निर्माण सामग्री अभावले मालढुङ्गा–बेनी सडक ठप्प | Khabarhub Khabarhub

निर्माण सामग्री अभावले मालढुङ्गा–बेनी सडक ठप्प


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

पर्वत– राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम ठप्प बनेको छ । विगत एक महिनादेखि आयोजनाको काम ठप्प बनेको हो । 

दसैँअघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक निर्माण सामग्री ल्याएर काम गरेको भए पनि अहिले ठप्प बनेको कालीगण्डकी करिडोर आयोजना कार्यालय जोमसोमका इन्जिनियर तथा साइड इन्चार्ज अच्युतविलास पन्तले जानकारी दिए। सम्झौता अवधि नाघिसक्दासमेत जम्मा ४२ प्रतिशतमात्र प्रगति भएको उक्त सडकखण्ड निर्माण सामग्री अभावले ठप्प बनेको हो । सम्झौताअनुसार समयमै काम हुन नसक्दा यो सडक हुँदै आउजाउ गर्ने दैनिक सयौँ सवारीसाधन र हजारौँ यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । 

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भए पनि अहिलेसम्म ४२ प्रतिशतमात्र काम भएको छ । 

कालीगण्डकी करिडोर आयोजना जोमसोमका इन्जिनियर तथा साइड इन्चार्ज पन्तका अनुसार हालसम्म मालढुङ्गा–बेनी सडकको ४२ प्रतिशत काम सम्पन्न भएको बताए। उनका अनुसार २०८० पुससम्म म्याद थप भएको बताउँदै सडक निर्माणका क्रममा विभिन्न बाधा–अवरोध सिर्जना भएकाले ढिला भएको बताए। थप गरिएको अवधिसमेत अब दुई महिनामात्र बाँकी छ । गत वर्ष नै सम्पन्न हुनुपर्ने सडक भए पनि ठेक्का सम्झौताअनुसार निर्माण सामग्रीको प्रयोग गर्न नपाएपछि ढिलाइ भएको हो ।

ठेक्का सम्झौतामा नजिकै रहेको कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन गरेर सडक निर्माणमा प्रयोग गर्ने उल्लेख भए पनि निर्माण कम्पनीलाई नदीजन्य वस्तु उत्खनन गर्न नदिइएपछि समयमै काम सम्पन्न हुन नसकेको हो । सामग्रीकै अभावले निर्माण कम्पनीले एक वर्षदेखि धमाधम काम गर्न सकेको छैन । गत माघदेखि ठप्प बनेको काम असारदेखि सुरु भए पनि फेरि दसैँदेखि ठप्प बनेको इन्जिनियर पन्तले बताए । 

पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक निर्माण सामग्रीको अभावमा रोकिएको हो । तेह्र किलोमिटर लामो उक्त सडकमा अहिले यात्रा गर्न सकस हुने गरेको छ । सडकमा रहेका ठूला–ठूला खाडल, हिलो र ढुङ्गा तथा पहिराका कारण जोखिमपूर्ण बनेको छ । म्याग्दी सदरमुकाम बेनी र मुस्ताङ आवतजावत गर्ने सवारीसाधन हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गरेका छन् । मालढुङ्गाबाट बेनीसम्मको १३ किलोमिटर पार गर्न घण्टौँ समय लाग्ने गरेको छ । 

निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीले पटक–पटक बेनी–जोमसोम–कोरल्ला सडक आयोजनालाई पत्र लेख्दै निर्माण सामग्रीको व्यवस्थापन गरिदिन आग्रह गरेपनि कुनै सुनुवाइ नभएपछि निर्माणले गति लिन नसकेको हो । सडकको निर्माण ढिलाइ हुँदा चौतर्फी दबाबका कारण असारदेखि सुरु भए पनि निर्माण सामग्री नहुँदा फेरि रोक्नुपरेका एपेक्स–खड्का–कृष्ण जेभीको सहायक कम्पनी ओमकारेश्वरका प्रतिनिधि अमृत दाहालले बताए ।

कालीगण्डकी नदीमा शालिग्राम पाइने भएकाले क्रसर व्यवसायीले जथाभावी उत्खनन गर्दा यसको संस्कृति र सभ्यता नै लोप हुन थालेको भनेर सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि अदालतको अन्तरिम आदेशपछि स्थानीय तहले समेत नदीबाट ढुङ्गागिट्टी उत्खननका लागि ठेक्का लगाउन सकेका छैन् । सर्वोच्च अदालतको २०७८ असार २९ गतेको आदेशानुसार कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न रोक लागेको छ । 

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ११ : ०५ बजे

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले गरे पदाधिकारी चयन 

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पार्टीको केन्द्रीय

गोसाइँकुण्डमा यात्रुलाई निःशुल्क तातोपानीको व्यवस्था

रसुवा– जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा भक्तजनका लागि यस वर्ष तातोपानीको

काठमाडौं उपत्यकामा दिनभरि झरी, जनजीवन प्रभावित (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यका लगायत आज देशैभर हल्का देखि भरी वर्षा

आफ्नो मुलुकमा हमला गर्न रुसले प्रयोग गरेका ड्रोनमा भारतीय पार्टपुर्जा भेटिएको युक्रेनको दाबी

काठमाडौं– पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग निहुँ खोजिरहेका

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए सपथ 

काठमाडौं– नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशको छैटौं मुख्यमन्त्रीका