धुरु धुरु रुवायो डिपेन्डेन्ट भिसाले..... | Khabarhub Khabarhub

धुरु धुरु रुवायो डिपेन्डेन्ट भिसाले…..



पूर्वी नवलपरासी कावासोतीका राम शर्मा (नाम परिवर्तन) एक दशकअघि श्रीमती रूपासँग डिपेन्डेन्ट भिसामा बेलायत गए । कक्षा आठ पढ्दादेखि नै प्रेममा परेपछि उनीहरूले एसएलसी दिने बित्तिकै परिवारले बिहे गराइदिए । उमेर परिपक्व नभए पनि बिहेपछिका जिम्मेवारीले बाँध्दै ल्यायो । उनीहरूले विदेश जाने योजना बनाए ।

प्लस टु सकिएपछि शर्माकी श्रीमतीले आइएलटीएसको लागि डेट लिइन् । श्रीमतीलाई विद्यार्थी भिसा लगाएर उनी आफू डिपेन्डेन्टमा जाँदा खर्च कम हुने थियो । विदेश पुगेपछि पनि एउटाले पढे पनि अर्कोले पूरा समय काम गर्न पाइने भएपछि जाँदा लागेको ऋण तिर्न र कमाइ गर्न सजिलो हुने हिसाबले उनीहरु विदेशिए । 

श्रीमतीलाई पढाइमा केन्द्रित गराएर राम १८ घण्टासम्म लण्ड्रीमा काम गर्थे ।

विदेशमा दुख भए पनि आफूले रोजेको दुःखसँग हाँसेरै सम्झौता गरिरहेका थिए । सानैदेखि मन पराएर बिहे गरेकी श्रीमती साथमै थिइन् । आफूले दुख गरेपनि नव-आगन्तुक सन्तानको भविष्य सुखद हुने कल्पना मात्रले पनि त्यो जोडीलाई पुलकित बनाउँथ्यो । कमाइ पनि राम्रै थियो । तर, एकदिन उनको जीवनमा रामको तुफान आयो । जब उनले आफ्नै घरमा, आफ्नै बेडमा श्रीमतीलाई परपुरुषसँग रंगेहात फेला पारे ।

त्यो छिमेकमा बस्ने पाकिस्तानी केटो थियो ।

उनले सोच्नै सकेनन् । अब के गर्ने ? विदेशमा साथी, जीवनसाथी, अभिभावक, आफन्त जो भने पनि उनी मात्रै थिइन् । श्रीमतीले नै पिठ्यूँ पछाडि छुरा हान्लिन् भन्ने उनले कहिले सोचेका थिएनन् ।

उनी फ्ल्याटमा बस्न सकेनन् । श्रीमतीले माफी माग्दै म्यासेज गरिराखिन् तर उनलाई यो गल्ती माफी लायक छैन भन्ने लाग्यो । श्रीमतीले बारम्बार फोन गरेर अब गल्ती नदोहोरिने वाचा गरिन् । श्रीमानबाट समय नपाउँदा आफूबाट गल्ती हुन गएको भन्दै प्रष्टीकरण दिइन् । 

विदेश गएपछि व्यवहार टार्ने धुनमा रामले श्रीमतीलाई पनि समय दिनुपर्छ भन्ने नै बिर्सिएका थिए । जति धेरै घण्टा काम गर्यो, उति  पैसा हुने हुँदा उनले कामलाई प्राथमिकता दिए ।

फेरि नेपाल गएर घरमा के भन्नु ? श्रीमती छोडेर एक्लै जाँदा कसरी मुख देखाउनु ? दोहोरो दबाबमा परेका उनले अन्ततः सम्झौता गरेर श्रीमतीको गल्तीमा माफी मिनाहा गरिदिए । 

प्रतिशोधको आगो निभेसँगै उनीहरूको जीवनयात्रा फेरि सुखद मोडतर्फ अघि बढ्यो ।

केही समयपछि श्रीमती गर्भवती भएको रिपोर्ट आयो । यो जोडीको खुसीले सीमा नाघ्यो । नौ महिनामा छोरी जन्मिइन् । खुसी बढेर चौगुना भयो ।

धेरै काम गरेर धेरै पैसा कमाउनु थियो । कमाएको सबै पैसा उनी श्रीमतीलाई राख्न दिन्थे । श्रीमतीले माइत आमालाई पैसा पठाएर उनीहरूले पोखरामा घडेरी किने । घडेरी आमाकै नाममा पास गरेको थियो । नेपाल आएपछि ज्वाइँको नाममा पास गर्ने भन्ने थियो । छोरी हुर्कंदै थिइन्, रामको जिम्मेवारी बढिरहेको थियो ।

तर, यो खुसी पनि धेरै समय टिक्न सकेन । रामले आफ्नी श्रीमतीलाई फेरि पनि त्यही पाकिस्तानीको साथमा भेटाए । अब माफ गर्दिने ठाउँ बाँकी रहेन । उनले श्रीमतीको मोबाइल चेक गरे । त्यो मान्छेसँग कहिल्यै नभेट्ने कसम खाए पनि उनीहरूको भेट निरन्तर भइरहेको रहेछ । उनीहरु एक अर्को विना बाँच्न नसक्ने जस्ता संवाद च्याटमा गर्ने रहेछन् । दुवैको योजना बमोजिम पैसाका लागि मात्रै श्रीमान् अर्थात रामसँग उनी बसेकी रहिछन् । काम गरेर पैसा ल्याएर दिएको छ, छोड्न हुँदैन भन्ने पाकिस्तानी र श्रीमती दुवैको अघोषित सम्झौता रहेछ । 

श्रीमतीको पनि अब माफी माग्ने ठाउँ बाँकी रहेन । उनले सबैभन्दा पहिले श्रीमानको पासपोर्ट लुकाइदिइन् । ‘म सँग डिपेनडेन्टमा आएको, तेरो केही औकात छैन’ भनेर हेप्न थालिन् । तैँले आइएलटीसमा राम्रो स्कोर ल्याउन नसक्ने भएर मलाई पढाएको होस् जस्ता गाली गर्न थालिन् । र पाकिस्तानीलाई छोड्न नसक्ने बताइन् ।

त्यसपछि डिभोर्स गर्नुको विकल्प रहेन । 

रामले आफ्ना कथा व्यथा नेपालमा बुबाआमालाई सुनाए । त्यस्तो माया प्रेम परेर बिहे गरेकाको पनि यस्तो हविगत भन्दै परिवारै छक्क परे । श्रीमतीका माइतकाले आफ्नी छोरीलाई मिथ्या लाञ्छना लगाएको आक्षेप लगाए । 

राम ५ महिनाकी नाबालक छोरी बोकेर रित्तो हात नेपाल फर्किए । कमाइजति सबै श्रीमतीलाई दिएका उनीसँग केही थिएन । हवाईजहाजमा त्यो दूधे नाबालक बुबासँग मात्रै देख्दा सबै यात्रु छक्क परेर उनलाई सबैले घुरेर हेरिरहेका थिए । बिहे गरेको दश वर्षमा भगवान श्रीराम जस्तै नवलपरासीका यी रामको जिन्दगी वनबासमा परिणत भयो । 

०००

गुल्मीकी सरिता भुसाल स्नातकको परीक्षा सिध्याएर लोकसेवाको तयारीमा जुटेकी थिइन् । उनी कीर्तिपुरमा डेरा गरेर बस्थिन् । एकै घरमा बस्ने सर्लाहीका दीपक काफ्लेसँग उनको निकटता बढ्दै गयो । त्यसैक्रममा दीपकले उनलाई लोकसेवा तयारी गर्न भन्दा अष्ट्रेलिया जाँदा राम्रो हुने सल्लाह दिए। सरिता लोक सेवा छोडेर दीपकसँगै आइएलटीएस क्लास लिन थालिन् । आइएलटीएसमा दुवैको राम्रै स्कोर आयो तर भिसा सरिताको मात्रै आयो । जसको भिसा लाग्छ, उसले डिपेनडेन्टमा लैजाने उनीहरूको सर्त थियो । 

सर्त बमोजिम नै उनीहरु परिवारको सर-सल्लाहमा कोर्ट म्यारिज गरेर अष्ट्रेलिया गए । सुरु समयमा राम्रो थियो । अर्काको देशमा विभिन्न कठिनाइहरूमा एकले अर्कोलाई साथ दिँदै अगाडि बढिरहेका थिए । विदेश जानकै लागि ‘कोर्ट म्यारिज’ गरेको भएपनि दीपक आजीवन उनीसँग बस्न चाहन्थे । नेपाल गएर अब धुमधामले बिहे गर्नुपर्छ भनेर सरितालाई आफ्नो योजना सुनाइरहन्थे । 

सरिताले डिपेन्डेन्टमा अष्ट्रेलिया ल्याएर बेरोजगारीबाट  बचाएको भन्ने उनलाई  लागिरहन्थ्यो । सरितासँगको भेट, उनीसँगको निकटता र प्रेम उनलाई भगवानको आशीर्वाद लागेको थियो । उनी पूरा समय काम गर्थे । सरिता पनि पढाइसँगै काम गर्थिन् । तर एक दिन अचानक सरिताले सँगै बस्न नसक्ने बाध्यता बताइन् । कलेज पढ्ने नेपाली केटासँग प्रेमसम्बन्धमा रहेको बताउँदै तत्काल डिभोर्सका लागि प्रस्ताव गरिन । आफूहरू अष्ट्रेलिया छिर्नका लागि मात्रै बिहे गरेकाले कुनै बहानाबाजी नगरी डिभोर्स दिनुपर्ने उनको सर्त थियो ।आखिर भयो त्यही । 

सरिताको परिवारलाई दीपक मन परेको थिएन । लोकसेवाको तयारी गरिरहेकी छोरीलाई ललाइ फकाइ गरेर विदेश लगेको उनीहरूलाई मन परेको थिएन । आफूले पढ्न नसकेर आफ्नो छोरीलाई प्रयोग गरेको दोष लगाइरहन्थे । डिभोर्सका लागि सरितालाई परिवारले नै साथ दिएको थियो । 

दीपकले धेरै सम्झाए तर उनी धेरै टाढा गइसकेकी थिइन् । जीवन साथी बनाउने निधो गरिएका केटाको आफ्नै व्यवसाय थियो । अझ नयाँ सम्बन्धप्रति परिवारको दृष्टिकोण सकारात्मक थियो । यस्ता कारणले पनि दीपकको धरातल थप कमजोर बनेको थियो । । अन्ततः उनीहरु दुई वर्षको सहयात्रा पछि छुट्टिए । 

०००

भक्तपुरका विनय श्रेष्ठको पनि कथा करिब-करिब यस्तै छ ।

अष्ट्रेलिया जानका लागि उनी पुतलीसडकस्थित एक कन्सल्टेन्सीमा आइएलटीएसको तयारी गरिरहेका थिए । पढाइ राम्रै थियो । भाषा परीक्षामा राम्रो अंक ल्याउनेमा उनी ढुक्क थिए । जसरी पनि अष्ट्रेलिया जाने गरी उनले तयारी गरिरहेका थिए । तर त्यसैक्रममा उनलाई अष्ट्रेलियामै भएकी केटीका लागि बिहेको प्रस्ताव आयो । 

घरमा पनि बुबाआमाले विदेशको ठाउँमा एक्लै बस्नुभन्दा साथी हुँदा सजिलो हुने ठानी बिहेको लागि जोडबल गरे ।

‘विनय र विनिता’ नाम पनि भगवानले मिलाएर पठाएजस्तै थियो । केटा-केटी अनलाइन संवाद सुरु भयो । उनी सुन्दर त थिइन् नै, उत्तिकै व्यवहारिक पनि लाग्यो विनयलाई । कुरा लम्बिँदै जाँदा उनलाई बिनितासँग बिहे गरेर पछुतो नहुने जस्तो लाग्यो । उनी ललितपुरकी थिइन् । सायद लेखा पनि होला, कुरा मिलाउँदै जाँदा उनका बिहे भयो । मागी विवाह भए पनि उनीहरूले एक अर्कालाई भरपुर मन पराएरै बिहे गरे ।

 विनयलाई अष्ट्रेलिया जाने अनेकौँ झमेला बेहोर्नु परेन । त्यहाँ गएपछि पनि एक लेबलको सेटल भैसकेकी श्रीमती साथमा थिइन् । अरु विद्यार्थीले जस्तो उनलाई दुःख गर्नै परेन ।

विनयले कामसँगै आफ्नो पढाइलाई निरन्तरता दिने कुरा श्रीमतीलाई सुनाए । तर, श्रीमतीले केही समय काम गरेर पैसा जम्मा गर्न भनिन् । उनलाई श्रीमतीको कुरा जच्यो । बिहे गर्दा लागेको ऋण छिनोफानो गर्न सके हलुँगो हुन्छ भन्ने लाग्यो । 

विनयले राम्रै पैसा कमाइरहेका थिए । तर समस्या के भयो भने, पैसा उनले घर पठाउन पाएनन् । आम्दानी श्रीमतीको अधीनमा गयो । अष्ट्रेलिया आउँदाको  र बिहे गर्दाको ऋण भएकाले भन्दै उनले सबै हडपिन् । केही समय विनय चुप लागे । पैसा उनी पनि कमाउँथिन् तर ऋणको बहानामा सबै आफैँ राख्थिन् ।

हिसाब किताब अपारदर्शी भएपछि उनीहरूको सम्बन्ध चिसिँदै गयो । विनय आफैं लगानी गरेर पनि अष्ट्रेलिया आउन सक्ने थिए । तर डिपेन्डेन्टमा ल्याएकै भरमा श्रीमतीले हेपाहा व्यवहार देखाउन थालेपछि उनलाई असहज हुँदै गयो । दुई जनामध्ये कसैले पनि आफ्नो ‘इगो हर्ट’ छोड्न नसक्दा परम्परागत बिहेवारी पनि अन्ततः डिभोर्समा गएर टुङ्गियो । 

यी केही प्रतिनिधि पात्र हुन् । शिक्षा तथा रोजगारीको अवसर खोज्दै युवाहरूले विदेशलाई आफ्नो गन्तव्य बनाएका छन् । पढाइमा अब्बल तथा पैसा लगानी गर्न सक्ने अधिकांश अमेरिका, अष्ट्रेलिया र बेलायत, युरोप पलायन भएका छन् । आफैं पैसा लगानी गर्न नसक्नेहरू पनि डिपेन्डेन्ट लैजाने साथी खोजेर जाने गरेका छन् । तर डिपेन्डेन्टमा केटासँग जानेहरू भन्दा केटीसँग जानेहरूको सम्बन्ध छिटो र धेरैको चिसिएको पाइएको छ । 

डिपेन्डेन्टमा लैजाने केटी खोज्दै आउँछन् : परामर्शदाता पौडेल

अर्नब एजुकेसन कन्सल्टेन्सीमा परामर्शदाताका रुपमा कार्यरत एनि पौडेलका अनुसार कन्सल्टेन्सीमा डिपेन्डेन्डटमा लगिदिए पैसा सबै आफूले व्यहोर्ने भन्दै मान्छे खोज्न आएको बताउँछिन् । उनी भन्छिन्, ‘आफ्नो पढाइ कमजोर भएका तथा धेरै ग्याप भएर एप्लाइमा समस्या हुने भएपछि डिपेन्डेन्टमा लैजाने मान्छेको खोजी बढेको हो । ’ 

यसरी खोज्नेमा स्वयं विद्यार्थी भन्दा पनि अभिभावक हुन गरेको उनले खबरहबलाई बताइन् । पैसा छ तर योग्यता पुग्दैन । त्यस्तो अवस्थामा आर्थिकरुपले कमजोर तर पढाइमा अब्बललाई केहीले आइएलटीएसदेखि नै लगानी गरेको पनि देखिन्छ । 

आफ्नै कन्सल्टेन्सीबाट त्यसरी गएका जोडीहरू केही वर्षपछि छुट्टिएको उनको भनाइ छ । ‘डिपेन्डेन्टमा जान बिहे गर्नुपर्ने हुन्छ, विदेश गएपछि त्यस्तो सम्बन्ध कमै मात्र टिक्ने गरेको छ ।’ उनी भन्छिन् ‘सानो मनमुटावमै केटीमा मैले ल्याएको र केटामा मेरो पैसा भन्ने अहं हुने रहेछ ।’

विदेशिनकै लागि ‘कोर्ट म्यारिज’ : अधिवक्ता गिरी

अधिवक्ता विकास गिरीका अनुसार विदेश जानको लागि मात्रै कोर्ट म्यारिज गरिएको हुनाले आफ्नो उद्देश्य पूरा भएपछि त्यो कालान्तरमा डिभोर्स नै हुने बताउँछन् । जसको कारण डिपेन्डेन्टमा जानेहरूको धेरै डिभोर्स भएको देखिएको हो ।विदेशबाट डिभोर्सको फाइल गर्नेमध्ये अधिकांश डिपेन्डेन्टमा नै जानेहरू रहेको उनको पेशागत अनुभवले बताउँछ । ‘यो– यो कारणले डिभोर्स भएको भनेर अदालतले छुट्याएरै तथ्याङ्क राखेको हुँदैन ।’ तर आफूले हेरेका मुद्दामा अधिकांश डिपेन्डेन्टमा जानेहरूले डिभोर्स गरेको गिरी प्रष्ट गर्छन । 

‘अक्सर विदेश जान मात्रै कोर्ट म्यारिज गरेका हुन्छन् । केही मिलेरै बस्छन् तर अधिकांशले डिभोर्स नै गर्छन् ।’ त्यो भएको कारणले पनि यसको डाटा धेरै देखिएको हुनसक्ने उनको अनुमान छ । विदेशमा डिभोर्सलाई अत्यन्तै सहज मानिन्छ । मन नमिलेपछिसँगै नबस्ने संस्कार हुन्छ । विदेशमा डिभोर्स सरल भएपनि त्यहाँको प्राविधिक पक्ष खर्चिलो हुन्छ । गिरीका अनुसार पढ्न गएका, कामका लागि गएका, पिआर लिएर बसेकाको हकमा पनि नेपालबाट मुद्दा लड्न सस्तो हुँदा यहाँ तथ्याङ्क बढी देखिएको देखिएको हो ।  विदेशी नागरिकता लिइसकेको अवस्थामा केस फाइल कम हुने उनले बताए ।

‘डिपेन्डेन्टमा जानेले पुरै समय काम गर्न पाउँछ । तर जो विद्यार्थी हो, उसले कलेज जानुपर्ने हुन्छ । काम गर्ने समय थोरै हुन्छ, जसको कारण उसको कमाइ पनि थोरै हुन्छ । पछि गएर कमाउने सवालमा द्वन्द्व सिर्जना हुन्छ । र त्यसले डिभोर्ससम्मको यात्रा तय गर्छ ।’यहाँबाट जे सोचेर गएको हुन्छ त्यो भन्दा फरक अवस्था सिर्जना भएपछि छुटिनु स्वाभाविक भएको अधिवक्ता गिरीको तर्क छ । 

डिपेन्डेन्ट सम्झौता हो : समाजशास्त्री 

डिपेन्डेन्टमा जानु भनेको एक सम्झौता हो । सम्झौता निश्चित अवधिको लागि मात्रै हुने समाजशास्त्री सविता प्रसाई बताउँछिन् । उनी भन्छिन्, ‘विदेश छिर्ने सम्झौता अनुसार कोर्ट म्यारिज हुन्छ, यो परम्परागत बिहेमा परिणत हुने सम्भावना कम हुन्छ ।’ ‘राम्रो देश जानको लागि ठूलो लगानी गर्नुपर्ने हुन्छ । लगानी गर्न नसक्दा पैसा हाल्नेलाई डिपेन्डेन्टमा लैजाने बाध्यता हुन्छ । बाध्यताले गरेको बिहे स्वतः टिक्दैन’ उनले भनिन् । 

आर्थिक समस्यासँगै यो राजनीतिक कारणले पनि समस्या भएको प्रसाईँको बुझाइ छ । नेपालमा रोजगार छैन , युवाले देशमा भविष्य देख्न छोडिसक्यो । अब यस्तो बेलामा बिहे जस्तो सामाजिक र सांस्कृतिक विषय पनि व्यापारमा परिणत भएको देख्दा उनी दुःखी छन् । यो अवस्था सिर्जना हुनुमा यो देशको अस्थिर राजनीतिलाई उनी मुख्य दोषी ठान्छिन् ।

उनी भन्छिन्, ‘जतिसुकै व्यवस्था परिवर्तन होस्, नेता र उसका परिवार बन्ने बाहेक देश बन्न सकेन’ ‘अब कागजी बिहे गरेर थोरै पैसामा विदेश जानै पर्यो । ’

मनमुटाव भएर भन्दा पनि बिहे हुनुअघि नै बिहे पश्चात सम्बन्ध तोड्ने हिसाबले नातो जोडिएको देखिन्छ । स्वयं व्यक्ति, एक सभ्य समाज र असल राष्ट्र निर्माणको लागि कागजी बिहे अभिशाप हुने सविताको ठहर छ । 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ४ : ०४ बजे

हार्दिक र नताशाको डिभोर्स

काठमाडौं – भारतीय क्रिकेट टोलीका अलराउण्डर हार्दिक पाण्ड्याले पत्नी नताशा

जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता

सुर्खेत – जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्

साउदी अरेबियामा यस वर्ष १०० भन्दा बढीलाई मृत्युदण्ड

दुबई – साउदी अरेबियाले लागुऔषध ओसारपसारमा दोषी ठहर भएका दुई

सूर्यकुमार यादव बने भारतीय टी-२० टोलीको नयाँ कप्तान

काठमाडौं – सूर्यकुमार यादव भारतीय टी२० क्रिकेट टोलीको नयाँ कप्तान

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं – ‘भिजिट भिसा’मा कुवेत पुर्‍याई बेचबिखन गरेको अभियोगमा मोरङ