विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

आज वैशाख २६, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे ९, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

जीडीपी दोब्बर पार्ने उज्बेक राष्ट्रपतिको घोषणा

मध्य एसियाली मुलुक उज्बेकिस्तानका राष्ट्रपति शाभकत मिर्जियोयेभले देशले आर्थिक सुधारलाई निरन्तरता दिने र आगामी वर्षमा आफ्नो कुल गार्हस्थ्य उत्पादन जीडीपी हालको ८० अर्ब अमेरिकी डलरबाट दोब्बर गरी १६० अर्ब डलरमा पुर्‍याउने लक्ष्य राखेको बताएका छन् ।

‘यसको अर्थ प्रतिव्यक्ति जीडीपी चार हजार डलर पुग्ने हो,’ राष्ट्रपतिले ३० अप्रिलमा संशोधन गरिएको संविधानमा भएको जनमत सङ्ग्रहको नतिजापछि संसद्, सरकार र अन्य राज्य निकायका सदस्यलाई सम्बोधन गर्दै सो टिप्पणी गरेका हुन् ।

राज्यले निजी क्षेत्रलाई सहयोग गर्ने, कर प्रशासनलाई सरल बनाउने र अर्थतन्त्रमा राज्यको सहभागिता घटाउन निरन्तर लागिरहने पनि राष्ट्रपतिले उल्लेख गरे ।

उज्बेकिस्तानले आफ्नो शान्तिपूर्ण विदेश नीति जारी राख्दै निकट र टाढाका देशसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्दै सबै क्षेत्रमा पारस्परिक सहयोगको विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई अर्धसैनिक प्रहरीले इस्लामावाद उच्च अदालतबाहिरबाट पक्राउ गरेको हो ।

भ्रष्टाचारको अभियोग लागेका उनी अदालतमा उपस्थित हुन त्यहाँ पुगेका थिए । उनले आफूमाथिको अभियोग राजनीतिप्ररित रहेको बताउँदै आएका छन् ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बख्तरबन्द गाडीमा आएका प्रहरीले उनलाई पक्राउ गरेका हुन् ।

गत वर्षको अप्रिल महिनामा उनी प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । त्यसयता उनी मुलुकमा तत्काल निर्वाचन हुनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

भारतमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु

भारत मध्य प्रदेशको खरगोन जिल्लामा मङ्गलबार निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु २५ जना घाइते भएका छन् ।

सो घटना मङ्गलबार बिहान जिल्लाको ओन प्रहरी चौकी अन्तर्गत दसङ्गा क्षेत्र नजिकै डोङ्गरगाउँ पुलमा भएको हो । घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रशासन र एम्बुलेन्स घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो ।

खरगोनका प्रहरी उपरीक्षक ९एसपी० धरमवीर सिंहले भनेका छन्– ‘खरगोनको पुलबाट बस खसेर १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । उद्धार कार्य जारी छ ।’

प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई रु चार लाख, गम्भीर घाइतेलाई रु ५० हजार र सामान्य घाइतेलाई रु २५ हजार तत्काल उपलब्ध गराउने घोषणा गरेको छ ।

घटना बारे अनुसन्धान जारी छ ।

कम्बोडियाको आगामी आम चुनावमा प्रतिस्पर्धा गर्न २० राजनीतिक दल दर्ता

कम्बोडियाको आगामी आमनिर्वाचनमा भाग लिन करिब २० वटा राजनीतिक दल दर्ता भएका छन् । पार्टी दर्ताको १५ दिने अवधि सोमबार सकिएको राष्ट्रिय निर्वाचन समिति (एनईसी) ले जनाएको छ ।

समितिको विज्ञप्तिमा भनिएको छ-सातौं राष्ट्रियसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न २० वटा राजनीतिक दल दर्ता भएका छन् र तीमध्ये ११ वटालाई आधिकारिक मान्यता दिइएको छ । आयोगले दर्ता भएका अन्य नौ राजनीतिक दललाई मान्यता दिने वा नदिने भन्ने निर्णय एक साताभित्र गर्नेछ । दक्षिणपूर्वी एसियाली राष्ट्रमा आगामी २३ जुलाईमा १२५ सिटको राष्ट्रिय सभाको लागि आम चुनाव गर्ने कार्यक्रम छ रहेको र ९.७ मिलियन भन्दा बढी कम्बोडियालीहरूले आफ्नो मतदान गर्नेछन्।

पाँच वर्षअघि भएको निर्वाचनमा २० राजनीतिक दलले दौडमा भाग लिएका थिए तर सत्तारूढ कम्बोडियन पिपुल्स पार्टीले संसद्मा सबै १२५ सीट नै जितेको थियो ।

क्यानडाद्वारा चिनियाँ कूटनीतिज्ञ निष्काशित

क्यानडा सरकारले सोमबार टोरन्टोमा एक चिनियाँ कूटनीतिज्ञलाई निष्कासन गरेको छ। एक विपक्षी सांसद माइकल चोङलाई धम्की दिएको आरोपमा चिनियाँ कूटनीतिज्ञ झाओ वेईलाई क्यानडाले निष्काशित गरेको हो।

सांसद माइकल चोङलाई चिनियाँ कुटनीतिज्ञले धम्की दिएको भन्दै क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले एक विज्ञप्तिमामार्फत् झाओलाई निस्काशित गरेको जानकारी दिएकी छन् ।

क्यानडाको राजधानी ओटावामा रहेको चिनियाँ दूतावासले भने आफ्ना कुटनीतिज्ञलाई निष्काशित गर्ने निर्णयको विरोध गरेको छ।

क्यानडास्थित चिनियाँ दूतावासले एक विज्ञप्तिमा भनेको छ, ‘चीनले यसको कडा निन्दा र दृढताका साथ विरोध गर्दछ, र क्यानाडा पक्षसँग कडा विरोध गरेको छ।’ ‘चिनियाँ पक्षले दृढ प्रतिवाद लिनेछ, र त्यसबाट उत्पन्न हुने सबै परिणाम क्यानडाली पक्षले वहन गर्नेछ।’

रूसद्धारा युक्रेन माथि सबैभन्दा ठूलो कामिकाजे ड्रोन आक्रमण

रुसले ड्रोन र मिसाइल आक्रमणको नयाँ लहर सुरु गरेपछि युक्रेनभर हवाई आक्रमणको साइरन बज्न थालेको छ । राजधानी कीभमा रातभर विस्फोटको आवाज सुनियो, जहाँको मेयरले भने कि ‘सबैभन्दा ठूलो’ कामिकाजे ड्रोन आक्रमणमा परी पाँच जना युक्रेनीहरु घाइते भएका छन्।

दक्षिणी ओडेसा क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ । युक्रेनको रेड क्रसले आफ्नो गोदाममा आक्रमण भएको जनाएको छ ।

यो कीभमा आठ दिनमा भएको चौथो आक्रमण हो । रसियाले विजय दिवस मनाउनु २४ घण्टा अगाडि यो आक्रमण भएको हो ।

विजय उत्सवको वार्षिक बिदामा रुसले दोस्रो विश्वयुद्धको समयमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको स्मरण गर्दै आएको छ ।

सुनका ५२ वटा बिस्कुटसहित दुई भारतीय पक्राउ

सीमा सुरक्षा बल (बीएसएफ) ले पश्चिम बंगालको उत्तर परगनास्थित भारत–बंगलादेश सीमाबाट दुई तस्करलाई पक्राउ गरेको छ। प्रहरीले तस्करहरूका साथबाट करिब ४ करोड २४ लाख रुपैयाँ मूल्यका ५२ वटा सुनका बिस्कुट बरामद गरेका छन् ।

बीएसएफको दक्षिण बङ्गाल फ्रन्टियरका अनुसार आईसीपी पेट्रापोल १४५ बटालियनका कर्मचारीले रोयल फ्रेन्डसिप इन्टरनेशनल प्यासेन्जर बसवाट बंगलादेशबाट भारत सुन तस्करी गर्ने सूचना पाएका थिए।

सो यात्रु बस अगरतलाबाट ढाका हुँदै कोलकाता जाँदै थियो । सोही बेला उनीहरु पक्राउ परेका हुन ।

पाकिस्तानको स्वात उपत्यकामा बाढी पहिरोका कारण पर्यटन क्षेत्र प्रभावित

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकामा निरन्तरको भारी वर्षासँगै आएको बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा असर परेको पाइएको छ ।

द न्युज सन्डेका अनुसार भारी वर्षाका कारण पर्यटक आउन नपाएपछि पर्यटन क्षेत्रमा लगानी गरेका व्यवसायीले लाखौँ रुपैयाँ गुमाएका छन् ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार वर्षाका कारण आएको बाढीले गर्दा सडकमार्ग बन्द भएका छन् । उसैपनि कमजोर पूर्वाधार रहेको यस क्षेत्रमा बाढीले अझ क्षति निम्त्याएको छ ।

पाकिस्तानको स्वीट्जरल्याण्ड भनेर पनि चिनिने स्वात उपत्यका प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । कोरोना भाइरसको महामारीका कारण थलिएको स्वात उपत्यकाको पर्यटन क्षेत्र यस प्रकोपबाट अझ प्रभावित भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

बङ्गलादेशको आर्थिक वृद्धिदर चीनको भन्दा बढी रहेको आईएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले एशिया–प्रशान्त क्षेत्रको प्रक्षेपणसम्बन्धी गरेको पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षमा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन वृद्धिदरले चीनलाई उछिन्ने देखिएको छ ।

आईएमएफको पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षमा कूल गार्हस्थ्य उत्पादन वृद्धिदरका आधारमा बङ्गलादेश भियतनामपछि दोस्रो स्थानमा रहनेछ । आईएमएफको एशिया र प्रशान्त क्षेत्रका लागि क्षेत्रीय आर्थिक मूल्याङ्कन मे २०२३ को रिपोर्टले पनि बङ्गलादेशले सन् २०२४ मा वृद्धिको हिसाबले चीनलाई उछिन्न सक्ने अनुमान गरेको छ ।

बङ्गलादेशमा सन् २०२३ मा कूल गार्हस्थ्य उत्पादन को वृद्धिदर ५.५ प्रतिशतमा खुम्चिने छ, जुन चीनको अनुमानित ५.२ प्रतिशतको वृद्धिदरभन्दा अझै बढी रहेको डेली सनले जनाएको छ ।

यद्यपि चीनको अर्थतन्त्र बङ्गलादेशको भन्दा निकै ठूलो छ । आईएमएफको प्रतिवेदनअनुसार बङ्गलादेशका लागि हालै स्वीकृत विस्तारित कोष सुविधाले युक्रेनमा रूसको युद्धका कारण उत्पन्न आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्न मद्दत गर्नेछ, लचिलोपन साथै स्थिरता सुविधा व्यवस्थाले जलवायु लगानी प्राथमिकताहरू वित्तपोषण गर्न वित्तीय स्थान विस्तार गर्नेछ र दीर्घकालीन जलवायु जोखिमहरूको विरुद्ध लचीलापन निर्माण गर्नेछ ।

प्रतिवेदनले विशेष गरी बङ्गलादेश र प्रशान्त टापुहरू सहित यस क्षेत्रका कमजोर उदीयमान बजारहरूमा जलवायु परिवर्तन अनुकूलनका लागि वित्तीय सहायता सुरक्षित गर्न, अन्तर्राष्ट्रिय सहयोगको महत्वलाई उजागर गरेको डेली सनको रिपोर्टमा उल्लेख गरिएको छ ।

बङ्गलादेशको तीव्र आर्थिक विकासको बावजुद आईएमएफका अधिकारीहरूले देशको केही समष्टिगत आर्थिक सूचकहरूबारे चिन्ता व्यक्त गरेका छन् ।

आईएमएफको टोलीले सन् २०२३ को अप्रिल २५ देखि मे ७ सम्म बङ्गलादेशको राजधानी ढाकामा हालैका समष्टिगत आर्थिक घटनाक्रम र यसको कार्यक्रम कार्यान्वयनका बारेमा छलफल गर्न ढाकाको भ्रमण गरेको थियो ।

भ्रमणको समापनमा बङ्गलादेशका लागि मिसन प्रमुख राहुल आनन्दले एक वक्तव्य जारी गर्दै चुनौतीपूर्ण आर्थिक पृष्ठभूमिका बाबजुद एशिया–प्रशान्त क्षेत्रमा सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको अर्थतन्त्रमध्ये बङ्गलादेश एक रहेको बताएका छन् ।

निरन्तर मुद्रास्फीतिको दबाब, विश्वव्यापी वित्तीय स्थितिमा अस्थिरता र प्रमुख उन्नत व्यापारिक साझेदारहरूमा मन्दीले यसको वृद्धि, विदेशी मुद्रा सञ्चिति र यहाँको मुद्रा टाकालाई असर गरिरहेको आनन्दले बताए ।

रिपोर्टका अनुसार बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति पछिल्लो समय छ वर्षयताकै न्यून बिन्दुमा झरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ७ : ५९ बजे

प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूचीमा के छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकाले आयातमा लगाएको २५ प्रतिशत कर बुधबार रातिदेखि कार्यान्वयन हुँदै

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने स्टिल

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

युक्रेन ३० दिन युद्ध विराम गर्न तयार, अमेरिकाले सहयोगलाई निरन्तरता दिने

साउदी – साउदी अरेबियामा अमेरिकासँग भएको वार्तासँगै युक्रेनले रुससँग ३०