाख रुपैयाँ बराबरको नोक्सानी भएको र यसवर्ष थोरै मात्र भेडा बिक्री गर्ने योजना रहेको उनको भनाइ छ ।

भेडापालक बलबहादुर घर्ती मगरले यसवर्ष भेडा बेसी झर्ने समयमा वर्षा हुँदा समस्या भएको बताए । असोज ११ मा बेसी झर्न सुरु गरे पनि लगातार परेको पानीका कारण असोज १७ गते मात्रै यहाँ आइपुगेको उनको भनाइ छ । 

करिब चार हजार सात सय मिटरको उचाइमा अवस्थित बुकीमा ह्वात्तै चिसो बढेको उनले बताए । अहिले आफ्ना रैथाने जातका ७० बोका तथा बाख्रा र करिब एक सय भेडा रहेको घर्ती मगरको भनाइ छ ।

स्थानीय कुलबहादुर विकले पछिल्लो समय भेडापालन गर्नेको सङ्ख्या कम हुँदै गएको बताए । उनले आफूहरुले धेरै भेडाबाख्रा पाल्न नसक्ने र युवा पुस्ताले यसतर्फ चासो नदिँदा भेडागोठालोकाे सङ्ख्या घट्दै गएको बताए । 

६७ वर्षीय विकले पहिले आफूले आठ सयसम्म भेडापालेको अनुभव सुनाउँदै अहिले एक सय पचासको हाराहारीमा मात्रै भेडा पालेको बताए । 

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ६ : ५० बजे

पार्टी कार्यालयमा विमलेन्द्र निधिलाई गरिएको व्यवहार गलत छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता विमलेन्द्र निधिमाथि आज

विरोधमा उत्रिएका नेता कार्यकर्तालाई विश्वप्रकाशले भने : मर्यादाको दायरामा रहनुपर्छ

काठमाडौँ- काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार पार्टी

नेपाली क्रिकेटले खेलाडी र दर्शकलाई उत्साहित बनाएको छ : मुख्यमन्त्री पाण्डे

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली खेलकुद क्षेत्रमा क्रिकेटले

सामाजिक सद्भाव कायम राख्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको सर्कुलर

काठमाडौं- गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा

रातिसम्म बसेर पनि राष्ट्रिय सभा उम्मेदवार टुंग्याउँछौँ

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज केहीबेर