स्वदेशी फूलको माला प्रयोग गर्न आग्रह | Khabarhub Khabarhub

स्वदेशी फूलको माला प्रयोग गर्न आग्रह


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मध्यबिन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष व्यावसायिक फूलखेती गर्नेको सङ्ख्या उल्लेख्य रहेको छ । जिल्लामा यस वर्ष करिब सातदेखि आठ हेक्टर क्षेत्रफलमा सयपत्री फूलको खेती गरिएको कृषि ज्ञानकेन्द्र नवलपुरका प्रमुख कपिल तिवारीले जानकारी दिए ।  

‘लागत र बजार मूल्यका हिसाबले जिल्लामा उत्पादन हुने फूलको बजार मूल्य रु तीनदेखि चार करोडसम्मको रहेको छ’, उनले भने। यस वर्ष जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका, विनयी त्रिवेणी, हुप्सेकोट र बौदीकाली गाउँपालिकामा सामूहिक तथा व्यक्तिगतरूपमा फूलखेती गरिएको छ । जिल्लामा यस वर्ष तिहारका लागि पर्याप्त फूल उत्पादन भए पनि भारतबाट आउने फूलहरूले प्रभाव पर्ने हो कि भन्नेमा किसान चिन्तित छन् । भारतबाट आउने फूल नेपाली उत्पादनभन्दा सस्तो जनाइएको छ । 

गैँडाकोट नगरपालिकाको वडा नं ४ र ८ मा सामूहिकरूपमा फूलखेती गरेका राम काप्रीले अहिलेको प्रमुख समस्या भारतीय फूल नै रहेको बताए ।  ‘स्थानीय उत्पादनको तुलनामा भारतीय फूलको लागत कम पर्ने भएकाले व्यापारीको रोजाइमा भारतीय फूल पर्ने गरेको छ’, उनले भने ।

मानव स्वास्थ्यलाई असर गर्ने रसायन प्रयोग गरिएको भारतीय फूलमा लागत कम पर्ने भएकाले व्यापारीले नेपाली फूललाई महत्व नदिने गरेको उनले गुनासो गरे। ‘आफूहरूले स्थानीयस्तरमा उत्पादन गरेको फूल केही महँगो भए पनि स्वास्थ्यमा केही असर गर्दैन’, उनले भने ।

बौदीकाली गाउँपालिका–२ डेढगाउँमा सामूहिक सयपत्री खेती गरेको खहरे कृषि समूह पनि उत्पादन भएको फूलको बजारको सुनिश्चितता नहुँदा समस्यामा परेको डेढगाउँका यादव ओझाले बताए । यो समूहले एक हजार बोट सयपत्री फूल तयार पारेको भए पनि बजारको सुनिश्चितता नभएको ओझाको भनाइ छ ।

‘तिहार आइसक्यो हामी बजार खोज्दै छौँ, व्यापारीलाई पर्खंदै छौँ’, उनले भने, ‘धेरै स्थानमा सयपत्री फूलको खेती बढेकाले बजारको समस्या रहेको छ ।’ विगत केही वर्षदेखि फूल खेती गरिरहेका कावासोती नगरपालिका– ५ का भेषराज गाहा बजारभन्दा पनि मुख्य समस्या भारतीय फूल नै रहेको बताउँछन् । स्थानीयस्तरमा उत्पादन भएका अर्गानिक फूलभन्दा रसायन प्रयोग गरिएको भारतीय फूल सस्तो हुनुले समस्या आएको उनले जानकारी दिए । 

‘ग्राहकले गुणस्तरभन्दा पनि सस्तो फूल खोज्ने चलन छ, भारतबाट आउने फूल स्वास्थ्य प्रतिकूल छ भन्ने चेतना जनमानसमा पुगी नसकेकाले यस्तो समस्या आएको हो’, उनले भने ।

तिहार नजिकिएसँगै बजारमा सयपत्री फूलको माग बढ्न लागेको छ । सरकारले तिहारमा स्वदेशी उत्पादनले माग धान्नसक्ने भएकाले यही कात्तिक १ गतेदेखि भारतबाट आउने फूलको आयत अनुमतिपत्र सिफारिस जारी गर्न बन्द गरेको भए पनि बजारमा रसायन प्रयोग भएको भारतीय फूल भित्रिने आशंकाले जिल्लाका किसान चिन्तित देखिएका हुन् ।  

भारतीय व्यापारीले तिहार आउनभन्दा १५ दिन अगाडि नै बोटबाट टिपिएको फूल फर्मालिनको प्रयोग गरेर नेपालसम्म ल्याउने गर्दछन् । फर्मालिनको प्रयोग गरेर राखिएको फूलको माला लगाउँदा ‘एर्लजी’ हुने तथा छालासम्बन्धी रोग लाग्नेसक्ने कृषि ज्ञानकेन्द्र नवलपुरका प्रमुख कपिल तिवारीले बताए ।

‘भारतबाट यहाँ सम्म फूल ल्याउँदा व्यापारीले फर्मालिन नामको रसायनको प्रयोग गर्छन् जसले प्रत्यक्ष मानव स्वास्थ्यमा असर पार्छ, त्यसैले नेपालमै उत्पादन गरिएका फूलको प्रयोग मानव स्वास्थ्यका लागि पनि राम्रो हुन्छ’, उनले भने ।

फर्मालिनको प्रयोग गरिएको वस्तुको प्रयोगले छालाजन्य रोग लाग्ने खतरा हुने मध्यबिन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा जितेन्द्र कँडेलले बताएका छन् । ‘फर्मालिन प्रयोग गरिएको फूलको माला लगाउँदा छालाको एर्लजी हुने, चिलाउने, रातो डाबर आउने तथा यसको गन्धले श्वासप्रश्वासमा पनि समस्या आउँछ’, उनले भने ।

सरकारले भारतीय फूल आयतमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने माग उठिरहेको भए पनि यसको सुनुवाइ नहुँदा आगामी दिनमा भर्खरै सुरु भएको फूलखेतीबाट विस्थापित हुनपर्ने चिन्तामा किसान रहेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  २ : ०१ बजे

भारतको लोकसभा चुनाव : तेस्रो चरणमा ६५ प्रतिशत मतदान

नयाँ दिल्ली – भारतमा तेस्रो चरणमा ६५ दशमलव ६८ प्रतिशत

बिर्तामोड नगरपालिका विकास निर्माणमा केन्द्रित

झापा– झापाको बिर्तामोड नगरपालिकाले नगरको विकास निर्माणमा आफूलाई केन्द्रित गरेको

गायक रवि ओडले गरे आत्मसमर्पण

काठमाडौं– वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण

साउदी प्रो लिग : अल हिलाललाई उपाधि

काठमाडौं– साउदी प्रो लिगको उपाधि अल हिलालले जितेको छ ।

स्पेनिस ला लिगा : रियल मड्रिडको फराकिलो जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा उपाधि पक्का गरिसकेको रियल मड्रिडले