आज कार्तिक २३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर ९, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
इजरायलद्वारा गाजा क्षेत्रमा हमला, ३० भन्दा बढीको मृत्यु
इजरायलको पछिल्लो हमलामा गाजापट्टीका जबलिया, साबरा र खान युनिसमा दर्जनौँ मानिस मारिएका छन् ।
प्यालेस्टिनी समाचार एजेन्सी वाफाले आज बिहान उत्तरी गाजाको जबलियामा इजरायली बमबारीमा महिला र बालबालिकासहित कम्तीमा ३० प्यालेस्टाइनीको मृत्यु भएको जानकारी दिएको छ।
समाचार अनुसार शरणार्थी शिविरमा रहेका दुईवटा आवासीय भवनलाई ध्वस्त पार्ने क्रममा भएको सो आक्रमणमा दर्जनौँ घाइते भएका छन् ।
वाफाको रिपोर्ट अनुसार इजरायली विमानले जबलियाको अल–यमन अल–सईद अस्पतालको छेउमा एक नागरिक कारलाई निशाना बनाएको थियो, जसमा १९ व्यक्तिको मृत्यु भएको थियो ।
जबलियाको एक घरमा बम बिष्फोट भएपछि थप पाँच जनाको शव इन्डोनेसियाली अस्पताल र दुई जनाको कमल अडवान अस्पतालमा लगिएको थियो ।
यस्तै, गाजाको पश्चिमी भागमा रहेको अल–सब्रामा पनि कम्तीमा आठ जनाको मृत्यु भएको बताइएको छ।
यसैबीच, खान युनिसको पूर्वमा रहेको बानी सुहैला सहरमा रहेको अबु तैम परिवारको घरमा छुट्टाछुट्टै आक्रमणमा एक बालकसहित १० जनाको मृत्यु भएको छ ।
बङ्गलादेशमा तयारी पोशाक श्रमिकमाथि प्रहरीद्वारा अश्रुग्यास प्रहार
सरकारले प्रस्ताव गरेको पारिश्रमिक वृद्धिलाई अस्वीकार गर्ने तयारी पोशाक श्रमिकको विरोध प्रदर्शनमा हिंसा भड्किएपछि बङ्गलादेश प्रहरीले बिहीबार रबरको गोली र अश्रुग्यास प्रहार गरेको अधिकारी र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
सरकारले नियुक्त गरेको प्यानलले मङ्गलबार मुलुकको तयारी पोशाक कारखानाका ४० लाख श्रमिकका लागि पारिश्रमिकमा ५६ दशमलव २५ प्रतिशतले वृद्धि गरेको थियो । श्रमिकहरूले भने आफ्नो मासिक पारिश्रमिकमा करिब तीन गुणाले वृद्धि गर्नुपर्ने माग गरिरहेका छन् ।
बङ्गलादेशको तीन हजार पाँच सय तयारी पोशाक कारखानाले मुलुकको ५५ अर्ब अमेरिकी डलरको वार्षिक निर्यातमा करिब ८५ प्रतिशत योगदान गर्दछन् । यी कारखानाले लेभी, जारा र एच एन्ड एमलगायत विश्वका थुप्रै शीर्ष ब्रान्डहरूलाई तयारी पोशाक आपूर्ति गर्दछन् ।
तर यो क्षेत्रका ४० लाख श्रमिकमध्ये धेरैको स्थिति दयनीय छ । यिनीहरूमा अधिकांश महिला छन् र उनीहरूको मासिक पारिश्रमिक आठ हजार तीन सय टाका ९७५ अमेरिकी डलर० बाट सुरु हुन्छ ।
एक हजारभन्दा बढी श्रमिकले प्यानलको प्रस्तावलाई अस्वीकार गर्दै एउटा राजमार्गमा विरोध प्रदर्शन गरेपछि राजधानी ढाकाबाहिरको औद्योगिक सहर गाजिपुरमा हिंसा भड्किएको प्रहरीले जनाएको छ ।
‘श्रमिकहरूले सडक अवरुद्ध गर्ने प्रयास गरेपछि हामीले उनीहरूलाई तितरबितर गर्न अश्रुग्यास र रबरको गोली प्रयोग गर्नुपर्यो’, घटनास्थलमा रहेका एएफपीका संवाददातालाई गाजिपुरका प्रहरी उपप्रमुख अशोककुमार पालले भने । श्रमिकहरूले अधिकारीहरूमाथि इँटा र ढुङ्गा प्रहार गरेको र सडकमा आगो लगाएको प्रहरीले जनाएको छ ।
श्रमिकहरूले २३ हजार टाकासम्म पारिश्रमिक वृद्धिको माग गरिरहेका छन् र उनीहरूको प्रतिनिधित्व गर्ने युनियनहरूले प्यानलको वृद्धि प्रस्तावलाई ‘हास्यास्पद’ भन्दै अस्वीकार गरेका छन् । उत्तरी ढाकाको उपनगर अशुलियामा पनि कयौँ हजार श्रमिकले कारखाना छोडेको प्रहरीले बताएको छ ।
गत साता प्रमुख औद्योगिक सहरहरूमा पारिश्रमिकसम्बन्धी विरोध प्रदर्शन सुरु भएपछि कम्तीमा तीन श्रमिकको मृत्यु भएको प्रहरीले बताएको छ । तीमध्ये बुधबार २३ वर्षीया एक महिलाको गोली हानी हत्या गरिएको थियो । विरोध प्रदर्शनमा कम्तीमा पाँच प्रहरी अधिकारी पनि घाइते भएका छन् ।
युनियनहरूले प्यानलको पारिश्रमिक वृद्धि खाना, घरभाडा र छोराछोरीको शिक्षा तथा हेरचाहको बढ्दो मूल्यअनुसार नभएको बताएका छन् ।
सिरियामा अमेरिकी हवाई आक्रमणमा नौ जनाको मृत्यु
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकु मारिएका छन् ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जोरमा रहेको सैन्य स्थल र हतियार डिपोमा आक्रमण गरेका कारण गम्भीर घाइते भएका लडाकुको सङ्ख्या अझै धेरै रहेको कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्नेछ ।
पेन्टागनले इराक र सिरियामा अमेरिकी सैनिकमाथि भएको आक्रमणको जवाफमा अमेरिकी सेनाले पूर्वी सिरियाको एक क्षेत्रमा ‘आत्मरक्षाका लागि हवाई आक्रमण’ गरेको जनाएको छ ।
जलवायु वार्तामा अमेरिकासँग सकारात्मक परिणाम आएको छ : चीन
चीनले दुबईमा कोप २८ शिखर सम्मेलन हुनुभन्दा पहिला क्यालिफोर्नियामा अमेरिकासँग भएको जलवायुसम्बन्धी वार्तामा ‘सकारात्मक परिणाम’ आएको बिहीबार बताएको छ । चीन र अमेरिका विश्वका सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुक हुन् ।
बेइजिङको पारिस्थितिकीय तथा पर्यावरण मन्त्रालयका अनुसार अमेरिकी जलवायु दूत जोन केरी र उनका चिनियाँ समकक्षी झि झेनहुवाबीच बुधबार भएको कुराकानी ‘सफलतापूर्वक सम्पन्न’ भएको छ ।
‘दुवै पक्ष विचारहरूको विस्तृत र गहिरो आदानप्रदानमा संलग्न रहे र द्विपक्षीय जलवायु परिवर्तन सहयोग र कार्यको विकासमा सकारात्मक परिणाम हासिल गरे’, मन्त्रालयले भनेको छ, ‘बेइजिङ र वासिङ्टन कोप २८ सम्मेलनको सफलताका लागि संयुक्तरूपमा प्रयास गर्न सहमत भएका छन् ।’
कोप २८ शिखर सम्मेलनका लागि मुलुकहरू यसै महिनाको अन्त्यमा संयुक्त अरब इमिरेट्समा भेला हुनेछन् । विश्वव्यापी तापक्रमलाई सीमित गर्नका लागि आम सहमति बनाउनु शिखर सम्मेलनको उद्देश्य रहेको छ । विश्वमा सबैभन्दा धेरै हरितगृह ग्यास उत्सर्जक चीनले सन् २०३० सम्ममा कार्बनडाइअक्साइडको अधिकतम उत्सर्जन गर्ने र सन् २०६० सम्ममा कार्बन तटस्थ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
उक्त प्रतिबद्धताले आफ्नो लक्ष्यलाई अधिक महत्त्वाकांक्षी बनाउन सक्छ भन्ने पश्चिमी कूटनीतिज्ञहरूको सुझावलाई चीनले खारेज गरेको छ । बेइजिङको पर्यावरण मन्त्रालयले धेरै शक्तिशाली हरितगृह ग्यास मिथेनको उत्सर्जनलाई रोक्नका लागि एउटा व्यापक तर अस्पष्ट योजना सुरु गरेको मंगलबार बताएको छ ।
उक्त योजनाले उसको उत्सर्जनलाई कम गर्नका लागि कुनै विशिष्ट लक्ष्य दिएको छैन ।
क्षयरोग तथा मृत्युदर घटाउने भारतको सफलता डब्लुएचओद्वारा स्वीकार
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सन् २०१५ देखि लागू भएको क्षयरोगका घटना तथा मृत्युदर कम गर्ने प्रयासमा भारतले गरेको सफलतालाई स्वीकार गरेको भारतको स्वास्थ्य मन्त्रालयले बुधबार बताएको छ ।
‘भारतको प्रयासका कारण सन् २०२२ मा (सन् २०१५ देखि) क्षयरोगको घटनामा १६ प्रतिशत कमी आएको छ, यो वैश्विक क्षयरोगका घटनामा भएको गिरावट (आठ दशमलव सात प्रतिशत) भन्दा करिब दुई गुणा हो। यस अवधिमा भारत र वैश्विकस्तरमा क्षयरोगबाट हुने मृत्युदर पनि १८ प्रतिशतले घटेको छ’, मन्त्रालयले भनेको छ, ‘डब्लुएचओले सन् २०२१ मा चार लाख ९४ हजारबाट सन् २०२२ मा तीन लाख ३१ हजारमा क्षयरोगको मृत्युदरलाई ३४ प्रतिशतभन्दा बढीले घटाएर संशोधन गरेको छ ।’
डब्लुएचओले मङ्गलबार आफ्नो ग्लोबल क्षयरोग रिपोर्ट २०२३ जारी गर्दै भारतमा क्षयरोगको मामिला पत्ता लगाउने सुधारमा ठूलो प्रगति गरेको बताएको छ ।
‘अनुमानित क्षयरोग मामिलाको उपचार बढेर ८० प्रतिशत भएको छ, यो गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो’, मन्त्रालयले भनेको छ, ‘भारतले राष्ट्रिय स्वास्थ्य मिसनको तत्वावधानमा लागू गरिएको राष्ट्रिय क्षयरोग उन्मूलन कार्यक्रममा थप लगानी गरेर क्षयरोग उन्मूलन प्रयासहरूलाई प्राथमिकता दिनका लागि साहसिक कदम चालेको छ ।’
युरोपेली सङ्घसँग सदस्यता वार्ताका लागि सिफारिसको युक्रेनद्वारा स्वागत
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घ (इयु) मा समावेश हुने विषयमा युक्रेनसँग कुराकानी सुरु गर्ने युरोपेली आयोगको सिफारिसको स्वागत गरेका छन् ।
‘यो एउटा बलियो र ऐतिहासिक कदम हो जसले युक्रेनलाई सदस्यका रूपमा सुदृढ युरोपेली सङ्घमा सदस्यतालाई मार्ग प्रशस्त गर्दछ’, उनले सामाजिक सञ्जाल एक्समा भनेका छन् ।
उनले युक्रेनसँग सदस्यतासम्बन्धी वार्ता सुरु गर्ने कि नगर्ने भन्नेबारे किएभले डिसेम्बरमा युरोपेली परिषद्को निर्णयको प्रतीक्षा गरिरहेको बताए । आफ्नो देशमा सुधार प्रक्रिया जारी रहेको उनको भनाइ थियो ।
यसअघि युरोपेली आयोगले युरोपेली परिषद्लाई युक्रेनसँग वार्ता गर्न र युक्रेनले केही प्रमुख उपायहरू अपनाएपछि कुराकानीको रूपरेखा अपनाउन सिफारिस गरेको थियो ।
सन् २०२२ जुनमा युरोपेली सङ्घले युक्रेनलाई सदस्यताका लागि एउटा उम्मेदवारका रूपमा स्वीकार गरेको थियो ।
प्रतिक्रिया