नेताले देश खोक्रो बनाए | Khabarhub Khabarhub

नेताले देश खोक्रो बनाए

‘राप्रपाको तर्क शासन जनताले गर्ने अभिभावक राजा बनाउने हो’



पछिल्लो समयमा राजनीतिक नेतृत्व युवा पुस्ताको निशानमा पर्न थालेको छ। केही समय अगाडि एउटा कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालमाथि हमलाको प्रयास भयो। पछिल्लो समय नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि पनि एउटा सार्वजनिक कार्यक्रमबाट बाहिरिँदै गर्दा खुकुरी प्रहार भएको छ। नागरिकहरूमा राजनीतिक पार्टी वा नेता प्रतिको यस्तो आक्रोश र वितृष्णा किन व्यक्त भएको हो ? देश कता गइरहेको छ ? पुराना राजनीतिज्ञ अर्थ एवम् परराष्ट्रविद् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

अहिलेको राजनीतिक नेतृत्वविरुद्ध आक्रमण भइरहेको छ। यो परिस्थिति किन बन्यो ?
केही वर्ष अगाडि प्रख्यात अमेरिकी सिनेमा बुढाहरुको लागि यो देश होइन भनेर बनेको थियो। तर अहिले नेपालको हकमा युवाहरूको लागि यो देश होइन जस्तो भएको छ। किनभने नेपालका ६ लाख बढी युवा हरेक वर्ष यो देशमा काम नपाएर विदेश जान बाध्य छन्। परिवार पाल्न नसेकेर बाध्य भएर २० वा २५ हजारको लागि मध्यपूर्वमा गएर संघर्ष गर्न बाध्य भएका छन्। पढे लेखेका केही युवा स्वदेश फर्किए पनि एक तिहाइ युवा नेपाल छोडेरै जान्छन्। त्यो एक तिहाइमा पनि मध्यम वर्गीय परिवारका छोराछोरी युरोप, अमेरिका गएका छन्। यी राष्ट्र जानेमा उपसचिव, सहसचिव, व्यापारी र प्राध्यापकका छोराछोरी छन्।

देशको लागि बौद्धिक काम गर्ने मानिस पनि बाहिर नै गएका छन्। पाखुरा खियाएर काम गर्ने पनि विदेश नै गएका छन्। अब भन्नुहोस् यो देश कसरी युवाहरूको भयो त ?
जो यहाँ बसेर काम गर्ने छन्। उनीहरू पनि १२ वा एसएलसी पढेका छन्। कृषिमा काम गर्ने चलन नै हराइसक्यो। उनीहरू पनि कति बाध्य भएर भारतमा जान्छन्। त्यहाँ गएर चौकीदारी गर्छन्। यहाँ विकासको लागि काम गर्ने श्रम गर्ने वर्ग जुन हो त्यो वर्ग नेपालमा नभएर विदेशमा लागिरहेका छन्।

यहाँको अलिकति राम्रो तलब हुने काममा विदेशीहरू आउने चलन बढेको छ। नेपालीलाई सीप सिकाउने व्यवस्था सरकारले गर्न सकेको छैन। उनीहरू आफ्नो पाखुरा मात्र लिएर विदेशमा गएर तल्लो स्तरको श्रम र जोखिम काम गर्न बाध्य छन्। सरकारले उपयुक्त नीति बनाउन नसक्दा यो देशका युवाले दुःख पाएका छन्। युवाहरूको देश हुँदैन भने त्यो देशमा उत्पादन बढ्न सक्दैन। नेपालमा जस्तै निराशा बढेर जान्छ। त्यस कारण जो यहाँ बसेका छन् उनीहरूमा आक्रोश सिर्जना भएको छ।

अब हामीले प्रणालीलाई दोषी दिने कि नेतृत्वलाई ?
प्रणालीलाई सञ्चालन गर्ने भनेको मान्छे नै हो। एउटा घर बनाउँदा त्यसलाई कसरी सजाउने वा सञ्चालन गर्ने भन्ने त त्यही घरको मान्छेले गर्ने हो। संविधान भनेको एउटा संरचना बनेको हो। कतिपय कुरामा हाम्रो नै असहमति छ। तर त्यो संरचनालाई मान्यता दिएर त्यसअन्तर्गत काम गर्न तयार हो कि होइन ? त्यसलाई जथाभावी प्रयोग गर्ने आफ्ना मान्छेलाई मात्र काम गर्न दिने हो भने न्याय हुँदैन। अन्यायविरुद्धमा मान्छे उत्रिन्छन्।

सवारी साधन ठिक हो, हाम्रा चालक खराब भए भन्न खोज्नुभएको हो ?
हो। नेपालमा २००७ सालपछि नेतृत्व गर्न एउटा पुस्ता आयो। यो साह्रै नै नमनयोग्य पुस्ता थियो। जस्तो टंकप्रसाद आचार्य, विश्वेश्वरप्रसाद कोइराला, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतका केही मूल्य मान्यता आदर्श बोकेका नेता थिए । त्यसपछि ४६ सालपछि आदर्श केही नभएको जस्तो देखियो। जसरी हुन्छ सत्तामा गएर त्यसको फाइदा आफू र आफ्ना वरिपरिकालाई दिलाउने स्वार्थी नेताको झुण्ड मात्र देखियो र। त्यसैको फाइदा सीमित वर्गलाई मात्र भयो। जो पैसाले गर्दा जनतालाई किनेर आउने वा जनताको भोट किनेर ल्याउने मात्र भए। त्यसपछि सत्ता सीमित मान्छेको हातमा हुने र जनताबाट आएको जनमतलाई दुरुपयोग गर्ने पुस्ता आयो। सत्तामा बसेर उहाँहरूले म प्रधानमन्त्री यति पटक भए भनेर गर्व गर्नेबाहेक केही गर्नुभएको छैन। त्यस कारण यो नालायक नेतृत्व हो।

यस्तो नालायक नेतृत्वबाट भोलिको दिनमा के आशा गर्छौँ ?
यो धेरै चिन्ताको विषय छ। किनभने जस्तो माओवादीको कुरा गर्दा पनि एक पटक उहाँहरू एउटा आदर्श नै लिएर आएको हो। ठिक बेठिक जे भने पनि एउटा सिद्धान्त माक्सवादी, लेलिनवादी, माओवादी भन्ने सिद्धान्त लिएर आउनुभएको हो। यो सिद्धान्तको जगमा धेरैलाई संगठित पनि गरेको हो। त्यो आदर्श लिएर आफ्नो ज्यानै जोखिममा पारेका मान्छेहरू सत्तामा पुगेपछि कसरी बिग्रिए ? सत्ता पाएपछि आदर्श पनि गयो, माक्सवाद भन्ने त अब अपवादमा परिणत भयो। भएका हतियार पनि खोलाले बगाएर लग्यो।

माक्सवादले लेनिनवादले सत्ता सबै भन्दा महत्त्वपूर्ण हो है भन्ने सिकायो। सत्ताका लागि पैसा जसरी पनि कमाउनुपर्छ भन्ने सिकायो। यसले गर्दा माओवादी र सत्तामा पुगेका अनैतिक काममा लागे। मान्छे बेच्नेदेखि सुन बेच्नसम्म लागि परे। २५ वर्षको उमेरमा नै उसलाई करोडपति हुनुपर्ने ! देशको कानुन चोरेर सुन ल्याउनुपर्ने वा नेपालीलाई विदेशी बनाएर बेच्ने मान्यता उनीहरूले सिकाएर नयाँ पुस्तामा आयो। त्यसकारण यिनिहरुले नयाँ पुस्तालाई नै भ्रष्ट बनाइसकेका छन्।

तल्लो तहको श्रमिक वर्गको कुरा गर्ने नेतृत्व नै यस्तो छ भने अब हामीले यो प्रणाली भित्रबाट कस्तो राजनीतिको अपेक्षा गर्ने ?
देशमा यही वर्गबाट शासन भएर गयो भने अशान्ति हुन्छ। देश खोक्रो भएर जान्छ। अहिले पनि खोर्को भएर गएको छ। जसले गर्दा विदेशीको हस्तक्षेप बढिरहेको छ। नेपाल अन्तर्राष्ट्रिय असन्तुलन छ। विश्व शक्ति संरचनामा शक्ति राष्ट्रहरुको द्वन्द्वको घानमा नेपाल परिसकेको छ। त्यसमा सन्तुलन आएको छैन। जस्तो विश्वयुद्धमा एउटा सन्तुलन थियो। शित युद्धमा रुस र अमेरिकाको बीचमा शक्ति राष्ट्र भए पनि एउटा हाम्रो व्यवहार यो परिधिभित्र रहन्छ भन्ने थियो। अहिले त त्यो परिधि तोकिएको छैन। चीन भर्खरै आइरहेको छ। परिधि निर्माण हुनै सकेको छैन। त्यसैले यो ८/१० वर्षमा संसार असन्तुलित भएर जान्छ। त्यो असन्तुलन हुनेक्रममा त्यसको केन्द्र शक्तिको हिसाबमा नेपालमा आउँछ कि भन्ने डर हो। त्यो भयो भने विद्रोह हुन्छ।

नेपाल नै रहन्छ या रहँदैन भन्ने हुन्छ। यो कुरालाई अहिले नेतृत्वमा रहेकाहरू आफ्नै संसारमा रमाउनु भएको छ। उहाँहरूले सुन्नु भएको छैन। यसको विरोधमा आवाज उठाउने शक्ति आउनुपर्छ र आएका पनि छन्। रास्वपा, बालेन र हामी राप्रपा पनि नयाँ हौं। त्यसैले अब नयाँले पुरानालाई चुनौती दिएर आज कांग्रेस र एमालेको भोट गरेर ६५ प्रतिशत भोट होला भने भोलि त्यसलाई ढालेर अरु पार्टीहरूले लिएर साइडमा ल्याएर प्रजातान्त्रिक विकासलाई अगाडि लिएर जाने पनि बाटो छ।

तपाईं आफूलाई नयाँ शक्ति भन्नुहुन्छ। तर तपाईंहरूको पछाडि फर्किने एजेन्डा लिएर राजनीतिमा उपस्थित हुनुभयो भनेर आलोचित हुनुभएको छ ?
उहाँहरूले आफूलाई अग्रगमन भनिराख्नु भएको छ। के हवाई जहाज ल्याउँदा तीन वटा पार्टी मिलेर घुस खानु अग्रगमन हो ? उहाँहरू कसैलाई अब अग्रगमन प्रतिगमन भन्ने अधिकार नै छैन। उहाँहरू पतित हुने बाटोमा लाग्नु भएको छ। नेपालमा बिपी कोइरालाले पनि नेपालको राष्ट्रियता र नेपालको अस्तित्व रहेन भने शासन गर्ने जनताले तर अभिभावकको रूपमा राजा चाहिन्छ भनेका छन्। अहिलेको जुन परिस्थिति छ विशेषगरी भारत र चीनको बीचमा रहेको सानो राष्ट्र नेपाल त्यसलाई विशिष्ट रूपमा जोगाउने हो।

शासन जनताले गर्ने अभिभावकत्वका रुपमा राजा बनाउने तर्क बिपी कोइरालामा पनि थियो। त्यो तर्क आजको दिनमा नेपाली कांग्रेसले छोड्यो। यसलाई लिएर हिँड्ने पार्टी भनेको राप्रपा हो। हामी वास्तवमा त्यो विषयलाई प्रजातान्त्रिक हिसाबमा अगाडि लैजाने र सन्तुलन कायम गरेर एउटा नैतिक शक्तिको रूपमा रहने हुनुपर्छ कार्यकारी जस्तो रूपमा होइन। राष्ट्रपति भनेको पनि नैतिक शक्ति हो। तर यिनीहरूले त्यो नैतिकता देखाएनन् । हामीले त्यसको खोजी मात्र गरेका छौं।

अब यो एजेन्डा उठाउँदा ३०/३५ वर्षसम्म २४० वर्षसम्म त्यो राजसंस्थाले के गर्यो भनेर राजतन्त्रको भूत बोक्ने भनेर आक्रामण हुन्छ। त्यसको जवाफ दिनु पर्ला नि ?
२४० वर्षसम्म त्यो राजसंस्थाले के गर्यो भनेर इतिहास हेर्दा हुन्छ। यो देशलाई खडा गरेको, नेपालीको पहिचान दिएको राजसंस्थाले नै हो। राजा महेन्द्रको बेलामा नेपालको पहिचान गर्ने काम भयो। त्यो बेलामा नै राष्ट्र बैङ्क आयो, पहिलो योजना आयोग त्यही बेलामा आयो। लोकसेवा आयोग त्यही बेलामा आएको हो। कुनै पनि सामन्ती संस्थाको जड भएको देशमा सञ्चारको विकास हुँदैन। तर नेपालमा सञ्चारको विकास त्यही बेलामा भएको हो। म पञ्चायतमा मान्य हुँदा पनि राजाले शासन लिनु हुँदैन, राजा त पूजा गरेर बस्नुपर्छ शासन गर्ने जनता हुनुपर्छ भनेको हुँ। त्यसको लागि डेढ वर्ष त जेल बसेँ।

जातजातिलाई औपचारिक रूपमा भए पनि विभेद गर्न पाइँदैन भन्ने कुरा त्यही बेलामा आयो। नेपालको परराष्ट्र नीति यति राम्रो थियो। संसारभर लडाइँ गरिरहँदा अमेरिका, रुस, चीन र भारत सबैले नेपाललाई विकास गर्न सहयोग गरेका थिए। विकासको आधार पूर्व पश्चिम राजमार्गका कुरा महेन्द्रको पालामा नै सुरु भएका हुन्। नेपालको विकास कार्यका लागि त्यो बेला धेरै काम भएका हुन्। अहिले भनेको विदेशी मुद्रा खर्च गरेर राजस्व बढेको छ। त्यो कहाँ के को लागि प्रयोग गरियो ? एउटा नयाँ वर्ग खडा गरियो, जसले देशलाई लुटेको छ। त्यो पैसाको सदुपयोग नेपाली जनताको हितमा नगरेर भ्रष्टाचार र लुटतन्त्रमा भइराखेको छ। त्यसलाई अग्रगामी भनिँदैन।

अहिले हामीले नक्सा निकाल्यौँ। सांसदबाट संविधानमा नै संशोधन गरेर राखेको अवस्थामा भारत र चीनले मान्दैन। यो पनि परराष्ट्रसँग जोडिएको प्रश्न हो। यसमा राजनीतिक पार्टीहरूले बहस गरेनन् र परराष्ट्र मन्त्रालयले पनि चासो दिएन। यसलाई हामीले कसरी बुझ्ने हो ?
भारतले चुच्चे नक्सा मानेन, त्यो आफ्नो ठाउँमा छ। हामीले आफ्नो दाबी गर्यौं चीनले पनि मानेन। हाम्रो चुच्चे नक्सा भइसकेपछि औपचारिक रूपमा चीनमा पठाउनुपर्यो नि त्यो पठाएको नै रहेनछ। राष्ट्रसंघमा पनि पुगेको रहेनछ। कति हलुका तरिकाले खाली एउटा आन्तरिक राजनीतिको लागि मात्र काम गरेको ? त्यसको लागि को जिम्मेवार ? नालायक, निकम्मापन भएकाहरु त्यत्ति काम पनि नगर्ने अनि शासन गरेर बस्ने ? चीन थाहा नै छैन भन्छ। फेसबुकमा आएको कुराले मात्र त भएनन्। संसारको चलन नै सम्झौता गर्नुपर्यो भने त कागजमा सही गर्नुपर्यो नि। नेपाल सरकारले नेपालको परराष्ट्र नीतिलाई खोक्रो र असन्तुलित बनाएका छन्।

पृथ्वी नारायण साहले सन्तुलित परराष्ट्र नीति नेपालको जीवन हो भनेका थिए। अहिले त्यो सन्तुलन हामीले कायम गर्न सकेनौँ। खानलाई भान्साको तरकारी चामल सबै बाहिरबाट ल्याउने अवस्था छ। बिजुली बेच्यौ भनेका छौँ तर हिउँदमा उताबाट बिजुली आएन भने अन्धकार हुन्छ। यसरी नै अगाडि बढे छिमेकी देशले अझ हेप्छन्।

तपाईंको राजनीतिक विज्ञताको हिसाबबाट हेर्दा यो असन्तुलन, आक्रोश, असन्तुष्टिको कुनै सीमा होला नि ?
यो गणितीय सूत्र जस्तो यति सीमामा हुन्छ भन्ने हुँदैन। राजनीति भनेको नै मान्छे जोडिएको हुन्छ। मान्छेको कुरालाई सूत्रमा राख्न सकिँदैन। यसलाई रोक्ने अन्तिम शक्ति भनेको जनता नै हो। जसले बेइमान गर्छ त्यसलाई नंग्याउने काम नेपाली जनताले गर्नुपर्छ।

हाम्रो सिभिल सोसाइटीमा निष्पक्ष भएनन् हो ?
सिभिल सोसाइटी कुनै कुरामा बोल्छन्, कुनैमा बोल्दैनन्। हाम्रो देश दरिद्र छ। एउटा संस्था खोलेर विदेशीकै भाषा बोल्न थाल्छन्। उनीहरूले भनेको मानेर बस्छन्। सत्तामा मात्र जाने प्रवृत्ति सत्ताको चास्नीमा घुम्न थाल्यो भने देश र जनता सकियो।

यो सत्ताको चास्नी, पार्टी भित्रको एक खालको समस्याका पनि तपाईंहरूको पार्टीका सन्दर्भमा पनि उठ्यो। अझ आरोप त डा.प्रकाशचन्द्र लोहनीले पार्टी नै फुटाउन लागेको भन्ने पनि छ। पार्टी भित्रको विवाद के हो ?
पार्टी भित्र छलफल हुन्छ। परिवारमा पनि बाबु छोराको विचार फरक हुन्छ। तर हामी यो परिवार हो, निष्कर्षमा पुग्नुपर्छ भनेर जानुपर्छ। राप्रपामा पनि पार्टीलाई बचाएर जानुपर्छ। राष्ट्रको लागि यसको जिम्मेवारी छ। यसलाई एक गराएर लैजानुपर्छ भन्ने कुरामा सबै सहमत छौं।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  १ : १० बजे

बङ्गलादेशबाट आज मात्र ४२० नेपाली विद्यार्थी फर्किए

काठमाडौं – बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका

पाकिस्तानमा पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं – आर्थिक समस्यामा रहेको पाकिस्तानले पेट्रोलियम पदार्थको मूल्य बढाएको

बेनी–दरवाङ सडक १० दिनपछि सञ्चालनमा

म्याग्दी – म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी

पशुपतिमा साउने सोमबारको तयारी पूरा

काठमाडौं – सौरमासअनुसार पहिलो साउने सोमबारको व्रत साउन ७ गते

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

लुम्बिनी – लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको