खोपको प्रयोग नहुँदा दादुराले प्रकोपको रूप लिँदै | Khabarhub Khabarhub

खोपको प्रयोग नहुँदा दादुराले प्रकोपको रूप लिँदै


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाँकेको नेपालगञ्जमा दादुराका बिरामीको सङ्ख्या आज दिउँसोसम्म ८० जना पुगेका छन् । दादुराका २८ प्रतिशत बिरामीले दादुराविरुद्धको खोप प्रयोग नगरेको पाइएको छ । परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार ८० बिरामीमध्ये खोप नलिने २३ जना रहेका छन् । खोपको एकमात्रा लिने ३३ र दुई मात्रा लिने १२ बिरामी छन् । उनका अनुसार १२ बिरामीबारे कुनै जानकारी छैन ।

उनले दादुराविरुद्धको खोपप्रतिको सचेतना अभावका कारण खोप प्रयोग नगर्दा प्रकोप फैलिएको बताए। उनले भने, ‘कूल बिरामीको सङ्ख्यामा २८ प्रतिशत बिरामीले खोप लगाएका छैनन्, खोप लगाउनु हुँदैन भन्ने समुदायको धारणाले उहाँहरु खोपबाट बञ्चित भएको देखिएको छ ।’ 

उनले आजदेखि खोप लगाउने काम सुरु भएको समेत बताए । ‘प्रकोप फैलिएपछि सबैको ध्यानाकर्षण भएको छ, धर्मगुरु र समुदायसँग बसेर आइतबार छलफल भएको थियो, उनीहरूले भनेको स्थानमा आजदेखि खोप लगाउन सुरु गरिएको छ’, उनले भने ।

हरेक वर्ष केही प्रतिशत बालबालिका पूर्ण मात्राको खोप लगाउन छुटेका छन् । उनले भने, ‘खोपको कभरेज धेरै देखिए पनि खोप नलगाएको असुरक्षित समूह बढ्दै जान्छ, असुरक्षित समूह धेरै भएपछि दादुरा प्रकोपका रुपमा देखिने गरेको छ ।’

बाँकेमा खोपको स्थितिलाई हेर्दा आर्थिक वर्ष २०७८-७९ मा दादुराविरुद्धको पहिलो मात्रा लगाउने ९८ प्रतिशत छन् भने दोस्रो मात्रा लगाउने ९५ प्रतिशत छन् । आव २०७७-७८ मा दुवै मात्रा खोप लगाउने ९२ प्रतिशत छन् । आव २०७६-७७ मा ९० प्रतिशतले पहिलो मात्रा र दोस्रो मात्रा लगाउने ७९ प्रतिशत छन् । 

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को अध्ययनले सन् २०२२ मा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको देखाएको छ । सन् २०१६ मा खोपबाट बञ्चित हुने बालबालिकाकाे सङ्ख्या एक प्रतिशत मात्र देखिएको छ । गत पुस १२ गते नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ५ मा दादुराका पहिलो बिरामी देखिएका थिए । दादुराका लक्षण देखिएका १५ बिरामीमध्ये पाँच को नमूना परीक्षण गरेपछि दादुरा पुष्टि भएको हो । वडा नं ५ बाट सुरु भएको दादुराको सङ्क्रमण वडा नं ७, ८, ९, १०, ११, १५ र २२ मा देखिएको छ । 

आइतबारसम्म उपमहानगरका १० वडा र खजुरा गाउँपालिकाको वडा नं २ मा दादुराका बिरामी फेला परेका थिए । सबैभन्दा धेरै बिरामी उपमहानगरपालिकाको वडा नं ८ मा २८ र वडा नं ७ मा २५ जना रहेका छन् । वडा नं ९, १०, ११, १५ र २२ मा १० बिरामी भेटिएका हुन् । पाँच महिनाका बालबालिकादेखि ६५ वर्ष उमेर समूहकामा दादुराका बिरामी छन् ।  

दादुराका कारण एक बिरामीको मृत्यु भइसकेको जनाइएको छ । दादुराका बिरामीलाई फोक्सो र कानको समस्यादेखि अपाङ्गतासम्म हुनसक्छ । यसबाट मृत्युको समेत जोखिम हुने गर्छ । सम्भावित स्वास्थ्य जटिलता कम गर्न शिविरमार्फत तत्काल उपचारको व्यवस्था गरिएको छ । 

प्रभावित क्षेत्रमा केन्द्रबाट बालचिकित्सक, विश्वस्वास्थ्य सङ्गठन र युनिसेफको समूह खटिएको छ । दादुराका बिरामी पत्ता लगाउने, शिविर खडा गरेर खोज्ने क्रम जारी छ । डा दाहालका अनुसार दादुराको महामारी नियन्त्रण गर्न बिरामी पत्ता लगाउने र तत्काल उपचार गर्ने, बिरामीलाई भिटामिन ‘ए’ दिने, आइसोलेनमा राख्ने तथा खोप लगाउने काम भइरहेको छ । सङ्क्रमण नियन्त्रण गर्न दुई हप्ता विद्यालय बन्द गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । 

धुलिखेल अस्पतालले आगामी दिनमा सो क्षेत्रका समुदायमा खोपप्रतिको गलत बुझाइ र सचेतना बढाउन अहिले अध्ययन टोलीसमेत खटाएको छ । स्वास्थ्यकर्मीले उपमहानगरपालिकालाई झण्डै दुई साता विद्यालय बन्द गर्न सुझावसमेत दिएको छ । 

– सिर्जना राई रासस

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ४ : १२ बजे

अमेरिकी पेस्तोलसहित भारतीय नागरिक धनुषामा पक्राउ

धनुषा : प्रहरीले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ लक्ष्मीपुरबाट एकजनालाई पेस्तोलसहित

अमेरिकाले युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने

एजेन्सी– संयुक्त राज्य अमेरिकाले चाँडै युक्रेनका लागि २.३ अर्ब डलर

वैतेश्वरमा ९९.४१ प्रतिशत योजना सम्पन्न

दोलखा– बैतेश्वर गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

वामदेव भन्छन् : निर्वाचन प्रणाली संशोधन गरौँ, कार्यकारी राष्ट्रपतिमा जाऔँ

काठमाडौं- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मुलुकलाई दिर्घकालीन रुपमा स्थिरतातर्फ

सरकार छाड्ने भएपछि कानुनमन्त्रीले गरेनन् न्यायाधीश नियुक्तिको निर्णय

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिअनुसार नयाँ समीकरण बनेर