बच्चाको शरीरमा निलो डाम देखिए क्यान्सर हुनसक्छ | Khabarhub Khabarhub

बच्चाको शरीरमा निलो डाम देखिए क्यान्सर हुनसक्छ

समयमै जाँच गरे उपचार सम्भव छ



नेपाली समाजमा क्यान्सर भनेर उमेर पुगेकालाई लाग्ने रोग भनेर बुझिन्छ। तर अहिले साना बालबालिकालाई पनि क्यान्सर रोग लाग्ने गरेको पाइन्छ। कतिपय बालबालिकालाई त उपचारको पहुँच भन्दा बाहिर राख्नुपर्ने पनि देखिन्छ। नेपालमा क्यान्सर रोग बढ्दै गएकाले पछिल्लो समय चिकित्सकले पनि उपचारको स्थिति पहिलाको भन्दा भयावह बन्दै गएको बताएका छन्। हरेक वर्ष झन्डै १५ सय बालबालिकामा क्यान्सर देखिने अनुमान सरकारले सार्वजनिक गरेको छ। एक तिहाइ क्यान्सर पीडित बालबालिका उपचारको पहुँचमा रहेका छन्। समयमा रोग पत्ता नलागेर उपचार नहुँदा ३० प्रतिशत बालबालिकाले अकालमा ज्यान गुमाइरहेका छन्। बालबालिकामा देखिने क्यान्सरका बारेमा कान्ति बाल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा. सुधीर सापकोटासँग विना न्यौपानेले खबरहबका लागि गरेको कुराकानीको सम्पादित अंशः

बालबालिकामा हुने क्यान्सरलाई कसरी बुझ्ने ?
कुनैमा वंशाणुगत रूपमा पनि क्यान्सर भएको हुन्छ। कतिमा यो वातावरणीय परिवर्तन र समयमा रोग पत्ता नलागेर नै यो धेरै बढिरहेको छ। यसमा सबै भन्दा बढी रक्त रोग क्यान्सर जसलाई हामी (ल्युकेमिया) भन्छौँ त्यसका बिरामीहरू बढेका छन्।

यो बालबालिकामा हुने क्यान्सर कस्तो क्यान्सर हो त ?
यो बालबालिकामा धेरै हुने क्यान्सर रक्त रोग क्यान्सर जसलाई हामी (ल्युकेमिया) भन्ने गर्छौँ। सबै क्यान्सर मध्ये ४० देखि ४५ प्रतिशत यो नै रहने गरेको छ। त्यसपछि आँखाको क्यान्सर जसलाई हामी रेटिनोब्लास्टोमा भन्छौँ। त्योपछि मिर्गौलाको क्यान्सर जसलाई विल्म्सको ट्युमर भन्छौं र अरू ग्रन्थीको क्यान्सर लिम्फोमा र स्नायुको क्यान्सर न्यूरोब्लास्टोमा तथा मस्तिष्कमा हुने ब्रेन ट्युमर भनिन्छ।

कान्ति बाल अस्पतालमा कस्ता कस्ता क्यान्सरका बिरामी धेरै आउने गरेका छन् ?
सबै भन्दा बढी रगतको क्यान्सर भएका र त्यसपछि आँखाको क्यान्सर भएका बिरामी आउने गरेका छन्।

बालबालिकामा रक्त क्यान्सर भएको भनेर कसरी थाहा पाउने ?
सुरुमा बच्चामा लामो समयसम्म ज्वरो आउने, जिउमा गिर्खा आई राख्ने, पेट फुल्ने, फोक्सो फुल्ने कलेजो सुनिने र बच्चामा रगतको कमी हुने वा कतैबाट रगत बग्ने शरीरमा निल डाम देखिने हुन्छ।

यसमा अभिभावकले ध्यान दिनै पर्ने कुरा के के छन् ?
आफ्नो बच्चा पहिला भन्दा फुस्रो, निलो डाम देखिएमा तुरुन्तै अस्पताल जानुपर्छ। कतिपय अभिभावकले अस्पतालमा यो त क्यान्सरको लक्षण हो भन्ने थाहा भयो भने यो निको हुँदैन भनेर उपचार गर्नुहुन्न। तर सम्बन्धित डाक्टरसँग परामर्श लिएर उपचार गर्दा राम्रो हुन्छ। त्यसैले समयमा नै उपचार गर्दा धेरै बच्चाको क्यान्सरका रोग निको हुन्छ।

अहिले बालबालिकामा सुरुवाती अवस्थामा नै अस्पताल आउनेक्रम कति छ ?
काठमाडौं नजिकैका बालबालिका सुरुवाती अवस्थामा नै आउनु हुन्छ। अहिले प्राय बिरामी सुरुमा नै स्वास्थ्यकर्मीको मा जाने र त्यहाँ नराम्रो भयो भने चाँडै आउनु हुन्छ। कतिपय त धेरै धामी झाँक्री गरेर धेरै ठाउँमा जाने र कतै निको नभएर बच्चालाई धेरै नै च्यापेपछि आइपुग्नुहुन्छ।

अहिलेसम्मको तपाईंको अनुभवमा क्यान्सर भएका बालबालिकाको उपचारको अवधि कति हुन्छ ?
यो क्यान्सरको प्रकार हेरेर हुन्छ। सबै भन्दा बढी हुने रक्त क्यान्सर हो। त्यसको ६ महिना जति इन्टर्नसीप केयर भन्छौँ। त्यो उपचार गराउन काठमाडौंमा अस्पतालमा नै बसेर गर्नुपर्दछ र पछि घरैमा बसेर औषधि खाएर तीनतीन महिनामा फलोअप गर्न आउँदा हुन्छ त्यस्तैगरी अरूमा एक वर्षदेखि दुई वर्ष लाग्न सक्छ। तर त्यसमा उपचार सकिएपछि पनि कम्तीमा पाँच वर्ष रेगुलर फलोअपमा रहनु पर्दछ। अब क्यान्सर बल्झिँदैन भन्न सकिन्छ। पूर्ण रूपमा निको भयो भनेर भन्न सकिन्छ।

नेपालमा क्यान्सर भएका सबै बालबालिका उपचारको पहुँचमा आउन सकेका छैनन् भनिन्छ। तपाईंले के पाउनु भएको छ ?
हाम्रो तथ्याङ्कका आधारमा १५ सय देखि दुई हजारसम्म हाम्रोमा अनुमान गरिएको छ। नेपालको जनसंख्याको आधारमा यति क्यान्सरका बिरामी बच्चा हुनुपर्ने भनिए पनि हामीले अहिलेसम्म एक तिहाइ मात्र डाइग्नोसिस् हुन सकेका छौँ। उनीहरू सम्बन्धित स्वास्थ्यकर्मीको पहुँचमा आएका छन्। त्यो भन्दा बाँकी बच्चा उपचारमा आएका छैनन्। यसको प्रमुख कारण भनेको यो रोग निको हुँदैन भन्ने मान्यता र स्वास्थ्य कर्मीले पनि राम्रो सँग बुझाउन नसक्नु हो।
अहिले क्यान्सरको लागि दिइने सहुलियत जुन छ त्यो बालबालिकाको लागि पर्याप्त छ त ?
बालबालिकाको लागि सरकारी तबरबाट १ लाख दिइने गरिएको छ। बच्चालाई कान्ति बाल अस्पतालमा उपलब्ध रहेका जाँचहरू सिटी स्क्यान, एक्स–रे, भिडियो एक्स–रे जस्ता महंगा जाँच निःशुल्क रहेको छ। साथै सर्जरी पनि निःशुल्क रहेको छ। तर बच्चाको कुरामा परिवार नै काठमाडौं आएर बस्नु पर्दछ। यो एक लाखले मात्र पुग्दैन।

तपाईंले आफ्नो तवरबाट केही पहल गर्नु भएको छ ?
हामीले समन्वयको लागि ग्रेयल चाइल्ड क्यान्सर भनेर डब्ल्युएचओसँग समन्वय गरेर यहाँ उपलब्ध भएकाबाहेक अरू जाँच, उपचार र क्यान्सरका लागि आवश्यक जनशक्तिका लागि नर्सलाई तालिम प्रदान गरेका छौँ। ६ महिनाको उपचारपछि दुर्गम ठाउँबाट आउनेको लागि एउटा एक दुई हप्तामा फलो अपका लागि आउजाउ गर्नुपर्छ। त्यसको लागि हामीले (सेयड् केयर सेन्टर) भनेर कान्तिको टाढा पोखरा, विराटनगर र नेपालगन्जमा बच्चाको क्यान्सरको फलो अपको लागि क्लिनिक सुरु गरेका छौँ। यो बढाएर सात प्रदेशमा लैजाने योजना रहेको छ।

अब यसका लागि राज्य र सरोकारवालाले के के गर्नु पर्दछ ?
अहिलेसम्म जति पनि क्यान्सरे रोगसँग सम्बन्धित छन् त्यो सबै वयस्कको लागि मात्र देखिन्छ। यसमा सबैको ध्यान गएको छ। तर अरूको तुलनामा बच्चाको क्यान्सर निको हुने सम्भावना धेरै रहेको छ। त्यसैले बच्चामा धेरै केन्द्रित हुनुपर्दछ। कान्ति बाल रोग अस्पतालमा हामीले कतिपय टेस्ट बाहिर गर्न पठाउनु पर्दछ त्यसको लागि आवश्यक टेक्नोलोजी ल्याउनु पर्दछ।

क्यान्सर भएर निको भएका बालबालिकाले के के कुरामा ध्यान दिनु पर्दछ ?
नर्मल जीवन यापन गर्न सक्नुहुन्छ। औषधिको कारणले हड्डीहरूमा समस्या आउन सक्छ त्यसैले नियमित फलोअप गर्नु पर्दछ। र अरूमा पनि यो रोग समयमा उपचार गर्दा निको हुन्छ भन्ने जनचेतना जगाउनु पर्दछ।

क्यान्सर लाग्नै नदिन पहिला नै के गर्ने त ?
बच्चामा यही नै कारणले गर्दा क्यान्सर हुन्छ भन्ने छैन। खानपान र जीवन शैलीमा आएको परिवर्तनले नै क्यान्सर हुनसक्छ र कतिपय वंशाणुगत रूपमा पनि जान सक्छ। त्यसैले बाबु आमामा यो समस्या छ भने नियमित चेक जाँच गराउनु पर्दछ। बच्चामा क्यान्सर रोगको उपचार भन्दा पनि लाग्न नदिने तिर लाग्नु पर्छ।

बाल रोग विशेषज्ञ भएको नाताले यो रोग सम्बन्धी भन्नै पर्ने केही विषय छन् ?
अघि पनि भनिसकेकी छु। लक्षण देखिए भने क्यान्सर नै हुनसक्छ भनेर आत्तिनु पर्ने अवस्था छैन। योमध्ये थोरैलाई क्यान्सर हुनसक्छ। त्यसैले समयमा नै अस्पताल गएर उपचार गर्नु पर्दछ। आफूभन्दा नजिकको बच्चा कसैलाई यो समस्या भयो भने अस्पताल जान सुझाव दिनुपर्छ।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ७ : ४५ बजे

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि लुम्बिनी र मधेशमा सरकार विस्तारसम्म

प्रधानमन्त्री प्रचण्ड र ओली छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ– सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा