देश/प्रदेश

घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए जरिवाना हुने

By खबरहब

October 10, 2023

गण्डकी– घरपालुवा कुकुरलाई जथाभावी दिशापिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ । 

सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताइन् ।

‘घरमा पालेका कुकुरलाई बाहिर खुला ठाउँमा लगेर दिसापिसाब गराउने गरेको व्यापक जनगुनासो आएपछि महानगरले निगरानी सुरु गरेको छ’, उनले भनिन्, ‘यस्तो अभियान महानगरको एक्लो प्रयासले मात्र सफल हुँदैन, नागरिकको पनि साथ चाहिन्छ ।’

कुनै कुकुरधनीले सार्वजनिकस्थलमा लगेर कुकुरलाई शौच गराएको देखेमा गोप्य ढङ्गबाट महानगरका प्रतिनिधिलाई खबर गर्न या प्रमाण उपलब्ध गराउन उनले महानगरवासीसँग आग्रह गरिन् । 

‘सार्वजनिक सूचनामार्फत पनि यो विषय जानकारी गराइएको छ, अब कसैले घरमा पालेको कुकुरलाई बाहिर लगेर शौच गराएमा कारबाही भोग्नुपर्छ’, उनले भनिन्, ‘एकपटकका लागि एक हजार र पटक–पटक शौच गराएको पाइएमा १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था नियमावलीमा छ ।’

महानगरले घरपालुवा कुकुरलाई आफ्नै घरको परिसरभित्र शौचको व्यवस्था मिलाउन र त्यसको उचित व्यवस्थापन गर्न कुकुरधनीलाई सचेत गराएको छ ।