विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

आज जेठ २७, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून १०, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

फ्रान्समा छुरा प्रहार गर्ने संदिग्धमाथि ’हत्याको प्रयास’ को अभियोग दर्ता

फ्रान्सको अल्पाइन शहर एनेसीमा चार बालबालिकासहित छ जनालाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका सिरियाली शरणार्थीमाथि ‘हत्याको प्रयास’ को अभियोग लगाइएको अभियोजकले बताएका छन् ।

सरकारी अभियोजक लाइन बोनट–म्याथिसले एक पत्रकार सम्मेलनमा भने, “अब्दलमासिह एचले ४८ घण्टा प्रहरी हिरासतमा रहँदा र अनुसन्धानको नेतृत्व गरिरहेका म्याजिस्ट्रेटसमक्ष बोल्न अस्वीकार गरेका थिए ।”

उनले भने,“दुई मनोवैज्ञानिक परीक्षण पछि चिकित्सकहरूले अब्दलमासिह एचले ‘पुलिस हिरासतमा दिएको वयानसँग मिल्दोजुल्दो रिपोर्ट अर्थात् आक्रमणकारी झुक्किएर आक्रमण नगरेको निष्कर्ष निकालेका छन् ।”

यद्यपि, यो चरणमा अन्य मनोवैज्ञानिक विकृतिहरूको निदान वा अस्वीकार गर्न धेरै चाँडो हुने उनले बताए ।

टोकियोको हानेदा विमानस्थलमा दुईवटा विमान एकआपसमा ठोक्किए

जापानको राजधानी टोकियोमा रहेको हानेदा विमानस्थलमा दुई वटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन् ।

स्थानीय समयअनुसार बिहान ११ बजे थाइल्याण्डको राजधानी बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेदा विमानस्थलको धावनमार्गमा ठोक्किएको देखिएको स्थानीय सञ्चारमाध्यमले विमानस्थल स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेका छन् ।

राष्ट्रिय प्रसारक एनएचकेका अनुसार दुर्घटनाबाट थाई एयरवेजको विमानको पखेटाको भाग भाँचिएको छ । विमानस्थलले दुर्घटनास्थल नजिकैको धावनमार्ग बन्द गरेको छ ।

विमानस्थलबाट कतिपय आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू ढिला भएका छन् ।

बाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताएका छन् ।

एआरवाई न्युजले जनाएअनुसार पाकिस्तानी प्रधानमन्त्रीले आर्थिक विधेयक २०२३/२४ को स्वीकृतिका लागि बोलाइएको बैठकलाई सम्बोधन गर्दै यसबारे जनाकारी गराएका हुन् ।

प्रधानमन्त्रीले अर्थतन्त्रमा देखिएको समस्या पुरानै भएको बताउँदै आफू सत्तामा आएपछि चीनले पाकिस्तानलाई आर्थिक समस्या समाधान गर्न मद्दत गरेको पनि उल्लेख गरेका छन् ।

एआरवाई न्युजका अनुसार चीन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले पाकिस्तानलाई सहयोग गरेको र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ लाई रोकिएको ऋण कार्यक्रमको पुनरुत्थानको आश्वासन दिइएको पनि जनाएका छन् ।

कोषका प्रमुखसँग एक घण्टा लामो टेलिफोन वार्तामा प्रधानमन्त्री शहबाज सरिफले आईएमएफसँगको नवौं समीक्षा जुलाई महिनामा सम्पन्न हुने कुरा दोहोर्याएका छन् । पाकिस्तानको राजनीतिक अस्थिरताबारे टिप्पणी गर्दै उनले राजनीतिक अस्थिरता अन्त्य नगरी आर्थिक विकास सम्भव नहुने पनि बताएका छन् ।

पूर्ववर्ती सरकारको गलत प्रतिबद्धताका कारण आईएमएफले पाकिस्तानलाई विश्वास नगरेको उनको बुझाइ छ । बढ्दो मुद्रास्फीतिले सर्वसाधारणको पीडा थपिएको पनि प्रधानमन्त्रीले स्वीकार गरेका छन् । गठबन्धन सरकारका नीतिहरूका कारण यो आर्थिक समस्या देकिएको भन्दै प्रधानमन्त्री शहबाज शरीफले आगामी दिनहरूमा स्थितिमा सुधार आउने बताएका छन् ।

हिंसाले बदनाम जम्मु कश्मीरको श्रीनगर सभा, सम्मेलनबाट सुनाम कमाउने प्रयासमा

कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको भारत प्रशासित जम्मु कश्मीरको राजधानी श्रीनगर अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका सभा सम्मेलन आयोजना केन्द्रका रुपमा रुपान्तरण हुन थालेको छ ।

युरोपेली सङ्घ, औद्योगिक एवम् विकासोन्मुख राष्ट्रसहित विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका २० देश मिलेर बनेको अन्तरसरकारी मञ्च जी २० को अन्तर्राष्ट्रियस्तरको सम्मेलन हालै श्रीनगरमा सफलतापूर्वक सम्पन्न भएपछि अन्य सभा सम्मेलन पनि हुन थालेका छन् ।

राज्य सरकारका अनुसार त्यहाँ आगामी असार १४ देखि १८ गतेसम्म कानूनी सेवासम्बन्धी राष्ट्रियस्तरको सम्मेलन पनि हुने भएको छ । देशभरका उच्च अदालतका दुई सय न्यायाधीश पहिलोपटक आयोजना गरिएको यस्तो सम्मेलनमा सहभागी हुन श्रीनगरमा भेला हुने भएका छन् ।

गत मेमा यस्तै प्रकृतिको राष्ट्रिय सम्मेलन र हालै मञ्च जी २० को बैठक सफलतापूर्वक सम्पन्न भएपछि विगतमा हिंसाले धुमिल पारेको श्रीनगरको छवि पुनःस्थापना गर्न पनि कानूनी सेवासम्बन्धी राष्ट्रिय सम्मेलन श्रीनगरमा आयोजना गर्ने निर्णय भएको अधिकारीहरूले बताएका छन् ।

सम्मेलनमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश डी वाई चन्द्रचुड, केन्द्रीय कानून तथा न्याय राज्यमन्त्री अर्जुनराम मेधवालसहित दुई सय जनाभन्दा बढी न्यायधीश, कानून र न्याय क्षेत्रका प्रवुद्ध व्यक्तिले भाग लिने जम्मु कश्मीर कानूनी सेवा प्राधिकरणले बताएको छ ।

जम्मु कश्मीर र लद्दाख उच्च न्यायालयका प्रधानन्यायाधीशको संरक्षकत्वमा रहेको उक्त प्राधिकरण र केन्द्रीय कानूनी सेवा प्राधिकरणका पदाधिकारी सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खटेका छन् ।

सम्मेलनका सारतत्व र विषयगत एवम् प्राविधिक पक्षमा त्रुटि हुन नदिन विषय विज्ञ र जानकार अधिकारी एवम् कर्मचारी परिचालन गरिएको छ ।

हरेक विवादको सौहार्दपूर्ण समाधान गर्न तथा समाजका कमजोर वर्गलाई निःशुल्क कानूनी सेवा उपलब्ध गराउने उद्देश्यले कानूनी सेवा प्राधिकरण ऐनअन्तर्गत सन् १९८७ मा राष्ट्रिय कानूनी सेवा प्राधिकरण स्थापना भएको हो ।

कानून र न्यायमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले प्राधिकरणलाई स्वायत्तता प्रदान गरेको छ ।

कोलम्बियाको जंगलमा हराएका बालबालिकाको ४० दिनपछि उद्धार

विमान दुर्घटना परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जंगलमा ४० दिनपछि जीवितै फेला परेका छन् ।

ती चार बालबालिकालाई बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्‍याइएको छ ।

बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (०५३० जिएमटी) मा सैन्य विमानस्थलमा अवतरण भएको हो ।
बच्चाहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको छ ।

गोप्य कागजात प्रकरण : दोषी ठहरिए ट्रम्पलाई २० वर्ष जेल

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘मार ए लागो कागजात प्रकरण’ मा दोषी ठहरिए २० वर्ष जेल सजाय हुने भएको छ ।

संघीय अभियोजकहरूबाट उनलाई गैरकानूनी रूपमा अमेरिकी आणविक र रक्षा कार्यक्रमहरूमा शीर्ष गोप्य फाइलहरू राखेको आरोप लगाइएको छ । अभियोग पुष्टि भएमा उनलाई २० वर्षको जेल सजाय हुनेछ ।

न्याय विभागले लगाएको अभियोग अनुसार ट्रम्पले जनवरी २०२१ मा ह्वाइट हाउस छोड्दा पेन्टागन, सीआईए, राष्ट्रिय सुरक्षा एजेन्सी र अन्य गुप्तचर एजेन्सीहरूबाट गोप्य कागजातहरू लिएर गए ।

फ्लोरिडाको संघीय अदालतमा दायर गरिएको अभियोग अनुसार, ट्रम्पले फ्लोरिडाको ‘मार ए लागो’ निवासको क्लबमा ती गोप्य दस्तावेजहरू असुरक्षित रूपमा राखेको र नियमित रूपमा हजारौं पाहुनाहरूसँग ठूला सामाजिक कार्यक्रमहरू आयोजना गर्ने गरेका थिए ।

कम्तिमा दुई अवसरहरूमा उनले अमेरिकी सैन्य अपरेसनहरूको कागजातसमेत अरूलाई देखाएका थिए । ट्रम्पले अमेरिकाका भावी योजनाहरूका गोप्य कागजातहरू देखाएर राज्य विररूद्ध अपराध गरेको अभियोग पत्रमा उल्लेख छ ।

अभियोगमा अगाडि भनिएको छ, ‘ट्रम्पले लिएर गएका गोप्य कागजातहरूमा संयुक्त राज्य अमेरिका र विदेशी रक्षा नीति र हतियार क्षमताहरू, संयुक्त राज्यको आणविक कार्यक्रम, संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूको सैन्य आक्रमणको सम्भावित कमजोरीहरू र प्रतिक्रियामा सम्भावित प्रतिशोधको योजनाहरू समावेश छन्।’

सो कागजातहरूमा विदेश आक्रमणका योजनाहरू पनि समावेश रहेका छन् । अभियोगमा भनिएको छ, ‘यी गोप्य कागजातहरूको अनधिकृत खुलासाले अमेरिकाको राष्ट्रिय सुरक्षालाई जोखिममा पार्न सक्छ।’

जसका कारणा ट्रम्पमाथि राष्ट्रिय प्रतिरक्षा सूचना जानीजानी लुकाउने, न्यायमा बाधा पुर्‍याउने षड्यन्त्र, कागजपत्र लुकाउने र गलत बयान दिनेलगायत ३७ वटा मुद्दामा अभियोग लगाइएको छ ।

न्याय विभागका विशेष सल्लाहकार ज्याक स्मिथले दायर गरेको आरोपमा प्रत्येक गणनामा २० वर्षसम्मको जेल सजायको माग गरिएको छ ।

यसैगरी, ट्रम्पका सहयोगी वाल्ट नाउटामाथि ट्रम्पलाई कागजात लुकाउन सहयोग गरेको ६ वटा आरोप लगाइएको छ ।

भारतीय मूलका थर्मन सिंगापुरमा राष्ट्रपति चुनाव लड्ने

सिंगापुरका भारतीय मूलका वरिष्ठ मन्त्री थर्मन शान्मुगररत्नमले बिहीबार यस वर्ष हुन लागेको राष्ट्रपति चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

थर्मनले २२ वर्षपछि सक्रिय राजनीतिबाट सन्यास लिने निर्णय गरेको पनि जनाएका छन्। राष्ट्रपति निर्वाचनको तयारीका लागि सत्तारुढ पिपुल्स एक्सन पार्टी (पीएपी) बाट पनि राजीनामा दिन चाहेकोसमेत खुलाएका छन्।

उनले सक्रिय राजनीतिबाट पछि हट्ने र सरकारमा रहेका आफ्ना सबै पद त्यागेर राष्ट्रपतिको चुनाव लड्ने जानकारी प्रधानमन्त्री ली सिएन लुङलाई गर्राइसकेकका छन्।

सिङ्गापुरमा सेप्टेम्बर १३ सम्ममा राष्ट्रपतिको निर्वाचन हुँदैछ। ६६ वर्षीय थर्मन पहिलो पटक सन् २००१ मा जुरोङ समूह प्रतिनिधि निर्वाचन क्षेत्र (जुरोङ जीआरसी) बाट संसद सदस्यमा निर्वाचित भएका थिए। थर्मनले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो निर्णयबारे जानकारी गराएका हुन्।

च्यानल न्यूज एशियाका अनुसार थर्मनले सिंगापुरको मौद्रिक प्राधिकरण (एमएएस) को अध्यक्ष, जीआईसीको उपाध्यक्ष, आर्थिक विकास बोर्डको अन्तर्राष्ट्रिय सल्लाहकार परिषद्को अध्यक्ष र अन्य जिम्मेवारीहरू त्याग्ने जानकारी गराइसकेका छन्।

उनले आफ्नो पत्रमा भनेका छन्, ‘यो कठिन निर्णय भएको छ, मैले मेरो परिवारसँग परामर्श गरेको छु र आगामी वर्षहरूमा कसरी देशको सेवा गर्न सकिन्छ भन्ने गम्भीरतापूर्वक सोचेको छु।
प्रधानमन्त्री लीले आफ्नो निर्णय बुझेको समेत उनले बताए। आफ्नो जिम्मेवारी पूर्ण निष्ठाका साथ निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ।

लामो समयदेखि उपप्रधानमन्त्री, अर्थमन्त्री र शिक्षामन्त्रीको रूपमा सेवा गरिसकेका थर्मन सन् २०१९ को मेदेखि वरिष्ठ मन्त्री छन्। उनी सामाजिक नीति संयोजक मन्त्री हुनुका साथै आर्थिक नीतिका बारेमा प्रधानमन्त्रीलाई सल्लाह दिनेसमेत गर्छन्।

विश्वव्यापी मञ्चमा, थर्मन ग्लोबल फाइनान्सियल गभर्नेन्समा प्रख्यात व्यक्ति समूहका अध्यक्ष हुन्। उनी अन्तर्राष्ट्रिय मुद्रा तथा वित्तीय समितिको पहिलो एसियाली अध्यक्ष पनि हुन्।

राष्ट्रपति हलिमाह याकुबले मे २९ मा आफूले दोस्रो कार्यकाल राष्ट्रपतिको रूपमा नखोज्ने घोषणा गरेकी थिइन्। याकुब (६८) देशको आठौं राष्ट्रपति र पहिलो महिला राष्ट्रपति हुन्। उनको ६ वर्षे कार्यकाल यही वर्ष सेप्टेम्बर १३ मा सकिँदैछ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ८ : ०३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०