काठमाडौँ – लोकतन्त्रमा हरेक सामाजिक असन्तुष्टिलाई लोकतान्त्रिक ढंगबाटै सम्बोधन गर्ने प्रयास हुनुपर्छ। पछिल्लो समय केही युवा उद्यमीले आफैले देशमा केही गर्न खोज्दा हरेक ठाउँमा अप्ठ्यारो परेको भन्दै ज्यानै लिनुपर्ने बाध्यता आइलागेको भन्दै आत्महत्या गरिरहेका छन्। घटनाहरू एकपछि अर्को गर्दै आइरहेका छन्। आखिर यसले गरेको संकेत के हो ? यसलाई सम्बोधन गर्ने उपाय के हुनसक्छ ? यसै विषयमा आधारित भएर नेकपा (एकीकृत समाजवादी)का नेता पूर्व मन्त्री शेरबहादुर कुँवरसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :
युवा उद्यमीले देशमा केही गर्न नसकेको भन्दै ज्यान गुमाएका छन्। यो बाध्यता किन आइलाग्यो जस्तो लाग्छ ?
एउटा नेपाली युवाले मनैदेखि केही गर्छु भनेर उद्यमी बन्न जुनजुन विकल्प खोज्छ त्यसमा सफल नभएको देखिन्छ। त्यही असफलताको कारण प्रेमप्रसाद आचार्य जस्ता व्यक्ति मर्नु परेको छ। उहाँले गरेको कार्यमा डाहा गर्ने, उहाँको खुट्टा तान्ने, अनेक निहुँ निकालेर आफूले नाफा कमाउने प्रवृत्ति देखियो। कतिपय यस्ता घटना बाहिर आएका छैनन्। तर लुकेका धेरै छन्। केही गर्छु भन्नेलाई हाम्रो प्रणाली, घटनाक्रमले अवरोध गरेको छ। त्यसले गर्दा युवाको जोस जाँगर हराउँदै गएको छ। त्यसले गर्दा आत्महत्या गर्नुपर्ने अवस्था आयो। यसमा सबै एक भएर लाग्नुपर्छ।
देशको समस्याको चुरो कारण भनेको कर्मचारीतन्त्र र निर्लज्ज नेतृत्व हो ?
सबैभन्दा पहिला हामी आफै जिम्मेवार बन्नु पर्दछ। बेतिथिलाई रोक्नु पर्दछ। गलत कुरामा नजाने काम नेतृत्वले गर्नु पर्दछ। म आफै छोटो समय मन्त्री बनेको थिएँ। मैले राष्ट्रलाई नोक्सान हुने कुरा, भोलि जनतालाई अहित हुने कुरा, श्रमिकलाई अहित हुने कुरा मेरोमा नल्याउनु भनेर कर्मचारीलाई पहिला नै भनेको थिएँ। कर्मचारीलाई चाहेको र उसलाई मन परेको बेला जे पनि हुने गरेको छ। नेतृत्वमा रहेका तीन वटा पक्ष एउटै हुन्। एउटा नीति निर्माणमा सहभागी पक्ष, कार्यान्वयन गर्ने पक्ष र अर्को अनुगमन गर्ने पक्ष हुन्छ। त्यो तीन वटाको स्वार्थ मिल्दा जनताका कुरा बिर्सिएको अवस्था छ। त्यो राम्रो होइन। कर्मचारीतन्त्रबाट अवकाश प्राप्त भएपछि सम्बन्धित कार्यालयमा जाने र विभिन्न ठाउँमा नियुक्ति लिने परम्परा छ। यो जीवित रहेसम्म त्यसको परिणाम भनेको प्रेमप्रसादहरू जल्नु पर्ने हो। हाम्रोमा प्रजातन्त्र त भयो तर त्यो पनि कार्यकर्ता नियन्त्रित भयो। कार्यकर्तालाई आफूले भनेको कुरामा लाद्ने जसले जे बोले जे गरे पनि हुने भयो। अहिले सरकारमा खाली अधिकार खोज्ने मात्र छन्। यो राम्रो होइन।
प्रेमप्रसाद जस्ता व्यक्तिले उठाएका विषयमा ध्यान कहिले जाने ?
यो गम्भीर सवाल हो। तर नीति निर्माण तहमा बसेका मान्छेले बुझ्न सकेको देखिँदैन। जनताले खोजेका आवश्यकता, कृषिमा अनुदान कति गयो भन्ने हुन्छ। प्रेमप्रसाद जस्तो व्यक्तिले आत्मदाह गर्नुपर्ने स्थितिको सिर्जना हुनु सानो विषय होइन। यो राज्यको लागि गम्भीर विषय हो।
केही गरौँ भन्ने युवाहरू आत्महत्या गरिरहेका छन्। यसको समाधान कसरी गर्ने ?
समस्या हुन नदिनु राज्यको कर्तव्य हो। तर, घटना भइसकेपछि फेरि यस्तो घटना नहोस् भनेर राज्य लाग्नुपर्छ। एउटा घटना भएपछि त्यसको चर्चा गर्ने र केही समयमा त्यो सेलाउने परम्परा छ। त्यो गलत हो। यस्ता जल्दाबल्दा विषयवस्तु उठान गर्ने बीचमा छोड्ने परम्पराको अन्त्य हुनुपर्छ। मृत्युको कारण व्यक्ति आफैले खुलाएको छ भने त्यसमा गहन अनुसन्धान आवश्यक छ।
केही गर्छु भन्ने व्यक्तिलाई तनाव दिने काम राज्यले गरेको छ। यही हो देशको राजनीति?
बैंक जनताकै सुविधाका लागि हो। तर अहिले गरिबलाई बैंकले दुःख दिएको छ। जसले करोडौँ रुपैँया बैङ्कबाट लोन लिएका छन्। त्यसमा उनीहरूलाई कसैले केही भन्दैन किनभने उनीहरू आफैले लगानी गरेका छन्। आफै कानुन बनाउँछन्। गरिबहरू मर्दै छन्। ब्याज बढेको छ व्यापारी अर्थात् जनताको आम्दानी घटेको छ। जो नियमन निकायमा छ उसले धम्क्याएर ऋण तिर्न भनेको छ। यसमा राज्यको नियामक निकाय कमजोर देखिन्छ।
रवि लामिछानेको पार्टी किन सरकार छोड्न बाध्य भयो ?
यो त सबैले बुझेकै कुरा हो गृह मन्त्री नपाएर सरकार छोडेको छ। सबैलाई आफ्नो समस्या छ। सामाजिक रूपमा अहिले निराशा छाएको छ। यही अवस्था रहने हो भने जनता सडकमा आउँछन्। यसको समाधान खोज्नु पर्दछ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : पुष्पाञ्जली बस्नेत
प्रतिक्रिया