इच्छाकामना मन्दिर भक्तजनका लागि खुला « Khabarhub

इच्छाकामना मन्दिर भक्तजनका लागि खुला


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो ।

मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिरभित्रबाट पूजा गर्न खुला गरिएको छ । विधिवत रूपमा पूजा गरी गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार मन्दिरको उद्घाटन गरेपछि सर्वसाधारण तथा भक्तजनका लागि नियमित पूजा गर्न खुला गरिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए ।

बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, स्थानीयको श्रमदान र चन्दादाताको सहयोगमा दुई करोड ४२ लाख रुपैयाँको लागतमा मन्दिर पुनर्निर्माण सम्पन्न भएको बोहोराले बताए । कोरोना महामारी र काठको अभावका कारण मन्दिर पुनर्निर्माण ढिला गरी सम्पन्न भएको हो । 

मन्दिरको २०७५ असार ७ गते शिलान्यास गरेर काम प्रारम्भ भएको थियो । ढुङ्गा र माटोले बनेको सो पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनर्निर्माण गरिएको हो । 

गाउँपालिका अध्यक्ष गुरुङले ऐतिहासिक महत्त्व रहेको इच्छाकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने बताए । उनले आवश्यक पूर्वाधार निर्माण गरिने र प्रचारप्रसारमा जोड दिइने बताए । उनले भने, ‘खानेपानीको व्यवस्थासमेत भइसकेको छ, बस्नका लागि होमस्टेको सुविधा छ, आवश्यक पूर्वाधार निर्माण गर्दै जान्छौँ, ऐतिहासिक महत्व बोकेको इच्छाकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने योजना छ ।’

सुन्तलाको बगैँचाको अवलोकन गर्दै मन्दिरसम्म यात्रा गर्न सकिन्छ । साथै मन्दिर परिसर वरपर फागुन–चैतमा ढकमक्क फुल्ने लालीगुराँसले पर्यटकलाई लोभ्याउँछ । इच्छाकामनाको फिस्लिङ, मुग्लिन, कालिकाको शक्तिखोर, धादिङको बेनीघाट रोराङको हुग्दीखोला हुँदै इच्छाकामना मन्दिर सवारीसाधनमार्फत पुग्न सकिन्छ ।

गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ । 

मनकामना माईको सात दिदीबहिनीमध्ये एक बहिनी इच्छाकामना रहेकोे धार्मिक विश्वास रहेको मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताए । मन्दिरसम्म सडक पुगेसँगै भक्तजनको आवागमनमा वृद्धि भएको उनको भनाइ छ । 

प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्छ । इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ७ : ४५ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले