दिवाली-छठ : किसानलाई आर्जनको अवसर « Khabarhub

दिवाली-छठ : किसानलाई आर्जनको अवसर


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– दसैँ भर्खरै सकेका मधेसको प्राचीन मिथिला क्षेत्रका हिन्दु मैथिललाई यसतबेला दिवाली (तिहार, दीपावली, दियाबाती) र छठ पर्वको चटारो छ । चाडपर्व मनाउन खर्चको जोहोका लागि दिवाली र छठ यहाँका गरिब किसान र श्रमजीवीलाई आर्जनको अवसर हुने गरेको छ । 

पर्वविशेषमा विधिमै अनिवार्य चाहिने केही कृषि उत्पादनले राम्रो मूल्य पाउने भएपछि यहाँका किसान यो बेला आर्जनसँग जोडिएका छन् । श्रमजीवीका लागि आफ्नै गाउँघर वरपर कामका अवसर थपिनाले यी पर्व गरिब र श्रमिकका लागि विशेष बन्दै आएका हुन् । 

घर करेसाबारीमा लगाइएका फूल, अदुवा, ज्यामिर, केरालगायत उत्पादनले यी चाडपर्वमा राम्रो मूल्य पाउँछन् । दिवालीमा व्यापारिक प्रतिष्ठानले लक्ष्मीपूजास्थल सजाउन केराका थामबाट द्वार बनाउने चलन छ । यस प्रयोजनका लागि घरकरेसामा रहेका केराका कोथा (नयाँ हुर्केका बिरुवा) बेचेर पनि पर्व खर्चको जोहो हुन्छ ।

‘खासमा केराको प्रतिझ्याङ्गमा तीन वटाभन्दा बढी बोट राख्नु हुँदैन । बढी भएका कोथा छ्याँस्ने (उखाल्ने) फ्याँक्नु पर्छ’, पशुपतिनगरका किसान रामविनोद महतोले भने, ‘यो कोथा छ्याँस्ने काम हामी दिवालीको मुखमा गर्छौं । सबै फालिनुपर्ने कोथाको मूल्य पाइन्छ ।’ उनका अनुसार केराका थामका लागि केही दिनपहिले नै लिनेदिनेले कुरा पक्कापक्की गर्दछन् । लक्ष्मीपूजाको दिन चोकबजारमा केराका थामको बजार नै लाग्ने उनको भनाइ थियो ।

‘केरा फल र कोथा दुवैको माग हुने दिवाली र केराका घरी नै छठ पर्वमा कतिपयको भाकल हुने गर्छ । दिवाली  र छठ सँगसँगैजस्तो पर्नाले यी पर्वमा केराको खपत निकै बढ्ने गरेको छ’, महतोले भने, ‘यसबाहेक ज्यामिर (कागतीकै एक प्रकार), बोटसहित उखालिएको अदुवा र बेसार, पातसहितको उखु पनि दुवै पर्वका पूजा सामग्री हुन् । थोरै जग्गा हुने गरिब किसानले आफ्नो घरकरेसामा लगाएका यी वनष्पतिबाट पर्वको अवसरमा राम्रो आर्जन गर्ने गरेका छन् ।’

उनका अनुसार अरू बेला दैनिक रुपमा प्रयोग गर्न छाडिएका बाँसका डाला, छिटी, नाङ्ला, चाल्नु र अन्य चोयाबाट बन्ने सामग्री तथा माटाका भाँडा, कलश राख्ने गाग्रो, दही जमाउने छ्याँची, प्रसाद सामग्री राख्ने तौला र दियो बाल्ने दियौरी (पाला) दिवाली  र छठ पर्वका खास सामग्री हुन् । अरू बेला यस्ता सामानको बिक्री हुन छाडे पनि यी पर्वमा बिक्री हुने महतोले जानकारी दिए। पर्वमा घर रङ्रोगन गर्ने सीपका कामदारको माग पनि बढ्ने उनले बताए।

बाँसको चोयाका सामग्री बुन्ने डोम र विन तथा माटाका भाँडा बनाउने कुम्हाल समुदायको यो समयमा निकै व्यस्तता बढ्ने गरेको छ । दिवालीमा माग हुने कृषि उपज र बनाइने अन्य सामग्रीबारे उपभोक्ताले खोजी गर्न थालेका स्थानीय व्यापारी बताउँछन् । यसपालि अनुकूल वर्षा नहुँदा अपेक्षित धानबाली लगाउन नपाएका किसान अहिले पर्वविशेषमा महत्व पाइने कृषि उपज (अदुवा, उखु, ज्यामिर, केराआदि) बेचेर पर्व टार्ने धुनमा छन् ।

‘मेरो धेरै जग्गा छैन । घर छेउको करेसाबारीमा थोरै अदुवा सपारेकी छु । एउटा बोटमा ज्यामिर लटरम्म फलेका छन्’, स्थानीय सियानकीदेवी बाँतरले भने, ‘दिवालीमा यिनै उपज बेचेर पर्व खर्च जुट्ने विश्वासमा छु ।’ करेसाबारीको दुई-तीन धुर जग्गामा उखु पनि रहेको भन्दै उखुका लाँक्रा पनि बिक्री गर्ने उनको भनाइ थियो ।

हिन्दु वैदिक परम्पराका दिवाली र छठ पर्व कृषिसँग अभिन्न रूपले जोडिएका यस भेगका पाका मैथिल बताउँछन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  १ : २९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्