विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

आज चैत २६, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल ९, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

इजरायल–सिरिया द्वन्द्व बढ्दै

इजरायल र सिरियबीच फेरि द्वन्द्व बढेको छ । सिरियाले गोलान हाइट्समा धेरै ‘रकेट’ प्रहार गरेपछि इजरायलले आज बिहानैदेखि हवाई आक्रमण व्यापक बनाएको छ । सिरियाबाट इजरायलमा आक्रमण भएपछि इजरायलले पनि जवाफी कारबाही थालेको इजरायली सेनाले बताएको छ ।

सिरियाली क्षेत्रमा हवाई आक्रमण जारी छ । सिरियाली ‘लञ्चर’लाई इजरायली ‘ड्रोन’बाट प्रहार गरिएको छ । शनिबार राति सिरियाली पक्षले छ वटा रकेट प्रहार गरेकामा दुई वटा गोलान हाइट्समा खसेका तथा एउटालाई इजरायलको हवाई रक्षा प्रणालीले आकाशमा नै ध्वस्त पारेको थियो ।

सन् १९६७ मा भएको छ दिन लामो युद्धमा इजरायलले सिरियाली भूमि गोलान हाइट्स आफ्नो नियन्त्रणमा लिएको हो । यद्यपि अन्तरराष्ट्रिय सुमदायले त्यसलाई मान्यता दिएको छैन । मुसलमानहरूको पवित्र महिना रमजान, यहुदीहरूको निस्तार र इशाईहरूको इस्टर चाडका बेला मध्यपूर्वमा हिंसात्मक घटनामा वृद्धि भएको छ ।

गत बुधबार अलअक्सा मस्जिदमा प्रवेश गरी इजरायली प्रहरी मखुण्डो लगाएका तीन सय पचास जनालाई पक्राउ गरेपछि अशान्ति झन बढेको छ । त्यसको भोलि लेबनानबाट ३० भन्दा बढी शृङ्खलाबद्ध रकेट प्रहार भएका थिए । त्यसपछि इजरायलले गाजा र दक्षिणी लेबनानमा बमबारी गरेको थियो ।

श्रीलंकाका इस्टर सन्डे पीडितलाई न्याय दिइने

श्रीलंका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार सन् २०१९ मा भएको इस्टर सन्डेका सबै पीडितलाई न्याय दिने आश्वासन दिएका छन् । उनले त्यसका निम्ति सबै कानुनी प्रक्रिया अघि बढिरहेको बताएका छन् । कोलम्बो गजेटका अनुसार घटनाको स्वतन्त्र र निष्पक्षरूपमा घटनाको छानबिन गरिने छ ।

आफ्नो इस्टर आइतबार सन्देशमा राष्ट्रपति विक्रमासिङ्घेले आक्रमणबाट भएको पीडाबारे आफू सचेत रहेको बताउँदै उक्त दुःखद घटनाको अनुसन्धान स्वतन्त्र र निष्पक्षरूपमा अघि बढिरहेको बताएका छन् ।

श्रीलंकाका राष्ट्रपतिले यस्ता जघन्य कार्यको पुनरावृत्तिलाई रोक्ने गरी देशको सुरक्षा सुनिश्चित गर्न आफ्नो अटल प्रतिबद्धता व्यक्त गरेका छन् । ‘सबै पीडितलाई न्याय सुनिश्चित गर्न यस उद्देश्यका लागि आवश्यक आधार तयार गरिएको छ । म त्यस्ता जघन्य कार्यको पुनरावृत्तिलाई रोक्ने गरी हाम्रो देशको सुरक्षा सुनिश्चित गर्न मेरो अटल प्रतिबद्धताको प्रतिज्ञा गर्दछु’, राष्ट्रपतिले भने ।

आफ्नो सन्देशमा राष्ट्रपतिले सरकार जात, धर्म, पार्टी वा रङ्गको भेदभाव नगरी सबै श्रीलंकाली जनताहरूको आकांक्षा पूरा गर्न समर्पित रहेको पनि उल्लेख गरेका छन् । ‘मलाई दृढ विश्वास छ हामी निकट भविष्यमा यी चुनौती पार गर्न सक्छौँ’, राष्ट्रपतिले भने। श्रीलंकाली साझा एजेन्डामा एकजुट हुने, साँघुरो राजनीतिक उद्देश्य र प्रतिगामी प्रवृत्तिलाई परास्त गर्दै त्योभन्दा माथि उठ्ने विश्वास व्यक्त गरेका छन् ।

अप्रिल २१ मा क्रिस्चियन समुदायले इस्टर सन्डे मनाउने क्रममा श्रीलंकाका कोलम्बो, नेगोम्बो, कोच्चिकेडे र बट्टिकालोआलगाययतका आहरमा आठवटा विस्फोटन भएका थिए । उक्त शृङ्खलाबद्ध विस्फोटमा ११ भारतीयसहित कम्तीमा दुई सय ५० जनाको मृत्यु भएको थियो भने पाँच सय भन्दाबढी घाइते भएका थिए । मृत्यु हुनेमा कम्तीमा ४० विदेशी नागरिक र कम्तीमा ४५ बालबालिका रहेको बताइएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ५,३५७ जनामा कोरोना सङ्क्रमण

गत २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ ।

यद्यपि पछिल्ला केही दिनमा कोभिड सङ्क्रमण बढेको पाइएको छ । अप्रिल १ मा दैनिक २,९९४, अप्रिल २ मा ३,८२४, अप्रिल ३ मा ३,६४१, अप्रिल ४ मा ३,०३८, अप्रिल ५ मा ४,४३५, अप्रिल ५,३३५ जनामा नयाँ सङ्क्रमण देखिएको थियो । यसैगरी सक्रिय सङ्क्रमितको हालको सङ्ख्या ३२ हजार ८१४ रहेको छ । आइतबारसम्म दैनिक सकारात्मकता दर ३.३९ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा तीन हजार सात सय २६ निको हुँदा निको हुनेको कुल सङ्ख्या चार लाख ४१ लाख ९२ हजार आठ सय ३७ पुगेको बुलेटिनले जनाएको छ र अहिले समग्र निको हुने दर ९८ दशमलव ७४ प्रतिशत रहेको छ ।

राष्ट्रव्यापी खोप अभियान अन्तर्गत आइतबारसम्म कुल २२०.६६ करोड खोपको डोज दिइएको छ जसमध्ये पछिल्लो २४ घण्टामा ६५९ डोज दिइएको छ ।

चीनले ताइवानविरुद्ध आक्रमण गरे अमेरिकाले युद्ध लड्ने

चीनले ताइवानविरुद्ध आक्रमण गरेमा अमेरिकाको संसद्ले चीनसँग प्रत्यक्ष भिडन्तका लागि सरकारलाई अनुमति दिने सांसद माइकल मककौलले बताएका छन् ।

टेक्सस राज्यबाट रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने सांसद मककौलले ताइवानको भ्रमणका क्रममा उक्त दाबी गरेका हुन् । अमेरिकी जनताले समर्थन गरेमा सांसदहरूले सेनालाई जमिनमा उतार्ने कुराको पनि अनुमति दिने उनको भनाइ छ ।

चीनलाई ताइवानमाथि आक्रमण गर्नबाट रोक्नका लागि अमेरिकी प्रतिनिधिमण्डलले ताइवानको भ्रमण गरेको पनि उनको भनाइ छ ।

अमेरिकी अधिकारीहरूले ताइवान भ्रमण गर्दा चीनले आपत्ति जनाउने गरेको छ ।

थाइल्याण्डमा गोलीकाण्ड : चारजनाको मृत्यु

थाइल्याण्डमा भएको गोलीकाण्डमा कम्तीमा चारजनाको मृत्यु भएको छ ।

राजधानी बैंककबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको खिरी राट निखोम जिल्लामा शनिबार साँझ ५ बजे गोली चलेको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार गाउँका एक पूर्व मुखियाको घर नजिकै गोली चलेको थियो।

गत महिना फेचबुरी प्रान्तमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको थियो।

गत अक्टोबरमा पनि उत्तरपूर्वी नोङ बुआ लाम फु प्रान्तमा एक पूर्व प्रहरी हवल्दारले ३६ जनाको हत्या गरेका थिए।

थाइल्याण्डमा बन्दुकको स्वामित्वले हिंसात्मक घटनाहरू भइरहेका छन्।

इरानका विद्यालयमा छात्रालाई विष खुवाउने घटना बढ्दै

इरानका विभिन्न विद्यालयमा शनिबार दर्जनौं छात्रालाई विष खुवाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

नोभेम्बरको अन्त्यदेखि छात्राहरूलाई मात्र पढाइ गरिने धेरै विद्यालयहरू ग्याँस वा विषाक्त पदार्थहरूको सेवनका घटनाहरूबाट प्रभावित भएका छन् । कतिपय अवस्थामा यस्ता घटनाका कारण विद्यार्थीहरू बेहोस हुने र अस्पताल भर्ना हुने गरेका छन् ।

तेलको धनी दक्षिणपश्चिमी प्रान्त खुजेस्तानको हाफ्टकेल शहरको एक बालिका विद्यालयमा कम्तीमा ६० जना विद्यार्थीलाई विषाक्त पदार्थ खुवाइएको सरकारी टेलिभिजनको आईआरआईबी समाचार एजेन्सीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएको छ ।

“उत्तरपश्चिमको अर्दाबिलका पाँच वटा विद्यालयमा’ थुप्रै छात्रामा विषाक्त वस्तु सेवनका कारण ‘झर्किने, सास फेर्न गाह्रो हुने र टाउको दुख्ने’ लक्षण देखिएको प्रान्तीय चिकित्सा अधिकारीले सञ्चारमाध्यमलाई बताएका छन् ।

पश्चिम अजरबैजान प्रान्तको राजधानी उर्मियाको उत्तरपश्चिमी शहरमा ‘धेरै छात्राहरू बिरामी भएपछि शनिबार अस्पताल लगिएको’ आईएलएनए समाचार संस्थाले जनाएको छ ।

मार्च ७ मा उपलब्ध गराइएको आधिकारिक गणनाअनुसार देशका ३१ प्रान्तमध्ये २५ मा रहेका २३० भन्दा बढी प्रतिष्ठानमा ‘पाँच हजारभन्दा बढी विद्यार्थीहरू’ यस्तै विषाक्तताबाट प्रभावित भएका छन् ।

यी घटनाको छानबिनका लागि गठित राष्ट्रिय अनुसन्धान समितिका प्रमुख सांसद हामिदरेजा काजेमीको नेतृत्वमा समिति बनेको छ । समितिले ‘अन्तिम प्रतिवेदन’ दुई हप्ताभित्र सार्वजनिक गर्ने जिम्मेवारी पाएको छ ।

भारतमा बाघको सङ्ख्या तीन हजारभन्दा बढी

भारतमा बाघको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले जनाएको छ । बाघको सङ्ख्या बढ्नुलाई भारतले लोपोन्मुख प्रजातिको संरक्षणको प्रयासमा सरकार सफल भएको बताएको छ ।

बिरालो प्रजातिहरूमध्ये सबैभन्दा ठूलो बाघका लागि कुनै समय मध्य, पूर्वी र दक्षिणी एसिया महत्वपूर्ण क्षेत्र मानिन्थ्यो । आइयुसीएनका अनुसार विगत १०० वर्षमा बाघले आफ्नो ऐतिहासिक दायराको ९३ प्रतिशतभन्दा बढी हिस्सा गुमाइसकेको छ र अहिले १३ देशमा सिमित सङ्ख्यामा छरिएर मात्र बाघको अस्तित्व जोगिएको छ ।

भारतीय गणनाअनुसार देशभर तीन हजार १६७ वटा बाघ रहेका छन् भने यस पहिलेको गणनामा यो सङ्ख्या दुई हजार ९६७ थियो । विश्वभर प्रत्येक चार वर्षमा क्यामेरा ट्रयाप र कम्प्युटरको प्रयोग गरेर प्रत्येक प्राणीको पहिचान गर्न सर्वेक्षण गरिन्छ ।

अघिल्लो चार वर्षमा ३० प्रतिशतभन्दा बढी वृद्धि दर रहेकोमा यो अवधिमा यो दर घटेर सात प्रतिशतभन्दा कममा झरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ सङ्ख्यालाई ‘गर्वको क्षण’ भने । वन फँडानी, अवैध शिकार र वासस्थानमाथिको मानव अतिक्रमणका कारण एसियाभरि बाघको सङ्ख्या नष्ट भएको छ तर मोदीले भने, ‘जनताको सहभागिता र देशको संरक्षणको संस्कृति का कारण भारतले बाघको सङ्ख्या बढाउन भारत सफल भएको छ ।’

अहिले विश्वमा बाघको सङ्ख्याको ७५ प्रतिशत हिस्सा भारतमै रहेको र ‘विश्वकै सबैभन्दा ठूलो बाघ रेन्ज भएको देश’ रहेको उनले बताए ।

सन् १९०० मा एक लाख भन्दा बढी बाघहरू यस ग्रहमा घुमिरहेको अनुमान गरिएको थियो । तर सन् २०१० मा यो सङ्ख्या तीन हजार २०० मा झरेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : ०१ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका

जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र

काठमाडौं– काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ