ककनीको बाँझो जग्गामा चिया खेती सुरु « Khabarhub

ककनीको बाँझो जग्गामा चिया खेती सुरु


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

त्रिशूली – पर्यटकीय गन्तव्यको रुपमा रहेको नुवाकोटको ककनी गाँउपालिका–५ ककनी हाइटको बाँझोे जग्गामा व्यावसायिक रुपमा चिया खेती सुरु गरिएको छ ।

नेपाल पर्वतारोहण सङ्घले भोगाधिकारको लागि सरकारसँग ‘लिज’ मा लिएको भए पनि लामो समयदेखि उपभोग विहीन रहेको बाँझो जग्गामा आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चिया रोपण अभियानको शुभारम्भ गरेका हुन्।

ककनी ‘पिकनिक स्पट’ को रुपमा परिचित उक्त स्थानमा सुरु गरिएको चिया रोपणले पर्यटकीय सम्भावना बोकेका ककनीको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने मन्त्री किरातीले विश्वास व्यक्त गरे ।

“नुवाकोटको ककनी र नगरकोट सुन्दा उस्तै लाग्छ । त्यति मात्रै होइन भौगोलिक दृष्टिकोण, राजधानी नजिकैको उच्च भूभाग, ‘एग्रो एण्ड नेचुरल टुरिजम’ को लागि दुवै स्थान समान हैसियतमा छन् ।” मन्त्री किरातीले भन्नुभयो, “ककनीमा पर्यटकीय गतिविधि चलायमान बनाउन सरोकारवालाबाट माग भएर आउने प्रस्तावनामा सरकारको तर्फबाट आवश्यक सहयोगको सुनिश्चित गरेर ककनीलाई नगरकोट सरह बनाउन प्रतिबद्ध हुनेछौँ ।”

चिया रोपण कार्यक्रममा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले ककनीमा पर्यटकीय योजना बनाउन केन्द्रीय सरकारबाट आश्वासन पाउने तर, सम्बोधन नहुने गुनासो गरे। “ककनी भन्ने वित्तिकै घुम्ने ठाँउभन्दा काठमाडौँको फोहर फाल्ने थलो भनेर गलत प्रचार भइरहेको छ । त्यसको अन्त्य गर्न पर्यटन मन्त्रालयबाट विशेष पहल हुनुपर्छ ।”

पर्यटकीय आकर्षण थलो ककनी हाइटमा विसं २०५२ मा नेपाल पर्वतारोहण सङ्घले सरकारसँग भोगाधिकार लिएको एक सय ४२ रोपनी जग्गा हालसम्म उपभोगविहीन भएपछि ककनी गाँउपालिकाले ‘पर्यटन प्रवर्द्धन तथा हारियाली चिया बगान निर्माण’ का लागि चिया रोपण अभियान सुरु गरेको हो ।

गाउँपालिकाको अध्यक्ष सुमन तामाङको अनुसार शुक्रबार १३ रोपनी जग्गामा पाँच हजार दुई सय बिरुवा रोपिएको छ । “पर्यटकीय क्षेत्रको विकासको लागि चिया रोप्ने र हाल कायम रहेको पिकनिक स्पटलाई थप व्यवस्थित बनाउन पालिकाले वार्षिक नीति तथा कार्यक्रम र बजेटमा पहिलो प्राथमिकता दिएर लागेका छौँ ।” अध्यक्ष तामाङले भने, “पर्वतारोहण सङ्घको नाममा भोगाधिकार भए पनि उक्त जग्गामा चिया खेतीको विस्तारसहित आधुनिक ‘पिकनिक’ स्थलको लागि शौचालय, खानेपानीलगायत पूर्वाधार विकास एवं विद्युत् सेवा विस्तारको लागि गाउँपालिकाले कार्ययोजना बनाएको छ ।”

राजधानी काठमाडौँबाट २२ किलोमिटरको दुरीमा पर्ने ककनी हाइटबाट काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका आधा दर्जन भन्दाबढी हिमालको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ । ककनीबाट लाङटाङ, गणेश, गौरीशङ्कर, मनास्लु, हिमचुली, अन्नपूर्णलगायत हिमाल अवलोकनका लागि वर्षेनि हजारौँ पर्यटक भित्रने भए पनि लक्ष्य अनुसारको प्रगति गर्न नसकेको भन्दै सरोकारावलाहरू चिन्तित हुँदै आइरहेका छन् ।

“ककनी हाईटबाट देखिने हिमालका दृश्यहरूले पर्यटकको मनलाई आकर्षण गरे पनि यहाँसम्म पर्यटकलाई ल्याउन कठिनाइ भइरहेको छ ।” अध्यक्ष तामाङले भने, “ककनीको ‘ब्राण्ड’ का रूपमा क्यानोनिङ प्रतियोगितासमेत हुने गरेको फुङ्गफुङ्गे झरना, ट्राउट माछा, किबि, स्ट्रबेरी, मुलालगायत कृषि खेतीको पहिचान जोगाउन काठमाडौँबाट आउने पासाङल्यामु राजमार्ग समयमा नबन्दा त्यसको असर सबै क्षेत्रमा परेको छ ।”

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ८ : २५ बजे

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन