विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

आज भदौ २४ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १० २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

जी २० शिखर सम्मेलन नयाँ दिल्लीमा सम्पन्न

जी २० को शिखर सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा आज सम्पन्न भएको छ ।

जी २० को अध्यक्षता गरिरहेको देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत मण्डपमा आयोजित समापन समारोहमा समूहको १८ औँ शिखर सम्मेलन समाप्त भएको घोषणा गर्दै नयाँ दिल्ली बैठकको समीक्षा आगामी नोभेम्बरको अन्त्यतिर श्रव्यदृश्य (भर्चुअल) माध्यमबाट गर्ने प्रस्ताव गरेका छन् ।

आगामी नोभेम्बरसम्म भारत समूहको अध्यक्ष रहनेछ । गत वर्ष डिसेम्बर १ मा बालीमा भएको १७ औँ शिखर सम्मेलनमा भारतले समूहको अध्यक्षता ग्रहण गरेको थियो ।

“तपाई सबैलाई ज्ञात छ नोभेम्बर २०२३ सम्म भारत जी २० अध्यक्षको जिम्मेवारीमा छ । यी दुई दिनमा तपाईं सबैले धेरै सुझाव दिनुभयो र प्रस्ताव राख्नुभयो । ती विषयमा कसरी प्रगति गर्न सकिन्छ भनेर समीक्षा गर्नु हाम्रो कर्तव्य हो ।

आगामी नोभेम्बरको अन्त्यमा भर्चुअल बैठकका निम्ति म यहाँ प्रस्ताव गर्न चाहन्छु, आशा छ तपाईहरू त्यसमा सहभागी हुनुहुनेछ । यससँगै जी २० शिखर सम्मेलन समापन भएको घोषणा गर्दछु,” अन्तरराष्ट्रिय आर्थिक सहयोगका लागि प्रस्ताव गरिएका प्रस्तावको समीक्षा आवश्यक भएको बताउँदै प्रधानमन्त्री मोदीले भने ।

दिल्ली शिखर सम्मेलन समाप्त भएको घोषणा गर्नुअघि प्रधानमन्त्री मोदीले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई जी २० को प्रतीकात्मक हथौडीसँगै अध्यक्षता हस्तान्तरण गरे ।

चक्रीय प्रणालीअनुसार जी २० को अध्यक्षता ब्राजिललाई हस्तान्तण गरिएको हो । आगामी डिसेम्बर १ देखि एक वर्षसम्म ब्राजिल समूहको अध्यक्ष हुनेछ । जी २० को १९ औँ शिखर सम्मेलन पनि अब ब्राजिलमा हुनेछ ।

त्यसअघि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो र लुइज इनासियो लुला डा सिल्भाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई विरुवा हस्तान्तरण गरेका थिए ।

जी–२० को १८औँ शिखर सम्मेलनको घोषणापत्र जारी

भारतको नयाँ दिल्लीमा हिजो सुरु भएको जी–२० को १८औँ शिखर सम्मेलनले ‘नयाँदिल्ली लिडर्स घोषणापत्र’ सार्वजनिक गरेको छ ।

सम्मेलनले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर घोषणा गर्नुका साथै युक्रेन युद्ध र जलवायु परिवर्तन सम्बन्धि मत भिन्नतालाई थप नखोतल्ने गरी घोषणापत्र तयार भएको छ ।

घोषणापत्रमा युक्रेनले भोग्नु परेको पीडाप्रति सहानुभूति दर्शाउने तर, रुसको आलोचना नगर्ने नीति अख्तियार गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत, मध्यपूर्व र युरोपलाई जोड्ने आर्थिक करिडोरको काम छिट्टै सुरु हुने बताएको बीबीसीले जनाएको छ ।

यसअन्तर्गत निर्माण हुने रेलवे मार्गबाट भारत र युरोपबीचको व्यापार सहज र छिटो हुने अपेक्षा छ ।

घोषणापत्रलाई रुसले सन्तुलित भनेको छ भने युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले घोषणापत्रमा कडा शब्दहरू समावेश नगरिएको भन्दै निराशा व्यक्त गरेका छन् ।

‘आर्थिक मुद्दासँग सुरक्षा मामिला जोड्नु असान्दर्भिक’

चीनले आर्थिक सहयोग एवं साझेदारीका मुद्दालाई सुरक्षासँग जोड्न नहुने बताएको छ । साथै बेइजिङले विपक्षीहरूलाई असान्दर्भिक र अमान्य विषय नउठाउन आह्वान गरेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा जारी जी २० शिखर सम्मेलनका क्रममा बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग आइतबार बिहान भएको भेटवार्तामा चीनका प्रधानमन्त्रीले ली छ्याङले दुई भिन्न विषयलाई मिसाएर असान्दर्भिक अभ्यासमा लाग्नु श्रेयस्कर नभएको बताए ।

उनले चीन र बेलायतले व्यापार र आर्थिक सहयोगलाई राजनीति र सुरक्षासँग मिसाउने प्रवृत्तिको विरोध गर्नुपर्ने, खुला विश्व अर्थतन्त्रको निर्माणलाई प्रवर्द्धन गर्ने र विश्व व्यापार सङ्गठनको केन्द्रमा रहेको बहुपक्षीय व्यापार प्रणालीलाई संयुक्त रूपमा समर्थन एवं प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

चीन र बेलायत दुवै स्वतन्त्र व्यापारका पक्षपाती, अभ्यासकर्ता र लाभापेक्षी भएकाले पारस्परिक सहकार्य र साझेदारीका निम्ति उनले आफ्ना समकक्षीसँग आह्वान गरेका हुन् ।

सुडानको राजधानी खार्तुममा हवाई हमला : तीस जना मारिए

सुडानको राजधानी खार्तुमको दक्षिणमा इलाकामा आइतबार भएको हवाई आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । घटनामा दर्जनौं घाइते भएको स्थानीय कार्यकर्ताहरूले बताएका छन् ।

सैन्य विमानले कुरो बजार क्षेत्रमा बमबारी गरेको प्रजातन्त्र समर्थक स्थानीय समितिले जनाएको छ । गत अप्रिल १५ मा अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्ससँग युद्ध सुरु भएपछि सरकारी सेनाले नागरिक इलाकाहरूमा समेत आक्रमण गर्दै आएको आरोप उक्त समितिले लगाएको छ ।

सेना प्रमुख अब्देल फताह अल बुर्हानका पूर्वसहायक मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको र्‍यापिड सपोर्ट फोर्स र सुडानी सेनाबीचको युद्ध राजधानी खार्तुम, पश्चिमी क्षेत्र डाफुरदेखि कोर्डोफान र जाजिरा राज्यसम्म फैलिएको छ । युद्धमा परी हजारौँको मृत्यु भएको छ भने लाखौँ पलायन भएका छन् ।

सशस्त्र द्वन्द्वका सम्बन्धमा अनुसन्धान गरिरहेको एक संस्थाका अनुसार हालसम्म पाँच हजारभन्दा बढी सुडानीको मृत्यु भएको छ । यद्यपि मारिनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायहरूले युद्ध चर्केपछि सुडानबाट चार करोड ६० लाख सर्वसाधारण विस्थापित भएका जनाएका छन् ।

युद्धबाहेक अत्यधिक गर्मी, अनियमित विद्युत् आपूर्ति, खाद्यान्न, औषधि र अन्य दैनिक उपभोग्य वस्तुको चरम अभावले सुडानका जनताको जीवन अति कष्टकर भएको छ । केही समयअघि सुडानका लागि संयुक्त राष्ट्रसङ्घका मानव अधिकारविज्ञ राधुआने नुइसरले युद्धको भयावह अवस्थाको चित्रण गर्दै पूरै देशलाई बन्धक बनाइएको बताएका थिए ।

दुई सैन्य निकायबीच शासन सत्ता हत्याउनका लागि सुडानमा द्वन्द्व भइरहेको हो । सुडानमा हाल सेनाप्रमुख बुर्हानले शासन सञ्चालन गरेका छन् । उनले मुलुकको प्रणालीलाई अस्तव्यस्त बनाएको तथा प्रजातन्त्र मासेको भन्दै सशस्त्र बलको नेतृत्व गरेका डग्लो सैनिक शासनविरुद्ध युद्धमा उत्रिएपछि अहिलेको विषम परिस्थिति सृजना भएको हो ।

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

उत्तर अफ्रिकी मुलुक मोरोक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । भूकम्पमा परी अहिलेसम्म २ हजार १०२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मोरोक्कोको माराकेश शहरको दक्षिण पश्चिम क्षेत्रको उच्च पर्वतलाई केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ८ रेक्टरस्केलको भूकम्पले भौतिक संरचनामा ब्यापक क्षति पुर्‍याएकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अल हाउज प्रान्तमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । भूकम्पबाट हजारौं संरचनाहरु ध्वस्त भएका छन् ।

भग्नावशेषमा च्यापिएकाहरुको खोजी तथा उद्धार कार्य जारी छ । भुकम्पमा परी घाइते भएकाहरु मध्ये एकहजार ४०४ जनाकोको अवस्था गम्भीर रहेको जनाइएको छ ।

भूकम्पबाट माराकेश शहरका अधिकांश घरहरु ढल्नुका साथै दुर्गम पहाडी क्षेत्रका गाउँहरु मैदानमा परिणत भएका छन् । मोरोक्कोका राजा मोहमद छैठौंले पीडितहरुको खोजी तथा उद्धार र सहायताका लागि अपील गर्नुभएको छ । मृतकहरुको शोकमा राष्ट्रिय झण्डा तीन दिन झुकाइने भएको छ ।

मोरक्कोमा २० वर्षपछि यति ठूला भूकम्प आएको हो । यसअघि सन् २००४ मा बन्दरगाह सहर अल होसिमा केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यतिबेला ६३० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ८ : ०१ बजे

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ