तनहुँको आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने युवाको प्रयास | Khabarhub Khabarhub

तनहुँको आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने युवाको प्रयास


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियान सुरु भएको छ । नगरपकालिका वडा नं १ ज्यामिरबोटे र वडा नं २ सुन्दरी गाउँका युवाहरु आँखे तालको प्रवर्द्धनमा लागेका हुन् ।

पृथ्वी राजमार्गअन्तर्गतको कोत्रे तथा गगनगौडाबाट करिब छ किलोमिटरको दूरीमा रहेको ताल दुई वडाको सिमानास्थित ज्यामिरबोटेमा पर्छ । परापूर्वकालदेखि धार्मिक आस्था एवम् विश्वाससँग जोडिएको ताललाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ पाँच वर्षदेखि युवाहरु त्यसको संरक्षण र प्रवर्द्धनमा जुटेका हुन् ।

चार वर्षअघि सुन्दरी गाउँ र ज्यामिरबोटेका स्वदेश तथा विदेशमा रहेका युवाले सक्रियता देखाएका थिए । उनीहरुबाट रू ९० हजार सङ्कलन गरी अभियान सुरु भएका आँखे ताल संरक्षण एवं सिद्धिकाली मन्दिर निर्माण समितिका सचिव सञ्जय ढकालले जानकारी दिए ।

ताल रहेको स्थानलाई व्यवस्थित गर्दै त्यही परिसरमा सिद्धिकालीको मन्दिर समेत बनाउनका लागि स्थानीय समाजसेवी डिल्लीराम अधिकारी, कृष्णराज अधिकारी र तीर्थराज ढकालले जग्गा दान गरेका छन् ।

मन्दिर निर्माण एवं तालको संरक्षणका लागि हालसम्म छ लाख २५ हजार रुपैयाँ खर्च भएको छ । “निर्माणका लागि जग्गादानसँगै स्थानीय जनश्रमदान अत्यधिक छ, त्यही सहयोगले हामी मन्दिर निर्माणलाई अन्तिम चरणमा पु¥याउनुका साथै ताललाई केहीमात्रामा भने पनि व्यवस्थित गर्न सफल बनेका छौँ”, सचिव ढकालले भने ।

यस ठाउँमा मन्दिर निर्माणका क्रममा उत्खनन गर्दा प्राचीन मौलोसँगै महेन्द्रकालीन मुद्रासमेत फेला परेको उनले जानकारी दिए । उनले यसको ऐतिहासिकता अनुसन्धान गर्न बाँकी रहेको बताए ।

मन्दिर तथा जलाशय संरक्षणका लागि शुक्लागण्डकी नगरपालिका वडा नं १ बाट दुई लाख ५० हजार र वडा नं २ बाट रू ५० हजार रुपैयाँ प्राप्त भइसकेको छ भने बाँकी रकम चन्दामार्फत् जुटाइएको छ ।

यहाँको जलाशय क्षेत्रफलका हिसाबले ताल जति ठूलो नभए पनि परावूर्वकालदेखि नै तालका रुपमा लिने गरिएको स्थानीय बुढापाकाहरु बताउँछन् । युवाको सक्रियतामा जलाशयलाई नेपालकै पहिलो जलविद्युत् गृह फर्पिङको जलाशयको स्वरुपमा स्टिलको रेलिङसहित गोलाकार रुपमा संरक्षण गरिएको छ ।

आँखे तालको अस्तित्व प्राचीन कालदेखि रहीआएको बताउँदै ८९ वर्षीय शिवप्रसाद पौडेल यो स्थल धार्मिक आस्था एवं विश्वासका कारण पनि महत्ववूर्ण रहेको बताए ।

यस क्षेत्रमा छ पुस्ताअघिदेखि नै मन्दिर रहेको बताउँदै उनले हालको मन्दिर निर्माण क्रममा प्राप्त भग्नावशेषसँगै काठका ठुटाले त्यसको स्पष्ट सङ्केत गर्ने उल्लेख गरे । यस स्थलको संरक्षण र विकास गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन सकिने उनको भनाइ छ ।

कोत्रे तथा गगनगौडाबाट आउने यहाँको बाटोलाई व्यवस्थित गर्दै ज्यामिरबोटे र सुन्दरी गाउँको बीचमा पर्ने गुवे खोलामाथि पक्की पुल आवश्यक रहेको पौडेलले बताए ।

जग्गादाता डिल्लीराम अधिकारीका अनुसार परापूर्वकालमा यस ठाउँमा जमिन भासिएर भ्वाङ (भुवान) परेछ । त्यसलाई पुर्ने क्रममा अधिकारीका हजुरबुवाको आँखा फुटेछ ।

ज्यातिषीसँग हेराउँदा त्यहाँ बाराहीको थान रहेको पाइएपछि पूजाआजा गरिँदै आइएको हो । त्यसै समयदेखि नै यहाँको जलाशयलाई आँखे ताल भनिएको उनले बताए ।

युवा जागरुकतामा यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन थालिएको प्रयासले यहाँको प्रवर्द्धन र विकासमा महत्वपूर्ण टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

मन्दिर तथा तालको संरक्षणकै उद्देश्यका साथ आँखे ताल एवं सिद्धिकाली मन्दिर निर्माण समितिले दुई वर्षयता सिद्धिकाली कप भलिबल प्रतियोगिता पनि गर्दै आएको छ ।

पृथ्वी राजमार्गको गगनगौँडाबाट पाँच किलोमिटरको दुरीमा पुग्न सकिने उक्त क्षेत्र विगतमा बीचमा पर्ने खुदी खोला र गुवे खोलामा पक्की पुल नहुँदा लामो समयदेखि ओझेलमा परेको थियो । पछिल्ला समयमा दुवै खोलामाथि पक्की मोटरेवल पुल बनेपछि स्थानीय खुसी बनेका छन् ।

पुल बनेसँगै कास्कीको पोखरा महानगरपालिका वडा नं ३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट आँखे तालसम्म आठ÷दश मिनेटकै अन्तरालमा सवारी साधनबाट पुग्न सकिन्छ ।

खुदी खोलामाथिको पुल गण्डकी प्रदेश सरकारको तीन करोड ७५ लाख १२ हजार रुपैयाँ लागतमा सम्पन्न भएको हो भने गुवे खोलाको पुल तटबन्धसहित करिब पौने तीन करोड रुपैयाँको लागतमा सम्पन्न हो ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ३ : ३० बजे

प्रिमियरसिप : लिभरपुलको अग्रता, पालमरको चार गोलमा चेल्सीको जित

काठमाडौं– कोल पालमर प्रिमियरसिपको पहिलो हाफमा नै चार गोल गर्ने

बाढी–पहिरो अपडेट : ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं– भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९

आज सर्वदलीय बैठक बस्दै

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ

आजको मौसम : आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज

आज २०८१ साल असोज १३ गते आइतबारको राशिफल

काठमाडौं– आज २०८१ साल असोज १३ गते आइतबार तदनुसार सन्