एनसेलको रामकहानी : आजियाटाले ढाँटेको कि बेचेको ? | Khabarhub Khabarhub

एनसेलको रामकहानी : आजियाटाले ढाँटेको कि बेचेको ?


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 7 मिनेट


957
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खासमा यो ‘एनसेल प्रकरण’ के हो ? आम जनताको चासोको विषय बनेको एनसेलको नालीबेली यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ । तर, त्यसअघि डिसेम्बर १ मा मलेसियन कम्पनी आजियाटा र सिंगापुरका नागरिक सतिशलाल आचार्यवीच भएको ६ पृष्ठ लामो ‘सेयर किनबेच सम्झौता’ एकचोटि हेरौं ।

दुरसञ्चार प्राधिकरणबाट २०६१ साल भदौ १६ गते लाइसेन्स लिएर २५ वर्षसम्म निजी टेलिफोन सेवा सञ्चालन गर्ने अनुमति पाएको एनसेलमा ८० प्रतिशत शेयर मलेसियन कम्पनी आजियाटाको थियो । २० प्रतिशत शेयर सतिशलाल आचार्यकी पत्नी भावनाका रहेको सोनेभेरा कम्पनीको थियो ।

डिसेम्बर १ मा आजियाटाको ८० प्रतिशत सेयर आचार्यले किनेको र अब एनसेलको सतप्रतिशत सेयरको मालिक पनि सतिसलाल दम्पत्ति बनेका छन् । तर, खरिद–बिक्रीको सम्झौता हेर्दा आजियाटाले आफ्नो सेयर बेचेको नभई नेपाल सरकारलाई झुक्याएको र ढाँटेको मात्रै हो कि भनेर शंका गर्ने ठाउँ छ । जस्तै, यी प्रश्न हेरौं –

पहिलो प्रश्न : आजियाटाले सात वर्ष पहिले एनसेलको ८० प्रतिशत सेयर १ अर्ब ३१ करोड ५० लाख अमेरिकी डलरमा किनेको थियो । अहिले उसले आचार्यलाई मात्र ५ करोड अमेरिकी डलरमा बेचेको सम्झौतामा उल्लेख छ । कसैले १ अर्ब ३१ करोडको माल फगत  करोडमा बेच्छ ? नाफा आर्जन गरिरहेको कम्पनीले १ अर्ब २६ करोड डलर कम मूल्यमा बेच्यो भन्नु आफैं पत्याउन सकिने विषय होइन । त्यसर्थ यो विक्रीबट्टा नक्कली हो भनेर प्रश्न उठ्ने प्रशस्त ठाउँ छ ।

दोस्रो प्रश्न : तपाईले कसैलाई दुहुना भैंसी बेच्नुभयो भने वर्षैपिच्छे दूध र घ्यू बिक्रेतालाई बझाउनुहुन्छ ? तर, एनसेलको सेयर विक्रेता आजियाटाले आचार्यबाट ५ करोड अमेरिकी डलर लिइसकेपछि पनि लाइसेन्सको म्याद रहुञ्जेल सन् २०२९ सम्म नाफा लिइरहने सम्झौता पत्रमा उल्लेख छ । यो मुनाफा वितरणको बुँदाले आशंका जन्माउँछ, आजियाटा सेयर बेचेर बाहिरिएको होइन ।

एक खर्ब ३८ अर्ब घाटा खाएर कम्पनीको सेयर बिक्री गरेको देखाइए पनि आजियाटाले स्पेक्ट्रलाइटबाट सन् २०२९ सम्मै रकम प्राप्त गरिरहने छ । आजियाटाले ६ महिनाभित्र ५० लाख डलर पाउने छ भने सन् २०२७ सम्म अर्थात ४८ महिनाभित्र साढे ४ करोड ५० लाख डलर पाउने छ । व्यवसायबाट हुने नाफा पनि उसले सन् २०२९ सम्मै पाइरहने छ ।

सम्झौता अनुसार आजियाटालाई आचार्यले सन् २०२३ मा ८० प्रतिशत नाफा बुझाउनेछन् । सन् २०२४ र २०२५ मा ४० प्रतिशत नाफा बुझाउनुपर्ने छ भने २०२६ र २०२७ मा ३० प्रतिशत नाफा बुझाउनुपर्ने छ । सन् २०२८ र लाइसेनको म्याद सकिने वर्ष २०२९ मा पनि आजियाटाले एनसेलको २० प्रतिशत नाफा आचार्यबाट लिने छ । कम्पनी बेचिएको हो भने यो मुनाफाको वितरण किन ?

तेस्रो प्रश्न :  यो कुरामा विवाद छैन कि एनसेल ५० प्रतिशत भन्दा बढी विदेशी लगानीमा खोलिएको कम्पनी हो । नेपालको कानून र दुईपक्षीय सम्झौता अनुसार यस्तो कम्पनी लाइसेन्स अवधि समाप्त भएपछि स्वतः राष्ट्रियकरण हुन्छ । दुरसञ्चार ऐनको दफा ३३ जसले ५० प्रतिशत भन्दा बढी विदेशी लगानी भएको कम्पनी सरकारको स्वामित्वमा आउने भनेको छ ।

अर्थात्, अब २०८६ साल भदौ १७ गतेका दिनदेखि एनसेलको सम्पूर्ण सम्पत्ति नेपाल सरकारको हुनेछ । तर, अब सतिशलाल आचार्यले ५० प्रतिशत भन्दा बढी सेयर नेपालीको रहेको देखाउने वा निजी क्षेत्रलाई सेयर बेचेर राष्ट्रियकरण हुनबाट रोक्ने नीति लिए भने सरकारले त्यसलाई अंकुश लगाउन सक्छ कि सक्दैन ? अहिले नै आजियाटाले सेयर विक्री गर्दा निरीह बनेको सरकारले त्यसबेला के गर्ला ? सरकारले अर्को वर्ष यसको लाइसेन्स नवीकरण गर्ला या खारेज ? यो पनि रोचक प्रश्न हो ।

चौथो प्रश्न : एनसेलमा अहिले शतप्रतिशत लगानी विदेशीको हो कि हैन ? सतिशलाल आचार्य नेपाली मूलका सिंगापुरे नागरिक हुन् । अर्थात् उनी विदेशी हुन् । एनसेलको ८० प्रतिशत सेयर किन्ने युकेमा खोलिएको उनको कम्पनी नै विदेशी भएकाले उनले गरेको लगानी विदेशी लगानी नै हो । तर, जहाँसम्म २० प्रतिशत लगानी रहेको उनको पारिवारिक कम्पनी छ, त्यो स्वदेशी हो कि विदेशी लगानी ? किनभने अहिले भनिँदैछ, एनसेलको सत प्रशित लगानी अब आचार्यकै भयो ।

यस अर्थमा एनसेलमा अब आचार्यको सत प्रतिशत नै विदेशी लगानी हो कि हैन ? यदि हो भने शत प्रतिशत विदेशी लगानीमा एनसेल चलाउनु नेपालको कानुन विपरीत हुन जान्छ । श्रीमानको कम्पनी विदेशी, श्रीमतीको कम्पनी स्वदेशी, कसरी पत्याउने ?

१८ वर्षको जवानी, एकै परिवारको स्वदेशी र विदेशी लगानी !

नेपालमा निजी क्षेत्रबाट मोबाइल सेवा सञ्चालनका लागि २०६१ असार ३० गते एनसेलको ट्रेडमार्क दर्ता भई कम्पनीले २३०२२ नम्बरको प्रमाणपत्र पायो र अर्को वर्षदेखि टेलिफोन सेवा सञ्चालन भयो । एनसेलले सेवा सुरु गरेको १८ वर्ष पुगेको छ । यो अवधिमा कम्पनी घाटामा गएको छैन, नाफामै छ ।

गत साता अर्थात् २०२३ डिसेम्बर १ तारेखका दिन सतिशलाल आचार्यले दुई महिनाअघि मात्रै खोलेको कम्पनी ‘स्पेक्ट्रलाइट यूके लिमिटेड’ र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर खरिद–विक्रीसम्बन्धी सम्झौता भयो ।

स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलाल आचार्य सिंगापुरमा रहेका व्यवसायी हुन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा रहेको रेकर्ड अनुसार नेपालमा आचार्यको ठेगाना काठमाडौंको बाफल रहेको छ । आचार्यले गत सेप्टेम्बरमा बेलायती एक पाउण्ड खर्च गरेर स्पेक्ट्रलाइट यूके नामको कम्पनी खडा गरे, जसको चुक्तापुँजी १ डलर मात्र छ ।

आचार्यको यही नवनिर्मित कम्पनीले मलेसियन कम्पनी रेनोल्डस होल्डिङसँग रहेको एनसेलको ८० प्रतिशत शेयर डिसेम्बर १ तारेखदेखि किनेको हो । यो किनबेचमा नेपाली कम्पनी नभएर विदेशी कम्पनीको मात्र लेनदेन छ ।

सुरुदेखि नै एनसेलमा आवद्ध रहेका शतिशलालको परिवारका नाममा यसअघि नै २० प्रतिशत शेयर छ । अब एनसेलमा उनको सतप्रतिशत सेयर रहेको छ । सतिशलालको पारिवारिक कम्पनी सुनिभेरा क्यापिटल भेञ्चरसँग एनसेलको २० प्रतिशत शेयर छ । २० प्रतिशत स्वदेशी र ८० प्रतिशत विदेशी भनिएको सतप्रतिशत सेयर एउटै परिवारको हो ।

सतिश विदेशी नागरिक हुन् भने भाइ सचिनलाल र सिंगापुरमै बस्ने सतिशकी पत्नी भावना सिंह श्रेष्ठलाई नेपाली भनिएको छ र यही आधारमा २० प्रतिशत सेयर नेपालीको रहेको बताइने गरेको छ ।  कुरो रोचक छैन त ? लगानी एकै परिवारको छ, तर भनिएको छ स्वदेशी र विदेशी लगानी !

पूर्वराजाका ज्वाइँ र अजय सुमार्गीको ‘कनेक्सन’

सरकारी स्वामित्वको नेपाल टेलिकमलाई चुनौती दिँदै पहिलो निजी टेलिकम सेवाका रुपमा स्थापित एनसेलको सुरुवात तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा भएको हो ।

राजा ज्ञानेन्द्रका पालामा उनका ज्वाइँ राजबहादुरसिंह र व्यापारी अजय सुमार्गीले नेताहरुसँग भनसुन गरेका आधारमा एनसेलबाट गोल्डेन सेयर पाएका थिए । त्यही सेयर बिक्री गरेर सुमार्गी र राजबहादुर रातारात अर्बपति बने । र, त्यही पैसाले नयाँ बानेश्वर, शान्तिनगर एरियामा सुमार्गीले ठुल्ठुला बिल्डिङहरु खरिद गरेका छन् ।

पछिल्लो समय सुमार्गी र सिंह एनसेलबाट बाहिरिए पनि सतिशलाल भने शतप्रतिश सेयरको मालिक बन्न पुगेका छन् ।

सुरुदेखि नै एनसेलमाथि नेताहरुलाई प्रभावमा पारेको र कर छली गर्ने गरेको आरोप लाग्दै आयो । कर छलीकै विषय अहिलेसम्म अदालतमा विचाराधीन छ । यता दुरसञ्चार प्राधीकरणलाई समेत अनदेखा गरेर अहिले सेयर किनबेच भएको छ । यो कुरा दुरसञ्चार प्राधिकरणले आपत्ति जनाएबाटै प्रष्ट हुन्छ । सरकारले पनि यसमा अध्ययन थालेको अवस्था छ ।

सतिशलाल आचार्यले अहिले सकारेको एनसेलको ८० प्रतिशत सेयर आजभन्दा सात वर्षअघि टेलिसोनेरा नामक कम्पनीबाट आजियाटाले १ खर्ब ४३ अर्ब रुपैयाँ (तत्कालीन मूल्य अनुसार १ अर्ब ३१ करोड ५० लाख अमेरिकी डलर) मा किनेको थियो ।

सात वर्षपछि आजियाटाले आचार्यलाई घाटामा गएको भन्दै ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडमा बेचेको छ । जबकि पछिल्लो एक आर्थिक वर्षको मात्रै एनसेलको कमाइ ३९ अर्ब ५१ करोड भन्दा बढी देखिन्छ । भलै, आचार्यले सञ्चार माध्यमलाई दिएको प्रतिक्रियामा उनले बैंकको ऋणसमेत तिर्दा ४५ करोड डलरसम्म पुग्न सक्ने बताएका छन् ।

एनसेलसँग लाइसेन्सको अवधि अब ६ वर्षमात्र बाँकी छ । त्यसपछि सरकारी स्वामित्वमा जानुपर्ने एनसेललाई त्यसअघि नै व्यक्तिको हातमा सुम्पने चालबाजीका रुपमा यो बिक्रीबट्टा भएको देखिन्छ । आजियाटाले नेपालमा लगानीको वातावरण नभएको र एनसेल बर्षेनि घाटामा जान थालेको भन्दै आफ्नो लगानी झिकेको हो ।

२०६१ भदौ १६ मा लाइसेन्स पाएको एनसेलले पहिलोपटक १० वर्ष र त्यसपछि ५\५ वर्षमा नवीकरण गर्दै आएको छ । अब सन् २०२४ मा अन्तिम पटक लाइसेन्स नवीकरण हुने छ र सन् २०२९ अर्थात् ०८६ भदौ १६ गते यसको सम्झौताअवधि सकिनेछ । सो अवधिपछि यो कम्पनी नेपाल सरकारको स्वामित्वमा आउनुपर्ने छ । तर, नेपाली नागरिकको सेयर ५० प्रतिशत भन्दा बढी रहेको अवस्थामा भने कम्पनी राष्ट्रियकरण गर्नुपर्दैन ।

त्यसो त यसअघि लाइसेन्सको अवधि बढाउन आजियाटाले भर्खरै खारेज भएको स्मार्ट टेलिकमको लाइसेन्स खरिद गर्ने प्रयास पनि गरेको थियो । कानूनी जटिलताका कारण उसको लविङ पूरा भएन । स्मार्ट लिलामीमा सकारेको अवस्थामा अबको १० वर्षसम्म अर्थान् सन् २०९० सम्म एनसेलको लाइसेन्स अवधि कायम रहन्छ ।

खारेजीमा परेको स्मार्ट टेलिकमको पनि लाइसेन्स बिक्रीको चलखेल भइरहेको छ । स्मार्टको लाइसेन्स लिलामीमा लैजाने र बोलकबोलबाट एनसेलको लाइसेन्सको म्याद १० वर्ष थप्ने चलखेल भइरहेको छ । यसका लागि ऐन र नियमावली संशोधन गर्ने प्रयासहरु पनि रिनन्तर हुँदै आएको छ ।

स्मार्ट टेलिकमको स्थापना नै एनसेलको हितका लागि गरिएको बताइन्छ । यसका लागनीकर्ता र स्क्वायर नेटवर्कका लगानीकर्ता एनसेलकै साझेदार हुन् । स्क्वायर र सुनिभेरा क्यापिटलका सञ्चालक एकै व्यक्ति भावना सिंह श्रेष्ठ आचार्य एकै व्यक्ति हुन् । उनीसँग सिंगापुरको पीआर छ । एउटै व्यक्तिले दुरसञ्चारका दुई लाइसेन्स लिन नपाउने दबाव बढेपछि भावनाका नातेदारका नाममा कम्पनीको स्वामित्व सारिएको छ ।

२७ अर्बको दायित्व नतिरेपछि गत पुसदेखि स्मार्टको लाइसेन्स दुरसञ्चार प्राधिकणको स्वामित्वमा छ । यसबाट राज्यलाई अर्बौंको कर नोक्सानी भएको देखाउँदै लाइसेन्स बिक्रीको चलखेल भइरहेको छ । स्मार्टसँग डेढ अर्ब बैंकको ऋण छ भने कर्मचारी र अन्य खर्चको दायित्व करिब ५ अर्ब जतिको छ । स्मार्टको लाइसेन्स नवीकरण गर्दा राज्यलाई २७ अर्बजति तिर्नुपर्ने हुन्थ्यो, तर खारेज गरेर लिलामी प्रक्रियामा लैजाँदा करिब ६ अर्ब व्यहोर्दा पुग्छ । नियमावलीको ३५ नम्बर दफाको संशोधनले यसका लागि बाटो खोलिदिएको छ ।

 करसम्बन्धी लफडा

एनसेलको स्थापना नै लगानीकर्ताले आफैं बनाएर २५ वर्षसम्म चलाउने अनि सरकारलाई हस्तान्तरण गर्ने बुट मोडलमा भएको हो ।

आजियाटाले ६ वर्षअघि स्वीडेनको कम्पनी टेलियासोनेराबाट १ खर्ब ४३ अर्बमा एनसेलको ८० प्रतिशत सेयर किन्दा पुँजीगत लाभकर तिर्नु नपर्ने सोचेको थियो । सो लाभकर क्रेताले तिर्ने कि विक्रेताले बन्ने विवाद थियो । अहिले पनि सर्वोच्चमा एनसेलले ५८ अर्बभन्दा बढीको राजस्व सम्बन्धी मुद्दा खेपिरहेको छ ।

देशको वार्षिक बजेटको करिब २० प्रतिशत मूल्यांकन गरिएको कम्पनीको झण्डै डेढ खर्ब रुपैयाँमा कारोवार हुँदा पनि नेपाल सरकारले भने राजस्व पाउन सकेको छैन । एनसेलको कर छलीविरुद्ध विगतमा सदनमा आवाज उठ्यो । सडक पनि तात्यो । त्यसपछि ठूला करदाता कार्यालयले लाभकर उठाउने प्रक्रिया सुरु गर्यो । त्यसविरुद्ध एनसेल सर्वोच्च अदालत गयो । अदालतले पनि उसको विपक्षमा फैसला गर्यो र कर तिर्न भन्यो । त्यसपछि एनसेल नेपाल सरकारविरुद्ध   सेन्टर फर इन्भेस्टमेन्ट डिस्प्युट अट्रिबेसनमा उजुरी लिएर पुग्यो ।

तर, सो ट्रिबुनलले पनि सन् २०२३ जून ९ मा सरकारले तोकेको कर एनसेलले तिर्नुपर्ने आदेश सुनायो । त्यसपछि उसले लाभकर र जरिवानासमेत गरेर करिब ६२ अर्ब तिर्नुपर्ने देखियो । अहिले पनि एनसेललाई आयकर ऐनको दफा ५७ को डर छ । यो दफा अनुसार कर लगाउने हो भने आजियाटाले थप ५७ अर्ब तिर्नुपर्ने हुन्छ । तर, उसले दोहोरो कर सम्बन्धी फाइल बन्द हुनुपर्ने लविङ गर्दै आएको छ ।

सन् २०२३ मा व्यापार ३३.८ प्रतिशतले घटेको एनसेलको दाबी छ । त्यसैगरी आम्दानी ४२.१ प्रतिशत र खुद नाफा ७४.६ प्रतिशतले घटेको उसको दाबी छ । पूर्वाधारमा ६२ अर्ब ५० करोड खर्चिएको बताउने एनसेलले अब २०२४ मा अन्तिमपटक लाइसेन्स नवीकरण गर्दा करिब २० अर्ब रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।  सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीट्स एन्ड नेभीसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत स्वामित्व किनेको छ । एनसेलको ८० प्रतिशत स्वामित्व रेनोल्डस् होल्डिङ्सँग छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभका अनुसार एनसेलले आगामी दिनमा कम्पनीको परिष्कृत योजनाहरु घोषणा गर्दै सेवाहरूको दायरा फराकिलो बनाउने छ ।’

स्थापना कालदेखि आर्थिक वर्ष ०७८/०७९ सम्म एनसेलले कर र अन्य शुल्कसमेत गरी २ खर्ब ८३ अर्ब भन्दा बढी राजस्व तिरेको कम्पनीको दाबी छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ८ : ३८ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये