धुलिखेल–खावा सडक विस्तार : १६ महिनामा १२ प्रतिशतमात्रै काम | Khabarhub Khabarhub

धुलिखेल–खावा सडक विस्तार : १६ महिनामा १२ प्रतिशतमात्रै काम


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काम सुस्ताएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो ।

उक्त सडकखण्ड स्तरोन्नति तथा विस्तार गर्न डिभिजन कार्यालयले गौरी–पार्वती निर्माण सेवा प्रालिबीच सम्झौता गरेको थियो । कार्यालयका सिनियर डिभिजन नारायणप्रसाद लामिछानेका अनुसार उक्त सडकखण्डको ठेक्का लिएको निर्माण व्यवसायीले काममा ढिलाइ गरेका हुन् ।

सम्झौताअनुसार समयावधिको ७२ प्रतिशत समय सकिएको छ । तर काम भने १० प्रतिशतमात्रै हुनु ठेकेदार कम्पनीको लापरवाही भएको सरोकारवालाले बताएका छन् ।

डिभिजन कार्यालयले निर्माण व्यवसायीले सुरुआती चरणदेखि नै काममा ढिलाइ गरेपछि कार्यालयले पटक–पटक पत्र काटेर ढिलाइ हुनुको कारण सोधेको लामिछानेले बताए । उनका अनुसार निर्माण व्यवसायीले कुनै पनि पत्रको जवाफ पठाउने गरेका छैनन् ।

पत्रको बेवास्ता गरेपछि कार्यालयले पुनः पटक–पटक सार्वजनिक सूचना जारी गर्दै गैरजिम्मेवारीपन देखाएको जनाउँदै समयसीमा दिएर लिखित स्पष्टीकरण पेस गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै आएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निर्माण व्यवसायी तथा सरोकारवाला निकायसँग पनि पटक–पटक छलफल गरेको थियो । ती सर्वपक्षीय बैठकमा सडक निर्माण तथा मर्मतसम्भारको काम यथाशीघ्र सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै आए पनि एक वर्षदेखि कामलाई तीव्रता दिइएको छैन ।

सरोकारवालाले निर्माण व्यवसायीले उक्त सडकखण्डबाट अनधिकृतरूपमा माटो र ढुङ्गा निकालेर अन्यत्र बिक्री गरेको आरोपसमेत लगाउँदै आएका छन् ।

घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे भएर यात्रुले सास्ती खेप्नुपरेको छ । अझ दुई पाङ्ग्रे सवारीसाधनमा यात्रा गर्नेलाई निकै कठिन हुने गर्दछ । पुनःनिर्माणका लागि सडक भत्काएपछि खाल्डाखुल्डीका कारण १६ महिनाको अवधिमा एक सयभन्दा बढी दुर्घटनामा यात्रु घाइते भएका छन् ।

दसैँमा सवारी आवतजावतका लागि निकै कठिनाइ हुने छ । ‘समयमा काम नगरी यात्रुलाई सास्ती दिने ठेकेदारलाई हदैसम्मको कारबाही गर्नुपर्छ’, पाँचखाल नगरपालिका–४ का राजन कार्कीले भने । उनका अनुसार समयावधिको बाँकी छ महिनामा सडक निर्माणको काम सम्पन्न गर्न सक्दैनन् ।

सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डीबीएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले जनायो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो ।

निर्माण व्यवसायीले भने सडक विस्तार गर्नका लागि केही रुख काट्नुपर्ने र सडकमा पर्ने विद्युत्का पोल स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै काममा ढिलाइ गरेका छन् । उक्त सडकखण्ड विस्तार गर्न आठ सय ४२ वटा रुख काट्नुपर्ने बताइएको छ । करिब एक सय विद्युतका पोल सार्नुपर्ने देखिएको हो ।

केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको हो । काभ्रेपलाञ्चोकको पूर्वी–उत्तरी क्षेत्र अर्थात् उत्तरीनाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ ।

यस्तै सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । महिनाअघि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भएपछि उक्त राजमार्गका सवारी चाप बढ्न थालेको छ । हाल कोटेश्वरबाट अरनिको राजमार्ग हुँदै लामा दूरीका सवारीमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १० : ४८ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार