देश/प्रदेश

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

By खबरहब

September 08, 2023

दिनभर आजमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ राष्ट्रियसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित नेपालमा लगानी गर्न लगानीकर्ताहरूलाई प्रधानमन्त्री प्रचण्डको आग्रह, राष्ट्रपतिद्वारा स्विट्जरल्यान्डको राजदूतमा सुवेदी नियुक्त, सोह्रौँ योजनामा जिल्ला तहदेखिका सुझाव संकलन गरिने, उद्योग मन्त्रालयका लागि ३० अधिकृत पदको दरबन्दी स्वीकृत, धनगढीमा डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्युलगायतका समाचारले प्रमुख स्थान पाए ।

राष्ट्रियसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित राष्ट्रियसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ ।

आउँदो आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रियसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेकपा एमालेका नेता कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरी शपथ गराएका हुन् ।

गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको प्रदर्शन

सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेको छ ।

गत बुधबार रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी आक्रमणको विरोधमा तरुण दलले शुक्रबार विरोध प्रदर्शन गर्दै गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो ।

निजामती सेवासम्बन्धी विधेयक छिट्टै पारित हुन्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसदबाट पारित गर्ने बताएका छन् ।

२०औँ निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बिहीबारमात्रै मन्त्रिपरिषद्ले विधेयक संसदमा पठाउने निर्णय गरेको बताउँदै राजनीतिक दलहरूको सहमतिबाट संसद्ले उक्त विधेयक यथाशक्य छिटो पारित गर्ने विश्वास व्यक्त गरे ।

जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गरिन्छ : अर्थमन्त्री अर्थमन्त्री डा प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताएका छन् ।

नेकपा एसले मेची-महाकाली राष्ट्रिय अभियान सुरु गर्ने नेकपा (एकीकृत समाजवादी)ले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची–महाकाली राष्ट्रिय अभियान सुरु गर्ने भएको छ ।

मुलुकमा विकसित राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने उद्देश्य रहेको सो अभियान असोज १४ मेचीबाट सुरु भइ असोज २९ गते महाकालीमा पुगेर सम्पन्न हुने छ ।

उद्योग मन्त्रालयका लागि ३० अधिकृत पदको दरबन्दी स्वीकृत सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृतस्तरका ३० पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले परिषद्ले गरेका निर्णयबारे आज जानकारी दिँदै उद्योग मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको बताइन् ।

नेपालमा लगानी गर्न लगानीकर्ताहरूलाई प्रधानमन्त्री प्रचण्डको आग्रह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीको अनुकूल वातावरण बनेको भन्दै लगानीकर्ताहरूलाई लगानी गर्न आग्रह गरेका छन् ।

लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले लगानीको अनुकूल वातावरण बन्दै गएको अवस्थामा लगानीको प्रभावकारी सदुपयोग र जोखिममुक्त गर्न सरकार प्रतिबद्ध रहेको भन्दै लगानीकर्ताहरूलाई लगानी गर्न आग्रह गरेका हुन् ।

सोह्रौँ योजनामा जिल्ला तहदेखिका सुझाव संकलन गरिने सोह्रौँ योजनामा लैङ्गिक समानता र सामाजिक न्यायसम्बन्धी विशेष व्यवस्थाका लागि जिल्ला तहदेखि सुझाव संकलन गरिने भएको छ ।

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले आज लैङ्गिक समानता र सामाजिक न्यायका विषयमा अन्तरपार्टी महिला सञ्जालसँग छलफल गरी प्रदेश र जिल्ला तहबाट पनि सुझाव संकलदन गर्न लागिएको जानकारी गराएको हो ।

राष्ट्रपतिद्वारा स्विट्जरल्यान्डको राजदूतमा सुवेदी नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले स्विट्जरल्यान्डको लागि नेपालको आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गरेका छन् ।

कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडियो : अध्यक्ष लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरूले कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडेको आरोप लगाएका छन् । कर्णालीका सम्भावनालाई चुनावी ‘एजेन्डा’ मात्र बनाएको बताउँदै उनले राष्ट्रिय प्रजातन्त्र पाटीले अवसर पाए कर्णालीका अनेकौँ सम्भावनाको ढोका खोल्ने दाबी गरे ।

चिकित्सा शिक्षा आयोग र सिटिइभिटीको क्षेत्राधिकार विवादबारे अध्ययन गर्न कार्यदल बनाइने प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा आयोग र सिटिइभिटीको क्षेत्राधिकार विवादमा बारेमा अध्ययन गर्न कार्यदल बनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको बैठकले दुई निकायबीचको विवादका कारण चिकित्सा शिक्षा क्षेत्र प्रभावित भएको भन्दै थप अध्ययन गरि निष्कर्षमा पुग्नका लागि कार्यदल बनाउने निर्णय गरेको हो ।

कैदी मृत्यु प्रकरणमा सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता

सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा आज कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेको छ ।

धनगढीमा डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु कैलालीको धनगढीमा डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ की १२ वर्षीया लक्ष्मी सेरालाको डेंगु सङ्क्रमणबाट ज्यान गएको हो।

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु बर्दियाको मधुवन नगरपालिका ३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट एक महिलाको निधन भएको छ ।

शुक्रबार अपराह्न ४ बजेतिर सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा काली वंशीको बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको प्रहरीको भनाइ छ ।