फाइल तस्वीर

देश/प्रदेश

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, बहुमत पुग्ने सम्भावना क्षीण

By खबरहब

October 07, 2023

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । जसका लागि दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।

तत्कालीन मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा लिएको विश्वासको मत संविधानसम्मत नदेखिएको भन्दै सर्वोच्च अदालतले भदौ २२ मा कोशीमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठन गर्न परमादेश दिएपछि कार्की मुख्यमन्त्री बनेका थिए । 

यसरी गठन भएको सरकारले संविधानको १६८ (४) बमोजिम ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने व्यवस्था रहेकाले आज मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

यसअघि पहिलोपटक २०७९ पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका कार्की असार १५ मा विश्वासको मत पाउन नसकेर पदमुक्त बनेका थिए।

कार्कीको सरकारमा रहेका नेकपा माओवादी केन्द्र बाहिरिए पछि उनले विश्वासको मत पाउन सकेका थिएनन्, जसका कारण उनी बाहिरिनु परेको थियो ।

त्यसपछि सभामुखको मत र सभाध्यक्षको मतसहित नेपाली कांग्रेसका उद्धव थापाले दुईदुई पटक लिएको मुख्यमन्त्रीको नियुक्ति सर्वोच्च अदालतले बदर गरेर कार्कीलाई मुख्यमन्त्री नियुक्ति गर्न परमादेश दिएको थियो । 

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। प्रदेशसभामा एमालेका उपसभामुखसहित ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ सांसद छन् । 

अहिलेसम्मको अवस्थामा कुनै फेरबदल नभए एमालेको पक्षमा ४० सांसद मात्रै देखिएका छन् । यसअघि एमालेलाई साथ दिँदै आएको राप्रपाले यस पटक भने साथ नदिने जनाइसकेको छ । जसका कारण मुख्यमन्त्री कार्कीलाई सरकार जोगाउन मुस्किल पर्ने देखिएको छ ।