जुम्ली किसानलाई मार्सी धान रोपाइँ भ्याइनभ्याइ « Khabarhub

जुम्ली किसानलाई मार्सी धान रोपाइँ भ्याइनभ्याइ


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाका किसानलाई यो याममा मार्सी धान रोपाइँ गर्न भ्याइनभ्याइ भएको छ । बिहानदेखि रातिसम्म खेतमा किसान व्यस्त हुने गरेका छन् । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी राज्यलक्ष्मी देवकोटाले जानकारी दिए ।

पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका छन् । जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि मार्सी धान खेती बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताए । जिल्लाका सात गाउँपालिका, एक नगरपालिकाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा पनि स्थानीय कालीमार्सी र रातो मार्सी धानको रोपाइँ धमाधम भइरहेको छ ।

जिल्लामा दुई हजार आठ सय ५० हेक्टरमा धानखेती हुने गरेको छ । सोमध्ये एक हजार दुई सय हेक्टरमा मार्सी धानको खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख अधिकारीको भनाइ छ । गत वर्षको असोज महिनाको बाढीपहिराले सिञ्जा गाउँपालिकाका ४२ धान रोपाइँ गर्ने कुलोमा क्षति गरेको थियो । गाउँपालिकाको लगानी र स्थानीयवासीको श्रमदानमा २८ वटा कुलो पुनःनिर्माण भई सञ्चालनमा आएपछि सिञ्जाका अधिकांश क्षेत्रमा धान रोपाइँ सुरु भएको सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए ।

सेरा खेतमा रोपाइँ सम्पन्न

जिल्लाको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको सेरा खेतमा कालीमार्सी धान रोपाइँ सम्पन्न भएको छ । परम्परागतरूपमा रोपिँदै आएको मार्सी धान उक्त सेरा खेतमा बुधबार रोपिएको हो । चन्दनाथ बाबाले भारतको काश्मिरबाट ल्याएर खेती सुरु गरिएको मार्सी धानलाई मन्दिरको सेरा खेतमा रोपाइँ गरेको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले बताए ।

हरेक वर्षको जेठ १४ गते रोपाइँ हुँदै आएकोमा सो खेतमा योे वर्ष बीउको अभावका कारणले रोपाइँ ढिलो भएको हो । गुठी व्यवस्थापन समितिका अध्यक्ष थापाले भने, “चन्दननाथ बाबाको सेरा जिउँलो परापूर्वकालदेखि नै मन्दिरमा अक्षता चढाउनका लागि मार्सी धान रोप्ने गरिन्छ ।” जिउँलोमा रोप्दै गर्दा मागल गाउने, पञ्चेबाजा बजाउने गरेको अध्यक्ष थापाको भनाइ छ ।

जुम्लाको धार्मिक इतिहाससँग जोडिएको सेरा जिउँलोमा मार्सी धान रोपाइँ गर्दा अहिले विस्तारै मागल गाउने, पञ्चेबाजा बजाउने क्रियाकलाप हराउन थालेको यहाँका स्थानीयवासी बताउँछन् । परम्परागतरूपमा रोपाइँ हुँदै आएको सेरा खेतमा यो वर्ष २२ भारी खेतमा रोपाइँ गरिएको छ । तातोपानी गाउँपालिकाको लिताकोट, लाम्रा, हाँकु र चन्दनाथ नगरपालिको वडा नं ८ र ९ बाट बीउ ल्याएर रोपाइँ गरिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ । मन्दिरको सेरा खेतमा स्थानीयवासी, चन्दननाथ माध्यमिक विद्यालयका विद्यार्थीलगायत नागरिक अगुवाको उपस्थितिमा रोपाइँ गरिएको थियो ।

समुद्री सतहदेखि दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउँलोमा उत्पादन हुने मार्सीधान खेतीलाई संरक्षण गर्नका लागि प्रदेश सरकारले प्रथामिकतामा राखेर काम गर्नपर्ने गाउँपालिका अध्यक्ष पुन्नसिंह बोहोराले बताए । “पालिकाको आफ्नो बजेटमा मार्सी रोपाइँ हुने जिउँलोमा घेरबार गरेका छौँ । बजेटको अभावले अझै हुन सकेको छैन”, उनले भने ।

मार्सी धान संरक्षण गर्नका लागि गाउँपालिकाको आउने वर्षको नीति तथा कार्यक्रमबाट बजेटको थप व्यवस्थापन गरिने गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जनाकारी दिए ।

सङ्घीय सरकारले आगामी आव २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटमा जुम्ली मार्सी धानको ब्रान्डिङ गरिने समावेश गरेको छ ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १० : ५१ बजे

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक