पुस्तक समीक्षा : ‘शब्दविम्बमा सत्यमोहन’का बहुआयाम | Khabarhub Khabarhub

पुस्तक समीक्षा : ‘शब्दविम्बमा सत्यमोहन’का बहुआयाम


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘हितोपदेश’ सुभाषित श्लोकको संस्कृतमा एउटा उक्ति छ, ‘एकश्चन्द्रस्तमो हन्ति न च तारागणोकपि च’ अर्थात् ‘आकाशमा करोडौँ ताराहरू छन् । तिनले राति उज्यालो दिन सकेका हुँदैनन्, करोडौँ भएर पनि के गर्नू तर एक्लो चन्द्रमाले रातको अन्धकारमा उज्यालो  दिन सक्छ, अँध्यारालाई नास गरिदिन्छ र त्यसमा पनि त्यो प्रकाश सूर्यको रापजस्तो होइन ।’ हो, यस्तै चन्द्रमा थिए सत्यमोहन जोशी । वाङ्मय शताब्दी पुरुष जोशीले भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र पुरातत्त्वका क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय छ ।

फलेको वृक्षको हाँगो निहुरिए झैँ उनमा कुनै घमण्ड थिएन । शालीन एवं मिलनसार व्यवहार र उच्चकोटीको विचार नै उनको विशेषता थियो ।

गाउँका सर्वसाधारणदेखि दरबारको उच्च वर्गका मानिससँग पनि उनको उत्तिकै पहुँच र सम्बन्ध थियो । उनी सर्वसाधारणको भाषा राम्ररी बुझ्थे। देशको अवस्थिति र परिस्थितिलाई नजिकबाट नियालेका बहुआयामिक व्यक्तित्व जोशी नेपाललाई स्वर्गकै रूपमा व्याख्या गर्थे । 

विश्वका धेरै मुलुकको भ्रमण गरेका र संसार चिनेका उनी नेपाल जस्तो सुन्दर र असीमित सम्भावनायुक्त देश विश्वमा कहीँ नभएको  सुनाउँथे । उनले सरकारी सेवामा रहँदा विभिन्न जिम्मेवारी पूरा गर्दै देशका प्रायः सबै ठाउँमा पुग्नु मात्र भएन,  त्यहाँको कला, साहित्य, संस्कृतिलाई टपक्क टिपेर मूल प्रवाहमा ल्याउने काम गरे ।

शताब्दीसम्म बाँचेर निरन्तर नेपाली भाषा, साहित्य र संस्कृतिका श्रीवृद्धिमा लगाउने असाधारण शक्ति र सामर्थ्यका धनी जोशीको जीवनका विभिन्न पाटालाई सङ्गृहीत गरेर प्रकाशित ‘शब्दविम्बमा सत्यमोहन’ (भुँडी पुराण, २०७९) मा जोशीको जीवनी, भाषा, साहित्य, लोकसंस्कृतिको अन्वेषण र उनका जीवनका विविध आयाम मात्र समेटिएका छैनन्, नेपालको साहित्य, संस्कृति र पत्रकारिता क्षेत्रमा ख्याति कमाएका धेरै लेखक, साहित्यकार, संस्कृतिविद्, पत्रकार आदिका विचार र धारणा पनि पढ्न पाइन्छ । कृतिमा जोशीको जीवन र जीवनशैली, सेवा र योगदान, कदर र सम्मान तथा  आदर्शका बारेमा विभिन्न दृष्टि र कोणबाट बुझ्न सकिन्छ ।

‘सङ्घर्षले सत्यमोहनलाई धेरै सिकायो, सत्यमोहनले सबैलाई सङ्घर्ष सिकाए’, पुस्तकका सम्पादक गोपीकृष्ण ढुङ्गानाले सम्पादकीयमा लेखेको यस उक्तिले जोशीको जीवनको सङ्घर्ष र प्राप्त गरेको सफलतालाई छर्लङ्ग पारेको छ । 

कहिल्यै नथाकी, नहारी र नरोकिई आफ्ना कर्ममा जुटिरहने  दरिलो आत्मबल र बलियो आत्मविश्वासका धनी जोशीको निधनपछि लेखिएका समाचार, सम्पादकीय, श्रद्धाञ्जली लेखरचना, आलेख, अन्तर्वार्ता आदिलाई एउटै पुस्तकमा समावेश गरेर पत्रकार ढुङ्गानाले पाठकलाई ठूलै गुन लगाएका छन् ।

तीन पटक मदन पुरस्कार पाउने जोशीका नेपाली र नेपाल भाषामा लिखित ६० भन्दा बढी पुस्तक प्रकाशित छन् । नेवार भएर पनि उनी नेपाल भाषा र नेवारी संस्कृतिमा मात्रै खुम्चिएनन् । नेपाली भाषा, संस्कृति र साहित्यका विकासमा पनि उनले ठूलो योगदान गरेका छन् । 

सादा जीवन उच्च विचारका धनी जोशीमा कहिल्यै घमण्ड, अहं वा फुर्तीफार्ती देखिएन । रसिलो, भरिलो र झरिलो फलफूल जस्तै उनमा नम्रता र निहुरिने दुर्लभ गुण भरिपूर्ण थियो । जुनसुकै भूमिका र जिम्मेवारीमा रहँदा पनि उत्तिकै कुशलता प्रदर्शन गर्न सक्ने प्रबुद्ध व्यक्तित्व उनी लोक वाङ्मयका विविध विषयका इन्साइक्लोपेडिया नै थिए भन्ने तथ्य पुस्तकको अध्ययनबाट पाइन्छ । 

जोशीको समग्र जीवनवृत्तलाई एउटै पुस्तकमा समेट्ने जमर्को गर्ने सम्पादकको मेहनत र धैर्यको तारिफ गर्नैपर्छ । पुस्तकभित्र यति धेरै सामग्रीको सङ्कलन, संयोजन र सम्पादन एक्लैले गर्न सक्नु चानचुने कुरा होइन । पुस्तक पढेर पाठकले जोशीको जीवनबाट धेरै सिक्न, बुझ्न   र जान्न सक्छन् । 

यस्ता बहुप्रतिभाशाली व्यक्तित्वका बारेमा लेखिएको पुस्तकको औचित्य कहिल्यै सकिँदैन, बरु युगयुगसम्म सान्दर्भिक रहिरहन्छ । ‘न अरूलाई तराजुमा जोखे, न जोखिए अरूको तराजुमा । बाधाहरू पन्छाए, परिस्थितिभन्दा माथि उठे र त जुरुक्क उठेको देखिए सत्यमोहन सबैका आँखामा । वास्तवमा सत्यमोहनले प्रत्येक सेकेन्ड र मिनेटलाई महत्त्व दिएर सदुपयोग गरेकाले नै महान् बने’, ढुङ्गाना लेख्छन् ।

पुस्तकमा उनका केही अप्रकाशित र निधनअघि लिइएका वा प्रकाशित सामग्री पनि समेटिएका छन् । यसरी उनका बारेमा बुझ्न, अध्ययन गर्न र ती लेख सामग्रीको दस्तावेजीकरण गरी संरक्षण गर्न सहज भएको छ ।

आठ खण्डमा विभाजित पुस्तकमा लेख र आलेख ३२, परिशिष्टाङ्कका आलेख १७, समाचार १७, सम्पादकीय सात, अन्तर्वार्ता चार र कविता तीन समावेश छन् । पहिलो लेख खण्डमा जोशी स्वयंदेखि अन्य विभिन्न लेखकका लेखको सङ्कलन छ । जोशीलाई नजिकबाट चिनेका तथा उनीसँग निरन्तर सम्पर्कमा रहेका विभिन्न लेखक, साहित्यकार र पत्रकारका अढाइ दर्जनभन्दा बढी लेख यस खण्डमा समावेश गरिएका छन् ।

दोस्रो खण्डमा उनको निधनपछि राष्ट्रिय दैनिकलगायत विभिन्न पत्रपत्रिकामा प्रकाशित सम्पादकीय समावेश गरिएका छन् । यी सम्पादकीयको अध्ययन गर्दा सञ्चारमाध्यमका नजरमा उनको उचाइ निकै माथि रहेको पाइन्छ । तेस्रो खण्डमा विभिन्न समयमा विभिन्न व्यक्तिले जोशीसँग लिएका तीन अन्तर्वार्ता समाविष्ट छन् जसमा व्यक्त विचार आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् ।

चौथो परिशिष्टाङ्क खण्डमा राष्ट्रकवि माधव घिमिरेलगायत प्रतिष्ठित लेखक, साहित्यकार, संस्कृतिविद्, पत्रकारद्वारा लेखिएका गहन र अत्यन्त जानकारीमूलक विचार र अभिव्यक्ति समेटिएका छन् । पाँचौँ खण्डमा विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचार तथा छैटौँ खण्डमा तीन कविका जोशीप्रति समर्पित कविताहरू छन् । अन्तिम खण्डमा  जोशीका केही मुख्य कृति र तस्वीर समावेश गरिएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १२ : २२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड