टीकापुरमा केरा खेती फष्टाउँदै | Khabarhub Khabarhub

टीकापुरमा केरा खेती फष्टाउँदै


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको टीकापुर पछिल्लो समय केरा खेतीका लागि चिनिने गरेको छ । यहाँ अन्यभन्दा केरा खेतीबाट पर्याप्त आम्दानी हुने गरेको छ । बजारीकरणको समस्या नहुँदा किसान दिन प्रतिदिन केरा खेतीतर्फ आकर्षित हुन थालेका छन् । टीकापुरमा केरा खेतीमा समर्पित कालु हमाल सुरुआतमा १० बोटबाट व्यवसाय सुरु गरेको बताउँछन् । यहाँ केराका लागि सुहाउँदो माटो भएका कारण हमालसँगै यतिबेला सयौँ किसानले व्यावसायिक केरा खेती गर्दैआएका छन् ।

हमाल भन्छन्, “त्यो बेला केराको व्यवसाय गर्ने म एक्लो थिए । अहिले धेरै किसान यसमा लागेका छन् ।” हमालले केरा खेतीलाई पर्यटन व्यवसायसँग जोडे । केराको मात्रै परिकार पाइने बनानाज रिसोर्ट निकै चर्चित छ । यहाँ उत्पादन भएको केराको चिप्स देशभर बिक्रीका लागि पठाइन्छ । उनी उत्कृष्ट कृषकका रुपमा सम्मानित भइसकेका छन् । टीकापुर क्षेत्रमा हाल एक हजार दुई सय बिघा क्षेत्रफलभन्दा बढीमा केरा खेती हुँदै आएको तथ्याङ्क छ । बर्सेनी केरा खेती विस्तार हुँदै गएको केरा व्यवसायी टेकेन्द्र धामी बताउँछन् ।

“किसान केरा खेतीमा आकर्षित हुँदै गएका छन् । बजारीकरणको समस्या छैन, एकपटक खेती गर्दा तीन पटकसम्म आम्दानी लिन सकिन्छ”, उनी भन्छन्, “टीकापुरमै सहजै केराको बेर्ना उपलब्ध हुन्छ ।” धामीले केराको बेर्ना टीकापुरमै उपलब्ध गराउँदै आएका छन् । उनले सात वर्षदेखि टिष्युकल्चर प्रविधिबाट केराको बेर्ना हुर्काएर किसानलाई बिक्री गर्दै आएका हुन् ।

केही वर्ष पहिले भारतबाट बेर्ना मगाउने धामी अहिले नवलपरासीबाट बेर्ना ल्याएर त्यसलाई माटो सुहाउँदो हावापानीमा हुर्काएर किसानलाई बिक्री गर्नुहुन्छ । गत वर्ष करिब दुई लाख केराको बिरुवा बिक्री गरेको उनले बताए । केराको बजारीकरणका लागि टीकापुरमा समस्या छैन । टीकापुरमा उत्पादन भएको केरा कैलालीका अन्य ठाउँका साथै बर्दिया, बाँके, दाङ, रुपन्देही हुँदै पोखरा, काठमाडौँसम्म बिक्री हुने गरेको छ ।

व्यवसायी राजकुमार चौधरी व्यापारी बारीमै आएर केरा खरिद गर्ने गरेका बताउँछन् । केरा खेतीका लागि राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले किसानलाई सहयोग गर्दै आएको छ ।

कार्यान्वयन इकाइले केराको बेर्ना खरिद, मलखाद, विषादी, कृषि उपकरणहरु ५० प्रतिशत अनुदानमा सहयोग गर्दै आएको छ । कार्यान्वयन इकाइका सूचना अधिकारी दिलीपजङ्ग रानाले चालू आर्थिक वर्षमा मात्रै केरा खेतीका लागि आयोजनाले रु ६० लाख विनियोजन गरेको बताए ।

कार्यान्वयन इकाइले टीकापुरमा विषादीरहित केराको बजारीकरणका लागि केरा पकाउने च्याम्बर पनि निर्माण गरेको छ ।  च्याम्बर पूर्णरुपमा सञ्चालनमा भने आउन सकेको छैन ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ३ : ४० बजे

प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म ढुङ्गाना समूह चुनावमा सहभागी नहुने

काठमाडौं– ‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’

तीन महिनामा १८ प्रतिशत बजेट खर्च

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को सुरुआती तीन महिनामा सरकारले

एभरेस्ट होटेलमा मिराजको पत्रकार सम्मेलन (तस्बिरहरू) 

 काठमाडौं– जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित

बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

काठमाडौं– बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन लागौँ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष