संसारको रित कसैले बदल्न सक्दैन « Khabarhub

संसारको रित कसैले बदल्न सक्दैन


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

कुनै एक गाउँमा एक गरिब किसान परिवार थियो । परिवारमा बाबु–आमा र एक छोरा थिए । समय सँगसँगै दुःखसुख दिनहरू चल्दै थिए । 

एक दिनको कुरा हो– उनीहरूको छोरा बिरामी पर्‍याे । सकेको औषधोपचार त गरे तर छोरालाई जोगाउन सकेनन् ।

छोराको मृत्यु भएपछि बाबुआमा नै शोकमग्न भए । बाबुले त जसोतसो धैर्यता देखाए । तर आमाको मातृस्नेह छोराको मृत्यु स्वीकार्न तयार भएन । उनी रोइकराइ गर्न थालिन् । गाउँलेहरूले धेरै सम्झाइ बुझाइ गरे । तर पनि उनले मन बुझाउन सकिनन् ।

उनी छोरालाई अँगालो हालेर रोइरहिन् । उनले डाक्टर, वैद्य, धामीझाँक्री सबैसँग छोरा बचाइ दिन बिन्ती गरिन् । सबैले उनको आर्तनादलाई महसुस गरे तर मृत छोरा बचाउन सक्ने कसैसँग तागत थिएन ।

उनीहरूले ती महिलालाई धेरै सम्झाए । जति सम्झाइबुझाइ गरे पनि नमानेपछि सँगै रहेका एक महात्माले अब यी मृत बालकलाई बुद्धले बाहेक कसैले बचाउन नसक्ने भन्दै बुद्धको शरणमा जान सुझाव दिए ।

ती महिला महात्माको सुझाव अनुसार आफ्नो मृत छोरा बोकेर बुद्ध भएका ठाउँमा पुगिन् । मृत बालक बोकेर आफू सामु आएकी महिलालाई बुद्धले सोधे, ‘माते किन यसरी शोक गरेको ? के भयो ?’

ती महिलाले बुद्धको शरणमा पर्दै भनिन्– ‘मेरो छोरा दुई दिनदेखि बोल्न छोडेको छ, केही खाँदैन । सबैले यो मरिसक्यो भन्छन् ! कसैले पनि मेरो छोरालाई बोल्ने बनाइदिएन । डाक्टर, वैद्य, झाँक्री सबैकोमा लागिसकेँ । कसैले मेरो छोरालाई बोल्ने बनाइदिएन । 

तपाइँ त बुद्ध हो नि ! तपाइँ त सारा संसारलाई बुझ्न सक्नुहुन्छ । सबैका पीडालाई महसुस गर्न सक्नुहुन्छ ! मेरो छोरालाई के भएको हो ? हेरिदिनुपर्‍यो । म यो बिना एकछिन पनि बस्न सक्दिनँ ।’

ती महिलाका कुरा सुनिसकेपछि बुद्धले भने– ‘हेर तिम्रो छोरा भगवानमा लिन भइसकेको छ । तर पनि म तिम्रो छोरालाई बचाइदिन सक्छु, तर तिमीले मैले भनेको कुरा पूरा गर्नुपर्छ । अन्यथा मैले यसलाई जियाउन सक्दिनँ ।’

ती महिला आफ्नो छोरो बिउँतने कुरामा जस्तोसुकै काम गर्न तयार भइन् ।

त्यसपछि बुद्धले ती महिलालाई भने– ‘अब तपाइँ यो बालकलाई यहीँ राखेर जुनसुकै गाउँ, शहरमा जानुहोस् र जुन घरमा कहिल्यै कोही मानिस मरेका छैनन् त्यस्ता सात घरबाट एक–एक मुठ्ठी चामल मागेर ल्याउनुहोस । त्यो चामल खुवाएर म यो बालकलाई बिउँताइदिनेछु । तर एउटा कुरा नबिर्सनुहोस् ! मानिस मरेका घरको चामल भने चल्ने छैन ।’

त्यसपछि ती महिला बुद्धलाई प्रणाम गरी छोरा जिउने आशामा चामलको खोजीमा हिँडिन् । उनी गाउँ, शहरका हरेक घरमा चामलका लागि पुगिन् तर बुद्धले भनेजस्तो मान्छे नमरेको घर उनले भेट्टाउन सकिनन् ।

सात दिनसम्म उनी त्यस्तो घरको खोजीमा रहिन्, जुन घरका परिवारका मानिस अहिलेसम्म कोही मरेका छैनन् । उनी हजारौँ घरहरूमा पुगिन् तर पनि मानिस नमरेको घर फेला पार्न सकिनन् ।

त्यसपछि उनी बुद्ध भएको ठाउँमा फर्किइन् र केही नबोली आफ्नो मृत छोराको अन्तिम संस्कारको तयारीमा लागिन् ।

त्यसपछि बुद्धले सोधे– ‘माते, खै त चामल ?’

महिलाले भनिन्– भगवान् ! मैले संसारको रित बुझेँ, मानिस नमरेको घर नै कहाँ हुँदो रहेछ र ! ढिलो चाँडो मात्र हो, जन्मिएपछि एक दिन त अवश्य मर्नै पर्ने रहेछ । यो ब्रह्माण्डमा हरेक प्राणी जन्मिएपछि त्यसको मृत्यु निश्चित रहेछ । जुन संसारको रित छ त्यसलाई कसैले बदल्न नसक्ने रहेछ ।’ 

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ६ : २५ बजे

फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान,

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना : यसै वर्ष ठेक्का आह्वान गरिने

खोटाङ– खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न

एमालेको निष्कर्ष : सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढ्यो

काठमाडौँ– नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि) सार्वजनिक गरेको छ ।

खस्किएको भी-टेनको क्रेज

काठमाडौँ- भी-टेनले सार्वजनिक अन्तर्वार्तामा भनेअनुसार उनका बुवा स्वयम्भू आसपास फर्निचरको

आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने

काठमाडौँ– गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश