इजरायलमा विद्यार्थीले ज्यान गुमाउँदा शोकमा सुदूरपश्चिम विश्वविद्यालय  « Khabarhub

इजरायलमा विद्यार्थीले ज्यान गुमाउँदा शोकमा सुदूरपश्चिम विश्वविद्यालय 


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

भजनी– ‘अहिले यहाँ (इजरायलमा) कति बेला के हुन्छ, केही आत्तोपत्तो छैन । हामीहरु शनिबारदेखि बङ्करमा लुकेर ज्यान जोगाउन बाध्य  छौँ । यहाँ सोचेजस्तो सहज केही पनि छैन । कति बेला आकासमा कालो धुँवाको मुस्लो उठ्छ थाहै  हुँदैन । निकै नै त्रसित माहोल छ मिसाइल कति बेला कताबाट आयो पत्तो पाइदैन’, इजारयलमा रहेका कैलालीको टीकापुरका निश्चल पाण्डेले पठाएको म्यासेज हो ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायबाट ‘अर्न एण्ड लर्न कार्यक्रम’मार्फत इजरायल पुगेका पाण्डेले अगाडि भनेका छन्, ‘साइरनको त्यो ठूलो आवाजले सातो जान्छ । आकाशमा हेलिकोप्टर र फाइटर जेट निरन्तर उडिरहेका छन् । बङ्करमा पनि सोचें जस्तै सहज केही छैन् । न खाना न पानी अनि त्यो चिसो भूइँमा त्रासैत्रासमा बिताउनुको पीडाले नर्कमा भएको अनुभूति भएको छ । आजको रात निकै लामो हुने छ । पर्खाइ त्यो भोलि शुभ बिहानीको हुनेछ ।’ 

उनले सन्देश पठाएको केही समयपछि उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएको समाचार आयो । सो घटनापछि सुदूरपश्चिम विश्वविद्यालय शोकमा परेको छ । ‘घटनाले विद्यार्थी हतोत्साहित बनेका छन् । शिक्षक भावविह्वल बनेका छन् । क्याम्पसका सबै पठनपाठन बन्द भएका छन् । आन्तरिक परीक्षा स्थगित भएको छ’, क्याम्पसका उपप्राध्यापक प्रेम पाण्डेले भने, ‘हामीसँग बोल्ने शब्द बाँकी छैनन् । घटनाले हामीलाई विवश बनाएको छ ।’

विश्वविद्यालयका उपप्राध्यापक सरोज घिमिरेले विद्यार्थीको मृत्युले राज्यले ठूलो जनशक्ति गुमाएको बताए। उपप्राध्यापक घिमिरेले भने, ‘आज दुःखद् घटना घट्यो । यस्तो अवस्थामा हामीसँग कुनै उत्तर छैन ।’ 

उपप्राध्यापक गुरु अधिकारीले सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पुगेका अन्य विद्यार्थी पनि जोखिममा रहेको बताए। उनले जतिसक्दो चाँडो राज्यले घाइतेको उपचारमा र अन्यलाई नेपाल फर्कने वातावरण बनाउन आग्रह गरे । ‘राज्यको भूमिका औपचारिकता मात्रै देखिएको छ । हाम्रा अन्य विद्यार्थी पनि जोखिममा छन् । उनीहरुको समयमै उद्धार होस्’, उनले भने, ‘आज विद्यार्थीका अभिभावक भावविह्वल अवस्थामा छन् । सिङ्गो क्याम्पस शोकमा छ । म आग्रह गर्छु, राज्य जिम्मेवार बनोस् ।’

कृषि विज्ञान संकायको दोस्रो वर्षमा अध्ययनरत सुन्दर विश्वकर्मा थापाले उनीहरुको निधनले आशाको दियो निभेको बताए । पहिलो ब्याचका विद्यार्थी इजरायल जाँदा आफूले बोकेका सपनामा पूर्णविराम लागेको उनको भनाइ छ । ‘हामीभन्दा अघिल्लो ब्याचका विद्यार्थीहरू थप सिकाइका लागि इजरायल जानुभएपछि आफूहरू पनि जानुपर्छ भन्ने लागेको थियो । अहिलेको घटनाले त्यो सपनामा पूर्णविराम लागेको छ ।’ उनीले त्रासमा रहेका सबै विद्यार्थीलाई नेपाल फिर्ताका लागि सरकारले चाँडो पहल गर्नुपर्ने बताए । 

विश्वविद्यालयबाट भदौ २६ गते इजरायल पुग्नुभएका निश्चल पाण्डेका बुबा उत्तम पाण्डेले आफ्नो छोरासहित सबै विद्यार्थीलाई नेपाल फिर्ताका लागि सरकारसँग आग्रह गरेका छन् । उनले छोरासँग सम्पर्क भइरहेको बताउँदै त्यहाँ रहेका विद्यार्थी निकै असुरक्षित भएको बताए । ‘बाहिरको वातावरण निकै असुरक्षित छ भनेर छोरासँग सम्पर्क भइरहेको छ । उनीहरु अझैपनि बङ्करमा बसेर जीवन जोगाइराख्नु भएको छ ।’ पाण्डेले भने, ‘उनीहरुको कुराले सबै विद्यार्थी नेपाल फर्किन चाहन्छन । हामी अभिभावक पनि आफ्ना सन्तान फर्केको हेर्न चाहन्छौँ । सरकारले हाम्रा सन्तान नेपाल फर्कने वातावरण बनाओस् ।’

विश्वविद्यालयको कृषि विज्ञानतर्फ स्नातक तहको अन्तिम सेमिष्टाका ४९ जना विद्यार्थीमध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना विद्यार्थी इजरायल गएका थिए । उनीहरुमध्ये १० जना छात्रा छन् । उनीहरु १० महिनाका लागि इजरायल गएका थिए । 

विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साताको एक दिन अध्ययन, पाँच दिन काम र एक दिन छुट्टीमा बस्ने उल्लेख थियो । कृषि विज्ञान सङ्कायले कार्यक्रम अन्तर्गत पहिलो पटक विद्यार्थी पठाएको हो ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  १२ : ४४ बजे

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी– यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने भन्दै

सरकारले जेन-जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले सरकारले जेन-जी

नेपाल रेडियोलोजिस्ट्स एसोसिएसनले मनायो ३१औँ स्थापना दिवस

काठमाडौं– नेपाल रेडियोलोजिस्ट्स एसोसिएसन (एनआरए) ले आफ्नो ३१औँ स्थापना दिवस

प्राधिकरणमा फर्किएपछि हितेन्द्रले भने- अदालतले न्याय दियो, नयाँ जलविद्युत आयोजना अघि बढाउँछु

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुधबारबाट जिम्मेवारी

डीएसपी मधु नेपाल बहुविवाह अभियोगमा पक्राउ

काठमाडौं– प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाह अभियोगमा पक्राउ परेका